ओ३म्
संगठन र एकताको शक्ति
संगठन सूक्तम् (ऋग्वेद १०/१९१/)
संसमिद्युवसे वृषन्नग्ने विश्वान्यर्य आ ।
इळस्पदे समिध्यसे स नो वसून्या भर ॥१॥
सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् ।
देवा भागं यथा पूर्वे संजानाना उपासते ॥२॥
समानो मन्त्रः समितिः समानी समानं मनः सह चित्तमेषाम् ।
समानं मन्त्रमभि मन्त्रये वः समानेन वो हविषा जुहोमि ॥३॥
समानी व आकूतिः समाना हृदयानि वः ।
समानमस्तु वो मनो यथा वः सुसहासति ॥४॥
आज समाजमा ईश्वर, धर्म, पूजा-पाठ, उपासना तथा भक्तिको स्वरूपको बारेमा अनेकौं भ्रान्तिहरु फैलिएका छन्। हामीहरुले वेदको निन्दा तथा अवमूल्यन गर्दैछौं, ईश्वरको आदेशको विपरित कर्म गर्दैछौं। हामीले एक हैन, दस हैन, सय हैन, हजारौं प्रकारका ईश्वर स्वयं निर्माण गरेर त्यसैको व्यापार गर्ने अनर्थ गर्दैछौं। सबभन्दा ठूलो दोष हो यो।
र वैदिक ईश्वर भक्तिको स्वरूप छोडेर हामि मध्ये कुनै लामा-लामा दाह्री-कपाल-नङ पालेर पागल सरि उफ्री-उफ्री नाच्दैछ, कुनै दौड्दैछ, कुनै उठ-बस् गर्दैछ, कसैले दण्ड-बैठक पेल्दैछ, कसैले आफ्नो शरीर तातो पन्यूले डामेकोछ, कसैले आफ्नो शरीरका अंगमा रङ पोतेर रंगाएको छ, कोहि वैदिक सभ्यतालाई कलंकित गर्दै निर्वस्त्र भएर निर्लज्ज घुमेकोछ..! के यहि हो ईश्वर भक्ति? हामि यो के गर्दैछौं? अखिल विश्वलाई के संदेश सम्प्रेषण गर्दैछौं? पहिले हाम्रो स्थितिमा के थियो र अहिले कुन स्थितिमा छौं?
पूजाको स्वरूप हेरौं, जहाँ वर्सेनी हजारौं बालबालिकाहरु दुध खान नपाएर अकाल मर्ने गर्दछन्, त्यहाँ कसैले लगेर ढुङ्गामा दुध चढाउँदैछ, जहाँ जीवितलाई दिनभरी पसिना बगाएर साँझ छाक टार्न धौ-धौ हुने देशमा कसैले निर्जीव-जड वस्तुको अगाडी लगेर पेडा-लड्डू-मनभोग-खिर-फल आदि चढाउँदैछ, कसैले मदिराको धार हाल्दैछ, कसैले गाँजा-भाङ-धतुरो-घोट्टा-चरस चढाउँदैछ ईश्वरलाई..! ईश्वरको नाउमा स्वयं सेवन गर्दै समाजमा एक-एक नयाँ-नयाँ अपराधलाई जन्म दिंदैछ…! मन्दिरमा, उपासना स्थल तथा धार्मिक संस्थानहरुमा मदिरा सेवन गरिदैछ, भाङ-चरस-घोट्टा घोटेर खाइदैछ..! सबभन्दा ठूलो दुष्कर्म, महापाप तथा मानव सभ्यतालाई नै कलंकित गर्ने गरि गाई-गोरु-राँगा-भैंसी-भेडा-बाख्रा-बोका-कुखुरा काटेर खाइदैछ; भगवानको नाउमा उसकै उपासना गर्ने पवित्र स्थलहरुलाई उसकै निर्दोष सन्तान (पशु-पंक्षी) हरुको घाँटी रेटेर तिनको रगतले रगताम्य पारिदैछ..!? यो कुकर्म अन्यत्र कतै हैन, आफ्नै देशमा हुँदैछ, हाम्रै समाजमा चालुछ, आफ्नै भाइ-बन्धुहरुले गर्दैछन् जसलाई वेदमार्गी-हिन्दु भनेर चिनिन्छ। अन्य सम्प्रदायको कुरो छोडौं, तिनको जन्म नै अज्ञानताको गर्भबाट भएको हो, ति बिचराहरुले त काट्छन् र खान्छन् पनि, तिनीहरुले जे गर्दछन्, जे खान्छन् त्यो उनको धर्मग्रंथमा लेखिएको छ। यहाँ आफ्नै वैदिक धर्मी-हिन्दु समाजको कुरो हुँदैछ। जहाँ एक विकृतिको हल भएको हुँदैन कि अरु पाँच नयाँ विकृतिहरुले जन्म लिन्छन्..! के यस्तो सडेगलेको दुर्गन्धयुक्त विचार लिएर हामिले अखिल विश्वलाई नेतृत्व दिन सक्छौं? वेदको साख बचाउन सक्छौं?
यो भयङ्कर अज्ञानता हो, अनेकतामा एकताको भयङ्कर भ्रान्ति फैलाइदै (जसको एकता नै हुन सक्दैन, त्यो अनेकता हो)। यहाँ त्यहि कुरो सम्झाउने प्रयास गरिदैछ। वेदले भन्छ- एक ईश्वर, एक धर्म, एक धर्मग्रन्थ, एक पूजा-उपासना पद्धति, एक संविधान, एक राजा, एक राज्यव्यवस्था, एक सेना, एक शिक्षा पद्धति, एक भाषा, एक वाणी, एक आचार-विचार, एक खानपान, एक चाल-चलन, जब सम्म एकत्व हुँदैन, तब सम्म हामीले यस संसारमा शान्ति प्राप्त गर्न सक्दैनौं।
हामीहरुलाई वेद विरोधीहरु देखि त खतरा छंदैछ त्यो भन्दा पनि बढी खतरा हामीलाई आँफै भित्र पलाएको वेद विरोधी सोंच-विचार-भावना तथा मान्यता बाट छ। जसको विचार भिन्न छ, ईश्वर भिन्न छ, धर्मग्रन्थ भिन्न छ, पूजा पद्धति भिन्न छ, उपासनास्थल भिन्न छ, जीवन जिउने ढंग भिन्न छ, चाल-चलन भिन्न छ, खान-पान भिन्न छ, त्यहाँ आपसमा भेद तथा मनमुटाव सिर्जना हुन्छ। जहाँ भेद हुन्छ, त्यहाँ विरोध हुन्छ, द्वेष हुन्छ, निन्दा-चुक्ली हुन्छ, झगडा हुन्छ, संधर्ष हुन्छ, युद्ध हुन्छ, मार-काट हुन्छ, आतंकवाद फैलन्छ।
त्यसैले विरोध हुनु हुँदैन। नेपालमा यस किसिमको एकताको लागि वैदिक दृष्टिकोणबाट कुनै वेशेष प्रयास गरिएन। विसं१९५३ मा नेपाल आर्य समाजको विधिवत स्थापना गरेर माधवराज जोशी र डम्मरजंग जस्ता अग्रजले कुरीतिको सुधार गरि एकताको प्रयास थाले पनि त्यो त्यति प्रभावकारी हुन सकेन किनकि त्यतिबेला जहाँनिया राणा शासनको एकछत्र दबदबा थियो। त्यसैले उहाँलाई निर्वासनमा जानु पर्यो। पछी वीर हुतात्मा शुक्रराज शास्त्रीले त्यसलाई आन्दोलनको रुप दिनु भयो, फलस्वरूप युवाहरुमा केहि जागरण आउन थालेको थियो, तर विडम्वना नै भनौं, धर्मको नाउमा आफ्नो व्यापार चम्काउने केहि यथास्थितिवादी राणाका चाटुकार पण्डितहरुले चुक्ली लगाइदिए र उहाँलाई विसं.१९९७ माघ-९गते मृत्यु दण्ड दिइयो। त्यस पछी यो आन्दोलन विस्तारै शिथिल भयो।
जबसम्म समाजमा एकता हुँदैन, तबसम्म हामि सुख र शान्ति संग बस्न सक्दैनौं। जुनसुकै देशमा पनि आजभोलिका प्रत्येक समाचार माध्यम तथा सामाजिक संजालहरुमा साम्प्रदायिक उन्माद स्वरूप उपद्रोह, बम बिस्फोट, आतंकवादी आक्रमण आदिको नै सबभन्दा धेरै चर्चा हुने गर्दछ। महानुभाव, यो वेदादेश “संगच्छध्वं संवदध्वं…” र “कृण्वन्तो विश्वमार्यम्…!” लाई चरितार्थ अरु कसले गर्ला? हामीले त गरौंला नि, हामीले नै यो देशको विभाजन गरेका हौँ, विश्वलाई टुक्रा-टुक्रा पारेर बाँडेका हौँ, ईश्वरको अति सुन्दर रचना एक मानव जातिलाई आफ्नो स्वार्थको वशीभूत भएर अनेकौं जात-जाति-वर्ण-मत-पन्थ-सम्प्रदायमा हामिले नै विभाजन गरेकाहौं भने हामि मध्यकै कुनै व्यक्ति अघि सरेर आउला र यो समाज, देश र विश्वलाई एक रूपतामा त्याएर एक पनि अवश्य गर्ला।
त्यसैले यो वेद मन्त्र “संगच्छध्वं संवदध्वं” मा भनिएको छ- एक ईश्वर, एक धर्म, एक धर्मग्रन्थ, एक पूजा पद्धति, एक संगठन, एक समिति, एक शासन व्यवस्था, एक संविधान, एक विचार, एक वाणी, एक शिक्षाप्रणाली, एक भाषा, एक चाल-चलन, एक खान-पिन हुनु अत्यन्त आवश्यक छ।
सेनाको सेनापति एक हुन्छ, विद्यालय, महाविद्यालयमा प्रधानाध्यापक र कुलपति एक हुन्छन्, बैंकमा मेनेजर एक हुन्छ, न्यायालयमा प्रधान न्यायाधीस पनि एक हुन्छ, त्यस्तै गरि धार्मिक क्षेत्रमा पनि जबसम्म एक ईश्वर हुँदैन, एक पूजा पद्धति हुँदैन, एक धर्मग्रन्थ हुँदैन, भक्तिको स्वरूप एक हुँदैन, एक चाल-चलन हुँदैन, एक अनुशासन हुँदैन, तब सम्म हामिले शान्ति प्राप्त गर्न सक्दैनौं। त्यसैले यस वेद मंत्रमा भनिएको छ कि एकत्व ल्याऊ..! केवल एक देश, एक प्रान्त, एक राज्यमा मात्र हैन, अखिल विश्वमा; यो आदेश हो। कति सुन्दर आदेश छ। कुनै एक सम्प्रदायका लागि मात्र हैन, समस्त मानव जातिका लागि हो यो। जबसम्म हिन्दु-मुस्लिम-सिख-ईसाई-यहुदी-जैन-बौद्ध-फारसी-नास्तिक-आस्तिक-उपेक्षितहरु अलग-अलग मत-पन्थ-सम्प्रदाय बनेर रहन्छन्, तबसम्म एकताको स्थापना हुँदैन र शान्ति पनि प्राप्त हुँदैन। यो वेदको आदेश हो। कसले विरोध गर्छ? कसैले विरोध गर्न सक्दैन। अस्तु..!
नमस्ते..!
कृण्वन्तो विश्वमार्यम्…!
सबको मनमा अभय, वैदिक धर्मको जय..!