ओ३म्
ब्राह्मण ग्रन्थ
-
ब्राह्मण ग्रन्थहरुको संख्या कति छ?
-
तिनीहरुका नाम के के हुन्?
-
तिनका रचयिता/लेखक को को हुन्?
-
प्रत्येक ग्रन्थमा के ज्ञान छ?
-
तिनको विषय के हो?
विभिन्न वैदिक विद्वानहरुको लेख-रचनाहरु विभिन्न पत्र-पत्रिकाहरुमा समय-समयमा प्रकाश्ति भैरहन्छन्, तिनमा हाम्रा वैदिक संस्कृति संग सम्बन्धित ग्रन्थहरुको सन्दर्भ पनि दिइएको हुन्छ तर मेरो दुर्भाग्य हो कि मैले तिनको बारेमा अधिक ज्ञान राख्दैन र कदाचित यस प्रकारका कुनै पुस्तकहरु पनि उपलब्ध छैनन् जसमा ति ग्रन्थहरुको नाम, तिनका प्रकार, लेखक/रचयिता तथा तिनमा के के ज्ञान तथा रहस्य लुकेको छ, प्रकाशित भएको होस्।
समाधान:– मानव संस्कृति, सभ्यता र ज्ञानका भण्डार वेद तथा वेदानुकूल ऋषि ग्रन्थ नै हुन्। वेद स्वयं ईश्वर द्वारा बनाइएका (अपौरुषेय) हुन्, त्यसैले स्वतः प्रमाण मानिन्छन् अर्थात् वेदका लागि स्वयं वेद नै प्रमाण हुन्। जसरि सूर्यलाई देखाउनको लागि अन्य कुनै प्रकारको साधनको आवश्यकता पर्दैन किनकि सूर्य स्वयं देखिनमा समर्थ छ, वेदलाई पनि त्यस्तै जानौं।
वेद मन्त्र भाग हुन्, मन्त्र संहिताहरु हुन् अर्थात् मूल मन्त्र भागलाई नै वेद भनिन्छ। वेदका ति मन्त्रहरुको व्याख्या गर्ने जुन ग्रन्थ हुन् तिनलाई ब्राह्मण ग्रन्थ भनिन्छ।
ब्राह्मण ग्रन्थहरुको संख्या कति छ? तिनीहरुका नाम के के हुन्? तिनका रचयिता/लेखक को को हुन्? प्रत्येक ग्रन्थमा के ज्ञान छ? तिनको विषय के हो? यी प्रश्नको उत्तर लेख्नु भन्दा पहिले यो बुझौं कि ब्राह्मण ग्रन्थ केलाई भनिन्छ? यिनको अपर संज्ञा के हो? आदि।
महर्षि दयानन्द सरस्वतिले ब्राह्मण ग्रन्थको बारेमा आफ्नो पुस्तक ‘अनुभ्रमोच्छेदन’ मा लेखेका छन्- ‘‘जसबाट यी ऐतरेय आदि ग्रन्थ ब्रह्म अर्थात् वेदहरुका व्याख्यान भाग हुन्, अर्थात् ब्रह्मणां वेदानामिमानि व्याख्यानानि ब्राह्मणानि। अर्थात् शेष भूतानि सन्ती।’’ यसबाट महर्षिले भन्न चाहनु हुन्छ कि जुन ऐतरेय आदि वेद मन्त्रहरुको व्याख्या गर्ने ग्रन्थ छन् तिनै ब्राह्मण ग्रन्थ हुन्। ‘‘वेदको अपर नाम ब्रह्म हो। शतपथ ७.१.१५ मा भनिएको छ- ‘‘ब्रह्म वै मन्त्रः’’ । अतः वेद मन्त्रहरुको व्याख्या प्रस्तुत गर्ने ग्रन्थहरुको संज्ञा ब्राह्मण हो। ‘ब्रह्म’ शव्दको अर्थ यज्ञ पनि हुन्छ। यस आधारमा मन्त्रहरुको व्याख्या गर्नुका साथै यज्ञमा तिनको विनियोग गर्ने तथा कर्मकाण्डको व्याख्या एवं विवरण प्रस्तुत गर्ने हुनाले पनि यिनलाई ब्राह्मण नामले अभिहित गरिएको हो। भट्टभास्करले कर्मकाण्ड तथा मन्त्रहरुको व्याख्या गर्ने ग्रन्थहरुलाई ब्राह्मण भनेका छन्- ‘ब्राह्मणं नाम कर्मणस्तन्मन्त्राणां व्याख्यानग्रन्थः’ – तैतिरीय संहिता १.५.१ को भाष्य।’’ ब्राह्मण ग्रन्थहरुको अपर नाम नै इतिहास, पुराण, कल्प, गाथा र नाराशंसी हो (सत्यार्थप्रकाश)। यी ब्राह्मण ग्रन्थहरुमा जुन (देवासुराः संप ाा आसन्) अर्थात् देव (विद्वान्) असुर (मूर्ख) यी दुई युद्ध गर्न तत्पर भएका थिए- इत्यादि कथा भाग हुन्; यसको नाम इतिहास हो । जसमा ‘सदेव सोम्येदमग्र आसीदेकमेवाद्वितीयम्’, ‘आत्मा वा इदमेकमेवाग्र आसीन्नान्यत् किंचन मिषत्’ ‘आपो ह वा इदमग्रे सलिलमेवास’, ‘इदं वा अग्रे नैव किंचिदासीत्।’ यस प्रकारका वर्णन पूर्वक जगत्को उत्पत्ति वर्णन छ, त्यो भागलाई पुराण भनिन्छ । ‘‘कल्पा मन्त्रार्थसामर्थ्यप्रकाशकाः।’’ जो वेदमन्त्रहरुको अर्थ अर्थात् जसमा द्रव्यहरुको सामर्थ्यको कथन गरिएको छ, तिनको नाम कल्प हो। यसै प्रकारले शतपथ ब्राह्मणमा याज्ञवल्क्य, जनक, गार्गी, मैत्रेयी आदिका कथाहरुको नाम ‘गाथा’ हो। जसमा नर अर्थात् मनुष्यले ईश्वर, धर्मादि पदार्थ विद्या र मनुष्यहरुको प्रशंसा गरेका छन्, तिनलाई नाराशंसी भनिन्छ। यो वर्णन महर्षि दयानन्द सरस्वतिले आफ्नो ऋग्वेदादिभाष्यभूमिकाको वेद संज्ञा विचार प्रकरणमा गरेका छन्।
अब मूल प्रश्न- ब्राह्मण ग्रन्थहरुको संख्या कति छ? भन्ने बारे केहि भनौं। आज वर्तमानमा चार ब्राह्मण मुख्य रूपले प्रचलित छन् तर ब्राह्मणहरुको संख्या यतिनै भने हैन। विद्वानहरुको मान्यता छ कि वेदका समस्त शाखाहरुका आ-आफ्ना ब्राह्मण थिए। आज ति मध्ये कैयौंका नाम सम्म पनि ज्ञात छैन। जुन ब्राह्मण आज उपलब्ध छन्, ति लगभग १८ छन् र जुन उपलब्ध छैनन्, तिनको केवल नाम मात्र छ, तिनको संख्या लगभग २१ छ। यी ब्राह्मण ग्रन्थहरुका लेखक अथवा प्रवक्ताहरुको नाम केहिलाई छोडेर प्रायः भेटिदैन। यसको प्रमुख कारण तत्कालिन ऋषिहरुको यश कामना देखि रहित हुनु हो कि भन्ने लाग्छ। प्रसिद्ध तथा प्रचलित चार ब्राह्मण- ऐतरेय, शतपथ, ताण्ड्य र गोपथ ब्राह्मण हुन्।
अब कुन चाहिं ब्राह्मण कुन वेदको हो, र त्यसका कति ब्राह्मण छन् भन्ने कुरो लेखिन्छ-
- ऋग्वेदका मुख्य तीन ब्राह्मण छन्:-
- ऐतरेय ब्राह्मण: यस ब्राह्मणका प्रवक्ता इतराका पुत्र ऐतरेय महीदास थिए। यस ऐतरेय ब्राह्मणमा आठ पंचिकाहरु छन्। प्रत्येक पंचिकामा पाँच अध्याय छन्। सम्पूर्ण ब्राह्मणमा चालीस अध्याय छन्।
- कौषीतकि ब्राह्मण: यस ग्रन्थका तीस अध्याय छन्। यसका प्रवचनकर्ता कौषीतकि अथवा शाङ्खायन यी दुई मध्ये कुनै एक हुन् भन्ने विद्वानहरुको मान्यता छ।
- शाङ्खायन ब्राह्मणः यस ग्रन्थमा तीस अध्याय छन्। यसको नामबाट नै थाहा हुन्छ कि यसका प्रणेता शाङ्खायन हुन सक्छन्।
- यजुर्वेदका पनि तीन ब्राह्मण उपलब्ध छन्:-
- माध्यन्दिन शतपथ ब्राह्मण: यो ब्राह्मण सबभन्दा अधिक प्रचलनमा छ। यसको नाम अनुसार नै यसमा एक सय अध्याय छन्। यस ब्राह्मणमा १४ काण्ड, १०० अध्याय, ४३८ ब्राह्मण र ७६२४ कण्डिकाहरु छन्। यसको अर्को नाम वाजसनेय ब्राह्मण पनि पाइन्छ। यसका रचयिता महर्षि याज्ञवल्क्य हुन्।
- काण्व शतपथ ब्राह्मणः यस ब्राह्मणको काण्ड विभाग या वाक्य रचनाको स्वतन्त्र भेदलाई छोडेर यो ब्राह्मण माध्यन्दिन शतपथ समान नै छ। यसमा १०४ अध्याय, ४४४ ब्राह्मण र ५८६५ कण्डिकाहरु छन्।
- कृष्ण यजुर्वेदीय तैतिरीय ब्राह्मणः यस ब्राह्मणको संकलन वैशम्पायनका शिष्य तित्तिरिले गरेका थिए। यसमा तीन अष्टक छन्।
- सामवेदका ११ ब्राह्मण भेटिन्छन्:-
- ताण्ड्य ब्राह्मण: सामवेदको यो ब्राह्मण मुख्य रूपले प्रचलित छ। यसको संकलन सामविधान ब्राह्मण (२/९३) का अनुसार ताण्डि नामक एक आचार्यले गरेका थिए। यसमा २५ प्रपाठक र ३४७ खण्ड छन्।
- षड्विंश ब्राह्मण: यस ब्राह्मणको संकलन पनि विद्वान्हरुको मान्यता छ कि आचार्य ताण्डि अथवा उनका निकटवर्ती शिष्यहरु द्वारा गरिएको थियो। यस ब्राह्मणमा ५ प्रपाठक र ४८ खण्ड छन्।
- मन्त्र ब्राह्मण: यस ब्राह्मणमा २ प्रपाठक र १६ खण्ड छन्।
- दैवत अथवा देवताध्याय ब्राह्मण: दैवत ब्राह्मणको अर्को नाम देवताध्याय ब्राह्मण हो। यो ब्राह्मण आकारको दृष्टिले सानो छ, यसका केवल ३खण्ड र ६२ कण्डिका छन्।
- आर्षेय ब्राह्मण: यो ब्राह्मण सामवेदको कौथुम शाखालाई मान्नेहरुको हो। यसमा सामवेदको सामगानको नामहरुको मुख्यतः वर्णन छ। यसमा ३ प्रपाठक र ८२खण्ड छन्।
- सामविधान ब्राह्मण: यस ब्राह्मणमा अभिचार आदि कर्महरुको वर्णन छ। यसमा ३ प्रपाठक र २५ खण्ड छन्।
- संहितोपनिषद् ब्राह्मण: यो ब्राह्मण निक्कै सानो छ। एक प्रपाठक पाँच खण्डको छ। यस ब्राह्मणमा सामवेदको अरण्य गान र ग्रामगेय गानको वर्णन छ।
- वंश ब्राह्मण: यो पनि एक लघु ब्राह्मण हो, यसमा केवल तीन खण्ड मात्र छन्। यसमा सामवेदका आचार्यहरुको वंश परम्परा दिइएको छ।
- जैमिनीय ब्राह्मण: यस ब्राह्मणका संकलन महर्षि वेद व्यासका प्रसिद्ध शिष्य सामवेदका आचार्य जैमिनी र उनका शिष्य तवलकारले गरेका हुन्। यसका मुख्य तीन भाग छन्। पहिलोमा ३६० खण्ड, दोस्रोमा ४३७ र तेस्रोमा ३८५ खण्ड छन्।
- जैमिनीय आर्षेय ब्राह्मण र
- जैमिनीयोपनिषद् ब्राह्मण: यी एघार वटा सामवेदका ब्राह्मण पाइन्छन्।
- अथर्ववेदको केवल एउटा मात्र ब्राह्मण उपलब्ध छ:-
- गोपथ ब्राह्मण: यस ब्राह्मणको पूर्व र उत्तर दुई भाग छन्। पूर्व भागमा पाँच प्रपाठक र उत्तरमा छ प्रपाठक छन्। कुल मिलाएर यसमा एघार प्रपाठक छन्। यसमा एकै स्थानमा अनेक यज्ञहरुको नाम लेखिएको छ। यसमा मन्त्र, कल्प र ब्राह्मणको एकै स्थानमा उल्लेख छ। यसको पूर्व भागमा विपाट नदीको मध्यमा विशाल शिलाहरुमा वशिष्ठको आश्रमको वर्णन छ। यसले अनेकौं प्राचीन साम्राज्यहरुको कथन गर्दछ। यही ब्राह्मणले ओंकारका तीन मात्राहरुको वर्णन गर्दछ।
चार वेदका यी अठार ब्राह्मण मात्र उपलब्ध छन्। यिनीहरुको विषय हो- आत्माको अस्तित्व र पुनर्जन्म, अमर आत्मा, परमेश्वर (प्रजापति), तीन लोक, मानव आयु र त्यसलाई पूर्ण भोग गर्ने उपाय, सुखी गृहस्थ, गृहस्थमा स्त्रीको स्थान, विवाह, सत्य, पापको स्वरूप, यज्ञको स्वरूप, यज्ञहरुमा मुख्य भेद, यज्ञ तथा पाप विमोचन, यज्ञ र बलिदान तथा देवता, आपः (जल) को विषय, हिरण्यगर्भ = तेजोमय महद्अण्डको वर्णन, अग्निको स्वरूप, वृष्टिको वर्णन, वर्षा, समुद्र, सूर्य, प्राणायामको कथन, पृथिवीको इतिहास अर्थात् आर्द्रा (शिथिल पृथिवी), आर्द्रा पृथिवीका क्रमशः सृष्टिहरु– फेन, मृत ऊष, सिकता, शर्करा, अश्मा, अयः र हिरण्यम् औषधि वनस्पतिको प्रादुर्भाव, आग्नेयी पृथिवी, अग्निगर्भा पृथिवी, परिमण्डला पृथिवी, अयस्मयी पृथिवी, सर्व राज्ञी पृथिवी आदि, अन्तरिक्ष मरुत, अन्तरिक्षस्थ पशु, धातुमा टाँका लगाउनु, रेखागणित तथा स्वर्ग। यी सबै यिनै ब्राह्मण ग्रन्थहरुका विषय हुन्। अर्थात् ब्राह्मण ग्रन्थहरुले यतिका विषहरुको ज्ञान गराउँछन्।
केहि अनुपलब्ध ब्राह्मण ग्रन्थहरुका नाम पनि पाइन्छन्, यस विषयमा विस्तार संग जान्नको लागि विद्वान् पण्डित भगवद्दत्त द्वारा लिखित विशेष ग्रन्थ ‘वैदिक वाङ्मय का इतिहास’ तृतीय खण्ड पढ्नु पर्ने हुन्छ।
नमस्ते,,,!