के कसैलाई कसैले वरदान या श्राप दिनु सम्भव छ?

के कसैलाई कसैले वरदान या श्राप दिनु सम्भव छ?

51861001_2611871465506379_7525756543476695040_n

ओ३म्..

वरदान र श्राप दिन संभव छ तर हामीले पुराणहरुमा पढेको या सुनेको जस्तो (जाऊ अब तिमीलाई कसैले मार्न सक्दैन, तिमि अमर भयौ।) हैन। सृष्टि नियम विरुद्धको कुनै पनि वरदान या श्राप गलत हो। यस्तो वरदान हुँदैन।
प्रकृतिको नियम विरुद्ध जुनसुकै कुरा पनि न वरदान हुन्छन् र न श्राप। सृष्टि नियम अनुकूल वरदान पनि हुन्छन् र श्राप पनि। आशीर्वादको नाम नै वरदान हो।ऋषि-मुनिहरुले भन्दछन्:-
अभिवादनशीलस्य नित्यं वॄद्धोपसेविन:।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम् ॥


अर्थात्, “जसले मान्यजनहरुको आदर तथा सम्मान गर्दछ, माता-पिता तथा गुरुजनहरुको श्रद्धापूर्वक आदेश पालन गर्दछ, उनको सेवा गर्दछ, त्यसका चार वस्तु बढ्छन्, ति हुन्- आयु, विद्या, यश र बल।” माता-पिता तथा गुरुजनहरुले त्यसलाई आशिर्वाद दिन्छन् कि आयु लामो होस्, यश तथा किर्ति खुब फैलियोस्, फल-फूल, अघि बढ, उन्नति गर, सदा सुखी रहनु।यस्तो वरदान ठीक हो।
श्राप के हो? कुनै व्यक्तिले अपराध गरेको अर्कोले देख्छ र भन्छ- हेर् तैले अपराध गरिस् अब तलाइ दण्ड भोग्नु पर्नेछ।कसैले उसलाई हप्काएर भन्छ – यसलाई कारागारमा कोचिदिनु पर्छ।पछी ऊ प्रहरीको हातमा आयो र अदालतमा मुद्दा चल्यो पछी उसलाई कारागारको सजाय पनि भयो। उसलाइ श्राप झैं भयो। भन्नेले साँच्चै भनेको थियो।


अपराधीलाई अपराध बाट बचाउनका लागि अथवा उसलाई सम्झाउनका लागि कसैले उसलाई हप्काउँछ र रोक्छ। तर पनि उसले मान्दैन भने त भन्नु पर्ने नै हुन्छ कि हेर् बाबु, तैले भनेको मान्दैनस, दण्ड अवश्य पाउनेछस्। र यो हुन्छ नै।
कुनै काल्पनिक श्राप यस्ता पनि हुन्छन्- एउटा व्यक्ति थियो, उसले सदा नराम्रो काम मात्र गर्ने गर्दथ्यो, उसलाई कसैले श्राप दियो कि – तँ अहिले नै यहाँ सुँगुर बन्नेछस्, अहिले नै यहि जन्ममा कुकुर बन्नेछस्।यो सम्भव हुँदैन।


कुनै पनि व्यक्ति यहि जन्ममा त कुकुर या अन्य कुनै पनि शरीरमा जान सक्दैन। अँ, मृत्यु भए पछी भने उसको कर्म अनुसार जे पनि हुन सक्छ। ईश्वरले उसलाई उसको कर्मअनुसार दण्ड दिन्छ, त्यो अलग कुरो हो तर जीवित अवस्थामा नै यहि जन्ममा कोहि पनि कुकुर या बिरालो बन्न सक्दैन र कसैले कसैलाई बनाउन पनि सक्दैन। यस्ता किसिमका कुनै पनि श्राप कुनै कथाहरुमा पढेका या सुनेका भए ति गलत हुन्। 


सत्य के हो जानौं, मानौं र त्यसै अनुरुप व्यवहार गरौँ…! अस्तु..
नमस्ते..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *