सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर

ओ३म्….!

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (अन्तिम भाग)

Untitled

प्रश्न ९0- कस्तो प्रकारको जीवन चलाउनाले मनुष्यलाई अधिकतम सुखको प्राप्ति हुन सक्छ?

उत्तर: निम्न प्रकारको जीवन चलाउनाले मनुष्यलाई अधिकतम सुखको प्राप्ति हुन सक्छ:-

आदर्श दिनचर्या, शीघ्र जागरण, भ्रमण, व्यायाम, स्नान, यज्ञ, ईश्वरको ध्यान, उत्तम पुस्तकहरुको स्वाध्याय, सत्यको पालन, राग-द्वेष रहित व्यवहार, अर्काको धन र अधिकारलाई ग्रहण नगर्ने इच्छा, परोपकार, समाज-राष्ट्रको उन्नति हेतु संगठन, त्याग, सेवा, बलिदानको भावना, मनमा उत्तम कार्य गर्ने र अधम कार्य नगर्ने दृढ संकल्प, सात्विक भोजन, मधुर व्यवहार, आत्मनिरीक्षण, महापुरुषहरु, विद्वानहरुको सत्संग, संयम, त्याग, तपस्या आदि गुण-कर्म-स्वभावलाई धारण गर्नाले जीवनमा अधिकतम सुखको प्राप्ति हुन सक्छ।

प्रश्न ९१- राष्ट्र तथा समस्त विश्वको उन्नतिको लागि वैदिक उपाय के हो?

उत्तर-राष्ट्र तथा समस्त विश्वको उन्नतिको लागि वैदिक उपाय निम्न छन्: –

सम्पूर्ण विश्वका मानवले जब एक ईश्वरलाई मान्नेछन्, जब उनको भाषा एक (संस्कृत) हुनेछ, धर्म एक (सत्य सनातन वैदिक) हुनेछ, संविधान एक (वेद) हुनेछ, शिक्षा एक (आर्ष गुरुकुलीय) हुनेछ, न्याय-दण्ड, राजनीति, आचार-विचार एक (वैदिक) प्रकारको हुनेछ, हानि र लाभ एक समान हुनेछ तब मात्र सम्पूर्ण राष्ट्र र समस्त विश्वको उन्नति हुन सक्छ।

प्रश्न ९२- सम्पूर्ण राष्ट्र र विश्वमा एकता कसरि स्थापित हुन सक्छ?

उत्तर: सम्पूर्ण राष्ट्र र विश्वमा एकता तब मात्र स्थापित हुन सक्छ जब-

  • सबै मनुष्यको लक्ष्य एक होस्
  • उक्त लक्ष्य प्राप्त गर्ने मार्ग एक होस्
  • उक्त लक्ष्य प्राप्त गर्ने साधन एक होस्
  • उक्त मार्गमा हिँड्ने विधि तथा सिद्धान्त एक होस्। र यसको उपाय ईश्वरीय ज्ञान केवल वेद नै हो।

प्रश्न ९३- कुनै पनि भौतिक साधन बिना जीवनलाई शीघ्रता र सरलताले उन्नत गर्ने आध्यात्मिक उपाय के हो?

उत्तर: कुनै पनि भौतिक साधन बिना जीवनलाई शीघ्रता र सरलताले उन्नत गर्ने आध्यात्मिक उपाय हो – आत्मनिरीक्षण। रातिको समयमा सुत्नु भन्दा पहिले अथवा कुनै पनि फुर्सदको समयमा शान्त तथा एकान्त स्थानमा बसेर एकाग्रताले आफ्नो जीवनका क्रिया तथा व्यवहारहरुको सूक्ष्मताले परीक्षण गर्नु पर्छ र यो जान्ने प्रयास गर्नु कि मेरो जीवनमा खराबी के छ, के के दोष छन्, कति त्रुटि छन्, मैले के के भूल गर्दछु तथा के कार्य गर्नु थ्यो जुन गरिएन, के गरियो जुन नगर्नु पर्ने थियो। कुन कार्यमा कम समय लगाउनु थियो जसमा अधिक समय लगाइयो, कुन कार्यमा अधिक समय लगाउनु थियो जसमा कम लगाइयो। कुन कार्य मुख्य थियो जसलाई गौण मानियो, कुन कार्य गौण थियो जसलाई मुख्य मानियो इत्यादि कमिहरुलाई जानेर र तिनलाई जीवनको उन्नतिमा बाधक मानेर पूर्ण रूपले हटाउने प्रतिज्ञा गर्नु पर्छ र मनमा दृढ संकल्प गर्नु पर्छ कि मैले यी दोषहरुलाई भविष्यमा पुनः हुन दिने छैन। साथै दिनभरि व्यवहार गर्ने समयमा मन, वचन र कर्ममा सतर्कता र सावधान रहनु पर्छ। ईश्वर संग पनि प्रतिदिन जीवनलाई उन्नत बनाउनमा आत्मिक बल, ज्ञान-विज्ञान, धैर्य, सहिष्णुता आदि गुणहरुको प्राप्ति हेतु प्रार्थना गर्नु पर्दछ। यी उपायहरु अपनाउनाले सामान्य मनुष्यको जीवन पनि सरलता तथा शीघ्रताले श्रेष्ठ बन्न सक्छ।

प्रश्न ९४- के पुनर्जन्म हुन्छ र, यसमा के प्रमाण छ?

उत्तर: पुनर्जन्म अवश्य हुन्छ यसमा निम्न प्रमाण दिन सकिन्छ:-

  • जन्मना साथ मनुष्य-पशु आदिका बच्चाले दुध पिउनु।
  • चार-छ महिनाको शिशु सुतेको अवस्थामा कहिले प्रसन्न भएर हाँस्नु, कहिले रुनु, कहिले भयभीत हुनु, झस्किनु।
  • संसारमा उच्च र निम्न योनि (जुनी) देखिनु।
  • मृत्यु देखि डर लाग्नु।
  • बाल्यावस्थामा नै बौद्धिक स्तरको भेद देखेर यहि अनुमान लगाउन सकिन्छ कि जीवात्माको पुनः जन्म हुन्छ।

प्रश्न ९५- समाजमा मानिसहरुका साथ कस्तो व्यवहार गर्नु पर्छ?

उत्तर: समाजमा चार प्रकारका व्यक्ति हुन्छन्, तिनीहरुका साथ चार प्रकारको व्यवहार गर्नु पर्दछ।

  • जो व्यक्ति धन-सम्पत्ति द्वारा सुखी र समृद्ध छ, त्यसका साथ मित्रता राख्नु पर्दछ।
  • जो व्यक्ति धन-सम्पत्ति रहित, निर्धन, दुखी छ, त्यसलाई दया गरेर यथाशक्ति सहयोग गर्नु पर्दछ।
  • जो व्यक्ति त्यागी, तपस्वी, सेवाभावी छ, त्यसलाई देखेर मनमा प्रसन्नता हुनु पर्दछ र त्यसको आदर-सत्कार गर्नु पर्दछ।
  • जो व्यक्ति दुष्ट छ, त्यसका साथ उपेक्षाको व्यवहार गर्नु पर्दछ। अर्थात् त्यस संग न बैर राख्नु न प्रेम गर्नु।

प्रश्न ९६- यो शरीरको मृत्यु पछी जीवात्माले कति समयमा अर्को शरीर धारण गर्दछ अर्थात् नयाँ जन्म लिन्छ?

उत्तर: तत्काल या केहि कालमा नै नयाँ जन्म लिन्छ।

प्रश्न ९७- मनुष्यको मृत्यु भए पछी अर्को कस्तो जन्म प्राप्त हुन्छ?

उत्तर: मनुष्यको मृत्यु भए पछी उसको कर्मानुसारको नै योनी प्राप्त हुन्छ। आधा भन्दा अधिक खराब कर्म छन् भने पशु-पंक्षी, कीट-पतंग आदिको योनी प्राप्त हुन्छ। आधा भन्दा अधिक उत्तम कर्म छन् भने मनुष्य योनी पुनः प्राप्त हुन्छ।

प्रश्न ९८- के मनुष्यको आयु निश्चित छ ?

उत्तर: मनुष्यको आयु निश्चित हुन्न। आयुलाई घटाउन र बढाउन सकिन्छ।

प्रश्न ९९- आयुलाई बढाउने उपाय के हो?

उत्तर: आयु बढाउने उपाय निम्न छन्: –

सात्त्विक भोजन, नियमित दिनचर्या, ब्रह्मचर्यको पालन, पूर्ण निद्रा, व्यायाम, सत्य ज्ञान दिने पुस्तकहरु पढ्नु, सत्संग, विद्वान र श्रेष्ठ मनुष्यहरुका साथ मित्रता, ईश्वर प्रति श्रद्धा-भक्ति र विश्वास, सतर्कता, सावधानी, शान्ति, प्रसन्नता, धैर्य, दया, क्षमा आदि को प्रयोग। यी उपायहरुबाट मनुष्यले आफ्नो आयुलाई बढाउन सक्छ।

प्रश्न १00- मनुष्य अल्प आयुमा (छिटो, अकालमा) किन मर्दछ?

उत्तर: निम्न कारणले गर्दा मनुष्य अल्प आयुमा नै मर्दछ:-

तामसिक भोजन, अनियमित दिनचर्या, असंयम, व्यभिचार, अधिक जाग्नु, स्वाध्याय-सत्संग नगर्नु, खराब व्यक्तिहरुका साथ मित्रता, नास्तिकता, असावधानी, क्रूरता, अशान्ति, चिन्ता, शोक, भय, रोग आदि को कारणले मनुष्यको शारीरिक तथा मानसिक दशा बिग्रन्छ र उसको अल्प आयुमा नै मृत्यु हुन्छ।

प्रश्न १0१- मनुष्यका सामाजिक तथा राष्ट्रीय कर्तव्यहरु के के हुन्?

उत्तर: मनुष्यले आफ्नो व्यक्तिगत र पारिवारिक उन्नतिका साथ-साथै समाज र राष्ट्रका नागरिकहरुमा विद्यमान अज्ञानता, अन्याय र अभावादी दूर गर्नको लागि तन-मन-धनले पूर्ण प्रयास गर्नु पर्दछ किनकि समाज तथा राष्ट्रका सबै व्यक्तिहरु उन्नत नभए सम्म कुनै पनि व्यक्ति या परिवारले पूर्णरुपेण सुख, शान्ति, सुरक्षा निश्चिन्तता, निर्भीकता आदि प्राप्त गर्न सक्दैन। त्यसैले समाज तथा राष्ट्रको उन्नतिका लागि पनि संगठित भएर, संस्था बनाएर सार्वजनिक कल्याणकारी कार्यहरु पनि त्याग तथा तपस्याका साथ  गर्नु पर्दछ।

नमस्ते…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *