पुनर्जन्म या आवागमन किन आवश्यक छ?

ओ३म्..

 पुनर्जन्म या आवागमन किन आवश्यक छ?

(एक वैदिक मार्गी ‘आर्य’ र इस्लाम मार्गी ‘इमाम’(मौलाना) का विचको वार्तालाप)

rebirth-704x360

वेदाहमेतं पुरुषं महान्तम् आदित्य वर्णं तमसः परस्तात्

तमेवविदित्वाति मृत्युमेति नान्यः पन्था विद्यतेऽयनाय।

(यजुर्वेद: ३१/१८)

अर्थात्, मैले यस्ता ठूला-ठूला गुणयुक्त महानतम् पुरुषलाई जान्दछु जो आदित्य (सूर्य) समान तेजस्वी, अज्ञान तथा अन्धकार देखि पर (पृथक) हुनुहुन्छ। उहाँ ब्रह्माण्ड रूपी नगरीमा निवास गर्नुहुने प्रभु पुरुष हुनुहुन्छ, सर्वव्यापक हुनुहुन्छ, सर्वाधिक महान् हुनुहुन्छ ,विभू हुनुहुन्छ अथवा ‘मह पूजायाम्’ पूजा के योग्य हुनुहुन्छ । उहाँ जस्ता ज्योतिर्मय प्रभुलाई जानेर नै मनुष्यले जन्म-मृत्युको अथाह दुःख सगरलाई जित्न सक्छ तथा मोक्ष प्राप्त गर्न सक्छ। यहि सुखदायी मार्ग हो; यस भन्दा भिन्न अन्य कुनै उपाय या मार्ग छैन।

 

प्रातःकाल उद्यानमा भ्रमण गर्दा गर्दै आर्य र मौलानाको भेट भयो। आर्य विश्वविद्यालयका प्राध्यापक थिए र मौलाना स्थानीय एक मस्जिदका इमाम थिए। ति दुवैमा राम्रो मित्रता थियो। वार्तालापको बेला मौलानाले पाकिस्तानको एक मस्जिदमा भएको आतंकवादी आक्रमणको प्रसंग उठाएका थिए। र आर्यले भने कि मौलाना ज्यू, निश्चित रुपमा ति आतंककारी अर्को जन्ममा पशु बन्नेछन्।

मौलाना: इस्लामका अनुसार त ति दोजख (नरक) को आगोमा जल्ने छन्।

आर्य: मौलाना ज्यू, भन्नुस् त यो दोजख कहाँ छ?

मौलाना: यो त अल्लाहलाई नै थाहा छ। अँ, यो पक्का छ कि खराब काम गर्नेहरु दोजखमा जान्छन्।

आर्य: हाम्रा आसपासमा कुकुर-सुँगुर आदि जो पशु छन्, तिनिहरूले नरक कै जिबन त बिताई रहेका छन् नि । जो जन्म देखि लुला-लंगडा-अपांग छन्, हेर्नुस तिनीहरुको जीवन कति कष्टप्रद छ.! एउटा भत्किएको झुपडीमा वस्ने कुनै गरिबको तुलना विलाशी महलमा बस्ने कुनै धनि संग गर्ने हो भने पनि पूर्वजन्ममा गरिएका पाप कर्मको फल प्रत्यक्ष हुन्छ नि।

मौलाना: तर इस्लामको मान्यता अनुसार त पूनर्जन्म हुँदैन। यदि हुन्थ्यो भने त हामीलाई पूर्व जन्मको कुरो अवश्य स्मरण हुनेथियो। र कुनै अपांग हुनु या गरिब हुनु त एक प्रकारले अल्लाह द्वारा उनीहरुको परिक्षा लिनु हो। किनकि विकट परिस्थितिमा पनि उनीहरुले आल्लाह ताला माथि विश्वास गर्छन् कि गर्दैनन् तथा स्वयंलाई एक सच्चा मुसलमान साबित गर्दछन् कि गर्दैनन्।

आर्य: ठिक छ मौलाना ज्यू, एउटा कुरो भन्नुस् त तपाइँ आफ्नी माताको गर्भमा ९महिना बस्नुभएको थियो। के तपाईलाई त्यो स्मरण छ? के तपाईलाई जन्म भए देखि ४-५ वर्षको आयु सम्म गरिएका कुनै कर्मको स्मरण छ? शैल्य-चिकित्षा हुने बेलामा बेहोश गरिएको बिरामीलाई उसको चिकित्षा कसरि गरिएको थियो भन्ने कुरो के उसलाई स्मरण हुन्छ र ? कहिले काहीं वृद्धअवस्थामा स्मरण गुमेको व्यक्तिलाई उसको जन्मको स्मृति समेत लोप हुन्छ भने हामीलाई पूर्वजन्मका घटनाहरु कसरि स्मरण हुन सक्ला? यदि हामीहरु सबैलाई पूर्वजन्मको स्मरण भैहाल्यो भने पनि यो समस्त सांसारिक व्यवस्था अस्तव्यस्त हुन्छ। किनकि यदि कुनै व्यक्तिको मृत्यु दुर्घटना अथवा निर्मम हत्या द्वारा भएको रहेछ भने उसले यस जन्ममा कसरि आफ्ना सामाजिक सम्बन्धहरु कायम गर्न सक्ला? त्यसैले जसरि पानीलाई देखेर वर्षाको, कार्यलाई देखेर कारणको अनुमान विद्वानहरुले लगाउँछन्, त्यसै गरि जन्मजात रोग तथा दुःख-सुख देखेर पूर्वजन्ममा गरिएका कर्मको अनुमान हुन्छ।

मौलाना: तपाइको कुरामा तर्क छ, तर अलाह द्वारा परिक्षा लिने कुरामा के गलत छ र ?

आर्य: ईश्वरलाई न्यायकारी भनिएको छ। उसले आफ्नो मनपरी त्यतिकै कुनै एउटा आत्मालाई मनुष्यको शरीरबाट निकालेर सुँगुर आदि पशुको शरीरमा प्रविष्ठ गराउँदैन। यदि यस्तो गर्न थाल्यो भने त ईश्वरको न्यायकारिता माथि संशय उत्पन्न हुन्छ। कुनै मनुष्यले चोरि आदि गलत काम गरेन, तर उसलाई कारागारमा कोचिदिने हो भने, कसैले कुनै पाप गरेन, तर उसका आँखा निकाल्दिने हो भने या उसलाई अपांग बनाएर “तिम्रो परिक्षाको लागि यसो गरिदैछ” भन्ने हो भने यसलाई उसप्रतिको अत्याचार नै भन्न सकिन्छ। तपाइँ भन्नुस् त, तपाईलाई अरु कसैले गरेको हत्याको दण्ड स्वरूप आजीवन कारावास या मृत्यु दण्ड दिइयो भने तपाइले त्यसलाई परिक्षा भन्नुहोला या एक स्वेच्छाचारी शासकको अत्याचार? ईश्वर या अल्लाह सर्वज्ञ छ, अर्थात उसले सबै जान्दछ भने के उसले आँफू द्वारा लिइने परिक्षाको परिणाम जान्दैन?

मौलाना: एकदम सहि तर्क संगत कुरो गर्नु भयो। त्यसै गरि ईश्वरको न्यायकारिता तब मात्र सिद्ध हुन्छ जब उसले सज्जनहरुलाई सत्कार र दुर्जनहरुलाई दण्ड दिन्छ। त्यसैले जन्मजात रोग-ब्याधि तथा दुःखमा फसेकाहरुलाई देखेर सहजै अनुमान लगाउन सकिन्छ कि यो पूर्वजन्ममा गरिएको पापको फल हो।

मौलाना: के कसैको पुनर्जन्मबाट छुटकारा हुन्छ?

आर्य: मनुष्य जब पूर्ण सत्यवादी, ईश्वरभक्त, उपाशक एवं संयमि जीवन बिताउँदै, ईश्वरको उपासना गर्दै आफ्ना नित्य कर्महरु गर्दछ तब उसले पुनर्जन्मबाट छुटकारा पाएर मोक्ष प्राप्त गर्दछ। तर बाइबलमा वर्णित तथाकथित् ईश्वरपुत्र येशुमा विश्वास गर्नाले मात्र र कुरानमा वर्णित अल्लाहमा ईमान ल्याउनाले मात्र पापबाट मुक्ति पाइन्न। त्यसको लागि शुभ कार्य, मनको स्वच्छता, आत्माको पवित्रता, श्रेष्ठ आचरण, प्राणि मात्रमा प्रेम र दयाभाव अत्यन्त आवस्यक छ। मोक्षको लागि कुनै छोटो बाटो पनि छैन। तपाईलाई छोट्करी बाटो भनेर मूर्ख बनाउनेहरु अनेकौं भेटिन सक्छन्। तर उस् सर्वज्ञ, सर्वहीतकारी ईश्वरलाई प्राप्त गर्नको लागि तपाइँ स्वयं प्रयासरत रहनु पर्छ। त्यसैबाट आत्मा शुद्ध भएर मोक्ष रुपी अनन्त सुखको पात्र बन्नुहुने छ।

मौलाना: पशुहरु त आफ्नै जुनीमा प्रसन्न रहन्छन्। तिनलाई कसरि दण्ड-जुनी मान्न सकिन्छ?

आर्य: पशु जुनीमा आत्माले आफ्नो उन्नति गरेर उच्च जुनीमा प्रवेश गर्न सक्दैन र आत्मिक आनन्द प्राप्त गर्न पनि सक्दैन। पशु जुनी एकप्रकारले सुधार जुनी हो। यस जुनीमा पशु एक सिमा सम्म मात्र गतिविधि गर्न सक्छ तर पूर्णतः स्वतन्त्र हुँदैन । यसलाई देखेर यस्तो प्रतित हुन्छ कि ऊ प्रसन्न छ तर यो भ्रम हो। यदि पशु जुनी यति राम्रो हुन्थ्यो भने मनुष्यलाई कहिले ईश्वर संग कुकुर-गधा या सुँगुर बन्ने प्रार्थना गरेको किन देखिदैन? तर्कशास्त्रको सिद्धान्त छ कि मनुष्य र पशुमा मूल रुपले अन्तर बुद्धिको हो। यदि मनुष्य बुद्धिको प्रतिकूल भएर चल्छ भने त ऊ पशु समान काम गर्दैछ । वेदमा बुद्धिलाई ईश्वरको सबभन्दा ठूलो देन भनिएको छ । तपाइँ नै हेर्नुस्, एक बुद्धिजीवी व्यक्तिले समाजको कति उपकार गर्न सक्छ। जबकी एक मन्दबुद्धि व्यक्तिले समाजमा आफ्नो सहयोग दिन सक्दैन। त्यसैले बुद्धि सर्वोपरी छ। मननशिल (मनन गर्न सक्ने) प्राणिलाई मनुष्य भनिन्छ र मनन गर्नको लागि बुद्धिको परम आवश्यक छ। त्यसैले पशुको जुनी एक प्रकारको अभिशाप, एक प्रकारको दण्ड समान छ; यो प्रसन्न रहने जुनी हैन।

मौलाना: यदि मोक्ष नै जीवनको मूल उद्देश्य हो भने ईश्वरले समस्त आत्माहरुलाई मोक्ष प्रदान गरेर उनलाई पुनर्जन्मको झन्झटबाट नै किन मुक्ति दिन्न त?

आर्य: मौलाना ज्यू, तपाइले अति महत्वपूर्ण प्रश्न उठाउनु भयो। ईश्वर, जीवात्मा एवं प्रकृति यी तीन अनादि (आरम्भ देखि रहित) तत्व हुन्। ईश्वरले आत्माहरुलाई उत्पन्न गरेको हैन। सृष्टिको रचना गरेर ईश्वरले आत्माहरुको लागि कर्म गर्ने अवसर प्रदान गर्दछ।शरीर एवं आत्माको मेललाई जन्म र अलग हुनुलाई मृत्यु भनिन्छ। सृष्टि रचना पश्चात आत्माहरुलाई वेद विद्याको ज्ञान दिएर ईश्वरले उनलाई दुःखबाट छुट्ने अर्थात मोक्षको प्रेरणा प्रदान गर्दछ। आत्माहरु कर्म गर्नको लागि मुक्त छन् तर कर्मको फल पाउनको लागि बन्धित छन् । जसले जस्तो कर्म गर्दछ त्यस्तै फल पाउँछ । त्यसैले ईश्वरले वेद ज्ञान द्वारा प्राणिहरुलाई मोक्ष प्राप्तिको ध्येय प्राप्त गर्ने प्रेरणा दिन्छ। यदि आत्माहरुलाई ईश्वरले बनाएको हुन्थ्यो भने जसरि हामि ईश्वरको सम्पूर्णताको बारेमा जान्दछौं कि उसले बनाएको कुनै पनि वस्तुमा कुनै पनिं प्रकारको खोट नभए जस्तै जीवात्मा पनि ईश्वर द्वारा बनाइएको हुन्थ्यो भने कदापि पाप कर्ममा प्रवृत्त हुने थिएन। यदि  कसैले जिवात्मालाई ईश्वरको अंश भन्छ भने पनि यो ईश्वरको अविभाजित (जसको टुक्रा हुन सक्दैन) गुणको विपरित तर्क हो। बाइबलमा वर्णित ईश्वरले पहिले सृष्टि निर्माण गर्दछ, अनि फेरी आदम र हव्वालाई बनाउँछ। फेरी पापको फल द्वारा वृक्ष बानाएर हव्वालाई बहकाउनको लागि शैतानलाई बनाउँछ। अनि हव्वालाई पापी भनेर उसलाई प्रसव पिडाको दण्ड दिन्छ। फेरी दुत येशु मसिहमा विश्वास गर्नेहरुको पापबाट मुक्तिको प्रपन्च रच्दछ। तपाइँ नै भन्नुस न सर्वज्ञ (सबै जान्न सक्ने) ईश्वरले के शैतान, हव्वा र पापको फल फल्ने वृक्षलाई बनाउनु भन्दा अघि नै उसले जान्दैन थियो कि उनीहरुको के हविगत हुनेछ भन्ने? यदि कुनै पिताले कसैको चोरि गर्छ भने के त्यसको दण्ड उसको छोरालाई दिनु कहाँको न्याय हो? र ऊ कहाँ सम्मको न्यायाकारी होला? अब कुरान वर्णित ईश्वर (अल्लाह) लाइ नै लिउँ, पहिले उसले ज्ञान देखि अनभिज्ञ मनुष्यहरुलाई उत्पन्न गर्दछ, फेरी लामो समयको अन्तराल पछी उनीहरुलाई कहिले तौरेत, कहिले जबूर, कहिले इन्जिल र अन्तमा कुरानको ज्ञान दिन्छ। र केवल कुरान, अल्लाह र रसुलमा इमान ल्याउनेहरूलाई मात्र जन्नत (स्वर्ग) पठाउने गर्छ। तर कुरान र रसुलको उद्भव हुनु भन्दा पहिले जुन रूह (आत्मा) हरुले यहाँ जन्म लिएका थिए उनीहरुको के भयो? र गैर मुस्लिमहरुले कदापी जन्नत (स्वर्ग)को सुख भोग गर्न पाउने छैनन्। किनकि उनीहरुले कहिल्यै कुरानमा इमान नै ल्याएनन् भने कुरान वर्णित ईश्वर (अल्लाह) ले गैर मुसलमान हरुलाई किन बनायो? यसबाट त अल्लाह पक्षपाती सिद्ध भयो। र अर्को कुरो, उसको रचनामा अनेक कमिहरु पाइन्छन् जुन अल्लाहको गुणको विपरित कुरो हो।

अतः ईश्वर, जिवात्माहरु एवं प्रकृति यी तीन अनादि हुन्। सृष्टि प्रवाहले अनादि छ। ईश्वरले सृष्टिको आरम्भमा नै वेद द्वारा जीवात्माहरुलाई ज्ञान प्रदान गरेर मोक्ष प्राप्त गर्ने प्रेरणा दिन्छ। यहि सिद्धान्त तर्कसंगत तथा एकमात्र सत्य कथन हो। यजुर्वेद:३१/७ मा ईश्वरले प्रष्ट रुपमा भनेको छ-

तस्माद यज्ञात सर्वहुतः ऋचः सामानि जज्ञिरे।
छन्दांसि जज्ञिरे तस्माद यज्ञुस्तस्मादजायत।।

(भावार्थ: उस सच्चिदानंद, सब स्थानमा परिपूर्ण, जो सब मनुष्य द्वारा उपास्य र सब सामर्थ्यले युक्त छ, उस परब्रह्मबाट ऋग्वेद, यजुर्वेद सामवेद र छन्दांसि –अथर्ववेद यी चार वेद उत्पन्न भए।)

सर्वान्तर्यमी तथा सर्वव्यापक परमात्माले जगत माथि कृपा गरेर नै यसको भलाइका लागि वेदको प्रकाश गरेको हो जसबाट अज्ञानतालाई नष्ट गरेर ज्ञानको मार्गमा अग्रसर हुन प्रेरित गरोस् र अध्यात्मिक प्रकाश द्वारा मनको आँखा सुप्रकाशित होस्।

मौलाना: वेदमा वर्णित ईश्वरले पापको दण्ड स्वरूप पशु जुनी दिन्छ तर कुरानको अल्लाहले इमानमा रहनेलाई पाप क्षमा गरेर जन्नतको सुख दिन्छ। यसबाट प्रष्ट हुन्छ कि अल्लाह बढी दयालू भयो।

आर्य: मौलाना ज्यू, म निक्कै आश्चर्य चकित छु कि तपाइले पाप क्षमा हुने कुरोमा कसरि विश्वास गर्न सक्नुहुन्छ !! तपाइँ स्वीकार गर्नुहुन्छ कि अल्लाह ताला न्यायकारी छ। जसले जे जति गर्छ, त्यसलाई त्यस्तै र त्यति नै फल दिनुलाई न्याय भनिन्छ। फेरी क्षमा कसरि? महाशय! क्षमा, सिफारिश र घुस यी सब यस्ता मन्तव्य हुन् जसबाट सर्वेश्वर र सर्वज्ञ परमात्मा माथि अन्याय तथा अत्याचारको दोष लाग्छ। यदि बाइबल र कुरानमा वर्णित पाप क्षमा हुने कुरो सत्य मान्नेहो भने त यो संसारमा पाप वृत्ती बढाउने कुरो भयो। अलकति गम्भीर भएर सोंच्नुस त, यदि कुनै व्यक्तिले कसैको हाया गरेर गिर्जाघरमा गएर येशुको मुर्ति अगाडी आँफूले गरेको पापको बखान गरेर क्षमा माग्दा या अल्लाहको नाममा तौबा गरेर के ऊ दण्ड बाट मुक्त हुन सक्छ? यदि हुन्छ भने अर्को पटक उसले झनै दुई गुणा पाप गर्नेछ र फेरी त्यस्तै गरि क्षमा माग्ने छ । यदि यस्तो हुन थाल्यो भने त समाजमा अराजकता फैलन्छ। जसले पनि पाप कर्म गर्नेछ र क्षमा माग्दै पुनः पुनः पाप गरिरहने छ। ईश्वरले त्यसैलाई मात्र जन्नत (स्वर्ग) को सुख प्रदान गर्दछ जो उसले भनेको मार्गमा चल्छ। जो पनि पाप कर्म छोडेर पुण्य कर्म गरेर सदाचारी बन्ला ईश्वरले त्यसैलाई निसन्देह कृपादृष्टि गर्ला।

मौलाना: यदि मनुष्यको जन्म पुर्व जन्ममा गरेको पुण्य कर्मको कारणले हुन्छ भने त एउटा विद्यार्थीलाई शिक्षा ग्रहण गर्नमा तथा कृषकलाई खेति गर्नमा कति दुःख उठाउनु पर्छ। यसबाट त ईश्वर अन्यायकारी सिद्ध भयो किनकि पूर्वजन्ममा गरेको पुण्य कर्मको सट्टा मा उसलाई यस जन्ममा दुःख रुपी कष्ट दियो।

आर्य: सर्वप्रथम विद्यार्थीलाई शिक्षा ग्रहण गर्नमा जुन परिश्रम गर्नु पर्छ, त्यो दुःख नभएर तप हो। श्रेष्ठ कार्य गर्नमा जुन कष्ट उठाउनु पर्ने हुन्छ त्यसलाई दुःख भनिदैन; तप भनिन्छ। तप गर्नाले नै कुनै पनि व्यक्तिको उन्नति हुन्छ। र हामीले कुनै पनि कर्म गर्दा जुन दुःख हुन्छ, त्यसलाई ईश्वरले हटाउँदैन। तर दुःख संग लड्नको लागि हामीलाई धैर्य तथा आत्मबल प्रदान गर्दछ। त्यसैले विद्यार्थीहरुलाई विद्या ग्रहण गर्ने समयमा हुने तपलाई दुःख भन्नु गलत हो। यसलाई पूर्वजन्ममा गरिएका पुण्यको नै फल मान्नु पर्छ जसले यस जन्ममा व्यक्तिलाई तप गरेर महान बन्ने अवसर प्रदान गर्दछ। नत्र त कुनै गुणरहित, अल्छी, मूर्ख तथा संस्कारहीन व्यक्तिलाई संसारमा कसैले प्रशंसा गर्दैन।

मौलाना: यहाँ सम्म त ठिक छ, आर्य ज्यू! तर के तपाइका धर्मग्रन्थहरु जसमा रामायण, महाभारत, वेद आदि ले पुनर्जन्मको बिषयमा प्रकाश पार्छन् त?

आर्य: अवश्य पार्छन्! वेदादि शास्त्रहरुको प्रमाण त स्वयं वेदका प्रकाण्ड पण्डित महर्षि दयानन्द सरस्वतिले आफ्नो ‘ऋग्वेदादिभाष्यभूमिका’ भन्ने पुस्तकमा यसरि दिनुभएको छ:-

  • हे सुखदायक परमेश्वर! तपाइले कृपा गरेर पुनर्जन्ममा हामिहरुको बीचमा उत्तम नेत्र आदि समस्त इन्द्रियहरु स्थापित गरिदिनुहोस्। (ऋग्वेद)
  • हे परमेश्वर, कृपा गरेर हामीलाई सबै जन्ममा समस्त दुःख निवारण हुने पथ्यरूप स्वस्तिलाई दिनुहोस्। (ऋग्वेद)
  • हे परमेश्वर, पुनर्जन्ममा हामीलाई सबै किसिमका कुकर्म र समस्त दुःखहरु बाट अलग राख्नुहोस्। (यजुर्वेद:४/१५)
  • हे जगदीश्वर! तपाईको कृपाले पुनर्जन्ममा मलाई मन आदि एघार इन्द्रियहरु प्राप्त हुन्। (अथर्ववेद: ७/६/६७१)
  • जुन मनुष्यले पूर्वजन्ममा धर्माचरण गर्दछ उक्त धर्माचरणको फलले अनेकौं उत्तम शरीरहरु धारण गर्दछ। (अथर्ववेद:५/१/१/२)
  • जीवहरु आ-आफ्ना पाप-पुण्यहरुको आधारमा नै अर्को जन्ममा मनुष्य या पशु आदि बन्दछन्। (यजुर्वेद:१९/४७)
  • मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले भाइ लक्ष्मण संग भन्दछन् :- लक्ष्मण! पूर्वजन्ममा मैले अवश्य नै पटक-पटक यस्ता कर्महरु गरेको थिएँ होला जसको कारणले आज दुःखमा फसेको छु। राज्य देखि भ्रष्ट भएँ, इष्ट-मित्रहरुबाट बिछोड भयो, पिताको मृत्यु भयो, माता-पिता देखि वियोग भयो, हे लक्ष्मण! हामीलाई यी सबै शोक पूर्वजन्मका पाप कर्म कै फलस्वरूप प्राप्त भएका हुन्। (वाल्मीकि रामायण, अरण्यकाण्ड, सर्ग ६३, श्लोक-४-५)
  • हे अर्जुन! मेरो र तिम्रो अनेकौं जन्म भइसकेका छन्। म योग विद्याको बलले ति सबलाई जान्दछु। तर तिमीले जान्दैनौं। प्रत्येक मनुष्यलाई आ-आफ्ना शुभ या अशुभ कर्महरुको फल त अवश्य नै भोग्नु पर्दछ। (गीता)

मौलाना: आर्य ज्यू, तपाईले आफ्ना धर्मपुस्तकहरु बाट त प्रमाण दिनुभयो तर हामि केवल कुरानलाई मात्र मान्छौं र कुरानमा पुनर्जन्मको बारेमा कुनै प्रमाण छैन।

आर्य: मौलाना ज्यू, त्यसो हैन! कुरानमा पनि पुनर्जन्मका अनेकौं प्रमाण विद्यमान छन्। तर स्वार्थवश तपाईहरुले तिनलाई देखेर पनि नदेखे झैं गर्नुहुन्छ। बिना विद्या पूर्वाग्रह र गलत धारणाहरुलाई छोड्न सजिलो हुँदैन। हेर्नुस्, पुनर्जन्मको विषयमा कुरान शरीफमा भनिएको छ-

(१) सूरा-२२, ‘अल हज’, आयत-६६(कहीं ६७):-  तथा उनि नै हुन् जसले तिमीहरुलाई जीवन प्रदान गरे, त्यसपछि उनले तिमीहरुलाई मृत्यु प्रदान गर्नेछन्, त्यसपछि (पुनः) उनले तिमीहरुलाई जीवन दान दिनेछन्। (नेपाली कुरान-भाग-१७-पेज-५६२) ।

(२) सूरा २३, अल मोमिनून, आयत १५, १६ [(कहीं १६, १७) नेपाली कुरान-भाग-१८- पेज-५६६] ।

(३) सूरा २३, अल मोमीनून, आयत-१००[(कहीं १०१) नेपाली कुरान-भाग-१८- पेज-५७७] ।

(४) सूरा ७, अल आराफ, आयत-२९ [(कहीं ३०) नेपाली कुरान-भाग-८-पेज-२३९]

संस्करण: पवित्र कुरान, अरबी रचना तथा नेपाली अनुवाद: हजरत मिर्जा ताहिर अहमद, अहमदिया मुस्लिम मिशन, पोष्ट-बक्स नं-३९८५, काठमाडौँ, नेपाल)

मौलाना: भो भो आर्य ज्यू, मलाई किन हो कुन्नि थाहा भएन के भएको हो, सायद मलाई लाग्छ आज सम्म भुस कुटेर चामल निकाल्ने प्रयास गरिरहें मैले। म तपाइको प्रमाण तथा तर्क संगत कुरामा मनन अवश्य गर्नेछु। इस्लामी विद्वानहरु संग शंका समाधान गर्न त निक्कै कठिन छ किनकि उनीहरुको अंधविश्वास छ कि इस्लाममा दिमागको दखल या तर्कको कुनै स्थान हुँदैन। तर तपाइको तार्किक कुराले मेरो आँखा खोलिदियो। अब एउटा कृपा गरिदिनुहोस्, मलाइ कहींबाट सत्यार्थ-प्रकाश उपलब्ध गराई दिनुहोस्।

आर्य: ओहो..हैन हैन मौलाना ज्यू, तपाइँ साँच्चिकै सात्त्विक प्रवृत्तिको व्यक्ति हुनुहुन्छ। त्यसैले तपाईमा सत्य कुरो जान्ने जिज्ञासा उत्पन्न हुँदैछ। यो परमपिता परमेश्वर कै कृपा हो। मेरो तपाइँ संग कुनै आग्रह छैन। बस्, तपाइँ मेरा अभिन्न मित्र हुनुहुन्छ त्यसैले मैले तपाईलाई सत्य मार्ग देखाउने प्रयास गरें। आगामी भेटमा मैले तपाईलाई उपहार स्वरूप महर्षि दयानन्द द्वारा लिखित सत्यार्थ प्रकाश अवश्य दिनेछु। परमपिता परमात्माले हामि सबैको बुद्धिलाई प्रकाशित गरोस् ताकि हामि सत्य र असत्यलाई जानेर सत्यलाई ग्रहण गर्न र असत्यलाई छोड्न सक्षम हुन सकौं।अस्तु..

नमस्ते..!

वैदिक धर्मको जय..!

-(हार्दिक आभार: अग्निवीर डट कम तथा आर्य समाज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *