ओ३म्
कृर्ण्वन्तो विश्वमार्यम्!
राष्ट्रदेवो भव
नेपाल आर्यसमाज, केन्द्रीय कार्यालय:-
टंकप्रसाद मार्ग, बानेश्वर हाइटस्, काठमाडौँ, नेपाल
दूर-संचार संख्या:- +९७७१४४९२२६५
बिध्युतिय डाक: nepalarya@wlink.com.np
………………………………………………………………………………………………………………………….
वयंराष्ट्रे जागृयाम पुरोहिताः।
जागौं स्वराष्ट्रमा हामी, प्रखर अग्नि शिखा बनि।
बनोस् वैभव सम्पन्न, यो हाम्रो देश अग्रणी।।
आर्यसमाज अतीत र वर्तमान: –
आर्यसमाज एक प्रगतिशील, बुद्धिवादी संस्था हो, कर्मयोगी र ज्ञानिहरुको जमघट हो एवं राष्ट्रवादी वीरहरुको संघ हो। यो दयाको सागर, करुणाको खानि, प्रेम, प्रिती, स्नेह, श्रद्धा र समर्पणको संगम हो। आर्यसमाज वैदिक सत्यमाथि आधारित परोपकारी तथा मानवतावादी संगठन हो।
हाम्रो समाजमा शताब्दियौं देखि जातिवाद, छुवा–छुत, उँच–नीच, अन्याय, अत्याचार, उत्पीडन, शोषण, भेदभाव रुपी पिशाचले यस देशलाई भित्रभित्रै खाएर खोक्रो, दुर्बल, दीन–हीन, कृशकाय, दरिद्र एवं दुर्दशाग्रस्त अवस्थामा पुर्याएको थियो। त्यसको साथै नारीजातिको त झनै अवर्णनीय दुरावस्था थियो। ”स्त्री शूद्रौ नाधीयाताम्” को नारा घन्काएर वात्सल्यमयी मातृशक्तिलाई तथा समाज र राष्ट्रको मेरुदण्डको रुपमा मानिने शूद्र अर्थात् श्रमिक वर्गलाई पठन पाठन र शिक्षा देखि बन्चित गरि-गराई, गहन अन्धकारमा राखी घोर अपमान र अन्याय गरिएको थियो। वैदिक कर्मकाण्डमा ठूलो बिकृति, अर्थको अनर्थ, ढोंग, पाखण्ड, अन्धविश्वास र रुढीवाद खुवै मौलाएको थियो।
यस्तो भयावह कालखण्डमा उद्भट, तार्किक, महान समाज सुधारक चारै वेदका प्रकाण्ड विद्वान, क्रान्तिगुरु युगप्रवर्तक महर्षि दयानन्द सरस्वति को भारतमा उदय भयो। वहांले बि.सं. १९३२ साल चैत्र शुक्ल पंचमी का दिन मुम्बई महानगरीमा आर्यसमाजको स्थापना गर्नुभयो। आर्यसमजले आफ्नो स्थापनाकाल देखि नै उपरोक्त समाजका भयावह अवस्थालाई निराकरण गर्दै धार्मिक.सामाजिक,सांस्कृतिक , साहित्यिक, राजनैतिक र आर्थिक शोषणका विरुद्ध सशक्त आन्दोलन आरम्भ गर्यो। केहि वर्ष भित्रै संसारका प्रायः जसो देशमा आर्यसमाजको विस्तार भयो।
नेपालमा आर्यसमाजको स्थापना:-
जतिखेर महर्षि दयानन्द सरस्वति ज्यूको प्रचार कार्य काशीमा चली रहेको थियो, ललितपुर बकुम्बहाल निवासी एक तरुण (माधवराज जोशी) काशी यात्रामा जानु भएको थियो। त्याहाँ सर्वत्र महर्षि दयानान्दको चर्चा चलिरहेको थियो। एक दिन वहाँको सभामा माधवराज जोशी पुग्नुभो। स्वामीज्यूको व्याख्यान सुनेर माधवराज जोशी गद्गद् हुनुभो। वहाँका सम्पूर्ण संशय मेटिए , सबै संका उपसंकाहरु ध्वस्त भए। मनमा संकल्प लिनुभो कि म पनि नेपालमा आर्यसमाजको स्थापना गरेर देश सेवा गर्ने छु। अविद्या तथा अन्धकार हटाएर सत्यविद्या देवको उज्यालो छर्दै सामाज सुधारको प्रयास गर्ने छु। माधवराजले स्वामिज्यूलाई भेट गरेर आशिर्वाद लिनुभो। वहाँ छिट्टै नेपाल फर्केर माता-पिताको चरणमा उपस्थित हुनुभो। उहाँ बोल्नमा निकै चतुर, व्यवहारमा इमान्दार तथा स्वभावमा निडर हुनुहुन्थ्यो। साथै उहाँ संगीत, गायन र ज्योतिष विद्मामा पनि निपुण हुनुहुन्थ्यो। काठमान्डौ, पाटन र भक्तपुर तिनवटै जिल्लामा आर्यसमाजको वैचारिक क्रान्तिको जोडदार प्रचार कार्य शुरु गर्नुभयो। ठाउँ ठाउँमा व्याख्यान दिनुभयो। धेरै मानिसहरु वहाँको व्याख्यान सुनेर निकै प्रभावित भएर वहाँका मित्र बने।
संवत् १९५३ सालमा माधवराज कार्यवश पोखरा जानुभएको थियो। त्याहाँ वहाँले जनरल डम्मरजंगको अध्यक्षतामा सम्वत् १९५३ साल असार १५ गतेका दिन नेपाल राष्ट्रमा प्रथम सामाजिक क्रान्तिको उद्घोषक आर्य समाजको विधिवत स्थापना गर्नुभो। त्यसपछि सम्वत् १९५५ सालमा ललितपुर र काठमान्डौमा पनि आर्य समाजको स्थापना गर्नुभो। वहाँको यस कार्यकालापबाट निरङ्कुश जहानिया राणाशाही क्षुब्ध भयो र एक दिन माधवराजलाई शास्त्रार्थको निहूले षड्यन्त्रपूर्वक श्री ३ चन्द्र शमशेरले शिंहदरबारमा डाके र दरबारिया चाटुकार पण्डितहरुसंग शास्त्रार्थ गराउँदा वहाँलाई तर्कमा जित्न नसकेकाले रगताम्य हुने गरि कुट-पिट गरे। त्यस पछि वहाँलाई गिरफ्तार गरि दुई वर्षका लागि कारावाशको सजाय दिइयो। डेढ वर्ष पछि वहाँ जेलबाट भाग्न सफल हुनुभो। भागेर सपरिवार भारत पुग्नुभो र आफ्ना ३ छोरा र १ छोरीको पढाइको प्रबन्ध आर्य समाज द्वारा संचालित गुरुकुलमा गर्दिनुभो।
श्री माधवराज जोशी सामान्य व्यक्ति हुनुहुन्थ्यो। वहाँ ज्योतिष शास्त्र र संस्कृत भाषाका पनि ज्ञाता हुनुहुन्थ्यो। राजदरबारमा समेत वहांको त्योतिष विद्याको प्रभाव परेको हुनाले वहाँलाई ‘पण्डित माधवराज जोशी’ यस सम्मानित नामले पुकारिन्थ्यो।
पं. माधवराज जोशी तथा वहाँकी धर्मपत्नी श्रीमती रत्न माया जोशीका माहिला छोरा श्री शुक्रराजले गुरुकुलबाट स्नातक भई विद्यालंकार, शास्त्री, बि.ए. तथा विद्याभुषण पद हाशिल गरि नेपाल फर्किनुभो। वहांले ब्रह्मसूत्र शान्कर्भाश्यको हिन्दीमा अनुवाद गर्नुभो, नेपाल भाषा व्याकरण, नेपाली वर्णमाला, नेपाल भाषा रिडर, स्वर्गको दरबार भन्ने अति उपयोगी पुस्तक लेखेर प्रकाशित गर्नुभो। शुक्रराज शास्त्रीले कलकत्तामा माहात्मा गान्धि र सुभाष चन्द्र वोस संग भेट गरेर नेपालमा समाज सुधार बारे विचार विमर्श गर्नुभएको थियो।
आर्यसमजको उद्देश्य अनुरुप शुक्रराज शास्त्रीले समाजमा विद्यमान अशिक्षा, अन्धविश्वास जात-पात, छुवा-छुत, सबैखाले भेदभाव, मूर्तिपूजा, मृतक श्राद, बाल बिवाह र रुढीगत कुसंस्कार विरुद्द लड्नुभयो। उंच-निचको भेदभाव मेटाउन तथा महिलाहरुको सामाजिक अधिकारको उत्थानमा लागि अविरल प्रयास गर्दै सशक्त अभियानको सुरुवात गर्नुभो। यसका साथै वहाँले नेपाल नागरिक अधिकार समिति स्थापना गरि सम्वत् १९९५ मङ्सिर १३ गते काठमाडौँ इन्द्र चोकको डबलीमा उभिएर सार्वजनिक रुपमा गीताको कर्मयोग तथा “मरे पुगिन्छ सहिदको लोकमा, जिते मुलुकमा सुधार गरौंला, लौ जिन्दगीको बाजी लगाउँ, के बाँच्नु छिः छिः गुलाम बनेर”। भन्ने नारा सहित अत्यन्त प्रभावकारी भाषण गर्नुभयो। भोलि पल्टै क्रुर शासकले वहाँलाई पक्रियो र ३ वर्षका लागि जेल पठायो। “खुलेआम उठी उठी भाषण गरेको र श्री ३ लाई आधा धन्यवाद दिएको, नेवार भएर गीताको प्रवचन, वेद मन्त्रको उच्चारण र ब्रह्मसुत्रको भाष्य गरेको” आदि आरोप लगाई ३ वर्षको लागि जेलमा थुन्ने सजाय दियो। आरोप बारे वहाँको उत्तर यस्तो थियो : “उभिएर बोल्ने बानि परेकाले उभिएर बोलेको, आधा काम गरेकोमा आधा धन्यवाद दिएको हो। ब्रह्म वेत्तालाई ब्राह्मण भनिने हुँदा नेवार परिवारमा जन्मदैमा गीता, वेद र ब्रह्म्सुत्र को प्रवचन गर्न नपाइने विधान कुनै शास्त्रमा छैन”।
वहाँ माथि देश-द्रोहको अभियोग लगाएर तत्कालिन प्रधानमन्त्री श्री ३ जुद्ध शमशेर ज.ब.रा. ले प्राण-दण्डको सजाय सुनाए र सम्वत् १९९७ साल माघ ९ गते रात्रि १२ बजे काठमाडौँ को मचली स्थित बकाइनाको रुखमा झुन्ड्याएर शहिद बनाइएको थियो। मर्नु अघि वहाँको इच्छा थियो कि “म मर्नु अघि वेदका ऋचाहरुको पाठ गर्न पाउँ र आफ्नो फांसीको फन्दा आँफै लगाउनपाउँ” (यो पुरा पनि गरियो, वहाँले आफ्नो फाँसीको फन्दा आँफै लगाउनु भएको थियो) । वहाँको अन्तिम वाक्य थियो-“हे ईश्वर, यो अत्याचारी राणा वर्गलाई सद्वुद्धि देऊ, ओ३म् तत्सत्”।
शुक्रराजको प्रसिद्ध प्रतिज्ञा थियो:- जननी जन्मभूमिका लागि तन, मन र धन अर्पण गर्ने छौं। नश्वर शरीरको माया त्यागी धर्म-युद्धमा मर्ने छौं।।
राणाको अन्त्य भए पछी वहाँलाई देशले सहिद शिरोमणिको समान दियो।
यसै सिलसिलामा शुक्रराज शास्त्रीको अभियानमा साथ् दिंदै आउनु भएका चक्र बहादुर अमात्यलाई देश निकालाको सजाय सुनाइ देशको सिमाना कटाइएको थियो। त्यसपछि वहाँ भारतको इलाहवादमा महात्मा गान्धीको साथमा वस्नुभो र गान्धी बाट अमूल्य शिक्षा प्राप्त गर्नु भयो। सजाय माफी भएपछी नेपाल फर्किनु भयो। प्रजातन्त्र प्राप्त भए पछी पुनः वहाँ शुक्रराज शास्त्री का दाजु अमरराज जोशी र भाइ वाक्पतिराज जोशिहरुको संयुक्त प्रयासमा वहाँहरुकै घर –काठमाडौँको खिन्ल्ह टोलमा नेपाल आर्यसमाज, केन्द्रिय कार्यालय को स्थापना भयो।
त्यस समय भारतको आर्यसमाज संग गहिरो सम्बन्ध थियो र पटना बाट प्रतिनिधिको रुपमा प्रखर वैदिक विद्वान रामदेव शास्त्री नेपाल रहनु भएको थियो। त्यस बेला चक्र बहादुर अमात्यले सशक्त रुपमा समाजको ररुपान्तरणका लागि वैदिक जागरण गराउदै काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा सभाको आयोजना गर्दा गर्दै २०१४ साल माघ शुक्ल-प्रतिवदाका दिन ६४ वर्षको उमेरमा वहांको देहावसान भयो। वैदिक विधि अनुसार नै वहाँको दाह संस्कार गरिएको थियो।
नेपालमा सर्वप्रथम नारीको शिक्षाको लागि विद्यालय खोल्ने श्रेय पनि आर्यसमाजलाई जान्छ। पं. माधवराज जोशी ज्यूकी सुपुत्री चन्द्रकान्ता जोशी (मल्ल) आर्यसमाजकी एक सशक्त नेत्री हुनुहुन्थ्यो। वहाँले काठमाडौँ को मखन टोलमा सम्वत् १९८६ सालमा कन्या पाठशाला खोल्नु भएको थियो र पछी काठमाडौँ कै अद्वैत मार्गमा सहिद शुक्र माध्यमिक विद्यालय स्थापना गरि महिलाहरुको जागरणमा ठूलो योगदान दिनु भएको थियो। वहाँले ‘मेरो आत्म कथा’ नामक पुस्तक लेखेर प्रकाशित गर्नुका साथै महिला जागरण सम्बन्धि अन्य थुप्रै क्रियाकलापहरु पनि गर्नु भएको थियो।
त्यसपछि क्रमशः संवत् २०२३ सालमा झापा जिल्लाको सुरुन्गामा नेपाल आर्यसमाजको विधिवत् पुनर्गठन भइ द्रुत गतिमा देशमा अन्य प्रमुख नगर र गाउँमा समेत शाखा-उपशाखाहरु स्थापित हुँदै काठमाडौँको बत्तीसपुतलीमा भू.पु. अन्चालाधिश टेक बहादुर रायमाझीको सक्रियता तथा अध्यक्षतामा संवत् २०४५ सालमा नेपाल आर्यमाज, केन्द्रीय कार्यालयको विधिवत् स्थापना गरि सशक्त कार्य समिति गठन पनि भयो र हाल सम्म निरन्तर सेवाकार्य गर्दै आएको छ। यस उप्रान्त नेपाल आर्यसमाज केन्द्रीय कार्यालयका अध्यक्ष रामचन्द्र मलहोत्राको देहावसान पछी वहाँकी धर्मपत्नी राजकुमारी मलहोत्रा ज्यु बाट गत २०६२ वैशाख १ गते देखि टंकप्रसाद मार्ग, बानेश्वर हाइट स्थित वहाँको निजि भवनमा नेपाल आर्यसमाज को केन्द्रीय कार्यालय संचालन का लागि प्रदान गरिए देखि हाल सम्म पनि सोहि भवनमा कार्यालय संचालनमा छ।
यसका साथै सम्वत् २०६५ सालमा काठमाडौँ जिल्लामा तथा २०६७ साल कार्तिकमा ललितपुरमा यस नेपाल आर्यसमाज को शाखा खोलि सशक्त रुपमा कार्य भइरहेको छ। नेपालमा अहिले आर्यसमाज का ४० वटा शाखा हरु संचालित छन्।
नेपाल आर्यसमाजका आगामी कार्यक्रमहरु र उद्द्श्यहरु: –
१-) सबै धर्महरुको समुचित आदर र सम्मान गर्दै सत्य सनातन वैदिक धर्मको यथार्थ स्वरूप प्रस्तुत गरि वेद एवं वैदिक वाङ्गमयको स्वाद्याय पठन पाठन तथा प्रचार प्रसारमा जोड दिने।
२-) पर्यावरण एवं वायुमंडल शुद्धिका लागि तथा सुख शान्ति र सम्वृद्धिका लागि यज्ञ वा अग्निहोत्रको वैज्ञानिक व्याख्या गरि प्रत्यक नगर र गाउँमा अग्निहोत्रको प्रचार गर्ने।
३-) राजधानी काठमाडौँका आसपासमा एक आर्षपाठ विधिको गुरुकुल खोल्ने।
४-) देशवाशिहरुको धार्मिक, आर्थिक र सामाजिक सेवामा यथाशक्ति योगदान गर्ने।
५-) मानव जीवनका मुख्य १६ संस्कारहरुको वैज्ञानिक व्याख्या गरि समाजमा सबैलाई संस्कार गर्न प्रेरणा गर्ने तथा संस्कार प्रशिक्षण शिविरको आयोजनाहरु गर्ने।
६-) केन्द्रीय कार्यालय काठमाडौँबाट एक मासिक पत्रिका राम्रो आकारमा प्रकाशन आरम्भ गर्ने।
७-) वेद, दर्शन, उपनिषद्हरुको सहज, सरल र सुरुचिपूर्ण वैज्ञानिक व्याख्या गरि प्रकाशन गर्ने।
८-) सिप विकाशको सम्बन्धमा समाजका निम्न आय भएका वर्गहरुको लागि निः शुल्क रोजगार मूलक प्राविधिक तथा शैक्षिक बिषयहरुको कक्षा संचालन गरि तालिमको व्यवस्था गर्ने।
९-) नेपाल आर्यसमाजको आयोजनामा राष्ट्र भरि नै समय समयमा स्वास्थ्य उपचारको अभियान चालाउदै विभिन्न स्वास्थ्य संगठनहरुको समन्वयमा स्वास्थ्य शिविर र पतंजली योग समितिको समन्वयमा योग शिविर संचालन गर्ने।
१०-) केन्द्रले प्रत्यक वर्ष ३ दिने वार्षिकोत्सव मनाउने जसमा निम्न गोष्ठीहरु हुने छन् :-
(क) विद्वद् गोष्ठी (ख) सत्यासत्य विवेचना गोष्ठी (ग) कवि गोष्ठी
(घ) हास्य-व्यंग्य कलाकार गोष्ठी (ङ) महिला गोष्ठी र (च) युवा गोष्ठी
आर्यसमाजका १० स्वर्ण नियमहरु: –
१-वसबै सत्यविद्या जो पदार्थविद्याको नामले चिनिन्छ, ति सबको आदिमूल ईश्वर हो।
२- ईश्वर सच्चिदानन्दस्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालू, अजन्मा, निर्विकार, अनन्त, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र तथा सृष्टिकर्ताहो. केवल उसैको मात्र उपासना गरौँ।
३- वेद समस्त सत्यविद्याको भण्डार हो, वेद पढ्नु-पढाउनु र सुन्नु-सुनाउनु सब आर्यहरुको परम कर्तव्य हो।
४- सत्य ग्रहण गर्न र असत्य त्याग्न सदा सर्वदा उद्यत रहौं।
५- सबै कार्य धर्मानुसार अर्थात् सत्यासत्यको विचार गरेर मात्र सुरु गरौँ।
६- शारीरिक, आत्मिक र सामाजिक उन्नति का साथै संसारको उपकार गर्नु यस समाजको मुख्य उद्देश्य हो।
७- सबैसंग प्रिती पूर्वक, धर्मानुसार, न्याय संगत, विवेकपूर्ण, यथायोग्य तथा आत्मवत् व्यवहार गरौँ।
८- अविद्या नाश तथा विद्याको वृद्धि गरौँ।
९- हरेकले आफ्नो उन्नतिमा मात्र सन्तुष्ट न रहेर सबैको उन्नतिमा नै आफ्नो उन्नति सम्झौं।
१०- सबै मानिसहरु सामाजिक सर्वहितकारी नियम पालनमा परतन्त्र तथा स्वहितकारी नियममा स्वतन्त्र रहौं। ओ३म् शम् …..
===================================================
हार्दिक आभार: राज आर्य/ कमला कान्त आत्रेय
===================================================
धेरै-धेरै धन्यवाद प्रेम गुरु !
ओ३म्..
श्याम भाइ, नमस्ते..!
हार्दिक आभार..
अति राम्रो लेख , यस्तो जानकारी हरुले नै आर्यसमाज लाइ केहि अघि बढाउन सक्ला
ओ३म्..
Anthas भाइ, नमस्ते..!
सत्यको सदा विजय हुन्छ ..तपाइँ-हामि सब मिलेर यसलाई अघि बढाउँ..
धन्यवाद..!
नेपाली मा वेद पनि उपलब्ध भए राम्रो हुन्थ्यो।
ओ३म्..
Anthas भाइ, नमस्ते..!
यसबारे सोंच बन्दैछ,
धन्यवाद..!
“Oum…..” Namaste
Arya samaj ko bare ma dherai ramro tatha upayogi chh daju.
dherai dhanyabaad.
ओ३म्
लिला भाइ, नमस्ते..!
हार्दिक आभार छ लेख पढेर प्रतिक्रिया दिनु भएकोमा..!आउनुहोस्, सबै मिलेर महर्षि दयानन्द सरस्वति ज्यू को अभियान तथा वेदको आदेश- ‘विश्वलाई आर्य बनाऊ’ लाई साकार गरौँ..