योगेश्वर श्री कृष्ण र १६ कला तथा जन्माष्टमी

ओ३म्

योगेश्वर श्री कृष्ण र १६ कला तथा जन्माष्टमी:

k

इतिहासमा अनेकौं मनुष्यहरु उत्पन्न भए र गए पनि तर स्मरणमा भने केवल केहि विशिष्ठ गुण सम्पन्न मानिसहरु मात्र रहन्छन्। इतिहासमा केवल तिनीहरुको लागि नै स्थान हुन्छ जसले केहि अनौठो गर्दछन्। कसैले भने आँफै द्वारा गरिएको दुष्कार्यको परिणाम स्वरूप आफ्नो नाम इतिहासको कालो अध्यायमा दर्ता गर्दछन् भने कसैले आफ्ना सद्गुण, सुलक्षण तथा महान कर्तव्यले आफ्नो नाम इतिहासको सुनौलो पानामा अंकित गर्दछन्। त्यस्तै आज राम, कृष्ण र हनुमान जस्ता वीर तथा सुलक्षण नाम आफ्ना पुत्रको त जसले पनि राख्न चाहन्छ तर रावण, कंस आदि जस्ता दुराचारी र दुर्गुणिहरुको नाम भने आफ्ना पुत्रको लागि कसैले पनि राख्न चाहदैन। त्यसै कारणले राम, कृष्ण तथा हनुमान अमर छन् भने रावण तथा कंस आदि मृत छन्।

आर्यावर्तमा उत्पन्न भएका अनेकौं ऐतिहासिक महापुरषहरु मध्ये एक वीर महापुरुष, महाज्ञानी, वेदवेत्ता योगेश्वर श्री कृष्णको जन्म आजकै दिन भएको थियो। यो दिन जन्माष्टमीको नामले प्रसिद्ध छ। किनकि आज भाद्रपदको अष्टमी तिथि हो।

हामी मध्ये कै केहिले आफ्नो अज्ञानताको कारणले श्री कृष्णलाई पूर्ण अवतारी पुरुष मान्ने गर्दछन्। यहाँ हामी अवतारको अर्थ संक्षेपमा भन्न चाहन्छौं, “अवतार” को शाब्दिक अर्थ हुन्छ- “माथिबाट तल अवतरण गरेको या झरेको” र “पूर्ण” यस हेतुले भन्छन् कि जुन अधुरो नभएको र “पुरुष” शब्दको दुई अर्थ छन्:

  • पुरुष सामान्य अर्थमा अल्पज्ञ र अल्पशक्तिमान जीवात्मालाई पनि भनिन्छ। र
  • पुरुष शब्दको प्रयोग प्रसंग अनुसार सर्वज्ञ तथा सर्वशक्तिमान परमात्माको लागि पनि गरिन्छ जसले यो सम्पूर्ण ब्रह्माण्डको रचना, धारण र प्रलय आदि पुरषार्थ गर्ने गर्दछ।

हामी जस्ता सबै जीवात्माहरु जो यस धरतीमा र अन्य लोकलोकान्तरमा विचरण गर्दैछन् ति सब अवतारी हुन्। किनकि हामी सबै माथिबाट तल आएका हौँ। शरीर छोडेपछी आत्मा यमलोक- यम वायुको नाम हो अतः ईश्वरको सहायताले आत्मा वायुलोक अर्थात् अंतरिक्षमा जान्छ र त्यहाँबाट तल अवतरण गर्दछ। हामी मध्ये जो जो आत्माको उद्देश्य पूर्ण हुँदैन अर्थात मोक्ष ग्रहण गर्न योग्य गुणलाई धारण गर्न सक्दैनौं त्यसैले हामी आवागमन अर्थात् जन्म-मृत्युको चक्रमा फसिरहन्छौँ। अतः यहि कारण हो कि हामी अवतार हुँदा हुँदै पनि मृतप्रायः रहन्छौं अमर अर्थात् मोक्षत्व प्राप्त गर्न सक्दैनौं।

अब कुरो गर्दछौं श्री कृष्णलाई १६ कलाहरुले युक्त पूर्ण अवतारी पुरुष किन भनिन्छ भन्ने बारे। हाम्रा पौराणिक दाजु-भाइहरुले सर्वप्रथम यो तथ्यलाई राम्रो संग सम्झनु पर्दछ कि परमपिता परमात्मा जो पुरुष हो, त्यो अनेकौं कलाहरु र विद्याहरुले पूर्ण छ। तर जीवात्मा पुरुष अल्पज्ञ हुनाले केहि कलाहरुमा मात्र निपुण छ। यही एउटा सबभन्दा ठूलो कारण हो कि जीव कदापि कुनै पनि हालतमा ईश्वर हुन सक्दैन र त्यस्तो मान्नु पनि हुँदैन। किनकि ईश्वरका समस्त गुणहरुलाई आत्मसात गर्नु जीवको प्रमुख दायित्व हो त्यसैले योगिराज श्री कृष्णले योग र ध्यानको माध्यमले ईश्वरका यिनै १६ गुणहरु (कला) लाई प्राप्त गरेका हुनाले उनलाई १६ कलायुक्त पूर्ण अवतारी पुरुष भनिन्छ।

यी १६ कलाहरु यस प्रकार छन्:

इच्छा, प्राण, श्रद्धा, पृथ्वी, जल, अग्नि, वायु, आकाश, दश इन्द्रिय, मन, अन्न, वीर्य, तप, मन्त्र, लोक र नाम यी १६का स्वामीलाई प्रजापति भनिन्छ।

यी प्रश्नोपनिषदमा प्रतिपादित छन्।

योगेश्वर श्री कृष्णले योग र विद्याको माध्यमबाट यी १६ कलालाई आत्मसात गरेर धर्म र राष्ट्रको रक्षा गरेर आर्यवर्तका निवासिहरुका लागि उनि आदर्श महापुरष बने। ठीक त्यसै गरि जसरि उनि भन्दा पहिलेका अनेकौं महापुरषहरुले राष्ट्र, धर्म र मनुष्य जातिको रक्षा गरेका थिए। श्री कृष्णले आफ्ना उत्तम कर्म र योगको माध्यमले यी समस्त १६ गुणहरुलाई आत्मसात गरेर आत्माको उद्देश्य पूर्ण गरे त्यसैले उनलाई पूर्ण अवतारी पुरुषको संज्ञा अनेकौं विद्वानहरुले दिए तर कालांतरमा पौरणिकहरुले यिनलाई ईश्वरको नै संज्ञा दिएर उनीमाथि अन्याय तथा ईश्वरको अपमान गरिदिए जुन अत्यन्त खेदजनक छ।

ईश्वर र जीव अलग अलग कसरि हुन् भन्ने कुरो यहाँ सिद्ध गरिन्छ हेर्नुहोस्:

यस्मान्न जातः परोअन्योास्ति याविवेश भुवनानि विश्वा।
प्रजापति प्रजया संरराणस्त्रिणी ज्योतींषि सचते स षोडशी।

(यजुर्वेद अध्याय ८ मन्त्र ३६)

अर्थ : गृहाश्रमको इच्छा भएका पुरुषहरुले सदा जो सर्वत्र व्याप्त, सब लोकलोकान्तरको रचना र धारण गर्ने वाला, दाता, न्यायकारी, सनातन अर्थात सदा यस्तै बनिरहने, सत, अविनाशी, चैतन्य र आनंदमय, नित्य शुद्ध बुद्ध मुक्तस्वभाव र सब पदार्थहरुबाट अलग रहने वाला, सूक्ष्म भन्दा अतिसूक्ष्म र विशाल भन्दा अत्यन्त विशाल, सर्वशक्तिमान परमात्मा जसका समक्ष तथा जसको सामान कुनै पनि पदार्थ उत्तम छैनन्, त्यसैको उपासना गर्ने गर्नु।

यहाँ मन्त्रमा “सचते स षोडशी” पुरुषका लागि आएको छ, पुरुष जीव र परमात्मा दुवैलाई नै सम्बोधन छ र दुवैमा नै १६ गुण धारण गर्ने शक्ति छ तर ईश्वरमा यी १६ गुणका साथ अनेकौं विद्याहरु यथा: (त्रीणि) तीन (ज्योतिषी) ज्योति अर्थात सूर्य, बिजुली र अग्निलाई (सचते) सब पदार्थहरुमा स्थापित गर्दछ। यो काम जीव पुरुषको कदापि हुन सक्दैन। न त जीव पुरुषले गर्न नै सक्छ किनकि जीव अल्पज्ञ र परिछिन्न छ भने ईश्वर सर्वज्ञ र सर्वव्यापी छ। यहि हेतुले जीव पुरुष जो गृहाश्रमको इच्छा गर्ने वालालाई ईश्वरले १६ कलाले आत्मसात गरेर मोक्ष प्राप्तिका लागि वेद ज्ञान द्वारा प्रेरणा दिएको छ ताकि यो जीव पुरुषले उस परम पुरुषको उपासना गरिरहोस्।

ठीक त्यस्तै १६ कला पूर्ण अवतारी पुरुष योगेश्वर श्री कृष्णले उस सत, अविनाशी, चैतन्य र आनंदमय, नित्य शुद्ध बुद्ध मुक्तस्वभाव र सब पदार्थहरु बाट अलग रहने वाला, सूक्ष्म भन्दा अतिसूक्ष्म र विशाल भन्दा अत्यन्त विशाल, सर्वशक्तिमान, परम पुरुष परमात्माको उपासना गर्ने गर्दथे।

अब स्वयं सोचौं र विचार गरौँ त, जो पुरुष (जीव)ले यी १६ कला (गुण) लाई योग माध्यम द्वारा प्राप्त गर्न सफल भयो, के उसले ‘रास लिला’ गर्न सक्ला? के कुनै गोपिनीहरुका साथ अश्लील कार्य गर्न सक्ला? के कुनै कुब्जाका साथ समागम गर्न सक्ला? के आफ्नी पत्नी (रुक्मिणी) का अतिरिक्त कुनै अन्य स्त्री (राधा) का साथ सम्बन्ध बनाउन सक्ला? के कुनै अश्लीलता पूर्ण कार्य गर्न सक्ला? अहँ, कदापि गर्दैन किनकि जसले यी कला (गुण) हरुलाई आत्मसाथ गर्दछ तब मात्र ऊ पूर्ण मानिन्छ र जसले यी १६ कलाहरु अपनाए पछी पनि यस्ता लज्जाजनक कार्य गर्दछ भने त्यसलाई कामी तथा निर्लज्ज पुरुष नै भनिन्छ; पूर्ण अवतारी पुरुष हैन।

त्यसैले श्री कृष्णको सच्चा स्वरुप अपनाएर आफ्ना बालबालिकाहरुलाई पनि श्री कृष्ण जस्तो वैदिक धर्मी बनाउने प्रण गरौँ।

योगेश्वर महाराज श्री कृष्णको जय..!

धन्यवाद

आउनुहोस्, हामी पनि यी गुणहरुलाई अपनाएर श्री कृष्ण समान स्वयंलाई अमर गरौँ। हामीले कथंकदाचित १६ कला अपनाउन नसके पनि वेद पाठी भएर केहि उन्नति अवस्य गर्न सकौं।

सदा सत्यलाई अपनाउने र असत्यलाई त्याग गर्ने साहस गरेर योगेश्वर श्री कृष्णको जन्मदिवसको पावन पर्व ‘जन्माष्टमी’ मनाऔं।

मेरा समस्त इष्ट-मित्र तथा बन्धु-बान्धवहरुलाई जन्माष्टमीको हार्दिक शुभकामना छ..!

वेदको सुखदायी तथा मोक्षमार्ग तिर लागौं..! अस्तु..

सबको मनमा अभय – वैदिक धर्मको जय..!

नमस्ते।

Leave a Reply

Your email address will not be published. Required fields are marked *