. …योग र यसका अंग-३

ओ३म्.. …

योग र यसका अंग-३

(घ) ब्रह्मचर्य: –
==============
गुप्त-इन्द्रियहरुको संयम गर्नु ब्रह्मचर्य नामक चौथो यम हो।
व्यास भाष्य:- ब्रह्मचर्यं गुप्तेन्द्रियस्योपस्थस्य संयमः।
कामवासनालाई उत्तेजित गर्ने खालको खान-पान, दृश्य, श्रव्य, शृङ्गारादि बाट सर्वथा बच्दै वीर्य रक्षा गर्नु र ईश्वर प्राप्तिको मार्गमा एकचित्त हुनु नै ब्रह्मचर्य हो।

(ङ) अपरिग्रह:-
==============
विषय (संसार) को बन्धनका कारण धनादि भोग्य पदार्थहरुको अनावश्यक आर्जन (संग्रह) गर्नुमा दोष, रक्षण (संग्रह) गरिएकोलाई रक्षा गर्नुमा दोष, क्षय अर्थात् उनको नाश हुनुमा दोष, संग अर्थात् उनमा आसक्त हुनुमा र हिंसा (समस्त प्राणिहरुको पिडा) मा दोष देखिनाले यी भोग्य पदार्थहरु संग्रह नगर्नु नै ‘अपरिग्रह’ हो। यो पाँचौ यम हो।
व्यास भाष्य:- विषयाणामर्जनरक्षणक्षयसंगहिंसादोषदर्शनादस्वीकरणमपरिग्रह इत्येते यमाः।।

अनावश्यक धन संग्रह गर्नुमा के के दुःख हुन्छ, एक कविको विश्लेषणः
अर्थानामर्जने दुःखमर्जितानाञ्च रक्षणे।
आये दुःखं व्यये दुःखं धिगर्थान् कष्टसंश्रयान्।।
अर्थः- धन संचय गर्नमा विविध किसिमको दुःख र त्यसको रक्षा गर्नमा पनि दुःख। आँखा झिम्काउ, कसैले उडाएर लैजाने डर। आँखा खुला राखौं, कसैले धुलो हालेर ठगेर लैजाने डर, धन आए पनि दुःख र गए पनि दुःख। धिक्कार छ यस्तो धनलाई।

यस संसारमा बाँच्नको लागि त सांसारिक पदार्थहरुको परमावश्यकता छ, तर यी साधनहरु साध्य कदापि बन्न दिनु हुन्न र यसमा आसक्ति पनि हुनुहुन्न। यसमा लोभादि वृत्तिहरु जागृत हुन्छन्। यसको वशीभूत भएर मनुष्य अनावश्यक पदार्थहरुको संग्रह गर्नमा लाग्छ। विलासी वस्त्र र महल बाट बच्नु पर्दछ। (मनसि च परितुष्टे को अर्थवान् को दरिद्रः) शृंगार बाट बच्नु पर्दछ। योगाभ्यासी पुरुषले परिग्रह वृत्तिलाई सर्वथा त्याग गर्नु पर्दछ।

अहिंसादि पाँच यमहरुको बहाना:
==================

“जातिदेशकालसमयानविच्छिन्नाः सार्वभौमा महाव्रतम् ।।” (योगदर्शन–२.३१)

अर्थ:- यी (अहिंसा, अस्तेय, सत्य, ब्रह्मचर्य र अपरिग्रह) पाँच यम जाति (पशु-पंक्षी तथा मनुष्यादि), देश (स्थान विशेष), काल (तिथि आदि), समय (शिष्ट-परम्परा अथवा कर्त्तव्यको सीमाले बाँधिएको अर्थात् सर्वत्र, सर्वदा र सर्वथा गर्न योग्य) सर्वत्र प्रसिद्ध, सब मनुष्यहरुको लागि हितकारी महान् व्रत हो।
यहाँ अहिंसादि पाँच यमहरुलाई सार्वभौम महाव्रत भनिएको छ। अतः योगाभ्यासीले यी यमहरुको पालन जीवन पर्यन्त गर्नु पर्दछ।

जिब्रोको लोभमा फसेर नै मानिसले हिंसा गर्नको लागि अनेकौं बहाना बनाउँछ। कसैले भन्छन् कि मैले अण्डा खान्छु, अण्डा मांसाहारमा पर्दैन, यो  शाकाहार नै हो। कसैले म केवल माछा मात्र खान्छु, अन्य जीवहरुको हत्या गर्दैन भन्छन्।  कसैले भन्छन् मैले कुनै पवित्र-स्थलमा हत्या गर्दैन। कसैले मैले औंशी-पूर्णिमा या चाड-पर्वमा हत्या गर्दैन भन्दछन्, कसैले भन्छन् मैले केवल देवहरु (माता,पिता,आचार्य, ब्राह्मण आदि) को रक्षाको लागि मात्र हत्या गर्नेछु अन्य कार्यको लागि हैन।
यी सब जाति, देश, काल, समयको सीमाले बाँधिएका छन्। वस्तुतः हिंसा त हिंसा नै हुन्छ। योग-साधकहरुको लागि सर्वथा प्रतिबन्धित छ।

यम योगीको जग हो। यसैमा योगको भवन अडिएको छ। यसको पालन अवश्य गर्नु पर्छ; यदि साधनामा अघि बढ्ने हो भने।

(२) नियम:
========

योगको दोस्रो अङ्ग नियम हो। नियम पनि पाँच प्रकारका हुन्छन् ति हुन् (क) शौच, (ख)  संतोष, (ग) तप, (घ)  स्वाध्याय र (ङ)  ईश्वरप्रणिधान।
तद्यथा “शौचसंतोषतपः स्वाध्यायेश्वरप्रणिधानानि नियमाः” (योगदर्शन: २/३२)

(क) शौच:
=============
प्रथम नियम शौच हो। यसको अभिप्राय शरीर, मन र बुद्धिको पवित्रता हो। पवित्रता दुई किसिमको हुन्छ- बाह्य र आन्तरिक। बाहिरी पवित्रता स्नानादिले आउँछ। पवित्र खाद्य पदार्थको सेवन र अपवित्र खाद्य पदार्थलाई त्याग गर्नाले यो पवित्रता कायम रहन्छ। आन्तरिक पवित्रता दुई तरिकाले हुन्छ। शौच (मल-मूत्र त्याग) बाट शारीरिक पवित्रता र अर्को मानसिक पवित्रता- मनको मलिनता हटाउनु, अविद्या र मिथ्याज्ञानले उत्पन्न राग, द्वेषादि मलहरुलाई यथार्थ ज्ञानले धुनु।
मनुस्मृति (५/१०९) को प्रमाणः-
“अद्भिर्गात्राणि शुध्यन्ति मनः सत्येन शुध्यति।
विद्यातपोभ्यां भूतात्मा बुद्धिर्ज्ञानेन शुध्यति।।”

अर्थात्, स्नान बाट शरीर, सत्य बाट मन, विद्या तथा तप बाट आत्मा र ज्ञान बाट बुद्धि शुद्ध हुन्छ।

व्यास भाष्यः- “तत्र शौचं मृज्जलादिजनितं मेध्याभ्यवहरणादि च बाह्यम्। आभ्यन्तरञ्चित्तमलानामाक्षालनम्।”

(ख) सन्तोष:
=========
दोस्रो नियम संतोष (लोभरहित वृत्ति) हो। जीवन निर्वाहको लागि आवश्यक साधनहरु भन्दा अधिक साधन ग्रहण गर्ने इच्छा नगर्नु संतोष हो:-

“संतोषः संनिहितसाधनादधिकस्यानुपादित्सा।” (योग. २/३२ भाष्य)

 (ग) तप:
=======
तेस्रो नियम तप हो। द्वन्द्व सहन गर्नु, अर्थात् भोक-प्यास, सर्दी-गर्मी, उठ्ने-बस्ने अभ्यास, काष्ठमौन-आकारमौन (इशाराले तथा बाणी द्वारा पनि आफ्नो भाव प्रकट नगर्नु तर इशाराले भाव प्रकट गर्नु आकारमौन हो)। काष्ठमौन र आकारमौन यी दुई द्वन्द्व हुन्, यिनलाई सहन गर्न सक्नु नै तप हो। यिनका अतिरिक्त व्रत पनि तप अन्तर्गत नै आउँछन् जस्तै:- कृच्छ्रव्रत, चान्द्रायण व्रत और सान्तपनादि।

“गोमूत्रं गोमयं क्षीरं दधि सर्पिः कुशोदकम्।
एक रात्रोपवासश्च कृच्छ्रं सान्तपनं स्मृतम्।।”
(मनु स्मृति ११/२१२)

अर्थात् गोमूत्र, गोबर, दूध, दही, घीउ र कुशाको जललाई मिलाएर एक-एक दिन छोडेर खानु सांतपन कृच्छ्रव्रत हुन्छ।
यी व्रतको यथायोग्य (शरीरको अनुकूलता अनुसार पालन गर्नु पर्दछ।
व्यास भाष्यः “तपो द्वन्द्वसहनम्। द्वन्द्व च जिघत्सापिपासे शीतोष्णे स्थानासने काष्ठमौनाकारमौने च। व्रतानि चैषां यथायोगं कृच्छ्रचान्द्रायणसांतपनादीनि।”

(घ) स्वाध्याय:

==============

मोक्षको उपदेश दिने योगदर्शनादि शास्त्रहरुको अध्ययन गर्नु र प्रणव (ओ३म्) को जप गर्नु स्वाध्याय हो (स्वाध्यायो मोक्षशास्त्राणामध्ययनं प्रणवजपो वा।)

(ङ) ईश्वर प्रणिधान:

ईश्वर प्रति समर्पणको भाव हुनु, आँफू र आफ्नो समस्त कार्यलाई परमपिता, परमगुरु परमात्मामा अर्पण गरिदिनु ईश्वर प्रणिधान हो। यस प्रकारको  अनुष्ठान तथा यस्तो भावनाले ईश्वर प्रति भक्ति भाव जागृत हुन्छ तथा बाह्य व्यवहार बाट चित्त हटीरहन्छ।
“ईश्वरप्रणिधानं तस्मिन्परमगुरौ सर्वकर्मार्पणम्।

जीवन्मुक्त योगी पुरुष चाहे शैय्या अथवा आसनमा स्थित होस्, चाहे मार्गमा गैरहेको होस् ऊ ईश्वरप्रणिधान द्वारा स्वरूपमा नै स्थित हुन्छ। उसका समस्त संशय, अज्ञान हिंसादि नष्ट भैसकेका हुन्छन् र त्यो योगीले संसारको बीज रुपी अविद्यादि क्लेशहरु तथा अविद्याजन्य संस्कारहरुलाई नाश गर्दै नित्य योगाभ्यास गर्दै अमृतभोग (मोक्षको आनन्द) को अधिकारी बन्छ।

क्रमशः….

Leave a Reply

Your email address will not be published. Required fields are marked *