जगत मिथ्या हैन..

ओ३म्..

जगत मिथ्या हैन..

“सन्मूलाः सोम्येमाः प्रजाः सदायतनाः सत्प्रतिष्ठाः” (छा.उ. ६।८।४)

भावार्थ:- हे सोम्य ! यी प्रजाहरु सत्कारण, सत आश्रयवाला र सतमा प्रतिष्टित छन्। यहाँ जे पनि छ, त्यो आफ्नो स्वरूपमा सत् छ, मिथ्या केहि छैन। सबै उपनिषदहरुको शीर्ष स्थानमा एक सन्दर्भ पाइन्छ, जो यस प्रकार छ:

ओ३म् पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते |

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते||

यस्तो प्रतीत हुन्छ कि यस सन्दर्भमा जे भनिएको छ, त्यसैको विस्तृत विवरण सबै उपनिषदहरुमा प्रस्तुत भएको छ। फलतः यो सबै उपनिषदहरुको सार हो। यस सन्दर्भको सार पनि पहिलो दुई पदमा निहित छ, बाँकी सबै त्यसैको व्याख्यान हो। ति दुई पद हुन्- “अदस्” र “इदम्”।

“अदस्” परोक्ष छ र “इदम्” प्रत्यक्ष। “अदस्” चेतन हो “इदम्” अचेतन, जड। “अदस्” परोक्ष परब्रह्म परमात्मा हो,  “इदम्” प्रत्यक्ष अचेतन(जड) अगणित लोक-लोकान्तरहरुको रूपमा छरिएको विश्व हो। सन्दर्भमा भनिएको- पूर्णं अदः, पूर्णं इदम्, अदस् पूर्ण छ, इदम् पनि पूर्ण नै छ| आ-आफ्नो रूपमा अवस्थित दुवै पूर्ण छन्, कसैमा कुनै न्यूनता छैन। त्यसैले न “अदस्” ले “इदम्” संग केहि लिन्छ, न “इदम्” ले “अदस्” संग। यसकारण न “अदस्” कहिल्यै “इदम्” हुन्छ र न “इदम्” कहिल्यै “अदस्”। त्यसैले “अदस्” पूर्णको अन्तर्गत पनि “इदम्” पूर्ण स्वरूपेण उस देखि पृथक छ। दुवै पूर्ण र स्वतन्त्र हुनुमा दुवै सत्य छन्, मिथ्या कुनै छैन।

कुनै पनि वस्तु सत्य हुनुमा उसको साधक प्रमाण हुनु र बाधक प्रमाण नहुनुमा निर्भर गर्दछ। यस रूपले जगत एक यथार्थ सत्ता हो। उसलाई मिथ्या भन्नु असंगत छ। त्रिगुणात्मक प्रकृतिको मूल उपादान-तत्त्वबाट जीवात्माको भोग तथा अपवर्गको सिद्धिको लागि जगतको प्रादुर्भाव भएको हो। चेतन आत्मतत्त्व तथा प्रकृति दुवै नित्य र सत्य छन् भने सद् ब्रह्म द्वारा ति दुवै बाट मिलाएर बनाएको जगत मिथ्या कसरि हुनसक्छ?  मूल उपादानबाट उत्पन्न भएको कारणले जगको वास्तविकतालाई अपलाप कसरि गर्न सकिन्छ? यदि उपादान सत्य छ भने उसको विकारलाई मिथ्या या कल्पित भन्न सकिन्न। यदि स्वर्ण सत्य छ भने त्यसबाट बनेको गहना-औंठीआदि कसरि मिथ्या होला? संसारको पृष्ठभूमिमा एक गम्भीर आशय निहित छ। त्यसैले उसलाई केवल भ्रान्तिको संज्ञा दिएर परिहासको वस्तु मान्न सकिन्न।

सत्य र मिथ्या सापेक्ष शब्द हुन्। जब हामि आफ्नै आँखा अगाडी फैलिएको जगतलाई मिथ्या भन्दछौं भने कहीं न कहीं कुनै न कुनै सत्य जगतको अपेक्षाले नै भन्दछौं। जब हामीले हातमा राखेको सुन या चाँदीलाई नक्कली वा खोटो भन्दछौं भने कहीं न कहीं र कहिल्यै देखेको असली या खरो सुनको अपेक्षाले नै भन्दछौं। यस्तै प्रकारले कहीं न कहीं साँच्चिकै देखेको जगतको आधारमा नै वर्तमान जगतलाई मिथ्या भन्न सकिन्छ।

नवीन वेदान्ती तथा शंकराचार्यले कार्य र कारणमा अनन्यत्व मान्दछन्। अतएव यदि ब्रह्म सत्य छ, अर्थात यदि जगतको कारणरूप ब्रह्म सत्य छ भने उसको कार्यरूप जगत मिथ्या हुन सक्दैन। कारणरूप ब्रह्मलाई कार्यरूप जगत भन्दा अनन्यत्व मानियो भने र यदि जगतलाई मिथ्या मानियो भने त स्वयं ब्रह्म पनि मिथ्या हुनेछ। तर ब्रह्म सत्य हुनु निर्विवाद छ। त्यसैले उसको कार्यरूप जगत पनि सत्य हुनु स्वतः सिद्ध छ।

जगतलाई मिथ्या सिद्ध गर्नमा सहायक प्रायः दुई दृष्टांत प्रस्तुत गर्ने गरिन्छ त्यो हो- स्वप्नवत तथा रज्जु-सर्पवत। स्वप्नमा आत्माको सम्बन्ध मन संग रहन्छ। जुन संस्कारहरु जाग्रत दशामा इन्द्रियहरुमा पर्दछन्, तिनै निद्राकालमा उठ्दछन्। यसैको नाम स्वप्न हो। वास्तवमा स्वप्नदर्शन स्मृतिरूप हो। जाग्रतका अनुभवहरुको स्मृतिबाट नै स्वप्नको निर्माण हुन्छ। जसरि प्रत्यक्ष बिना अनुमान हुँदैन, त्यसरी नै जाग्रतमा भएको अनुभवको स्मृति बिना स्वप्न पनि हुँदैन। बिना संस्कार स्मृति हुँदैन। कुनै वस्तु या व्यवहारको अनुभव भयो भने त्यसको संस्कार मनमा बनिरहन्छ, अर्थात जे पनि हामीले देख्ने सुन्ने गर्दछौं, त्यसको छाप आत्मामा पर्दछ, त्यसलाई संस्कार भनिन्छ। यस प्रकार स्वप्न आधारभूत संस्कार एवं तज्जन्य स्मृति दुवै पहिले अनुभव गरिएका पदार्थहरुको विषयमा हुन्छन् जुन केवल जाग्रत दशामा नै सम्भव छ। नदेखेर र नसुनेर या अनुभव नभएर, स्वप्नमा देख्नु, सुन्नु या अनुभव गर्नु सम्भव छैन। यसको असन्दिग्ध प्रमाण स्वप्नमा मात्र हैन, जाग्रतमा पनि जन्मान्धले कालो-गोरो, सुन्दर-कुरुप अथवा गाई-गधा आदिको चिन्तन गर्न सक्दैन, अर्थात्, उसलाई रुपको स्वप्न आउँदैन किनकि उसलाई पहिले कहिल्यै पनि यसको अनुभव भएन। जाग्रतको अनुभवबाट र त्यसैको अनुरूप हुने हुनाले स्वप्नको अनुभवलाई सर्वथा मिथ्या मान्न सकिन्न।

अद्वैतमतमा ब्रह्म भन्दा अतिरिक्त कुनै सत्ता नै छैन। त्यसैले यदि जगतलाई केवल कल्पना मान्नेहो भने कल्पना गर्ने त ब्रह्म नै ठहरियो। तर ज्ञानस्वरूप भएको हुनाले ब्रह्मले मिथ्या कल्पना गर्न सक्दैन। यसकारणले पनि जगत मिथ्या हुन सक्दैन।

अद्वैतमतको मान्यता छ कि जसरि अँधेरोमा डोरो सर्प बन्छ, त्यसरी नै ब्रह्ममा कुनै प्रकारको विकार उत्पन्न हुँदा ऊ जगद्रूप हुन्छ। र जसरि प्रकाशको उपस्थितिमा सर्प लोप भएर केवल डोरो मात्र रहन्छ, त्यसै गरि ज्ञान प्राप्त हुँदा जगत देखिन बन्द हुन्छ र केवल ब्रह्म मात्र शेष रहन्छ।

यस प्रकारको प्रतीतिलाई दार्शनिक भाषामा अध्यास अथवा विवर्त्त तथा सामन्य भाषामा भ्रम या भ्रान्ति भनिन्छ। भ्रान्तिको लागि तीन कुरा आवश्यक हुन्छन् – पूर्वद्रिष्ट, त्यसको स्मृति र परत्र। हामीले कहिल्यै वास्तविक सर्प देखेका थियौं, यो हाम्रो “पूर्वद्रिष्ट” भयो। त्यसको संस्कार हामि भित्र रह्यो जुन समय पाउनासाथ् “स्मृतिरूप” भएर जाग्यो। वर्त्तमानमा प्रस्तुत डोरो “परत्र” हो जसमा पूर्वद्रिष्टको स्मृतिका कारणले  सर्पको आभास भयो। डोरामा सर्पको भ्रम तब मात्र सम्भव छ, जब देख्नेवालाले  त्याहाँ न भए पनि कहीं न कहीं र कहिल्यै वास्तविक सर्प देखेको हुन सक्छ। तब सर्पलाई असत या अवस्तु मान्न सकिन्न। यदि कहीं न कहीं र कहिल्यै सर्पको सद्भाव नहुँदो हो त कहाँबाट आउँथ्योर? तब न त्यसको संस्कार रहन्थ्यो, न स्मृति। भ्रान्ति जसलाई पनि, जेमा पनि, कसैको, कुनै कारणले हुन्छ। जस्तै – देवदत्तलाई डोरामा सर्पको भ्रान्ति अँधेरोको कारणले हुन्छ। यदि देख्ने वाला देवदत्त नभएको भए भ्रान्ति कसलाई हुन्थ्यो? डोरो नभएको भए सर्पको भ्रान्ति कसरि हुन्थ्यो? सर्प नामक कुनै वस्तु भएको भए सर्पको भ्रान्ति कसरि हुन्थ्यो? अँधेरो नहुँदोहो त भ्रान्ति कसरि हुन्थ्यो? यदि ब्रह्मको अतिरिक्त कुनै सत्ता भएन भने त यही भनिएला कि – ब्रह्मलाई, ब्रह्ममा, जगतको भ्रान्ति भयो, अज्ञानताको कारणले। अर्को शब्दमा, स्वयं ब्रह्मले स्वयंलाई जगत सम्झने भूल गर्ला। सर्वज्ञ ब्रह्मले आफ्नो स्वरूपलाई बिर्सेर स्वयंलाई जगत सम्झने भूल गर्ला। तर सर्वज्ञ ब्रह्मले आफ्नो स्वरूपलाई बिर्सेर स्वयंलाई अर्कै सम्झन लाग्छ भनेर मान्नु सर्वथा असंगत छ। प्रकाशमा वस्तु जस्तो हुन्छ त्यस्तै देखिन्छ र अन्धकारमा बिलकुल देखिन्न। त्यसैले डोरामा सर्पको भ्रम तब मात्र हुन्छ जब न पूर्ण प्रकाश हुन्छ र न पूर्ण अन्धकार अर्थात् केहि प्रकाश र केहि अन्धकार हुन्छ जसलाई झिसमिसे भनिन्छ। यस प्रकार भ्रम या भ्रान्ति न सर्वज्ञ ब्रह्मलाई हुन सक्छ र न सर्वथा अज्ञ प्रकृतिलाई। भ्रान्ति अल्पज्ञ जीवलाई नै हुन सक्छ। अस्तु..

नमस्ते..!

-प्रेम आर्य

दोहा, कतार बाट

(यो लेख स्वामी विद्यानन्द सरस्वतीको पुस्तक “अद्वैतमत खण्डन” बाट साभार प्रस्तुत छ। यो पुस्तक महर्षि  दयानन्द सरस्वतीको “वेदान्ती-ध्वान्त-निवारणम्” को विस्तृत व्याख्या हो। )

2 thoughts on “जगत मिथ्या हैन..”

    1. ओ३म्..
      श्याम भाइ, नमस्ते..!
      प्रतिक्रियाको लागि हार्दिक आभार छ ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *