सुशील नारी नै घरकी लक्ष्मी हुन्छिन्

सुशील नारी नै घरकी लक्ष्मी हुन्छिन्….

Untitled

ओ३म्

मान्छे सुन्दरताको पुजारी हो | यही कारणले ऊ सुन्दरताको खोजमा यता-उता भौंतारी रहन्छ तथा प्रतिक्षण सुन्दर सुन्दर दृश्यमा नै आफ्नो समय बिताउने धुनमा प्रयासरत रहन्छ| यहि मनोभावको कारणले नै आजको मान्छे केवल सुन्दर मात्र हैन सुशील युवतीलाई पाएर सदा अति प्रसन्न रहने चाहना राख्दछ | यदि उसको सुन्दरतामा कुनै ह्रास आएको अनुभव भयो भने उसले वर्तमान युगको कृत्रिम साधनहरुको लेपन द्वारा हटाउने प्रयास पनि गरिरहन्छ| ठीक यस्तै गरेर मान्छे सोमको जल पाएर पनि आनन्दको अनुभव गर्दछ र उसलाई पवित्र गर्दछ| यहि तथ्यको चर्चा ऋग्वेद: १०/३०/५ मा यसरि गरिएको छ:-
याभिः सोमो मोदते हर्षते च कल्याणीभिर्युवतिभिर्न मर्यः ।

ता अध्वर्यो अपो अच्छा परेहि यदासिञ्चा ओषधीभिः पुनीतात् ॥

आमा-दिदी-बहिनी-श्रीमती-भान्जी-भतिजी-छोरी आदि सुन्दर तथा सुशील स्त्रीहरुबाट जसरि मनुष्य प्रसन्न रहन्छ, त्यसै गरि सोम जलबाट आनन्दित र प्रसन्न हुन्छ | हे अर्घ्यु ! उक्त जलको समिपमा जाउ| जब तिमि त्यस जलबाट सोमलतालाई सिंचन गर्दछौ, सोमले पनि ओषधिहरुबाट पवित्र गर्दछ |

सौम्य, सरल, सुशील तथा विनीत स्त्रीले आफ्नो उल्लास, सौम्य तथा विनीत भावले घरलाई स्वर्ग बनाउँछिन्| घरमा कुनै पनि प्रकारको कलह तथा विद्वेष रहदैन | यसको कारण यहि हो कि जहाँ सुशील तथा कल्याणकारी स्त्री छिन्, त्यहाँ स्वर्ग हुन्छ| जसरि स्वर्गको कल्पना गरिएको छ कि त्यहाँ कुनै प्रकारको अभाव तथा दुःख हुँदैन, सबै सुख पूर्वक रहन्छन्| कसैको कसै संग  कुनै झगडा, लडाई, विद्वेष हुँदैन, सब प्रकारको सुख, सम्पति, तथा साधन उपलब्ध हुन्छन् | ठीक त्यस्तै गरि जहाँ सौम्य, सुशील, विनीत तथा सरल स्वभाव भएकि स्त्री हुन्छिन्, त्यहाँ यस प्रकारका सुख तथा आनन्दको वर्षा प्रतिक्षण भईरहन्छ| सब परिवारजनहरु परस्पर मिलेर आनन्द तथा प्रसन्नताले रहन्छन्| सुशील स्त्री सौभाग्यले नै प्राप्त हुन्छिन् | यहि तथ्यलाई नै मन्त्रले स्पष्ट गरेको छ | यस्तै सौम्य तथा सुशील स्त्रीलाई पाएर मनुष्य आनन्द, प्रसन्न तथा सुखी रहन्छ |

सुशील स्त्री हर्ष एवं आमोदको कारण हुन्छिन् भने यसको विपरीत गुण भएकी स्त्री जसलाई हामि दू:शील भन्न सक्छौं,  परिवारको लागि दु:ख, कष्ट तथा क्लेशको कारण बन्छिन् | यस्ती स्त्रीले एक सुन्दर तथा सम्पन्न परिवारलाई पूर्णतःबर्वाद गरिदिन्छिन्| त्यो घरमा सदा लडाई, झगडा, कलह क्लेश बनि रहन्छ| यस्तो परिवारबाट सुख-सम्पति, धन-वैभव एवं प्रसन्नता पलायन हुन्छ| परिवार रसातल तिर भासिन्छ | त्यैले गृह-लक्ष्मी सुशील एवं विनीत हुनु गृह शोभाको कारण हुन्छ| त्यसैले भनिएको छ विवाह गर्दा गुण, कर्म, स्वभावको परिक्षा गरेर नै सम्बन्ध स्थापित गर्नु पर्दछ| बेमेल सम्बन्ध जोड्नु, परिवारको विनाशको कारण बन्छ|

जसरि कुनै वृक्षलाई सितल जलले सिंचन गर्ने हो भने वृक्ष हराभरा एवं लटरम्म फलेर प्रसन्न रहन्छ र प्रकृतिलाई सुन्दर बनाउँछ, ठीक त्यसै गरि सुशील स्त्री तथा पुरुषको मिलन हुनाले परिवारको सुख-शान्तिको कारणले परिवारको ख्याति निक्कै टाढा-टाढा सम्म फैलन्छ | यहि तथ्यलाई बुझाउनको लागि उक्त मन्त्रमा निक्कै सुन्दर ढंगले सम्झाइएको छ| वृक्ष झैं सुशील स्त्रीलाई पाएर परिवार फल्छ, फूल्छ र सदा प्रसन्न रहन्छ| जसरि जङ्गलका लता-लतिकाहरु सितल जल पाएर स्वयं नै बढ्छन्, हुर्कन्छन्, फूल्छन्, फल्छन्, त्यसै प्रकारले सुन्दर र सुशील स्त्रीलाई पाएर परिवारको पनि श्रीवृद्धि हुन्छ | परिवार केवल धन-धान्यले मात्र हैन उत्तम सुसन्तानले पनि भरिन्छ | त्यहि भएर नै सुशील एवं विनीत स्त्रीलाई परिवारकी लक्ष्मी (गृहलक्ष्मी) को संज्ञाले विभूषित गरिएको हो| जब स्त्री परिवारकी लक्ष्मी-गृहलक्ष्मी हुन् भने उनको आगमनबाट परिवारमा धन-धान्य, सुख, प्रसन्नता तथा वैभवको वर्षा अवश्य हुन्छ नै| यस प्रकार परिवार उक्त युवती कै कारण, जो पत्नी बनेर परिवारमा आएकी छिन्, अवश्य सम्पन्न बन्नेछ|
अत: मन्त्रको आशय अनुसार गृह-लक्ष्मी सुशील तथा प्रसन्न रहँदै परिवारमा खुशि एवं सम्वृद्धि ल्याउने प्रयास गर्दछिन् भने उनको ख्याति बढ्नेछ| उनको ख्यातिका साथै परिवारको ख्याति पनि बढ्नेछ तथा सुख-शान्तिको गणना गर्ने बेलामा मानिसहरुले यस्तै परिवारको उदाहरण दिन थाल्नेछन् | अस्तु..

नमस्ते..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *