ओ३म्..
…योग र यसका अंग-२
१- यम: –
==========
योग-मार्गको पथिकको लागि यम प्रथम सोपान हो। यमलाई महाव्रत भनिएको छ (जाति-महाव्रतम्)। यो यम जाति, देश, कालको सीमाले नबाँधिने सार्वभौम मानवको उन्नतिको मूल व्रत हो।
यम शब्द वास्तवमा एक शास्त्रीय पारिभाषिक शब्द भएता पनि यसले आफ्नो मूल धात्वर्थलाई साथमा लिएको छ। “यमु उपरमे” धातु बाट यम शब्द बनेको छ, जसको अर्थ आफ्नो चित्तवृत्तिलाई बाह्य विषयहरु बाट रोकेर नियन्त्रित गर्नु र समाधि सिद्धिको लागि अग्रसर हुनु हो। यमको मूलमा अहिंसा त्यसै गरि सबको मूल हो, जसरि अविद्या सब क्लेशहरुको मूल हो। अहिंसाको विरोधी शब्द हिंसा हो। हिंसामा मनुष्य स्वार्थवश प्रवृत्त हुन्छ त्यसको पूर्तिको लागि असत्यभाषण,चोरी, परिग्रहादि कार्यमा प्रवृत्त हुन्छ। हिंसाको कारण वैर-भावना हो, यो पनि स्वार्थवश नै हुन्छ। अतः स्वार्थी व्यक्ति योगी कदापि बन्न सक्दैन। स्वार्थको त्याग गर्नु अत्यावश्यक छ।
यम पाँच प्रकारका हुन्छन्:–
(क) अहिंसा, (ख) सत्य, (ग) अस्तेय, (घ) ब्रह्मचर्य र (ङ) अपरिग्रह।
“अहिंसासत्यास्तेयब्रह्मचर्यापरिग्रहा यमाः।।” (योगदर्शन: २/३०)।।
(क) अहिँसा:
=============
अहिंसाका बारेमा महर्षि वेदव्यासले लेखेका छन्- यी पाँच यममा अहिंसाका लक्षण छन्: सर्वथा सब प्रकारले शरीर, वाणी र मनले सर्वदा सब कालमा पीडा दिने भावना त्याग गर्नु अथवा वैर-भाव नराख्नु। शेष चार यम अहिंसामा नै आश्रित छन् अर्थात् बिना अहिंसा यमको सिद्धि हुन सक्दैन। अहिंसाको सिद्धि गर्नु नै मुख्य उद्देश्य हो। अहिंसालाई निर्दोष बनाउनु अर्थात् शुद्ध-स्वरूप बन्नको लागि यम-नियमादि ग्रहण गरिन्छ:-
“तत्राहिंसा सर्वथा सर्वदा सर्वभूतानामनभिद्रोहः।
उत्तरे च यमनियमास्तन्मूलास्तत्सिद्धिपरतयैव तत्प्रतिपादनाय प्रतिपाद्यन्ते।
तदवदातरूपकरणायैवोपादीयन्ते।।” (व्यास भाष्य, योगदर्शन: २/३०)
अर्थात्, सब प्रकारले सब कालमा प्राणिमात्रलाई दुःख नदिनु अहिंसा हो। कुनै प्राणि प्रति द्रोह गर्नु, ईर्ष्या गर्नु, क्रोध गर्नु आदि समस्त व्यवहार हिंसामूलक हुन्छन्। हिंसारत पुरुषलाई कहिले कहीं पनि शान्ति प्राप्त हुनसक्दैन।
मनु महाराजले भन्नुभएको छ: “नहि वैरेण वैराणि प्रशाम्यन्ति कदाचन”।
अर्थात्, वैर भावना राख्नाले शत्रुता कहिल्यै समाप्त हुन सक्दैन र वैरभावना मानसिक अशान्तिको मूल हो। त्यसैले योगाभ्यासीले हिंसावृत्तिलाई छोड्दिनु पर्छ। त्यसको व्यवहार यस प्रकारको हुनु पर्दछ:-
“मैत्रीकरुणामुदितोपेक्षाणां सुखदुःखपुण्यापुण्यविषयाणां भावनातश्चित्तप्रसादनम्”। (योगदर्शन: १/३३)
अर्थात्, साधकले सदा सुखी र साधन-सम्पन्न व्यक्तिहरुका साथ मित्रताको भावना राखोस्, दुःखी व्यक्तिहरुका साथ दयाको भावना राखोस्, पुण्यात्माहरु र महापुरुषहरु प्रति हर्षको भावना राखोस्, अपुण्यात्मा(पापी) हरु प्रति उदासीनताको भावना राखोस्।
(ख) सत्य:-
==============
जुन पदार्थ जस्तो छ त्यसलाई त्यस्तै भन्नु, मान्नु र जान्नु सत्य हो। इन्द्रियहरुले जस्तो प्रत्यक्ष गरेको हो, अनुमानले जस्तो जानिएको हो र जस्तो अन्य बाट सुनिएको हो, त्यस्तै वाणी र मन हुनु सत्य हो र अन्य मनुष्यहरुमा आफ्नो ज्ञान पुर्याउनको लागि जुन वाणी बोलिएको हो, यदि त्यो गलत तथा भ्रान्ति उत्पन्न गर्ने र जस बाट सही या गलत केहि पनि बोध नहोस्, त्यस्तो वाणी नहुनु सत्य हो। त्यो सत्य वाणी सम्पूर्ण प्राणिहरुको उपकारको लागि होस्, प्राणिहरुलाई दुःख दिने खालको नहोस्। यदि अन्यलाई दुःख हुन्छ भने त्यो सत्य हैन। यस बाट अपुण्य नै हुन्छ। त्यसैले वाणीको परीक्षा (सोंच-विचार) गरेर प्राणिमात्रको लागि हितकारी सत्यवचन बोल्नु पर्दछ:-
सत्यं यथार्थे वाङ्मनसे। यथा दृष्टं यथा अनुमितं यथा श्रुतं तथा वाङ्मनश्चेति। परत्र स्वबोधसंक्रान्तये वागुक्ता, सा यदि न वञ्चिता भ्रान्ता वा प्रतिपत्तिवन्ध्या वा भवेदिति। एषा सर्वभूतोपकारार्थं प्रवता न भूतोपघाताय। यदि चैवमप्यभिधीयमाना भूतोपघातपरैव स्यान्न सत्यं भवेत्पापमेव भवेत्तेन पुण्याभासेन पुण्यप्रतिरूपकेण कष्टतमं प्राप्नुयात्। तस्मात्परीक्ष्य सर्वभूतहितं सत्यं ब्रूयात्।
अर्थ: जस्तो देख्यो, सुन्यो, तथा जानियो त्यस्तै मन तथा वाणीले व्यवहार गर्नु सत्य हो। छल-कपट पूर्ण वाणीको व्यवहार कदापि गर्नु हुँदैन। यस्तो वाणी कदापि नबोल्नु जस्बाट अन्यलाई चोट पुगोस् या दुःख होस्। अरु कसैको हानि आफ्नो वाणीले कदापि नगर्नु। पूर्णतया परीक्षा गरेर वाणीको प्रयोग गरौँ।
(ग) अस्तेय: –
शास्त्रोक्त विधान विरुद्ध अर्काको द्रव्य ग्रहण गर्नु स्तेय (चोरी) हो, यसको प्रतिषेध (अभाव) हुनु तथा अस्पृहारूप-अर्काको द्रव्य ग्रहण गर्ने इच्छा पनि नगर्नुलाई अस्तेय भनिन्छ; यो तेस्रो यम हो।
व्यास भाष्यः- स्तेयमशास्त्रपूर्वकं द्रव्याणां परतः स्वीकरणं, तत्प्रतिषेधः पुनरस्पृहारूपमस्तेयमिति।
चोरी नगर्नु अस्तेय हो। अर्काको कुनै पनि वस्तु बिना अनुमति लिनु र त्यसको प्रयोग गर्नु चोरी हो। शास्त्र-विरुद्ध ढंगले कसैको वस्तु हस्तगत गर्नु चोरी हो। मानसिक चोरी पनि हुन्छ । जस्त्सै – अर्काको वस्तु ग्रहण गर्ने लालसा पनि चोरी हो। अतः साधकले यस्तो दुष्प्रवृत्तिलाई सदा सर्वथा त्याग गर्नु पर्दछ।
क्रमशः…