सत्यार्थ प्रकाश

ओ३म्..

सत्यार्थ प्रकाश: 

dayanand

सत्यार्थ प्रकाशको रचना आर्य समाजका संस्थापक महर्षि दयानन्द सरस्वतीले गरेका थिए। यद्यपि उनको मातृभाषा गुजराती थियो र संस्कृतको यति ज्ञान थियो कि उनि संस्कृतमा धाराप्रवाह बोल्ने गर्दथे, तर पनि यस ग्रन्थलाई उनले हिन्दीमा रचे। भनिन्छ कि जब महर्षि दयानन्द सन् १८७२ मा कलकत्तामा केशवचन्द्र सेन संग भेट भए पछी उनकै सल्लाह वमोजिम संस्कृत छोडेर हिन्दी बोल्न आरम्भ गरे। त्यस पछी महर्षि दयानान्दका हरेक व्याख्यानहरु हिन्दीमा हुन थाले र शायद यसै कारणले होला महर्षि दयानन्दले सत्यार्थ प्रकाशको भाषा पनि हिन्दी नै राखे।

महर्षि दयानन्द पुरै भारत देशमा घुमी-घुमी शास्त्रार्थ एवं व्याख्यान गरिरहेका थिए। यस्तैमा उनका अनुयायिहरुले अनुरोध गरे कि यदि यी शास्त्रार्थहरु एवं व्याख्यानहरुलाई लिपिबद्ध गर्ने हो भने त यी अमर हुने छन्। सत्यार्थ प्रकाशको रचना उनका अनुयायिहरुको अनुरोध कै कारण सम्भव भएको हो। सत्यार्थ प्रकाश रचना गर्नुको प्रमुख उद्देश्य आर्य समाजको सिद्धान्त एवं विचार र मान्यताको प्रचार-प्रसार गर्नु नै थियो। यसको साथ साथै यसमा ईसाईइस्लाम एवं अन्य निक्कै पन्थ एवं मतको खण्डन पनि छ। त्यति बेला हिन्दू शास्त्रहरुको गलत अर्थ निकालेर हिन्दू धर्म एवं संस्कृतिलाई बदनाम गर्ने षड्यन्त्र पनि चल्दै थियो। यसैलाई ध्यानमा राखेर महर्षि दयानन्दले यसको नाम ‘सत्यार्थ प्रकाश (सत्य+अर्थ+प्रकाश) अर्थात् सही अर्थको प्रकाश पार्ने वाला (ग्रन्थ) राखे।

सत्यार्थ प्रकाशको प्रयोजन:

 

समाज सुधारक महर्षि दयानन्द सरस्वतीको यस रचनाको मुख्य प्रयोजन सत्यलाई सत्य र मिथ्यालाई मिथ्या नै प्रतिपादन गर्नु हो

यद्यपि हिंदू जीवन व्यक्ति र समाज, दुवैलाई समकक्ष राखेर चल्दछ, तर पनि हिन्दुहरुमा प्राय: देख्ने गरिन्छ कि समष्टिवादीको अपेक्षा व्यक्तिवादी प्रवृत्ति अधिक छ। ध्यानमा लीन उपासकको समीप यदि यसै समाजको कुनै व्यक्ति तड्पी रहेको भए पनि उसलाई ध्यानभंग कै कारण सम्झन्छ। यो कदापि हैन कि ऊ पनि यसै समाजको एक अंग हो। अर्को कुरो १९औं सताब्दीमा अँग्रेजी सभ्यताको निक्कै प्राबल्य थियो। अँग्रेजी प्रचार कै परिणामस्वरूप हिन्दू स्वयं नै आफ्नो संस्कृतिलाई हेय मान्न र पश्चिमको अन्धानुकरण गर्नमा गर्व महशुस गर्न थालेका थिए। भारतीयहरुको भारतीयताबाट भ्रष्ट गर्ने मेकालेको योजना अनुसार हिन्दुलाई पतित गर्नको लागि अँग्रेजी शिक्षा प्रणालीमा जोड दिइएको थियो। विदेशी सरकार तथा अँग्रेजी समाज आफ्ना दलाल पादरिहारु द्वारा ईसाइयतको झण्डा देशको एक कुनाबाट अर्को कुना सम्म फहराउनको लागि करोडौं रुपैया खर्च गर्दै थिए। हिन्दूहरुले आफ्नो धार्मिक एवं राष्ट्रीय गौरव नै गुमाई सकेका थिए। लगभग १००/१५० हिन्दू प्रति दिन मुसलमान बन्दै थिए र ईसाई यसभन्दा पनि अधिक। पादरीहरुले ‘रंगीला कृष्ण  र ‘सीताको व्यभिचार’ जस्ता सैकडौ पुस्तक लेखेर बाड्दै थिए। यस्ता निराधार लान्छानाहरुको उत्तर दिनुको साटो ‘ब्रह्म समाज’का अनुयायी हरुले उल्टै राष्ट्रीयताको नै विरोध गरे। वेद आदि सत्य ग्रन्थ हरुको प्रतिष्ठा गर्नु त परै जाओस्, झन् पेटभरी तिनको निन्दा नै गरे।

महर्षि दयानन्दले आर्य समाज र सत्यार्थ प्रकाश द्वारा यी घातक प्रवृत्तिहरुलाई रोके। उनले त यहाँ सम्म लेखे कि – स्वराज्यको लागि स्वदेशी विचार र स्वदेशमा जन्मेको व्यक्ति नै नेता तथा मन्त्री आदि हुनु पर्दछ। परमात्मा हाम्रा राजा हुन् उनले कृपा गरेर हामीलाई राज्याधिकारी बनाउन्।” यसका साथै उनले आर्य सभ्यता एवं संस्कृतिबाट प्रखर प्रेम र वेदउपनिषद आदि आर्य सत्साहित्य तथा वैदिक परम्परा प्रति श्रद्धामा बल दिए। स्व-समाज, स्व-धर्म, स्व-भाषा तथा स्व-राष्ट्र प्रति भक्ति जगाउन तथा तर्क प्रधान कुरा गरेकै कारणले उत्तर भारतका पढे लेखेका हिन्दू युवाहरुको ध्यान विस्तारै-विस्तारै यता तिर खिचिन थाल्यो जसबाट आर्य समाज सामाजिक एवं शैक्षणिक क्षेत्रमा निक्कै लोकप्रिय हुन सफल भयो। त्यसैगरी नेपालका अमर सहिद सुक्रराज शास्त्रीको परिवार पनि आर्य समाजको मान्यता र विचार प्रति आकर्षित भयो। त्यसैको फलस्वरूप नेपाल आर्य समाजको स्थापना भएको थियो।

 

सत्यार्थ प्रकाशको संरचना:

सत्यार्थ प्रकाशमा चौध समुल्लास (अध्याय) हरु छन्। यसमा यी विषयहरुमा विचार गरिएको छ- बाल-शिक्षा, अध्ययन-अध्यापन, विवाह एवं गृहस्थ, वानप्रस्थ, संन्यास-राजधर्म, ईश्वर, सृष्टि-उत्पत्ति, बंध-मोक्ष, आचार-अनाचार, आर्यावर्तदेशीय मतमतान्तर, ईसाई मत तथा इस्लाम। यसको भाषाको सम्बन्धमा महर्षि दयानन्द सरस्वतिले सन् १८८२ मा यस ग्रन्थको दोस्रो संस्करणमा स्वयं यो कुरो लेखेका थिए –  जुन समयमा मैले यो ग्रन्थ बनाएको थिएँ, त्यस समय संस्कृतमा सम्भाषण गर्ने र जन्मभूमिको भाषा गुजराती भएको कारणले मलाई यस भाषा (हिन्दी)को विशेष परिज्ञान थिएन त्यसैले भाषा अलि अशुद्ध भएको थियो अब यसको भाषा-व्याकरण-अनुसार शुद्ध गरेर दोस्रो पटक छापिएको छ।”

 

मुख्य संदेश:

यसको मुख्य संदेश पारंपरि्क हिन्दू रीति भन्दा अलग र कहीं-कहीं विरूद्ध पनि छ। जो यसप्रकारका छन्: –

  • ओ३म् परमात्माको निज नाम हो। जगतको सृष्टि गरेको कारणले ब्रह्म, सर्वत्र व्यापक हुनाले विष्णु, कल्याणकारी हुनाले शिव, सारा प्रजाका स्वामी तथा पालनहार हुनाले गणपति  र प्रजापति,  दुष्ट दमन गर्ने हुनाले रूद्र  (रुवाउने वाला) तथा सोमअग्नि इत्यादि उसै एक परमात्माका गुणवाचक नाम हुन्।
  • परमात्माको कुनै रङ आकार या स्वरूप छैन। ईश्वरले कुनै अवतार लिन्न, न ऊ जन्मन्छ र न मर्छ, उसलाई कुनै पैगम्बरया मसीहाको आवश्यक पर्दैन, ऊ सर्व शक्तिमान तथा स्वयं सक्षम छ। आफ्नो पुरुषार्थ पूर्ण कर्मको कारणले मात्र कुनै व्यक्ति आदरणीय र सम्मानित हुन्छ। राम र कृष्ण आदरणीय महापुरुष थिए, तर कुनै इश्वरावतार हैनन्। परमात्मा सर्वआनंदमय, सच्चिदानंद छ।
  • देवको अर्थ हुन्छ केहि दिने वाला (दान या कृपा) अतः ऋषि, मुनि या कुनै नदी जसले कैयौंको कल्याण गर्छ, सूर्य, नक्षत्र आदि सब देव हुन्। तर उपासना भने केवल ईश्वर कै गर्नु पर्छ जो यी सबको कर्ता हो। त्यस्तै एकमात्र ईश्वरको नाम नै महादेव हो। वेद मंत्रलाई पनि देव भनिएको छ किनकि यिनलाई आत्मसाथ गर्नाले कल्याण हुन्छ।
  • वेदमा जाति-पाती तथा छुवा-छुत जस्तो घृणित व्यवस्था छैन, वेदमा वर्ण व्यवस्थागुण कर्मको आधारमा हुन्छ; जन्मको आधारमा हैन। राजाको सन्तान आवश्यक छैन कि ऊ क्षत्रिय नै होस्। यो उसको बल, पराक्रम, इन्द्रियजित र कल्याणकारी गुणमा निर्भर छ। इत्यादि..
  • मूर्तिपूजा वेद तथा उपनिषदमा कहीं पनि छैन। मूर्ति पूजनबाट मानिसहरु मूर्तिआश्रित हुन्छन् र पुरुषार्थको लागि प्रेरित हुन्नन् र गर्दैनन् पनि। केवल पुरुषार्थबाट मात्र जीवको कल्याण हुन सक्छ।
  • जीव (आत्मा, पुरुष), प्रकृति र परमात्मा यी तीन एकआपसमा पृथक-पृथक सत्ता हुन्। परमात्माले जीव माथि नियंत्रण गर्दैन, जीव आफ्नो कार्यको लागि स्वतंत्र छन्। परिणाम आफ्नो कार्य कै अनुसार हुन्छ; परमात्माको ईच्छा अनुसार हैन।
  • मोक्ष प्राप्तिको लागि अष्टांग योग, उत्तम कर्म, पवित्रता, यज्ञ(पदार्ध यज्ञ, दान, त्याग र निष्काम कर्म) सदा सत्यको साथ रहनु र मिथ्यालाई दूर छोड्नु, विद्वान पुरुषहरुको सत्संग, विवेक (सत्य र असत्यको विवेचन) इत्यादि गर्न सकिन्छ।
  • ईश्वरको उपासना गर्नाले गरेको अपराध क्षमा हुँदैन- कयौं हिन्दू, ईसाई र इस्लामी तथा अन्य मतमा ईश्वर पूजनले पाप क्षमा हुन्छ भनेर प्रसतुत गरिन्छ (जस्तै: हरि-हरि/नारायण-नारायण/राम-राम/कृष्ण-कृष्ण/गंगे-गंगे/, बिसमिल्लाह या कुनै येशुको नाम उच्चारण गरेर) तर वेदका अनुसार ईश्वरले केवल सत्यज्ञान दिन सक्छ। अपराध क्षमा गर्नु ईश्वर जस्तो न्यायकारी शक्तिको अनुकूल छैन।
  • वैष्णवशैवशाक्तकापालिकचक्राङ्कितर चार्वाक मत वेदलाई बुझ्न नसक्नुको कारणले बनेका हुन्। ईश्वरको कुनै रूप या अवतारको बारेमा वेदमा कुनै विवरण या प्रमाण छैन।
  • श्राद्ध, तर्पण आदि कर्म जीवित श्रद्धापात्रहरु (माता पिता, पितर, गुरु आदि)को लागि हुन्छ, मृतकको लागि हैन।
  • तीर्थदुखबाट तर्नेको नाम हो। कुनै सागर, नदी या सरोवरमा नुहाउनु र कुनै स्थान विशेषमा भ्रमण गर्नु हैन।
  • आत्माको मोक्ष पश्चात सुगम विचरण या सुख भोग गर्नु स्वर्ग र पुनर्जन्मको बंधनमा परेर दुख भोग्नु नरक हो तर स्वर्ग र नरक नाउको त्यस्तो कुनै छुट्टै दोस्रो अथवा तेस्रो संसार छैन।
  • इस्लाम र ईसाई मत खण्डन- ईश्वरले कुनै पैगम्बर या मसीहा पठाउँदैन। ईश्वर स्वयं सामर्थ्यवान छ। ऊ सच्चिदानंद छ। स्वर्ग, नरक, जिन्न आदिको पनि खण्डन।

प्रभाव:

यो स्पष्ट कुरो हो कि महर्षि दयानन्दको मत निक्कै अंधविश्वासहरुको र मतहरुको खण्डन र वेद मतलाई पुनःप्रकाशमा ल्याउनु थियो। त्यसैले कयौं पटक उनलाई प्रचलित हिन्दू, जैन, बौद्ध, इस्लामी र ईसाई मतको मान्यताहरुको खण्डन गर्नु पर्यो। अवतारवाद, शंकराचार्यलाई शिवको अवतार, राम र कृष्णलाई विष्णु नामक सार्वभौमको अवतार मान्नेहरु थुप्रै थिए। त्यसै प्रकार तीर्थ, बालविवाह, सति प्रथा र जन्म संबंधी जाति प्रथा (वर्ण व्यवस्थाको नया रूप) जस्ता थुप्रै व्यवस्थाको उनले सप्रमाण खण्डन गरे। यसबाट निक्कै सुधार हिन्दू समाजमा आयो। केहि विश्वास इस्लामी समाजको पनि बदलियो। केहि यसप्रकार छन-

  • भारतीय स्वाधीनता संग्रामका र नेपालका राणा शासन बिरोधि मोर्चामा डटेका क्रांतिकारिहरुको सर्वप्रिय पुस्तक ‘सत्यार्थप्रकाश’ र ‘ऋषि दयानन्दको जीवनी’ बन्यो, एक अंग्रेज विद्वान शेरोलले यहाँ सम्म भनेको थियो कि ‘सत्यार्थप्रकाश’ ब्रिटिश सरकारको जरो उखेल्ने वाला ग्रंथ हो, वस्तुतः सत्यार्थ प्रकाश उस समयको कालजयी कृति थियो, छ र रहनेछ पनि। यस कालजयी कृतिमा अंग्रेजहरुको विरोध पनि थियो जसबाट अंग्रेज सरकारलाई निक्कै हानि पनि भयो।
  • हिन्दुहरुको धर्मान्तरण रोकियो र मुस्लिम, ईसाई आदि विधर्मि मत अँगालेकाहरुको शुद्धिकरण गरि घर वापसी भयो।
  • बाल विवाह र सति प्रथा जस्तो घृणित र कलंकित प्रथामा रोक लाग्यो तथा सुद्र र स्त्रीले वेद पढ्नु हुन्न भन्ने भ्रान्ति पनि मेटियो।
  • श्रीकृष्ण र देवी सिता माथि लगाइएको भद्दा आरोप र लान्छाना हट्यो एवं उनीहरुको यथार्थ  सत्यस्वरूप प्रकाशित भयो।
  • सत्यार्थप्रकाशले स्त्री-जातिलाई चरणकी दासीबाट उठाएर जगदम्बाको सिंहासनमा विराजमान गरायो।
  • मूर्तिपूजाको स्वरूप बदलियो, पहिले मूर्तिलाई नै ईश्वर मान्नेहरु अहिले मूर्तिपूजाको विभिन्न मनोविनोद पूर्ण व्याख्या गर्ने असफल प्रयास गर्दछन्।
  • हिन्दु विद्वान वीनायक दामोदर सावरकरको शब्दमा सत्यार्थप्रकाशले हिन्दू जातिको चिसो भैसकेको नश नाडीमा उष्ण रक्तको संचार गर्न सफल भयो।
  • सत्यार्थप्रकाशले भारतमा हिन्दी भाषाको महत्व बढायो।
  • नेपालमा पनि विसं २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले ‘जयतु संस्कृतम’ को आन्दोलन ल्याउनमा यसैको भूमिका थियो।
  • सत्यार्थप्रकाश एक्लैले अनेकौं क्रन्तिकारी र समाज सुधारक पैदा गर्न सफल भयो।
  • सत्यार्थप्रकाशले वेदको महत्त्व बढायो, वेदको प्रतिष्ठालाई हिमालयको शिखरमा स्थापित गरिदियो।
  • सत्यार्थप्रकाशको प्रभाव विश्वव्यापी भयो, बाइबल, कुरान, पुराण, जैन आदि सबैका ग्रंथहरुमा हेरफेर गरियो, श्लोकहरु बदलिए या हटाइए, व्याख्याहरु बदलिए, सत्यार्थप्रकाशले धर्मको क्षेत्रमा मानौं सम्पूर्ण पृथ्वीमा हलचल मच्चाउन सफल भयो।
  • फरवरी-१९३९ मा कलकत्ताबाट छापिने ‘एपिफेनी विक्ली’ मा स्वर्ग र नरकको अवधारणा बदलियो। साप्ताहिक पत्रले लेखेको थियो- “What are hell and heaven? ..Hell and heaven are spiritual states; heaven is enjoyment of the presence of God, and Hell Banishment from it”. यसमा आर्य विचारधारा (सत्यार्थ प्रकाश जसको सबभन्दा प्रमुख पुस्तक हो) को प्रभाव देखिन्छ।
  • भारतको कन्याकुमारीमा स्वामी विवेकानंदको शिला स्मारक भवनमा कुनै मूर्ति राखिएन। ‘रामकृष्ण मिशन’ मूर्तिपूजाको विरोधी चाहिं हैन।
  • कुरानको भाष्य फतह उल हमीद ले मुसलमानहरुको समाधिस्थल, पीर या दरगाह पूजा गलत भएको स्वीकारे। यसमा मौलाना हालीले मूर्ति पूजामा आफ्नो बिरोध जनाउदै भने कि “मुसलमानहरुले नबीलाई खुदा मान्नु र समाधिस्थलमा जानु पनि उचित हैन”।
  • पुराणहरुको, साखिको र हदीसहरुको मान्यता घट्न थाल्यो। उदाहरणार्थ, भारतको जबलपुरमा सन् १९१५मा आर्य समाजिहरुका साथ शास्त्रार्थमा मौलाना सनाउल्लाले हदीसबाट आफ्नो संलग्नता छोडे।

तर आजभोली आर्य समाजको आलस्यको कारण वेद पठन पाठन र सत्यार्थ प्रकाशको प्रचार प्रसार राम्रो संग नहुनाले पुनः ति कुसंस्कारहरुले मुन्टो उठाउदै छन्। यसबाट बच्न पुनः वैचारिक क्रान्तिको लागि युवाहरु तयार हुनु पर्यो। वेद विरुद्ध मत खण्डन र वेद मतको मण्डनको लागि शास्त्रार्थ गर्न सबैलाई आह्वान् गर्नु पर्यो.. ।

शरीरको कुनै अंगमा उठेको सईनखटिराको बिष शरीरभरि फैलिन बाट रोक्न ठूलै शैल्यक्रिया नै गर्नु पर्छ, आवश्यक परे उक्त अंग नै काटेर फाल्न पनि तयार हुनु पर्छ, त्यसमा केहि पिडा पनि सहन गर्न सक्नु पर्छ नत्र मृत्यु पक्का छ..।

ईश्वरले सबैमा सद्वुद्धि प्रदान गरुन्, सत्य र असत्य छुट्याउन सक्ने शक्ति तथा ज्ञान प्रदान गरुन्.. ।अस्तु..

नमस्ते..!

-प्रेम आर्य

(दोहा, कतार बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *