तीर्थको वास्तविक अर्थ

ओ३म्..

तीर्थको वास्तविक अर्थ:

प्रेम आर्य

दोहा, कतार बाट

तीर्थ भन्ने बित्तिकै धेरैजसो मानिसले गंगा-स्नान, पुष्कर, हरिद्वार, बाला जी, अमरनाथ, केदारनाथ, बद्रीनाथ, मुक्तिनाथ, पशुपति, तिरुपति आदिको यात्रा अथवा सूर्य ग्रहणमा कुनै नदि-विशेषमा स्नान तथा कुरुक्षेत्र आदिको यात्रालाई सम्झने गर्दछन्। तीर्थमा स्नान आदि गर्नाले साम्प्रदायिक मतान्धहरुले बनाएका पुस्तकहरुमा विविध लाभको वर्णन गरिएको छ। केहि उदाहरण:

जसले सयौं, हजारौं कोश टाढा बाट पनि गंगाको नाम जप्ने गर्दछ, उसका समस्त पाप नष्ट भएर ऊ विष्णुलोक अर्थात वैकुण्ठमा जान्छ। (ब्रहम पुराण १७५/८२), (पदम् पुराण उत्तर खंड २३/२)।

पुष्कर, कुरुक्षेत्र, गंगा र मगध देशमा स्नान गर्नाले प्राणीले आफ्ना सात पिंढी अघिका र सात पिंढी पछिकालाई समेत तार्द्छ। गंगाको नाम स्मरण गर्नाले पापबाट बचाउँछ। गङ्गाको दर्शनले हर्ष प्रदान गर्दछ, त्यसमा स्नान गर्नाले र पिउनाले सातौँ कुल सम्मलाई पवित्र गर्दिन्छ । (महाभारत: वनपर्व- अ. ७५)।

कलियुगमा गंगा दर्शनले सय जन्मको पाप, स्पर्श गर्नाले दुईसय जन्मको पाप र स्नान गर्नाले तथा पिउनाले हजारौं पाप नष्ट गर्दछ। (आदि पुराण पृ ७२)

जुन मनुष्यले पूर्व आयुमा पाप गरेर पछी गंगा सेवन गर्दछन, ति पनि परमगति प्राप्त गर्दछन। (महाभारत: अनुशासन पर्व- २६/३०)

जसरि गरुढलाई देख्नासाथ सर्प विषरहित हुन्छ, त्यस्तै गरि गंगालाई देख्नासाथ् मनुष्य सबै पापबाट छुट्छन्। (महाभारत: अनुशासन पर्व- २६/४४)

हावाले उडाएको धुलोको कण पनि कुरुक्षेत्रमा जो कसै माथि पर्छ, त्यसले अति पापीलाई पनि मोक्ष प्राप्त गराउँछ। (महाभारत: वनपर्व- अ. ८३)

यस प्रकारका अनेकौं प्रमाण महाभारत, पुराण आदि ग्रन्थमा पाइन्छन जसमा विभिन्न स्थानहरुमा घुम्नु र गंगा आदि स्नानलाई तीर्थ भनिएको छ।

युगद्रष्टा महर्षि दयानन्द सरस्वतिले आफ्नो कालजयी पुस्तक ‘सत्यार्थ प्रकाश’ को ११औँ समुल्लासमा तीर्थको परिभाषा गर्दै लेखेका छन्-

“वेदादि सत्य शास्त्रहरु पढ्नु-पढाउनु, धार्मिक विद्वानहरुको संगत, परोपकार, धर्म अनुष्ठान, योगाभ्यास, निर्वैर, निष्कपट, सत्य बोल्नु, सत्य मान्नु, सत्य गर्नु, ब्रहमचर्य, आचार्य, अतिथि, तथा माता-पिता आदिको सेवा, परमेश्वरको स्तुति-प्रार्थना-उपासना, शान्ति जितेन्द्रियता, सुशीलता, धर्मयुक्त पुरुषार्थ, ज्ञान-विज्ञान आदि शुभ गुण-कर्महरुले दुखबाटतार्ने हुनाले यी सब तीर्थ हुन्। अर्थात, जति पनि संसारमा श्रेष्ठ कर्म छन् ति गर्नाले मनुष्यलाई  ज्ञानको प्राप्ति हुन्छ र मनुष्य पुण्यको भागी बनेर सुखको प्राप्ति गर्दछ। त्यसैले ति कर्महरुलाई तीर्थको संज्ञा दिइएको छ।

       महर्षि मनुले मनुस्मृति ५/१०९मा भन्छन कि जलबाट शरीर शुद्ध हुन्छ, मन र आत्मा हैन। मन सत्याचरण- सत्य मान्नु, सत्य बोल्नु र सत्य नै गर्नाले पवित्र हुन्छ। जीवात्मा विद्या, योगाभ्यास र धर्माचरणले पवित्र हुन्छ र बुद्धि पृथ्वी देखि परमेश्वर पर्यन्त पदार्थहरुको ज्ञानले पवित्र हुन्छ।

यहि कुरो येजुर्वेद ४०/१४ (ईशोपनिषद्- ११) मा पनि भनिएको छ-

विद्यां चाविद्यां च यस्तद्वेदोभयं सह ।

अविद्यया मृत्युं तीर्त्वा विद्ययामृतमश्नुते।।

भावार्थ: आत्मविज्ञान (कर्म उपासना) तथा पदार्थविज्ञान (यथार्थज्ञान) दुवै ज्ञान एकसाथ प्राप्त गरेर अविद्या अर्थात कर्म उपासनाबाट मृत्युलाइ तरेर विद्या अर्थात यथार्थज्ञानबाट मनुष्यले मोक्षलाभ गर्दछ।

       जसले गंगा स्नान अथवा गंगा गंगा पुकार्नाले मात्र मुक्ति हुने मान्दछन, ति मध्ये कयौं त गंगा कै किनारमा स्थित नगर तथा गाउँमा बस्दछन् । यदि गंगा स्नान, गंगा दर्शन, गंगाको स्मरण, गंगाजल सेवन आदि बाट उनीहरु सम्पूर्ण पापबाट निवृत्त हुनेभए उनलाई कुनै प्रकारको पनि दुःख कष्ट नहुनु पर्ने । तर उनीहरु पनि त्यस्तै प्रकार समान रूपले  दु:खी छन्, जस्तो अन्य संसारका मानिसहरु आफ्ना पाप कर्मले दुःखी छन्। यसबाट यहि सिद्ध हुन्छ कि गंगा स्नान, गंगा दर्शन, गंगाको स्मरण, गंगाजल सेवन आदि बाट कुनै पनि मनुष्य पाप नभोगेर मुक्त हुन सक्दैन । यो कुरो निश्चित छ कि कर्मको फल नभोगेर त्यसबाट कुनै पनि छुट्न सक्दैन।

कर्म फल सिद्धांतको बारेमा अनेकौं प्रमाण छन् जस्तै-

शुभ होस् या अशुभ, गरेको कर्मको फल भोग्नु नै पर्छ। करोडौं कल्प बीतेपछी पनि नभोगेर त्यसको क्षय हुँदैन। (ब्रहमवैवर्त पुराण प्रकृति अ ३७)

जब ब्रह्माको दिन समाप्त भएर सृष्टिको प्रलय हुन्छ, त्यति बेला अभुक्त कर्महरु बीजरूपमा रहिरहन्छन्। जब फेरी नयाँ सृष्टी रचना हुन्छ, तिनै कर्महरु बीजरुपबाट अंकुर पलाउन थाल्छन। पूर्व सृष्टिमा जुन-जुन प्राणीले जे-जे कर्म गरेका थिए, फेरी पनि तिनै कर्म उनलाई पटक-पटक प्राप्त भइ नै रहन्छन्। (देवी भागवत पुराण)

जसरि बाच्छाले हजारौं गाईहरुको बिचमा आफ्नी आमालाई खोज्न सक्छ, त्यस्तै गरिएको कर्मले पनि आफ्नो कर्तालाई समात्छ। (महाभारत शांतिपर्व १५-१६)

मनबाट प्रकाशित ब्रहमज्ञान रुपी जलले जसले मनको तीर्थमा स्नान गर्दछ, तत्व दर्शिहरुको स्नान त्यहि हो। घरमा या जंगलमा जहाँ पनि ज्ञानीजन रहन्छन्, त्यसैको नाम नगर हो, त्यसैलाई तीर्थ भनिन्छ। आत्मा नदी हो, यही पवित्र तीर्थ हो। यसमा सत्यको जल, धैर्यको किनारा तथा दयाको छाल छन्। यसमा स्नान गर्नेहरु पुण्यात्मा पवित्र हुन्छन्। आत्मा पवित्र छ, नित्य छ एवं निर्लोभ छ।

(महाभारत वन पर्व २००/९२ एवं उद्योग पर्व ४०/२१)

ब्रह्माको ध्यान परम तीर्थ, इन्द्रियको निग्रह तीर्थ हो, मनको निग्रह तीर्थ हो, भावको शुद्धि परम तीर्थ हो। जसले ज्ञान रूपी तलाउमा, ध्यान रुपी जलमा र मनको तीर्थमा स्नान गरेर राग-द्वेष रुपी मल हटाउँछ, त्यसले परम गति प्राप्त गर्दछ। (गरुढ पूर्व अ ८१/ श्लोक २३-२४)

यहाँ सोंचनीय बिषय छ कि पुराण तथा महाभारतमा एकै विषयमा यस्तो विरोधाभाष किन? एक स्थानमा गंगा स्नानबाट मुक्तिको वर्णन छ भने अर्को स्थानमा केवल शुभ कर्मले मुक्ति हुने कुरो छ। यसको समाधान पनि महर्षि दयानन्द सरस्वतिले गहिरो शोध र कडा परिश्रम गरेर यसरि निकालेका छन् – “उपनिषद्, दर्शन,ब्राह्मण ग्रन्थ, रामायण-महाभारत, पुराण आदि ग्रंथहरुमा जुन-जुन बिषयहरु वेदानुकुल अर्थात वेद संगत छन् ति सब मान्न योग्य छन् र जुन वेद विपरीत छन् ति त्याग्न योग्य छन्।”

त्यसैले वेदमा वर्णित कर्म फलको अकाट्य सिद्धांतलाई मान्दै पुराणको उक्त प्रमाण जसमा केवल पुण्य कर्मबाट मात्र सुख प्राप्ति हुने भनिएको छ त्यो सत्य हो। अन्य सबै मिथ्या.. ।

       तीर्थको नाममा स्नान दर्शन आदिबाट पुण्य प्राप्ति एक अन्धविश्वास मात्रहो र यसले मानवलाई सत्य मार्गबाट भ्रमित गरेर अंधकारमा लैजान्छ। अस्तु..

नमस्ते..!

-हार्दिक आभार: डॉ विवेक आर्य

2 thoughts on “तीर्थको वास्तविक अर्थ”

    1. ओ३म्..
      श्याम भाइ, हार्दिक आभार प्रतिक्रियाको लागि..

Leave a Reply to Shyam kumar ariya Cancel reply

Your email address will not be published. Required fields are marked *