हिन्दुहरुको महा-कलंक: बलि प्रथा…

ओ३म्..

बलि प्रथा:

Untitled

हिन्दुहरु जसले आँफूलाई सनातन वैदिक धर्मि भन्न रुचाउँछन्, त्यसै समाजको ठूलो कलंकको रुपमा भनौं या जंगलीपन र निर्दयिताको पराकाष्ठा हो यो बलि प्रथा।

पशु-पंक्षीको बलि देवी-देवताहरुलाई प्रसन्न गर्नको लागि प्रयोग गर्ने गरिन्छ। बलि प्रथा अंतर्गत बोका, कुखुरा, हाँस, राँगा आदि काटिने प्रचलन छ। प्रश्न उठ्न सक्छ कि के बलि प्रथा सनातन वैदिक धर्मको कुनै भाग हो?

या केवल जिब्रोको स्वाद मेटाउनको लागि सुरु गरिएको कुसंस्कार हो? कुनै पनि वैदिक साहित्यमा बलि प्रथाको कहीं कतै पनि गन्ध पाइन्न।

”मा नो गोषु मा नो अश्वेसु रीरिष:।”- ऋग्वेद १/११४/८
अर्थ: हाम्रा गौ र घोडाहरुलाई न मार।

समस्त वैदिक विद्वानहरुको मान्यता छ कि हिन्दु समाजमा धर्मको नाउमा लोक परंपराको धारा पनि जोडिदै गयो र त्यसलाई सनातन धर्मको नै एक भाग मान्न थालियो। जस्तै बरको वृक्षबाट असंख्य लहराहरू निस्केर आफ्नो अलग ‍अस्तित्व बनाउन सक्षम हुन्छन् तर ति लहराहरू वृक्ष बन्न सक्दैनन्। त्यसैगरी सनातन वैदिक आर्य धर्मको छत्रछायामा अन्य परम्पराहरुले पनि जरो गाडेका छन्। यसलाई कसैले पनि कहिल्यै रोक्ने प्रयास गरेन।

बलि प्रथाको प्रचलन हिन्दुको शाक्त र तान्त्रिक सम्प्रदायबाट सुरु भएर अन्य सम्प्रदायमा पनि मौलाएको छ तर यसको कुनै धार्मिक आधार भने छैन। अनेकौं समाजमा केहि मनोकामना पूर्तिको लागि भाकल गर्ने र पछी बलि चढाउने प्रचलन छ। कसैको जन्म या बिवाह जस्तो खुशीको मौकामा पनि बलि दिने प्रचलन छ। यहाँ सम्म कि एमाले दलका नेता मनमोहन अधिकारि प्रधान मन्त्रिको पद ग्रहण गर्दा पनि कालो बोको बलि चढाइएको थियो। जो कि एकदमै अनुचित हो। आज पनि नव दुर्गाको पंचमी र अष्टमीको तिथिमा लाखौं संख्यामा ति निर्दोष तथा मूक पशु-पंक्षीहरु देवीको नाउमा काटिन्छन्। वेदले यस्तो कुनै पनि प्रकारको कुकृत्यलाई अनुमति दिन्न। यो धार्मिक हैन, अधार्मिक छ। हिन्दु बर्बरताको नमुना हो। असभ्य तथा जंगलीपनको परिचायक हो। यो दुत्कार्य र निन्दनीय कार्य हो..!

वेदमा समस्त प्राणीलाई रक्षा गर्ने आदेश दिइएको छ र जसले तिनलाई मार्छ, त्यसलाई पनि मार्ने आदेश दिन्छ-

”इममूर्णायुं वरुणस्य नाभिं त्वचं पशूनां द्विपदां चतुष्पदाम्।
त्वष्टु: प्रजानां प्रथमं जानिन्नमग्ने मा हिश्सी परमे व्योम।।” (येजुर्वेद: १३/५०)

अर्थ: ”ऊन जस्ता रौँ गरेका भेडा-बाख्रा, ऊट आदि चौपायहरु र पक्षिहरु आदि दुई खुट्टे प्राणीलाई नमार।”

” न कि देवा इनीमसि न क्या योपयामसि। मन्त्रश्रुत्यं चरामसि।।’- सामवेद: २/७
अर्थ: ”हे देवहरु हो! हामि हिंसा गर्दैनौं र यस्तो अनुष्ठान पनि गर्दैनौं, वेद मंत्रको आदेशानुसार नै आचरण गर्दछौं।”

वेदमा यस्ता असंख्य मंत्र र ऋचाहरु छन् जसबाट यो सिद्ध गर्न सकिन्छ कि सनातन वैदिक धर्ममा बलि प्रथा निषेध छ र यो सनातन धर्मसंग सम्बन्धित छैन। जसले बलि प्रथाको समर्थन गर्दछन तिनले धर्मविरुद्ध दानवी आचरण गर्दछन। यस्ता व्यक्तिको लागि दण्ड पनि नियत छ। ईश्वर न्यायाकारी छ, मृत्यु पछी त्यसले उचित दण्ड अवश्य पाउँछ।

पशुबलिको यो प्रथा कहिले र कसरि प्रारम्भ भयो, भन्न कठिन छ। कसैले तर्क दिन्छन कि वैदिक कालमा यज्ञमा पशुहरुको बलि दिइन्थ्यो। यस्तो तर्क दिनेहरु ति हुन् जसले वैदिक ऋचाहरुको गलत अर्थ निकालेर भ्रम सिर्जना गर्दै आफ्नो स्वार्थ सिद्ध गर्दछन। वेदमा पाँच प्रकारका यज्ञको वर्णन पाइन्छ। अग्निहोत्र, दर्शपूर्णमासौ, चातुर्मस्यानि, पशुयाग र सोमयज्ञ। यी सबमा कहीं कतै पशु बलिको गन्ध मात्र पनि छैन। अस्तु..

नमस्ते.!

-प्रेम आर्य

(दोहा, कतार बाट)

4 thoughts on “हिन्दुहरुको महा-कलंक: बलि प्रथा…”

  1. हिन्दू धर्म भित्रको केही राक्षसी समुदायद्वारा गरिने बलीप्रथा निन्दनीय छ ।

    1. आशा गरौं, सबको चेतनाको द्वार छिट्टै खुलोस्..ओ३म्..

  2. शाकाहारी वन्नु, हिंसा नगर्नु धेरै असल र राम्रो हो ।तर हिन्दु र देवदेवीको मन्दिरमा वली चढाउने प्रथाको मात्र विरोध गर्ने मासु चाहिँ हविष्य गर्नु चाहिँ राम्रो होईन

    1. ओ३म्..
      अर्जुन श्रेष्ठ ज्यू, नमस्ते..!
      तपाइको कुरो अलि प्रष्ट भएन कि कृपया कुरो अलि खुलाएर प्रतिक्रिया दिनुस् न है..
      कि बलि प्रथाको बिरोध गरेको मन नपर्या हो कि ?
      तपाइको मत पनि प्रष्ट संग राख्न सक्नुहुन्छ..
      धन्यवाद..!

Leave a Reply to Prem Arya Nepal Cancel reply

Your email address will not be published. Required fields are marked *