….योग र यसका अंग-४

ओ३म्..

……..योग र यसका अंग-४

योग विरोधी भावना
================

जब योगीको मनमा योग विरोधी भावनाहरु जस्तै: मैले अहित गर्नेहरुलाई मार्दिन्छु, यस अपकारीको विषयमा असत्य पनि बोल्छु, यसको धन पनि लिन्छु, यसको सम्पत्तिमा आफ्नो अधिकार कायम गर्छु, यसकी पत्नीका साथ दुराचार गर्छु। यस प्रकारको विपरीत मार्ग तिर लैजाने अती प्रबल हिंसादि वृत्तिहरुको रोग द्वारा पीडित हुँदै योगीमा विरोधी भावहरु प्रवल हुन थाले भने त्यसले के गर्नु पर्ला?

त्यसको लागि महर्षि व्यासले यस्तो उपाय भनेका छन्:-

भयंकर संसार रूपी कोइलामा भुटीदै म द्वारा अर्थात् संसारको दुःख देखि सन्तप्त भएर मैले समस्त जीवहरुलाई अभयदान दिने भावनाले योगधर्मको शरण लिएको थिएँ र अब म त्यहि योगधर्मलाई छोडेर फेरी तिनै हिंसादि वितर्कहरु (विरोधी भावहरु) लाई ग्रहण गर्दैछु। यो त त्यस्तै भयो जस्तो कुकुरको वृत्ति हुन्छ। कुकुरले आफैले उल्टी गरेको वमनलाई फेरी स्वयं चाट्छ। त्यस्तै झैं छोडिएका वितर्कादिलाई फेरी मैले ग्रहण गर्दैछु। यस प्रकार सोंच्दै उसले वितर्कादि भावहरुलाई रोक्नको लागि वितर्कविरोधी भाव प्रबुद्ध गर्नु पर्छ। व्यास भाष्यः- “यदा अस्य ब्राह्मणस्य हिंसादयो वितर्का जायेरन् यथा श्वा वान्तवलेही तथा त्यक्तस्य पुनराददान इति।”

(३) आसन: –
=========

“स्थिरसुखमासनम्” (योगदर्शन:२/४६)

जसमा शरीर सुखपूर्वक स्थिर हुन सकोस्, यो आसन हो। जस्तो रुचि हुन्छ, त्यस्तै आसन गर्नु पर्छ। प्रमुख आसनहरु यी हुन्:- पद्मासन, भद्रासन, स्वस्तिकासन, बज्रासन, दण्डासन, सोपाश्रय (सहाराका साथ आसन), पर्यङ्कासन, क्रौञ्चनिषदन (क्रौञ्च (सारस) पक्षी झैं बस्नु), हस्तिनिषदन (हात्ती जस्तै गरि बस्नु), उष्ट्रनिषदन (ऊँट झैं बस्नु), र समसंस्थान। यी सब आसन स्थिर तथा सुख दिने खालका छन्। यी आसनहरु मध्ये जुन आसनमा योगीलाई सुख तथा आराम हुन्छ, त्यसैको अभ्यास गर्नु पर्छ।

चित्तवृत्तिहरुको निरोध गरेर तप, उपासनादि गर्नको लागि स्थिर हुन कठिन हुन्छ। अतः जप, उपासना गर्नको लागि योगाभ्यासीले कुनै यस्तो आसनको अभ्यास गर्नु पर्छ जसमा निक्कै लामो समय सम्म सुखपूर्वक बस्न सकियोस्।

आसनको विषयमा यहाँ सूत्रकार पतञ्जलि मुनिले दुईवटा विशेष कुरा भनेका छन्- स्थिरता र सुख। स्थिरताको अभिप्राय हो- उपासनाको समयमा शरीरको कुनै पनि अङ्ग चञ्चल नहुनु। झिंगा, लामखुट्टे आदि बस्नाले अथवा शरीर चिलाउनाले पनि स्थिरता भंग नहोस्। अन्यथा शरीर चंचल हुना साथ नै चित्त पनि चंचल हुन्छ। सुखको अभिप्राय हो-  जुन आसनमा अभ्यासी बसेको छ, त्यसमा कुनै प्रकारको कष्ट नहुनु। जुन आसनको पूर्णतः अभ्यास हुन्न त्यसले घुडा तथा पिडुला आदि भागमा पीडा हुन थाल्दछ। तल बाट भूमिको भागले घोच्न थाल्छ इत्यादि। त्यसकारण समान भूमी हुनु, कुनै गद्दीदार आसनमा बस्नु, एकान्त तथा पवित्र स्थान हुनु, वायु शुद्ध हुनु, लामखुट्टे तथा झिंगा आदि कुनै किराहरु नहुनु र शरीरमा कुनै चर्मरोग आदि नहुनु अत्यन्त आवश्यक छ। त्यस्तै गरि सात्विक आहार, विहार तथा नियम पुर्वक दिनचर्या आवश्यक छ।

योगमा आसनको स्थिरता र सुखको उपाय:
==========================

“प्रयत्नशैथिल्यानन्तसमापत्तिभ्याम्।।” (योगदर्शन: २/४७)

व्यास भाष्यः “भवतीति वाक्यशेषः। प्रयत्नोपरमात्सिध्यत्यासनं येन नाङ्गमेजयो भवति। अनन्ते वा समापन्नं चित्तमासनं निर्वर्तयतीति।।”

सूत्रार्थ- शारीरिक चेष्टाहरुलाई रोकदिनाले आसन सिद्ध हुन्छ र त्यसबाट शरीरमा कम्पन हुँदैन। (यहाँ ‘भवति’ क्रियालाई वाक्यसंग जोड्नु पर्छ। यहाँ ‘वा’ समुच्चयार्थक छ) यसबाट अनन्त सर्व्यापक परमात्मामा मनलाई स्थिर गर्नाले आसन सिद्ध हुन्छ।

साधक ध्यानको लागि कुनै आसनमा लामो समय सम्म बस्दा शरीरमा अररो पना अथवा कम्पनादि हुन थाल्छ, जसले गर्दा योगमा बाधा उत्पन्न हुन्छ र सर्वव्यापक परमात्मामा मन लगाउन निक्कै कठिन हुन्छ। मन लगाउनको लागि पहिले आसन सिद्ध हुनु आवश्यक छ। यो मन सान्त, परिछिन्न, सांसारिक वस्तुमा सदा स्थिर रहन सक्दैन। अनन्तका साथ तादात्म्य हुनाले नै आसनको सिद्धि र देहमा स्थिरता आउन सक्छ।

यी प्रयत्न-शैथिल्य र अनन्त समापत्ति बिना योगाभ्यासीलाई जप-उपासनामा पनि बाधाहरु आउँछन्। शारीरिक स्वाभाविक चेष्टाहरुको नाम प्रयत्न हो। त्यसमा शिथिलता न गर्नाले शरीरमा तनाव बनिरहनाले अररो पन अथवा कम्पनादि हुँदा योग-साधनामा बाधा हुन्छ र योगीले लामो समय सम्म योगाभ्यास गर्न सक्दैन। अतः शरीरमा मृदुता राख्नको लागि प्रयत्न-शैथिल्य गर्नु आवश्यक छ। र अनन्त समापत्तिको अभिप्राय सर्वव्यापक परमेश्वरसंग तादात्म्य गर्नु अर्थात् ईश्वरीय गुणहरुको चिन्तन, तदनुरूप भावना गर्नमा मन लगाउनु हो। परमेश्वरको अनन्त गुणहरुको सीमा नपाउनाले मन त्यसैमा रमीरहन्छ । यदि यस्तो गरिएन भने अथवा कुनै सान्त पदार्थको चिन्तन गरियो भने सान्तको सीमा पाउनाले मन सदा स्थिर रहन सक्दैन। मन चञ्चल भएर अन्यमनस्कता आउँछ र योग सिद्ध हुन सक्दैन किनकि मनको यहि स्वभाव हुन्छ कि ऊ कुनै पदार्थमा तब सम्म मात्र स्थिर रहन्छ जब त्यस पदार्थको सीमा थाह पाउँदैन।

क्रमशः….

Leave a Reply

Your email address will not be published. Required fields are marked *