सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर

ओ३म्….!
सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (भाग-४)

Untitled

प्रश्न ६१- समाधिको अवस्था कसरि प्राप्त हुन्छ?

उत्तर: समाधिको अवस्था अष्टांग योगको विधि द्वारा मन लगायत समस्त इन्द्रियहरुमा पूर्ण नियन्त्रण गरे पछी प्राप्त हुन्छ।

प्रश्न ६२- मन तथा इन्द्रियहरुमा पूर्ण नियन्त्रण कसरि हुन्छ?

उत्तर: मन तथा इन्द्रियहरुमा पूर्ण नियन्त्रण आत्माको साक्षात्कार गरे पछी हुन्छ।

प्रश्न ६३- आत्माको साक्षात्कार कसरि हुन्छ?

उत्तर: आत्माको साक्षात्कार आत्मा संग सम्बन्धित विज्ञान पढेर, विचार गरेर, निर्णय लिएर, दृढ निश्चय गरेर तपस्या र पुरुषार्थ पूर्वक कार्य गर्नाले हुन्छ।

प्रश्न ६४- ईश्वरको ध्यान गर्नाले के लाभ हुन्छ?

उत्तर: ईश्वरको ध्यान गर्नाले मनमा अधिकार हुन्छ, इन्द्रियहरुमा नियन्त्रण हुन्छ, एकाग्रता बढ्छ, स्मृतिशक्ति तेज हुन्छ, बुद्धि परिष्कृत भएर सही र शीघ्र निर्णय लिन सक्ने बन्छ, खराब संस्कारहरु नष्ट हुन्छन्, असल संस्कारहरु प्रकट हुन्छन्, आत्मिक बलमा वृद्धि हुन्छ, धैर्य, सहनशक्ति, क्षमा, दया, निष्कामता आदि वृद्धि हुन्छ र विशेष आनन्द, शान्ति, निर्भीकता प्राप्त हुन्छ।

प्रश्न६५- मनुष्य दुःखी किन हुन्छ?

उत्तर: मनुष्य राग, द्वेष र मोह अर्थात् अज्ञानताको कारणले दुःखी हुन्छ।

प्रश्न ६६- वैराग्यको अर्थ के हो?

उत्तर: वैराग्यको अर्थ राग-द्वेष रहित हुनु, एषणा रहित हुनु, लौकिक सुख प्राप्त गर्ने इच्छा नगर्नु र निष्काम भावनाले कर्तव्य कर्म गर्नु।

प्रश्न ६७- आध्यात्मिकता शब्दको अर्थ के हो?

उत्तर: आध्यात्मिकता शब्दको अर्थ हो आत्मा र परमात्माको सत्ता स्वीकार गरेर मन, बुद्धि, मोक्ष, बन्ध, पुनर्जन्म, कर्म र त्यसको फल, संस्कार, समाधि इत्यादि विषयको ज्ञान-विज्ञान प्राप्त गर्नु र तदनुसार आचरण गर्नु।

प्रश्न ६८- मनुष्यको मनमा अशान्ति, भय, चिन्ता, लज्जा आदि किन उत्पन्न हुन्छन्?

उत्तर: मनुष्यको मनमा अशान्ति, भय, चिन्ता, लज्जा आदि दुष्कर्म तथा पाप गर्नाले उत्पन्न हुने गर्दछन्।

प्रश्न ६९- पाप केलाई भनिन्छ?

उत्तर: अधर्माचरणलाई पाप भनिन्छ।

प्रश्न ७0- अधर्माचरण केलाई भनिन्छ?

उत्तर: ईश्वरको आज्ञा, शास्त्रहरुको विधि-विधान, महापुरुषहरुको निर्देशन तथा आफ्नो पवित्र आत्मामा उत्पन्न हुने विचारको विपरीत व्यवहार गर्नु नै अधर्माचरण हो।

प्रश्न ७१- धर्मको सामान्य परिभाषा के हो?

उत्तर: धर्मको सामान्य परिभाषा यहि हो कि जुन व्यवहार आँफूलाई राम्रो लाग्छ, त्यहि अरु प्रति गर्ने र जुन व्यवहार आँफूलाई राम्रो लाग्दैन, त्यो अरु प्रति पनि नगर्ने।

प्रश्न ७२- वैदिक धर्मको कर्मफल सिद्धान्त के हो?

उत्तर: जुन मनुष्यले शरीर, मन तथा इन्द्रियहरुको माध्यमले जति पनि शुभाशुभ कर्म गर्दछ, त्यसलाई ति सबको फल सुख-दुःखको रूपमा अवश्य नै प्राप्त हुन्छ। कर्मको फल त अवश्य भोग्नु पर्ने हुन्छ, नभोगेर कर्म-फलको क्षय हुँदैन।

अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभं। ना भुक्तं क्षीयते कर्म कल्प कोटि शतैरपि।।”

प्रश्न ७३- के वेद अनुसार अशुभ कर्मको फल क्षेमा हुन् सक्छन्?

उत्तर: वेद अनुसार अशुभ (पाप) कर्मको फल कुनै प्रकारले पनि क्षेमा हुन सक्दैनन्।

प्रश्न ७४- त्यसो भए फेरी दान-पुण्य, जप-तप, सेवा-परोपकार आदिको के लाभ हुन्छ त?

उत्तर: दान-पुण्य, जप-तप, सेवा-परोपकार आदि गरेको छुट्टै उत्तम फल प्राप्त हुन्छ। यसबाट अशुभ (पाप) कर्मको फल न कम हुन्छन्, न क्षम्य।

प्रश्न ७५- यसरि जब शुभाशुभ कर्मको फल पाउने पक्का भए पछी फेरी ईश्वरको ध्यान-उपासना गर्नुको के लाभ छ त?

उत्तर: ईश्वरको ध्यान-उपासना गर्नाले ईश्वर प्रति प्रिती जाग्छ, बुद्धि पवित्र तथा परिष्कृत हुन्छ र आनन्द प्राप्ति हुन्छ। आत्मिक बल पाइन्छ मनमा उत्तम विचार उत्पन्न हुन्छन्, परिणामस्वरूप मनुष्यले भविष्यमा त्यस्ता पाप कर्म गर्दैन अथवा त्यसमा प्रवृत्त हुँदैन।

प्रश्न ७६- के हाम्रो भविष्य निश्चित छ र यसलाई कसैले जानेर भन्न सक्छ?

उत्तर: हाम्रो भविष्य निश्चित छैन र यसलाई कसैले पनि जान्न सक्दैन र भन्न पनि सक्दैन भविष्य जान्न सक्ने क्षमता मनुष्यमा ईश्वरले दिएकै छैन।

प्रश्न ७७- त्यसो हो भने फेरी ज्योतिषीहरुले भविष्यको कुरो र घटना भन्नु सत्य हैन त?

उत्तर: अँ, ज्योतिषीहरुले भविष्यको कुरो र घटना भन्नु सत्य हैन। ज्योतिष एक गणित विज्ञान हो र यहि नै सत्य हो तर यसको कसैको भविष्य जान्नु र भन्नु संग सम्बन्ध छैन; अर्थात् यो (फलित ज्योतिष) पाखण्ड हो ।

प्रश्न ७८- कुनै विशेष परिस्थितिमा झुटो बोल्नु उचित हुन्छ कि हुन्न?

उत्तर: जस्तो सुकै परिस्थितिमा पनि झुटो बोल्नु  कुनै लाभ तथा उचित छैन; सत्य बोल्ने परिस्थिति छैन भने बरु चुप रहनु नै उत्तम।

प्रश्न ७९- के ईश्वरले आफ्नो स्वेच्छाले कुनै मनुष्यलाई कर्म नगरी सुख-दुःख रुपी फल दिन्छ र?

उत्तर: ईश्वरले आफ्नो स्वेच्छाले कुनै पनि मनुष्यलाई कुनै कर्म नगरी सुख-दुःख रुपी फल दिन्न। यदि दियो भने ईश्वरमा स्वेच्छाचारीको दोष लाग्छ र मनुष्यमा आलस्य र अकर्मण्यताको दोष आउँछ।

प्रश्न ८0- के अज्ञान तथा मिथ्याज्ञानको कारणले गरिएका अशुभ कर्मको फल पनि भोग्नु पर्छ?

उत्तर: हजुर, अज्ञान तथा मिथ्याज्ञानको कारणले गरिएका अशुभ कर्मको फल पनि अवश्य भोग्नु पर्ने हुन्छ। त्यसैले ईश्वरलाई न्यायकारी भनिन्छ। अज्ञानता तथा मिथ्याज्ञानलाई हटाउनु हाम्रो कर्तव्य हो।

क्रमशः…

Leave a Reply

Your email address will not be published. Required fields are marked *