आत्मा के हो ?

ओ३म्..

अध्यात्मवाद

आत्मा के हो र परमात्मा के हो?
यी दुवैको आपसमा सबन्ध के छ?

 

आत्मा के हो, परमात्मा के हो र यी दुवैको आपसमा सबन्ध के छ? यहि विषयको नाम अध्यात्मवाद हो। आत्मा र परमात्मा दुवै भौतिक पदार्थ हैनन्। यिनलाई आँखले देख्न सकिदैन, कानले सुन्न सकिन्न, नाकले सुँघ्न सकिन्न, जिब्राले चाख्न सकिन्न र छालाले छुन पनि सकिन्न।

परमात्मा केवल एक छ, ऊ अनेक छैन । ईश्वरका गुण-कर्म-स्वभाव अनुसार अनेकौं नाम छन्। ब्रह्मा, विष्णु, महेश आदि पनि त्यसैका गुणवाचक नाम हुन्। (“एकं सद्विप्रा बहुधा वदन्ति” ऋग्वेद: १/१६४/४६) अर्थात्, एक परमात्मा शक्तिलाई नै विद्वानहरुले अनेकौं नामले पुकार्ने गर्दछन्। संसारमा जीवधारी प्राणीहरु अनन्त छन्, त्यसैले आत्मा पनि अनन्त नै छन्। न्यायदर्शन: १/१/१० अनुसार: “इच्छाद्वेषप्रयत्न-सुखदुःखज्ञानान्यात्मनो लिङ्गम्” ज्ञान, प्रयत्न, इच्छा, द्वेष, सुख, दुःख यी आत्माका लिङ्ग (लक्षण या गुण) हुन्,  यी लक्षण या गुण जसमा हुन्छन्, त्यसमा आत्मा छ। ज्ञान र प्रयत्न आत्माका स्वाभाविक गुण हुन्, बाँकी चार गुण यसमा शरीरको मेलबाट आउने गर्दछन्। आत्माको उपस्थितिका कारणले नै यो शरीर प्रकाशित छ, नत्र मुर्दा अप्रकाशित र अपवित्र छ। यो संसार पनि परमात्माको विद्यमानताको कारणले नै प्रकाशित छ।

आत्मा र परमात्मा दुवै अजन्मा तथा अनन्त छन्। यिनको कहिल्यै जन्म हुँदैन र कदापि मृत्यु पनि हुँदैन, यी सदा रहन्छन्। यिनलाई बनाउनेवाला कोहि छैन। आत्मा परमात्माको अंश पनि हैन। प्रत्येक आत्माको एक अलग र स्वतन्त्र सत्ता छ।

आत्मा अणु हो, अत्यन्त शूक्ष्म तथा परिछिन्न। परमात्मा आकाश सरह सर्व व्यापक (विभु) छ। आत्माको ज्ञान सीमित छ, परिमित छ। परमात्मा सर्वज्ञ छ, उसले सबथोक जान्दछ उसको ज्ञान अपरिमित छ। जे भइसक्यो, जे हुँदैछ र जे हुनेछ सबै उसको संज्ञानमा छ। अन्तर्यामी हुनाले उसले सबैको मनमा के छ भन्ने पनि जान्दछ। आत्माको शक्ति अल्प सामर्थ्य छ, तर परमात्मा सर्वशक्तिमान छ। सृष्टिलाई बनाउनु (रच्नु), चलाउनु (पालन गर्नु) र प्रलय (नाश) गर्नु आदि आफ्ना समस्त काम गर्नमा परमात्मा समर्थ छ। सन्देश वाहक, कटुवाल, अवतार आदि नामले कुनै अभिकर्ता या प्रतिनिधि तथा दलाल ईश्वरले राखेको छैन उसलाई यसको आवश्यकता पर्दैन। ईश्वरले यस्ता समस्त काम स्वयं भित्रैबाट गर्दछ किनकि उस भन्दा बाहिर केहि पनि छैन। ईश्वरले जे गर्दछ त्यो हात-खुट्टा कर्मेन्द्रियको सहायताले गर्दैन किनकि उसका यी अङ्गहरु नै छैनन्। उसले सबै इच्छा मात्रले गर्दछ।

ईश्वर आनन्द स्वरूप छ। ऊ सदा एकरस आनन्दमा रहन्छ। उसले कसै संग राग-द्वेष गर्दैन। ऊ काम, क्रोध, लोभ, मोह, अहंकार देखि पर छ। ईश्वरको उपासना गर्नाले अर्थात् उसको समीप जानाले आनन्द प्राप्त हुन्छ, जस्तै जाडोमा अग्निको समिपमा जाँदा सुख प्राप्त हुन्छ। ईश्वर निराकार छ। उसलाई शुद्ध मनले जान्न सकिन्छ, जस्तै- हामीले सुख-दुःख आदि मनमा अनुभव गर्दछौं।

आत्माले ईश्वर र प्रकृतिको सहायता बिना केहि गर्न सक्दैन, यो सदा मूर्छित अवस्थामा रहन्छ, आत्मा जब मनुष्य शरीरमा हुन्छ, तब मात्र कार्य गर्नमा स्वतन्त्र र सक्षम रहन्छ। यहि शरीरमा रहेको समयमा गरिएका कार्यहरुका अनुसार नै उसलाई परमात्माले  सुख, दुःख तथा पुनर्जन्म दिन्छ। अन्य योनिहरु या त कुनै अरुको आदेशमा चल्छन् या स्वभावले काम गर्दछन्। उनमा विचार शक्ति हुँदैन, त्यसैले ति योनिहरुमा गरिएका शुभाशुभ कर्मको फल प्राप्त हुँदैन। ति केवल भोग योनि हुन् जुन पूर्वजन्ममा गरिएका कर्मको फल भोग्दैछन्। मनुष्य योनिमा कर्म र भोग दुवैको मिश्रण छ। मनुष्यले स्वतन्त्र रूपमा कर्म पनि गर्दछ र कर्मफल पनि भोग्दछ।

म निराकार, निर्विकार आत्मा हुँ, शरीर हैन। शरीर मेरो संसारमा व्यवहार गर्ने साधन हो। कर्ता र भोक्ता म नै हुँ, सुख-दुःखको अनुभव मलाई नै हुन्छ।

जीवात्मा न स्त्रीलिङ्गी हो, न पुलिङ्गी हो र न नपुंसक हो। यसले जस्तो शरीर पाउँछ, त्यसै अनुसार चिनिन्छ।

नैव स्त्री न पुमानेष न चैवायं नपुंसकः।

यद्यच्छरीरमादत्ते तेने तेने स युज्यते॥ (श्वेताश्वतर उपनिषद्:५/१०)

ईश्वरको पूजा मनुष्यहरुको पूजा अर्थात सेवा सत्कार गरे सरह गरिन्न । ईश्वरको आज्ञा पालन अर्थात सत्य र न्यायको आचरण गर्नु नै ईश्वरको पूजा हो।

कठोपनिषदमा मनुष्य-शरीरको तुलना रथ संग गरिएको छ:

आत्मानं रथिनं विद्धि शरीरं रथमेव तु।
बुद्धिं तु सारथिं विद्धि मन: प्रग्रहमेव च।।
इन्द्रियाणि हयानाहुर्विषयांस्तेषु गोचरान्।
आत्मेन्द्रियमनोयुक्तं भोक्तेत्याहुर्मनीषिणः।।
(कठोपनिषद: १/३/३-४)
शरीर रथ हो, आत्मा रथको स्वामी अथवा रथी हो, बुद्धि सारथि हो र मन लगाम हो। श्रोत्रादि इन्द्रियहरु घोडा हुन्। शब्द स्पर्शादि विषय नै यिनी दौड्ने मैदान हो र शरीर, इन्द्रिय तथा मनले युक्त आत्मालाई भोक्ता भनिन्छ।

घोडाले रथ चल्छ तर त्यस रथलाई चाहे अनुसार जता पनि लैजाने काम हातमा लगाम समातेको बुद्धिमान सारथीको हो। इन्द्रिय रूपी बलवान र प्रमथनकारी घोडा विषयरूपी मैदानमा मनपरी दौड्न चाहन्छन्, तर यदि बुद्धि रूपी सारथीले मनरूपी लगामलाई खिचेर उनलाई आफ्नो वशमा राख्छ भने घोडाको त्यति ताकत छैन कि ति मनरूपी लगामको सहारा बिना नै मनपरी दौड्न सकुन्। यदि मन उनको साथमा छ भने मात्र इन्द्रियहरुले वास्तवमा विषय रसलाई ग्रहण गर्न सक्छन्। घोडा त्यतै तिर दौड्छन् जता तिर लगामको सहारा हुन्छ, तर यो लगामलाई ठीक राख्नु बुद्धिमान सारथीको बल, बुद्धि र मार्गको ज्ञानमा निर्भर गर्दछ।
यदि बुद्धि रुपी सारथी विवेकपूर्ण स्वामीको आज्ञाकारी, लक्ष्यमा सदा स्थिर, बलवान र इन्द्रिय रूपी अश्व संचालन क्रियामा निपुण छैन भने इन्द्रियरूपी दुष्ट घोडाहरु उनको वशमा नरहेर लगामलाई आफ्नो वशमा गर्दछन् र रथ, रथी र सारथी सहितलाई ठूलो खाडलमा खसाल्दिन्छन्। तर विवेकी र बुद्धिमान, तथा जसको मन एकाग्र र समाहित हुन्छ, उसका इन्द्रियहरु उत्तम घोडा सरह सारथीको वशमा रहन्छन् । मनुष्य शरीरमा आत्मा रथी हो। जब आत्मा यसबाट निस्केर जान्छ तब शरीर अरथी मात्र रहन्छ।

परमात्मा हामी सबको माता, पिता, गुरु तथा मित्र हो। उसले हामी सब प्राणिहरुको भलो चाहन्छ। जब हामीले कुनै शुभ कर्म गर्न थाल्छौं तब हामीलाई जुन आनन्द, उत्साह र निर्भयता महसूस हुन्छ, त्यो परमात्माको तर्फबाट हुन्छ, र जब कुनै अशुभ कर्म गर्न थाल्छौं तब हामीलाई भय, शंका, लज्जा महसूस हुन्छ, त्यो पनि परमात्माको तर्फबाट नै हुन्छ। अस्तु…!

नमस्ते…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *