विश्व शाकाहार दिवश: अक्टोबर-०१

ओ३म्..

विश्व शाकाहार दिवश..

‘उत्तर अम्रिकी शाकाहारी समाज’ले सन् १९७७ देखि अम्रिकामा ‘विश्व शाकाहार दिवस’ मनाउन सुरु गरेको थियो। त्यस समाजले मुख्य रुपमा शाकाहारी जीवनका सकारात्मक तथ्यहरुलाई संसारका सामु ल्याउने गर्दछ। यसको लागि त्यस समाजले शाकाहार संग सम्बन्धित कयौं अध्ययन पनि गराएको छ। चाख लाग्दो कुरो यो छ कि त्यस समाजले यो अभियान शुरू गरेपछि अम्रिकामा मात्र लगभग १० लाख भन्दा धेरै मानिसले मांसाहारलाई पूर्ण रुपमा त्याग गरेका थिए। अहिले त्यहाँ लगभग ५% युरोपमा १५% र भारतमा ३१%मानिस शाकाहारी छन्। विभिन्न आहार विशेषज्ञहरुको भनाइ छ कि शाकाहारी भोजनमा रेशा अत्यधिक मात्रामा पाइन्छ र यसमा विटामिन तथा लवणको मात्रा पनि अपेक्षाकृत अधिक हुन्छ। हाम्रो सनातन वैदिक संस्कृतिमा परापूर्व काल देखि हाम्रा ऋषि-मुनिहरुले शाकाहारको महिमामा नै जोड दिएका छन्, तर अहिले आधुनिक वैज्ञानिकहरुले र विविध शोधकर्ताहरुले गरेको अध्ययन अनुसार शाकाहारलाई नै प्रमुख प्राथमिकता दिइएको छ र हाल शाकाहारको प्रभाव पूरा विश्व भरि नै पर्न थालेको छ। शरीरमा शाकाहारको सकारात्मक परिणाम तथा मांसाहारको दुष्प्रभावहरुलाई देखेर अहिले संसारभरि मानिसहरुले शाकाहारी जीवन पद्धती सुरु गर्न थालेका छन्। संसारभरिका शाकाहारी मानिसलाई एक मन्चमा ल्याएर आपसी सद्भाव तथा सहयोग स्थापना गर्ने र जनावरहरुको सिङ, खुर तथा मुख पाक्ने भयङ्कर संक्रमित जीवाणुयुक्त रोग बाट मानिसलाई बचाउने उद्देश्यले उत्तरी अम्रिकाका केहि मानिसहरुले ७०को दशकमा ‘उत्तर अम्रिकी शाकाहारी समाज’को गठन गरेका हुन्।

दुग्ध उत्पाद, फल, तरकारी, अनाज, बदाम आदि, बीज सहितक वनस्पति-आधारित भोजनलाई शाकाहार भनिन्छ। कुनै पनि शाकाहारीले मांसजन्य पदार्थलाई घृणा गर्दछ, यसमा प्राणिहरुलाई कष्ट दिएर या निर्दयता पूर्वक हत्या गरेर प्राप्त गरिने समस्त जलचर-थलचर तथा नभचर प्राणीहरुको मासु तथा तिनका अण्डा (डिम्ब या गर्भाशय) पनि शामेल छन् र पाश्चात्य पनीर, र जिलेटिन आदि पनि मांसहारको श्रेणीमा पर्दछन्।

नैतिक, स्वास्थ्य, पर्यावरण, धार्मिक, राजनीतिक, सांस्कृतिक, सौन्दर्य, आर्थिक, या अन्य कुनै पनि कारणले शाकाहारी जीवनशैली अपनाउन सकिन्छ। पश्चिमाहरुले आँफूलाई मन पर्ने किसिमले शाकाहारलाई पनि विविध श्रेणीमा विभाजन गरेका छन् जस्तै-:

  • वेगन (vegan): यसमा केवल बनस्पति आधारित भोजन मात्र सम्मिलित छन्। सम्पूर्ण दुग्ध उत्पादन लगायत मह पनि त्याज्य छ। यहाँ सम्म कि यिनीहरुले पशु-पंक्षी बाट उत्पादित कुनै पनि वस्तु प्रयोग गर्दैनन्। जस्तै छालाको थैली, झोला, पेटी, जुत्ता, चप्पल, टोपी, पन्जा, आदि। यिनीहरुको मान्यतामा पशु-पंक्षी हरुबाट कुनै पनि प्रकारको सेवा लिन पाइन्न र पिंजरा तथा खोरमा थुन्न पनि पाइन्न।
  • ल्याक्टो (Lacto):- यसमा बनस्पति आधारित भोजन लगायत दुग्ध उत्पादन र मह पनि सामेल छ, केवल माछा-मासु तथा अण्डा त्याज्य छ।
  • ल्याक्टो-ओवो (Lacto-ovo):- यसमा बनस्पति आधारित भोजन लगायत दुग्ध उत्पादन तथा मह र अण्डा पनि सामेल छ, केवल माछा र मासु मात्र त्याज्य छ।
  • पेस्काटेरियन्स् (Pescatarians): – यसमा बनस्पति आधारित भोजन लगायत दुग्ध उत्पादन, मह, अण्डा र समुद्री जीव पनि सामेल छ, केवल मासु मात्र त्याज्य छ।
  • फ्लेक्सीटेरिएन्स (Flexitarians):- यो नयाँ प्रकारको शाकाहार हो, कहिले पुरै मांसाहार त्याग्छन् र कहिले कुनै बिशेष अवसरमा मांसाहार खाने गर्दछन्। तर आँफूलाई शाकाहारी नै मान्दछन्।

जसले जसरि पनि आँफूलाई शाकाहारी माने पनि शाकाहारी समाजको भनाइ छ कि जुन भोजनमा प्राणीहरुलाई कष्ट दिएर या हत्या गरेर प्राप्त गरिएको माछा, मासु, अण्डा आदि उत्पादन शामेल छन् त्यो शाकाहारी हैन। हाम्रो सनातन वैदिक संस्कृतिको मान्यता पनि यहि हो। अस्तु..

नमस्ते..!

प्रेम आर्य

(दोहा, कतार बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *