..योग र यसका अंग-०८

ओ३म्..

..योग र यसका अंग-०८

(७) ध्यान
===========
ध्यान केलाई भनिन्छ?

“तत्र प्रत्ययैकतानता ध्यानम्।।” (योगदर्शन: ३/२)

धारणा पछी त्यहि देशमा ध्यान गर्न र आश्रय लिन योग्य जुन अन्तर्यामी व्यापक परमेश्वर छ, उसको प्रकाश र आनन्दमा अत्यन्त विचार र प्रेमभक्तिका साथ यस प्रकारले प्रवेश गर्नु जसरि समुद्रको बीचमा नदी प्रवेश गर्दछ। त्यस समयमा ईश्वरलाई छोडेर कुनै अन्य पदार्थको स्मरण नगर्नु तर त्यहि अन्तर्यामीको स्वरूप र ज्ञानमा मग्न हुनु, यसैको नाम ध्यान हो।

व्यास भाष्यः “तस्मिन्देशे ध्येयालम्बनस्य प्रत्ययस्यैकतानता सदृशः प्रवाहः प्रत्ययान्तरेणापरामृष्टो ध्यानम्।।”

अर्थः- ति देशहरुमा अर्थात् नाभि, हृदय, नेत्र, नासिकाग्र, जिह्वाग्र इत्यादिमा ध्येय जुन परम-आत्मा छ, उस् आलम्बन तिर चित्तको एकतानता अर्थात् परस्पर दुवैको एकता, चित्त आत्मा भन्दा भिन्न नरहोस् तथा आत्मा चित्त भन्दा पृथक् नरहोस, उसको नाम ‘सदृश प्रवाह’ हो। जब चित्त चेतन संग नै युक्त रहोस्, अन्य प्रत्यय (कुनै पदार्थान्तर) को स्मरण न रहोस्, तब जान्नु कि ध्यान ठीक भयो।

प्रश्न: मूर्त (भौतिक) पदार्थ बिना ध्यान कसरि हुन सक्ला ?

उत्तरः- संसारमा कैयौं यस्ता पदार्थ छन्, जसको कुनै आकार हुँदैन, तर उनको अस्तित्व पनि छ र महसूस (अनुभव) पनि। उदाहरणको लागि – शब्दको आकार हुँदैन, तर पनि शब्द ध्यानमा आउँछ। यसै प्रकारले आकाशको कुनै आकार हुन्न, तर पनि आकाशको ज्ञान हुन्छ। जीवको आकार छैन, तर पनि जीवको ध्यान हुन्छ। ज्ञान, सुख, दुःख, इच्छा, द्वेष, प्रयत्न यी नष्ट हुनासाथ जीव निस्कन्छ, यो कुरो एक साधारण व्यक्तिले पनि बुझ्न सक्छ। साकारको ध्यान कसरि गर्ने? साकारका गुणहरु ज्ञानाकार हुँदा सम्म ध्यान बन्दैन अर्थात् संभव हुन्न कि ज्ञान भन्दा पहिले ध्यान होस्। एक सूक्ष्म परमाणुको पनि अधम, उत्तम र मध्यम यस्ता अनेक विभाग ज्ञान-बल बाट कल्पनामा आउँछन्। अब कसैले सोधोस कि मुट्ठीमा के छ? तब विदित हुँदा सम्म बन्द मुट्ठी तिर हेरेर मात्र केवल त्यस पदार्थको ध्यान कसरि गर्ने? प्रत्यक्ष बाहेक त्यस पदार्थलाई जान्नको लागि अन्य पनि दृढ एवं सबल उपाय छन्।जस्तै अनुमान। अभिप्राय यहि हो कि प्रत्यक्षका अतिरिक्त अनुमान बाट पनि पदार्थलाई जान्न सकिन्छ। त्यस्तै दृढतर रूपमा परमात्मालाई जानेर उपासना गर्नु पर्दछ। सांसारिक पदार्थहरुमा ध्यान गर्नाले मन सांसारिक पदार्थहरुमा नै लागिरहन्छ। परमात्मामा चित्तको दृढता हुँदैन, ध्यान सफल हुँदैन र मन बेचैन रहन्छ। अतः आवश्यकतायहि कुराको छ कि परमपिता परमात्माको नै उपासना गरियोस्।

प्रश्न: यद्यपि परमात्मा निराकार छ तथापि ध्यानको लागि कुनै सांसारिक मूर्तिको आवश्यकता त हुन्छ नै। अतः ध्यानको लागि कुनैआधार त चाहियो नि।

उत्तरः- जब परमात्मा निराकार, सर्वव्यापक, सर्वन्तर्यामी छ भने उसको मूर्ति कसरि बन्न सक्ला? जसलाई यो आभास छ कि मूर्तिलाई देखेर नै परमेश्वको स्मरण हुन्छ, यो विचार तर्कहीन, आधारहीन र तथ्यहीन छ। किनकि यदि उक्त मूर्ति समिपमा भएन भने कोहि व्यक्ति एकान्त पाएर चोरी, जारी आदि कुकर्म (आजकल व्यभिचार, बलात्कार पनि) गर्नमा प्रवृत्त हुन सक्छ। किनकि यस्ता कुकर्म गर्नेहरुले यहि सोंच्ने गर्दछन कि यस समय यहाँ उसलाई देख्ने कोहि पनि छैन, त्यसैले ऊ यो अनर्थ कार्य गर्न प्रवृत्त हुन्छ। जसले पाषाण आदि मूर्तिहरुलाई नमानेर सर्वदा सर्वव्यापक, सर्वान्तर्यामी, न्यायकारी परमात्मालाई सर्वत्र जान्छ र मान्छ त्यो व्यक्तिले कुकर्म, कुचेष्टा गर्दैन।

प्रश्न:- जब कुनै मूर्तिमान् वस्तु (चाहे त्यो जेसुकैको होस्) मानिदैन भने ध्यान कसको गर्ने ?

उत्तर: – कुनै वस्तु मानेर ध्यान गर्नु हुँदैन। ईश्वर सर्वशक्तिमान्, सर्वसृष्टिकर्त्ता, सृष्टिलाई एक क्रममा चलाउने, नियन्ता, पालनकर्त्ता र यस्ता अनेक ब्रह्माण्डहरुको स्वामी र नियन्ता हो। यस्ता-यस्ता असंख्य गुणहरु तथा उसको महिमा स्मरण गरेर आफ्नो चित्तमा उसको महत्ताको ध्यान गर्नु पर्दछ। अर्थात् यसै प्रकार समस्त विशेषणहरुले युक्त परमेश्वको स्मरण गरेर उसको ध्यान गर्नु पर्दछ र उसको अपार महिमाको वर्णन गर्नु पर्दछ। यहि नै ध्यान हो।

(८) समाधि

===================

समाधि केलाई भनिन्छ?

“तदेवार्थमात्रनिर्भासं स्वरूपशून्यमिव समाधिः।।” (योगदर्शन: ३/३)

सूत्रार्थः- माथि ध्यानको वर्णन गरियो। त्यो ध्यान नै ध्येय वस्तु मात्रको प्रतीत हुनु र आफ्नो स्वरूप शून्य जस्तो भान हुनु समाधि हो।

ऋग्वेदादी भाष्य भूमिका:- जसरि अग्निको भट्टीमा तपाएको फलाम पनि अग्नि रूप देखिन्छ, त्यसै प्रकार परमेश्वरको ज्ञानमा प्रकाशमय भएर आफ्नो शरीरलाई पनि बिर्सेर परमेश्वरको प्रकाशस्वरूप आनन्द र ज्ञानमा परिपूर्ण हुनु लाई समाधि भनिन्छ।

ध्यान र समाधिमा अन्तर: यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान यी सात अंगहरुको फल समाधि हो।

जब ध्याता, ध्यान र ध्येय यी तीनको पृथक् भाव रहेन भने तब जान्नु कि समाधि सिद्ध भयो।

 “ध्यानसमाधयोरयं भेदः ध्याने मनसो ध्यातृध्यानध्येयाकारेण विद्यमाना वृत्तिर्भवति, समाधौ तु परमेश्वरस्वरूपे तदानन्दे च मग्नः स्वरूपशून्य इव भवति।”

ध्यान र समाधिमा यत्तिनै भेद छ कि ध्यानमा ध्यान गर्नेले जुन मनले जुन वस्तुको ध्यान गर्दछ, ति तीन विद्यमान रहन्छन्। तर समाधिमा केवल परमेश्वरको आनन्दस्वरूप ज्ञानमा आत्ममग्न हुन्छ, त्याहाँ तीनको भेदभाव रहँदैन। जसरि मनुष्य जलमा डुब्की मारेर केहि समय भित्र नै रोकिन्छ, त्यस्तै झैं जीवात्मा परमेश्वरको बीचमा मग्न भएर पुनः बाहिर आउँछ।

व्यास भाष्यः- “ध्यानमेव ध्येयाकारनिर्भासं प्रत्ययात्मकेन स्वरूपेण शून्यमिव यदा भवति ध्येयस्वभावावेशात् तदा समाधिरित्युच्यते।।” (योगदर्शन:३/३)

संयम केलाई भनिन्छ?

“त्रयमेकत्र संयमः” (योगदर्शन:३/४)

जुन देश (स्थान) मा धारणा गरिन्छ, त्यसैमा ध्यान र समाधि अर्थात् ध्यान गर्न योग्य परमेश्वरमा मग्न हुनुलाई संयम भनिन्छ। जुन एकै कालमा तीनको मेल हुनु हो, अर्थात् धारणा बाट संयुक्त ध्यान र ध्यान बाट संयुक्त समाधि हुन्छ। यसमा नितान्त सूक्ष्म कालको भेद रहन्छ, तर जब समाधि हुन्छ तब आनन्दका बीच तीनको फल एकै हुन्छ।

व्यास भाष्य: “तदेतद्धारणाध्यानसमाधित्रयमेकत्र संयमः। एकविषयाणि त्रीणि साधनानि संयमः इत्युच्यते। तदस्य त्रयस्य तान्त्रिकी परिभाषा संयम इति।।”

अर्थः- धारणा, ध्यान र समाधि तीनैको एक विषयक हुनु नै संयम हो। यी तीन साधनहरुको एक शास्त्रीय परिभाषा संयम हो। अर्थात् योगशास्त्रमा  संयम शब्दले धारणा, ध्यान र समाधिको सम्मिलित रूपको बोध हुन्छ।

क्रमशः….

Leave a Reply

Your email address will not be published. Required fields are marked *