सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर

ओ३म्….!

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (भाग-५)

Untitled

प्रश्न ८१- कुन चाहिं कार्य राम्रो हो यो कसरि थाहा पाउन सकिन्छ?

उत्तर: कुनै कार्य गर्नु भन्दा अघि, गर्ने समय र गरिसके पछी मनमा आनन्द, उत्साह, प्रसन्नता, शान्ति, सन्तोष उत्पन्न हुन्छ, साथ साथै जसबाट व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रको कुनै प्रकारको हानि न होस्, त्यस्तो कार्यलाई राम्रो मान्न सकिन्छ।

प्रश्न ८२- कुन चाहिं कार्य नराम्रो हो यो कसरि थाहा पाउनु?

उत्तर: कुनै कार्य गर्नु भन्दा अघि, गर्ने समय र गरिसके पछी मनमा भय, शंका, लज्जा उत्पन्न हुन्छ, साथ साथै जसबाट व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रको कुनै हानि हुन्छ भने त्यस्तो कार्यलाई नराम्रो मान्न सकिन्छ।

प्रश्न ८३- मनमा नियन्त्रण कसरि हुन्छ?

उत्तर: मनमा नियन्त्रण आध्यात्मिक शुद्ध ज्ञानको प्रयोग गर्नाले हुन्छ।

प्रश्न ८४- आध्यात्मिक शुद्ध ज्ञान कसरि उत्पन्न गर्न सकिन्छ ?

उत्तर: यस्तो विचार गरौँ कि म एक चेतन तत्त्व हुँ, मन, इन्द्रिय र शरीरको स्वामी हुँ, शरीर, मन, इन्द्रिय जड हुन्, मेरो इच्छा र प्रयत्न बिना शरीर, मन, इन्द्रियले आँफै कुनै पनि काम गर्न सक्दैनन्। मैले आफ्नो इच्छाले जुन काम गर्न चाहन्छु त्यो गर्छु, जुन काम गर्न चाहन्न त्यो गर्दैन। मैले जुन विचारलाई उठाउन चाहन्छु त्यो उठाउँछु र जुन विचार उठाउन चाहन्न, त्यो उठाउँदैन। यस्तो दृढ निश्चय गरेर मन, वाणी र शरीरले सावधानी र सतर्कता पूर्वक व्यवहार गर्नाले आध्यात्मिक शुद्ध ज्ञान बढ्छ।

प्रश्न ८५- कार्यमा सफलताका उपायहरु के हुन्?

उत्तर: कार्यमा सफलताका उपाय निम्न छन्:

  • कुनै पनि कार्य गर्न मनमा तीव्र इच्छा
  • कार्य पूरा गर्नको लागि पर्याप्त साधनहरुको संग्रह
  • कार्यलाई सरलता पूर्वक, शीघ्रता पूर्वक र सुन्दर रूपमा गर्ने यथार्थ विधि जान्नु
  • कार्य पूरा हुँदा सम्म पूर्ण पुरुषार्थ गरिरहनु
  • कार्य गर्दा गर्दै मार्गमा आउन सक्ने बाधा, कष्ट, अभाव, विरोध, प्रतिकूलताहरु आदिलाई प्रसन्नता पूर्वक सहन गर्न सक्नु, हताश-निराश, खिन्न नहुनु
  • ईश्वर संग कार्य सफलताको लागि ज्ञान, बल, साहस, उत्साह, पराक्रम आदि प्राप्तिको लागि प्रार्थना गर्नु।

प्रश्न ८६- कुनै पुस्तक ईश्वरीय हो भन्ने प्रमाण के हुन सक्छन्?

उत्तर: कुनै पनि पुस्तकलाई ईश्वरीय हो भनेर मान्नको लागि निम्न प्रमाण आवश्यक हुन्छन्: –

  • जुन सृष्टिको आदिमा बनेको होस्
  • जसमा विज्ञान विरुद्ध कुराहरु नभएको होस्
  • जसमा मनुष्यहरुको इतिहास नहोस्
  • जसमा परस्पर विरोध नहोस्
  • जसमा अन्धविश्वास, पाखण्ड, अज्ञानयुक्त, अप्रमाणिक कुराहरुको वर्णन नहोस्
  • जसमा मनुष्यको सर्वोत्कृष्ट उन्नति हेतु सब प्रकारका विषयहरुको वर्णन गरिएको होस्
  • जसमा सृष्टिको प्रत्यक्ष नियमको विरुद्ध सिद्धान्तहरुको वर्णन नहोस्
  • ईश्वरको जस्तो गुण-कर्म-स्वभाव छ अथवा उसमा हुनु पर्छ त्यस्तै गुणहरुको वर्णन पुस्तकमा गरिएको होस्
  • जसमा पक्षपात रहित समान रूपले सब मनुष्यको लागि विधि-विधान, नियम-अनुशासनको विधान गरिएको होस्
  • जुन कुनै स्थान विशेष, देश-विदेशका मनुष्य, जाति, मत, पंथ, सम्प्रदायका लागि नभएर सार्वजनिक, सार्वभौमिक, सार्वकालिक तथा सर्वाहितकारी होस्
  • जुन कुनै मनुष्यकृत भाषामा नहोस्।

प्रश्न ८७- मनुष्य जीवनका असफलताका लक्षणहरु के के हुन्?

उत्तर: जुन मनुष्यको जीवनमा सुख, शान्ति, सन्तोष, तृप्ति, निर्भीकता, स्वतन्त्रता हुँदैन त्यो जीवन असफल हुन्छ। चाहे ऊसँग जतिसुकै धन, सम्पत्ति, रूप, बल, विद्या, प्रतिष्ठा, सम्मान, यश, कीर्ति किन नहोस् उसको जीवन असफल हुन्छ।

प्रश्न ८८- मनुष्य जीवनका सफलताका लक्षणहरु के के हुन्?

उत्तर: जुन मनुष्यको जीवनमा सुख, शान्ति, सन्तोष, तृप्ति, निर्भीकता, स्वतन्त्रता हुन्छ त्यो जीवन सफल हुन्छ। चाहे ऊसँग धन, सम्पत्ति, रूप, बल, विद्या, प्रतिष्ठा, सम्मान, यश, कीर्ति अलिकति नै किन नहोस्  उसको जीवन सफल हुन्छ।

प्रश्न ८९- यज्ञ शब्दको अर्थ के हो?

उत्तर: यज्ञ शब्दको अर्थ- दान, त्याग, श्रेष्ठ कार्यलाई पूर्ण पुरुषार्थका साथ निष्काम भावनाले गर्नु। अग्निहोत्र पनि यज्ञ नै हो।

क्रमशः..

Leave a Reply

Your email address will not be published. Required fields are marked *