मूर्ति पूजा ईश्वर प्राप्तिको साधन हैन

मूर्ति पूजा ईश्वर प्राप्तिको साधन हैन

ईश्वर प्राप्तिको केवल एक मात्र मार्ग छ-  “अष्टांग योग”

puja-paddhati-hindu-660x330

ओ३म्..

वेदमा मूर्तिपूजाको विधान छैन। वेदले घोषणा गरेको छ-

न तस्य प्रतिमा अस्ति यस्य नाम महद्यशः।  (यजुर्वेद: ३२/३)

अर्थात्, जसको नाम महान यशवाला हो, उस परमात्माको कुनै मूर्ति, तुलना, प्रतिकृति, प्रतिनिधि छैन।

प्रश्न उत्पन्न हुनसक्छ कि फेरी हिन्दु समाजमा मूर्तिपूजा कहिले प्रचलित भयो र कसले चलायो? महर्षि दयानन्दले आफ्नो कालजयी ग्रन्थ – “सत्यार्थ प्रकाश” को एकादश समुल्लासमा प्रश्नोत्तर रूपमा यस सम्बन्धमा लेख्छन् कि-

प्र – मूर्तिपूजा कहाँबाट चल्यो?

उ – जैनिहरुबाट|

प्र – जैनिले कहाँबाट चलाए ?

उ – आफ्नो मूर्खताले|

पण्डित जवाहरलाल नेहरुका अनुसार मूर्तिपूजा बौद्धकाल देखि प्रचलित भयो| उनि लेख्छन् –

“यो एक मनोरंजक विचार हो कि हिन्दु समाजमा मूर्तिपूजा यूनानबाट आयो| वैदिक धर्म हर प्रकारको मूर्ति तथा प्रतिमा-पूजनको विरोधी थियो| उस काल (वैदिकयुग) मा देव मूर्तिहरुको कुनै मंदिरहरु थिएनन्|……..प्रारम्भिक बौद्ध धर्म यसको घोर विरोधी थियो………पछी स्वयं बुद्धको मूर्ति बन्न लागे| फारसी तथा उर्दू भाषामा प्रतिमा अथवा मूर्तिको लागि आज पनि “बुत” शब्द प्रयुक्त हुन्छ जो बुद्धको रूपांतर हो|” (हिन्दुस्तान की कहानी -पृ १७२)

एक अन्य स्थलमा उनि लेख्छन्-

“ग्रीस र यूनान आदि देशमा देवताहरुको मूर्ति पूजन हुन्थ्यो|त्यहाँबाट मूर्तिपूजा यहाँ आयो| बौद्धिस्टहरुले मूर्तिपूजा आरम्भ गरे| फेरी अनेत्र फैलियो|” (विश्व इतिहास की झलक- पृ ६९४)

यी उद्धरणबाट यो कुरो निश्चित छ कि मूर्तिपूजा हाम्रो देशमा जैन तथा बौद्धकाल देखि आरम्भ भयो| जुन समय यहाँ मूर्तिपूजा आरम्भ भयो र मानिसहरु मन्दिरमा जान थाले तब यहाँका विद्वानहरुले यसको घोर खण्डन गरे| मूर्तिपूजाको खण्डनमा उनीहरुले यहाँ सम्म भने कि-

गजैरापीड्यमानोsपि न गच्छेज्जैनमन्दिरम् (भविष्य पु. प्रतिसर्गपर्व ३-२८-५३)

अर्थात, यदि हात्ती मार्नको लागि दौड्दै आइरहेको छ र जैनिको मन्दिरमा गएपछि प्राणरक्षा हुन्छ भने पनि जैनिको मन्दिरमा जानु हुँदैन|

तर …ब्राह्मणहरुको, उपदेशकहरुको र विद्वानहरुको उक्त कथनको साधारण जनतामा कुनै प्रभाव पर्न सकेन र उनीहरुले पनि मन्दिर निर्माण गरे| जैनिहरुको मन्दिरमा अश्लिल (नग्न) मूर्तिहरु हुन्थे तर यीनिहरुले भव्य भेश-भुषा तथा श्रृंगारयुक्त मूर्तिहरुको स्थापना गरेर पूजागर्न थाले|

हिन्दु समाजमा पुराणहरुको निक्कै मान्यता छ तर पुराणमा पनि मूर्तिपूजाको घोर खण्डन गरिएकोछ| जस्तै-

यस्यात्मबुद्धिःकुणपे त्रिधातुके|

स्वधीः कलत्रादिषु भौम इज्यधीः||

यत्तीर्थबुद्धिः सलिले न कहिर्चिज्|

जनेष्वभिज्ञेषु स एव गोखरः ||

–   ( श्रीमद भागवत: १०-८४-१३)

अर्थात, जो वात, पित र कफ तीन मल द्वारा बनेको शरीरमा आत्मबुद्धि राख्छ, जो स्त्री आदिमा स्वबुद्धि राख्छ, जो पृथ्वीबाट बनेको पाषाण मूर्तिहरुमा पूज्य बुद्धि राख्ने गर्दछ, त्यस्तो व्यक्ति गोखर – गौको चारो बोक्ने गधा हो|

न ह्यम्मयानि तीर्थानि न देवा मृच्छिलामयाः|

ते पुनन्त्यापि कालेन विष्णुभक्ताः क्षणादहो||

–   ( देवी भागवत ९-७-४२ )

अर्थात, पानीको तीर्थ हुँदैन तथा माटो र पत्थरका देवता हुँदैनन्| विष्णुभक्तले त क्षण मात्रमा पवित्र गर्दिन्छन्| तर ति कुनै कालमा पनि मनुष्यहरुलाई पवित्र गर्न सक्दैनन्|

दर्शन शास्त्रहरुमा पनि मूर्तिपूजाको निषेध छ-

न प्रतीके न ही सः (वेदान्त दर्शन ४-१-४)

प्रतीकमा, मूर्ति आदिमा परमात्माको उपासना हुन सक्दैन, किनकि प्रतीक परमात्मा हैन|

 

संसारका समस्त महापुरुषहरु र सुधारकहरुले पनि मूर्तिपूजाको खण्डन गरेका छन्|

श्री शंकराचार्यले परपूजामा लेख्छन्-

पूर्णस्यावाहनं कुत्र सर्वाधारस्य चासनम्|

स्वच्छस्य पाद्यमघर्यं च शुद्धस्याचमनं कुतः||

निर्लेपस्य कुतो गन्धं पुष्पं निर्वसनस्य च|

निर्गन्धस्य कुतो धूपं स्वप्रकाशस्य दीपकम्||

अर्थात, ईश्वर सर्वत्र परिपूर्ण छ फेरी उसको आह्वान कस्तो? जो सर्वाधार छ उसको लागि आसन कस्तो? जो सर्वथा स्वच्छ एवं पवित्र छ उसको लागि पाद्य र अर्घ्य कस्तो? जो शुद्ध छ उसको लागि आचमनको के आवश्यकता? निर्लेप ईश्वरलाई चन्दन लगाउने किन? जो सुगंधको इच्छाले रहित छ उसलाई पुष्प किन चढाउँछौ? निर्गंधलाई धूप किन जलाउँछौ ? जो स्वयं प्रकाशमान छ उसैको समिप दीपक किन जलाउँछौ?

 

चाणक्यले लेख्छन्-

अग्निहोत्र गर्नु द्विजमात्रको कर्तव्यहो| मुनिहरु हृदयमा परमात्माको उपासना गर्ने गर्दछन्| अल्प बुद्धि मानिसहरु मूर्तिपूजा गर्दछन्| बुद्धिमानहरुको लागि त देव सर्वत्र छन्| ( चाणक्य नीति ४-१९)

 

कबीरदासको भनाइ-

पाहन पूजे हरि मिले तो हम पूजे पहार|

ताते तो चाकी भली पीस खाए संसार||

 

दादुरामको भनाइ-

मूर्त गढ़ी पाषण की किया सृजन हार|

दादू साँच सूझे नहीं यूँ डूबा संसार||

 

गुरु नानकदेवको उपदेश-

पात्थर ले पूजहि मुगध गंवार|

ओहिजा आपि डूबो तुम कहा तारनहार||

 

महर्षि दयानन्दको कथन-

“मूर्ति जड वस्तु हो, उसलाई ईश्वर मान्ने हो भने त ईश्वर पनि जड सिद्ध हुनेछ| अथवा ईश्वर समान एक अर्को ईश्वर मान्ने हो भने परमात्माको परमात्मापन नै रहन्न| यदि प्रतिमा मा ईश्वर आउँछ भन्छौ भने यो ठीक हैन| यसबाट ईश्वर अखण्ड सिद्ध हुँदैन| भावनामा भगवान् हुन्छ भन्छौ भने म भन्छु कि काठमा उखु र बालुवामा चिनीको भावना गर्नाले के मुख मिठो हुन सक्छ? मृगतृष्णामा मृगले जलको निक्कै भावना गर्छ तर उसको प्यास मेटिन्न| विशवास, भावना र कल्पनाको साथमा सत्य पनि हुनु आवश्यक छ|”

प्रश्न – मूर्तिपूजा एक सिंढीहो| मूर्तिपूजा गर्दा-गर्दा मनुष्य ईश्वर सम्म पुग्छ|

उत्तर – मूर्तिपूजा परमात्मा-प्राप्तिको सिंढी हैन| सिंढी त गंतव्य स्थानमा पुगे पछी छुट्छ तर हामि देख्छौं कि एक व्यक्ति आठ वर्षको आयुमा मूर्तिपूजा आरम्भ गर्दछ र अस्सी वर्षको अवस्थामा मर्ने समय सम्म पनि यस दलदलबाट निस्कन सक्दैन|

एक बालक दोस्रो कक्षामा पढ्छ, उसलाई ५ र ६ को जोड गर्नु पर्दा पहिले कालो पाटि कापीमा ५ धर्का खिच्छ र फेरी ६ धर्का खिच्छ, उनलाई गनेर उसले ११ प्राप्त गर्छ| तर तेस्रो अथवा चौथो कक्षामा पुगे पछी उसले औंला गनेर थाह पाउन सक्छ र पाँचौ र छैठौं कक्षामा पुगेर उसले मानसिक गणितबाट नै जोड-घटाउ-गुणा आदि गर्न सक्छ| यदि मूर्तिपूजा सिंढी हुन्थ्यो भने त मूर्तिपूजक पनि उन्नति गर्दा-गर्दा मनमनै ध्यान गर्न लाग्ने थियो तर यस्तो भएको कहीं देखिएको छैन र हुँदैन पनि, अतः महर्षि दयानन्दले लेख्छन्-

“हैन-हैन, मूर्तिपूजा सिंढी हैन तर अन्धकारमय एक विशाल खाडल हो जसमा खसेर मनुष्य चकनाचूर हुन्छ, पुनः उक्त खाडलबाट निस्कन सक्दैन र उसैमा मर्छ|” (सत्यार्थ प्रकाश, एकादश समुल्लास)

ईश्वर प्राप्तिको सिंढी त महर्षि  पतंजलि कृत “अष्टांग  योग” हो जसमा अंग – यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्| विद्वान, ज्ञानी र योगीजन ईश्वर प्राप्तिका सिंढी हुन्, पाषाण आदि हैन|

 

(साभार: स्वामी जगदीश्वरानन्द सरस्वती कृत -उपासना और मूर्ति पूजा)

अनुवाद: प्रेम आर्य

2 thoughts on “मूर्ति पूजा ईश्वर प्राप्तिको साधन हैन”

  1. महोदय नमस्ते
    कृपया इस उपयोगी लेख को हिंदी देवनागरी में लिखकर अपलोड करें ताकि मेरे जैसे हिंदी भाषी लोग इसे आसानी से समझ सके।

Leave a Reply

Your email address will not be published. Required fields are marked *