पुराणले केहि भन्दैछन्…

ओ३म्..!

पुराणले केहि भन्दैछन्

-प्रेम आर्य, दोहा-कतार

के पौराणिकहरुले सुन्लान् ? के सुनेर केहि विचार गर्लान् ?? र के विचार गरेर स्वीकार पनि गर्लान् ???
त्यसो त हमेशा आर्य समाजीहरुले नै पुराणको विरुद्ध लेख्ने गर्दछन्। लेख्नाको कारण कुनै द्वेष हैन अपितु आफ्ना प्रिय बन्धुहरुलाई वेद मार्गी बनाउनु हो।
वेद मार्गी बन्नाले हिन्दु दाजु-भाईहरु विशेषगरि पौराणिकहरु संगठित होलान् जसले गर्दा एक ईश्वरको उपासना होला र नित्य नयाँ-नयाँ ईश्वर बन्न बाट रोक्न सकिएला।

पढेर हो या त्यसै अनुमान गरेर या कसैले भनेको सुनेर हो कुन्नि उनीहरुले भन्ने गर्दछन् कि पुराण वेदानुकुल नै छन्। तर पुराणहरु वेदानुकुल छन् भन्नु र मान्नुमा त्यति नै सत्यता छ जति पिठोमा नुन। नुनको पनि आफ्नै महत्व छ | यहाँ यस लेखमा पौराणिक बन्धुहरुलाई त्यहि पुराणको वेदानुकुल नुनको अलिकति स्वाद चखाउने प्रयास गरिनेछ।

सुरुमा अलिकति टर्रो या तितो अथवा भनौं बुक्लो पिठो बुकाएको जस्तो लाग्न सक्ला तर आशा छ कि सत्यप्रिय महानुभावहरुले यसलाई अवश्य चाख्नुहुनेछ।

पौराणिक समाजले प्रायः ईश्वरलाई जन्म लिने अर्थात् समय समयमा अवतार लिने भनेर मान्दछ। तर जसको जन्म हुन्छ उसको मृत्यु पनि निश्चित् छ र जो जन्म मृत्युको चक्रमा फस्छ, त्यो कस्तो ईश्वर होला? जो जम्निन्छ र जसले अवतार लिन्छ, त्यो सर्वव्यापक कदापि हुन सक्दैन। पुराणमा त्यस्ता थुप्रै विरोधाभाष कथा-कुथुंग्री र श्लोकहरु छन्। तिनको उक्त मान्यतालाई मिथ्या सावित गर्ने श्लोकहरु पनि ठाउँ-ठाउँमा छन्, जस्तै:

पौराणिकहरुको यस मिथ्या मान्यतालाई चोट गर्दै लिंग पुराण अ० २ को श्लोक २०ले ईश्वरलाई अजन्मा भन्दै छ:-
“प्रधानपुरूषोतीतं प्रल्योत्त्पत्तिवर्जितम् ||”
अर्थात्, परमात्मा प्रकृति र जीव भन्दा पर तथा उत्तपत्ति र विनाश रहित छ।।

पौराणिक समाजले जहाँ ईश्वरलाई जन्म लिने र साकार पनि मान्दछ तर उनको लागि उनकै विष्णु पुराण ४.१.८४ को श्लोक बडो महत्वको छ-
कलामुहूर्तादिमयश्च कालो न यद्विभूतेः परिणामहेतुः

 अजन्मानाशस्य सैदकमूर्तेरनामरूपस्य सनातनस्य।।
अर्थात्, कला, मुहूर्त्त आदिमय काल पनि जसको विभूतिको परिणामको कारण हुन सक्दैन, जसको जन्म र मरण हुँदैन, जो सनातन र सर्वदा एक रूप छ तथा जो नाम रूप बाट रहित।।

शिवपुराण वासुसंहिता अ० ४को श्लोक ८७ले पनि पौराणिकको साकार मान्यतामा चोट गर्दै भन्दछ-
अचक्षुरपि यः पश्यत्यकर्णोSपि श्रृणोति यः

सर्वं वेत्ति न वेत्तास्य तमाहुः पुरूषः परम्।।
अर्थात्, आँख बिना नै उसले देख्छ, कान बिना पनि सुन्छ, उसले सबलाई जान्दछ, उसलाई पूर्णतः कसैले जान्न सक्दैन, त्यसैलाई परम पुरूष भनिन्छ।

उपर्युक्त प्रमाण बाट सिद्ध भयो कि पुराणले पनि ईश्वरलाई निराकार स्वीकार गरिसक्यो। र जो निराकार छ, उसको प्रतिमा या मूर्ति कसरि? जसले ईश्वरलाई मूर्ति मानेर पूजन गर्दछन् र उसलाई जल-स्थान आदि तथाकथित तिर्थहरुमा खोज्न जान्छन् यस्ता अन्धा र अधमहरुलाई भागगवत पुराण १०.८४.१३ मा गधा भनिएको छ

यस्यात्मबुध्दिः कुणपे त्रिधातुके स्वधी कलत्रादिषु भौम इज्यधीः

यत्तीर्थबुध्दिः सलिले न कर्हिचिज् जनेष्वभिजेषु स एव गोखरः।।
अर्थात्, वात-पित्त-कफ तीनै मल बाट बनेको शरीरमा आत्मा बुध्दि, स्त्री आदि मा स्वबुध्दि, पृथ्वी बाट नेको मूर्तिमा पूज्य बुध्दि र पानीमा तीर्थ बुध्दि गर्दछ त्यो गधा हो।।

देवीभागवत पुराण शाक्तहरुको मूल ग्रन्थ हो। मूर्ति पूजा र तीर्थका सम्बन्धमा देवी भागवत पुराणलर ९.७.५२मा निक्कै महत्त्पूर्ण कुरो भनेको छ-
न ह्यम्मयानि तीर्थानि न देवा मृच्छिलामयः

ते पुनन्त्युरू कालेन, विष्णुभक्ताः क्षणादिह।।
अर्थात्, पानीको तीर्थ हुँदैन, माटो र पत्थरको देवता हुँदैनन्, तिनले कुनै कालमा पवित्र गर्दैनन्, प्रभुले भक्तलाई यस संसारमा क्षणभरमा पवित्र गर्दिन्छ।

माथि पुराणका केहि यस्ता श्लोकहरु राखियो जुन वेदानुकूल छन् र वेद ईश्वरवाणी हुनाले परम प्रमाण हो अतः पौराणिक बन्धुहरुले गम्भीरता पूर्वक विचार गर्नु पर्दछ। र जसले अब पनि आफ्नो मनपरी गर्दछन्, त्यस्ता पौराणिक पण्डितहरुको लागि भागवत महात्म्य अ० १ श्लोक ७५ ले जे भन्दछ त्यो वास्तवमा गम्भीर छ-
 पण्डितास्तु कलत्रेण रमन्ते महिषा इव

पुत्रस्योत्पादने दक्षा अदक्षा मुक्तिसाधने।।
अर्थात्, पण्डितहरुको यो दशा छ कि ति आफ्ना स्त्रिहरुका साथ राँगो सरह रमण गर्दछन्, उनमा सन्तान पैदा गर्ने मात्र कुशलता पाइन्छ, मुक्ति साधनमा सर्वथा अकुशल छन्।।

यो लेख लेख्नाको उद्देश्य कसैको कुनै भावनामा ठेस पुर्याउनु नभएर वैदिक मान्यताहरुको दर्शन गराउनु हो जसलाई आर्य समाजले मान्दछ

पौराणिहरुले आर्य समाजलाई आफ्नो शत्रु मान्नु स्वयं आफ्नै साथ छल गर्नु हो। आर्य समाजीको ईश्वर भक्ति, र राष्ट्र भक्ति माथि संशय गर्न सकिन्न । अस्तु..

नमस्ते..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *