ईश्वर पूजाको वैदिक स्वरूप

ओ३म्

ईश्वर पूजाको वैदिक स्वरूप

 

ओ३म् ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् |
तेन त्यक्तेन भुञ्जीथा मा ग्रृधः कस्य स्विद्धनम्||१||
कुर्वन्नेवेह कर्माणि, जिजीविषेच्छतं समाः|
एवं त्व‌यि नान्येतोSस्ति न कर्म लिप्यते नरे||२||

(यजुर्वेद:४०/ईशोपनिषद्)

सम्मानका योग्य महानुभाव,

आज सम्म पनि हाम्रो समाजमा ‘ईश्वर’ र त्यसको पूजा तथा उपासनाको बारेमा निक्कै भ्रान्ति कायम छ। यसको प्रमुख कारण हाम्रो अज्ञानता हो भने अन्य कारणमा धर्मको नाउमा चन्दा तथा भेटीको व्यापार गर्ने ति पाखण्डी तथा स्वार्थि तथाकथित पण्डितहरु हुन्, जसले न त स्वयं वेद पढेर वेदानुकुल आचरण गरे न त अन्य कसैलाई पढ्न दिए। त्यहि कारणले आज हाम्रो समाजले यस्तो दुर्दशा भोग्नु परेको छ। ईश्वरको यथार्थ स्वरूप र त्यसको पूजा तथा उपासनाको वैदिक प्रकार के हो भन्ने कुराको छोटो वर्णन यहाँ प्रस्तुत गर्ने जमर्को गरिनेछ, जसबाट तपाइँहरुलाई पनि केहि जानकारी प्राप्त होस्। यसमा केहि बिषय यस्तो पनि छ जसमा अलिकति बढी ध्यान दिनु पर्ने आवश्यकता छ। त्यसैले मेरो विनम्रता पूर्वक निवेदन छ कि अन्य विषयवस्तु बाट आफ्नो ध्यान हटाएर यसमा केन्द्रित गर्नुहोस् ताकि कुरो छिटो बुझ्न सकियोस् ।

ईश्वर, जीव र प्रकृति  यी तीन अनादि पदार्थ हुन्। यिनको न कहिले जन्म हुन्छ न मृत्यु। न कसैले निर्माण गर्छ न नष्ट नै हुन्छ। जुन वस्तुको जन्म हुन्छ, त्यसको मृत्यु पनि निश्चित छ र जसको निर्माण हुन्छ त्यो एक दिन नष्ट अवश्य हुन्छ, जुन सुरु हुन्छ, त्यसको अन्त पनि हुन्छ। त्यसैले यी तीन पदार्थमा यो (जन्म-मृत्यु-आदि-अन्त-निर्माण-नष्ट हुने) गुण छैन। यिनीहरु सदा देखि थिए, छन् र सदा रहने छन्। जुन वस्तु सबभन्दा सूक्ष्म हुन्छ, त्यो अविभाजित हुन्छ, त्यसको विभाग हुन सक्दैन र जुन विभु छ त्यसको पनि विभाग हुन सक्दैन । यहि दुई मापदण्डबाट नै कुनै पनि वस्तुको अनादित्वलाई जान्न सकिन्छ। यिनै दुई मापदण्डबाट संसारका समस्त पदार्थहरुलाई नाप्न सकिन्छ।

संसारमा दुई प्रकारका वस्तुहरु छन्- एक जड र दोस्रो चेतन। जुन जड छन् ति ज्ञान शून्य छन्; तिनमा ज्ञान छैन। जुन चेतन छन्; तिनमा ज्ञान छ। यिनै दुई प्रकारका वस्तुलाई नापौं। चेतनमा जीवात्मा भन्दा पनि सूक्ष्म र समस्त ब्रह्माण्ड भन्दा पनि विशाल परमात्मा हो। जड वस्तुहरुमा सबभन्दा सूक्ष्म परमाणु हो र सबभन्दा विशाल आकाश हो। यहि वैज्ञानिक तरीका हो जसमा यी तीन वस्तुहरु (ईश्वर, जीव र प्रकृति) लाई अनादि साबित गर्न सकिन्छ, पूरानो साबित गर्न सकिन्छ र नित्य साबित गर्न सकिन्छ। यिनै तीन वस्तुको बारेमा यहाँ कुरो आउनेछ; अलिकति ध्यान दिनुहोला।

कदाचित् हाम्रो दुर्भाग्य नै भनौं कि नेपालमा आज अनेकौं मतावलम्बीहरु छन् जसलाई धर्म संग जोडेर हेर्ने गरिन्छ र धर्मलाई अनेक रुपमा बाँड्ने गरिन्छ तर तिनको धर्म संग कुनै टाढा सम्मको पनि नाता छैन, धर्म एक सार्वभौमिक र सर्वकालिक व्यवस्था हो; जव ईशर एक छ भने उसको धर्म कसरि अनेक हुन सक्छ? मत-पन्थ अनेकौं हुन सक्छन् तर ति सबैको धर्म एक हुन्छ। ति मतालाम्बीहरु मध्ये मुख्य सनातन धर्मि-आर्यसमाजी-हिन्दु, ईसाई, मुसलमान, बौद्ध तथा जैन छन्। बाँकी अन्य जो छन् तिनको त्यति मुख्यता छैन।

मुसलमानहरुको अल्लाह (खुदा/रब)को पूजा-उपासना गर्ने आफ्नै तरीका छ। ईसाइहरुको पनि परमेश्वरको नाउमा येहोवा या येशुको  पूजा/उपासना गर्ने तरिका मुसलमान संग लगभग मिल्दोजुल्दो नै छ; अलिकति भेद छ तर त्यसमा मुसलमान संग छुट्याउन सकिन्न।

सनातन वैदिक धर्ममा आर्यसमाज र हिन्दु समाजमा साकार-निराकार-अवतार-मुर्ति पूजा तथा बलिप्रथा आदि मान्यताका बारेमा अनेकौं मतभिन्नताहरु छन्। यो लेख निक्कै लामो नहोस् भनेर अहिले यहाँ ति बिषयहरु राखिएन। अहिले बौद्ध र जैनहरुले ईश्वरलाई नै मान्दैनन्, ति शून्यवादी अर्थात् नास्तिक हुन्।

मुसलमानहरुमा यस सम्बन्धमा मैले सोधपुछ गरेको थिएँ र उत्तर यस्तो आएको थियो- तिनीहरु अल्लाह/खुदा/रबको इबादत गर्दछन्। इबादत ‘अबद’ शब्दबाट बनेको छ जसको अर्थ हुन्छ दास हुनु, भक्त हुनु, सेवक हुनु। इबादतको अर्थ भयो – आफ्ना परमेश्वर/मालिकका अगाडी स्वयं दास तथा भक्त भएको स्वीकार गर्नु। हामि आफ्नो पूजा-उपासना (इबादत) मा भन्ने गर्दछौं कि हे अल्लाह! तिमि हाम्रा मालिक हौ र हामी तिम्रा भक्त तथा सेवक हौँ, हामि तिम्रा दास हौँ यस्तो पूजा-उपासना हामि स्वीकार गर्दछौं। यस सम्बन्धमा मैले एउटा मस्जिदको इमाम (मौलाना) संग पनि प्रश्न गरेको थिएँ कि “मौलाना ज्यू, तपाइँ यो भन्नुहोस् त जब तपाइँ नमाज पढ्ने बेला उभिनुहुन्छ, जब तपाइँ रुकू (घुडामा हात राखेर झुक्ने) गर्नुहुन्छ र जब तपाइँले दण्डवत प्रणाम(सिजदा) गर्नुहुन्छ तब आफ्नो शिरले जमीनमा टेक्नु हुन्छ; यसको मतलब के हो ?” उनले भन्न लागे कि “हेर्नुहोस् भाइ, त्यो हामिले अल्लाहलाई अभिवादन या नमस्ते (आदाब) गरेको हो।” मैले फेरी सोधें कि – ” यस किसिमको आदाब गर्नाले तपाइको अल्लाहमा यसको के प्रभाव पर्छ त?” मौलवीले उत्तर दिए- “यसबाट अल्लाह खुशी हुन्छ।” मैले पुनः सोधें – तपाइले आदाब बजाएर अल्लाहमा परिवर्तन उत्पन्न गरिदिनु भयो। किनकि पहिले ऊ खुशी थिएन, तपाइँको आदाबले गर्दा ऊ खुशी हुन्छ। यसरि उसमा हर पल, हर क्षण परिवर्तन आइरहने भयो किनकि थाहा छैन कहाँ-कहाँ नमाज पढीदै छ र उसलाई आदाब बजाइदै छ। उसमा हर क्षण केहि न केहि परिवर्तन भइरहेको छ। यस्तो अल्लाह प्रतिक्षण परिवर्तनशील छ। मौलवी ज्यू केहि होशमा आए र भन्न थाले – “पण्डित ज्यू, अल्लाहमा यसको कुनै असर हुँदैन, यसको असर त हामीमा हुन्छ।” मैले भनें – ” तपाइँले स्वयंलाई बचाउनुभयो नत्र तपाइँको अल्लाह अल्लाह नरहेर अरु नै हुने थियो, परिवर्तित भएर थाहा छैन के बन्ने थियो।” स्मरण राख्नुस् यो आदाब बजाउनुको कुनै असर छैन।

अल्लाह बाट तपाइँ लाभ उठाउनुहोस। यदि यो बत्तिका सामु तपाइले कुनै पुस्तक पढ्नु छ भने तपाइँ यसरि बस्नुस कि जसबाट तपाइँलाई पढ्न सजिलो होस्। यो तपाइँको कर्त्तव्य हो बत्तिको हैन। यसै गरि अल्लाहमा कुनै परिवर्तन हुँदैन। नत्र तपाइको तरीकाले त तपाइँ अभिनेता हुनुहुने छ र अल्लाह अभिनित। तपाइँ फाइल हुनुहुने छ र ऊ घर्रा, तपाइँ कर्त्ता हुनुहुने छ र ऊ कर्म हुनेछ। त्यसैले यो मान्न योग्य कुरो हैन कि अल्लाहमा आदाब बजाउनाले कुनै प्रभाव हुन्छ। ईसाइहरुको सम्बन्धमा मैले पहिले नै भनिसकेको छु कि उनको प्रक्रिया मुसलमान संग मिल्दोजुल्दो नै छ।

आर्यसमाजको मान्यता छ कि ईश्वरको उपासना गर्नुको अर्थ हो उसको निकट‌ जानु, ‘उप’ अर्थात समिप, र ‘आसन’ अर्थात बस्नु। परमात्माको समिपमा बस्नु। आर्य समाजको दृष्टिमा उपासनाको अर्थ ईश्वरको आज्ञाको पालन गर्नु, ईश्वरमा निवास गर्नु र ईश्वरका गुणहरुलाई धारण गर्नु र यसरि उसको निकट भइन्छ। निकट हुनुको अर्थ जस्तै- कुनै विद्यार्थी आफ्ना अध्यापकको निकट हुन्छ, उनले जे पढाए त्यसलाई आफ्नो मस्तिष्कमा राख्न सक्छ। मेच उनको बढी निकटमा छ तर मेचमा विद्या ग्रहण गर्ने योग्यता छैन। कुर्सी पनि निकटमा छ तर उसमा पनि ग्रहण गर्ने योग्यता छैन। तर मेच र कुर्सी भन्दा टाढा बसेको विद्यार्थीमा ग्रहण गर्न सक्ने योग्यता छ। अद्यापकले जे भन्दै छन्, त्यो उसले सम्झन्छ। जसमा सम्झन सक्ने क्षमता छैन त्यो अलग वस्तु हो। जुन विद्यार्थीले अद्यापकले पढाएको कुरो अधिक भन्दा अधिक ग्रहण गर्न सक्यो त्यो अपेक्षाले अद्यापकको त्यति नै निकट हुन्छ।

त्यसैले आर्य समाजको मान्यता परमात्माको गुणहरुलाई जसले अधिक भन्दा अधिक ग्रहण गर्न सक्छ त्यो ईश्वको अधिक निकट हुन्छ र यहि नै उपासना को यथार्थ अर्थ हो। यही नै वैदिक तथा आर्य सिद्धान्त हो।

अन्य सनातन धर्मी दाजु-भाईहरुले यस सम्बन्धमा पूजा र भक्ति यी दुई शब्दलाई अधिक प्रयोग गर्ने गर्दछन्। दुवै शब्द संस्कृतका हुन्। पूजा शब्द ‘पूज्’ धातुले बनेको छ। र यसको अर्थ सेवा हो- “पूज् सेवायां।” भक्ति शब्दमा ‘भज्’ धातु छ, “भज् सेवायां।”, यसको अर्थ पनि सेवा नै हो। दुवै शब्दको माने सेवा तथा सत्कार हो। तर एउटा कुरो पहिले सम्झनु आवश्यक छ त्यो के भने तीन पदार्थ ईश्वर, प्रकृति र जीवात्मा यिनलाई थोरै सम्झनुहोस्। प्रकृति र परमात्मा दुवै पूर्ण छन्। तपाइँ भन्नुहोला कसरि? प्रकृतिले भन्छ कि मलाई कुनै पनि वस्तुको ज्ञान छैन, म ज्ञानशून्य हूँ, म एकदम विवेकहीन र वुद्धिहीन जड पदार्थ हुँ। मलाइ न आफ्नो बारेका ज्ञान छ न अरु कसैको। जस्तै यो दाउरो छ, आफ्नो बारेमा यसलाई म दाउरो हुँ भन्ने ज्ञान छैन र न हाम्रो बारेमा यहाँ भाषण सुन्दै छन् भन्ने कुनै ज्ञान उसमा छ। यसलाई दुवै किसिमको ज्ञान छैन। यो प्रकृतिबाट बनेको एक प्राकृतिक वस्तु हो।

ईश्वरले के भन्छ? उसले भन्छ कि मैले स्वयंलाई पनि जान्दछु र आँफू भन्दा अन्य समस्त वस्तुलाई पनि जान्दछु। जान्नेमा ईश्वर सबभन्दा पूर्ण र नजान्नेमा प्रकृति सबभन्दा पूर्ण छन्। यी दुई स्वयंमा पूर्ण छन्। यिनलाई अन्य कसैको आवश्यक्ता छैन। ईश्वर तथा प्रकृति दुवै आवश्यकता देखि पृथक छन्।

जीवात्मालाई हरेक आवश्यक्ता छ। अनेकौं वस्तुहरु उसका आवश्यक्ताका छन्। जीवात्माले परमात्माको संसर्गबाट मुक्ति लाभ प्राप्त गर्न सक्छ र प्रकृतिबाट सुखको सिद्धी। प्रकृतिको सहायताले उसले साधारण भन्दा साधारण सुख देखि लिएर चक्रवर्ती राज्य सम्मको यश प्राप्त गर्न सक्छ। प्रकृतिका साधन प्रयोग गरेर ईश्वर संग मुक्ति प्राप्त गर्नु जीवात्माको परम लक्ष हो। जीवात्माले यी दुवै बाट लाभ उठाउन सक्छ। अस्तु..

नमस्ते..!

सत्य सनातन वैदिक धर्मको जय..!

-हार्दिक आभार: आर्य समाज तथा शास्त्रार्थ महारथी स्व.पं. रामचन्द्र देहलवी ज्यू|

Leave a Reply

Your email address will not be published. Required fields are marked *