ओ३म्..
शंका:६- यो त बोध भैसक्यो कि जति मन्त्र छन्, त्यति नै पटक तिनको अन्तमा ओंकार शब्दको पाठ पनि छ, अब कृपा गरेर यो भन्नु पर्यो कि जब वेद मन्त्रहरुको अर्थ गरिन्छ, तब ओंकारको केहि पनि अर्थ किन गरिदैन ? यसबाट त ‘ओ३म्’ शब्दको प्रयोग निरर्थक नै प्रतीत हुन्छ।
समाधान:- ओ३म् शब्दको अन्वय: यसको जुन गूढ तात्पर्य छ त्यो हेरौं । वेदको अन्तिम तात्पर्य त केवल ब्रह्म नै हो, अन्य केहि हैन। यसै गूढ आशयलाई दर्शाउनको लागि प्रत्येक मन्त्रको अन्तमा ’ओ३म्’ शब्दको पाठ हुन्छ। यसै विषयलाई कृष्णद्वैपायन- वेदव्यासले आफ्नो वेदान्त-सूत्रमा भनेकाछन्:-
तत्तु समन्वयात् । (वेदान्त-सूत्र ३ । १ । १)
(तत्तु) त्यहि ब्रह्म सम्पूर्ण वेदको प्रतिपाद्य विषय हो । अर्थात्, वेदले उसैको गित गाउँछ किनकि (समन्वयात्) जसरि ईश्वरको सम्बन्ध सम्पूर्ण विश्व संग छ, त्यसरी नै सम्पूर्ण वेदका मन्त्रहरु संग पनि साक्षात् या परम्पराले ईश्वरको सम्बन्ध छ । अतः यो भन्नु कि वेदमा ’ओ३म्’ शब्दको कहीं पनि पाठ छैन, केवल भ्रम मात्र हो।
मन्त्रहरुको आदिमा ओंकार:
अब यो हेरौं कि प्रत्येक वेदमन्त्रको आरम्भमा पनि ‘ओ३म्’ शब्दको पाठ हुन्छ:-
ब्रह्मणः प्रणवं कुर्यादादावन्ते च सर्वदा ।
स्त्रवत्यनोंकृतं पूर्वं परस्ताच्च विशीर्यते ।। (मनु॰ २ । ७४)
अर्थः- (ब्रह्मणः) वेदमन्त्रको (आदौ) आरम्भमा (च) र (अन्ते) अन्तमा (प्रणवम्+कुर्यात्) ओंकारको पाठ गर्नु पर्दछ । यदि वेद-पाठको आरम्भमा र अन्तमा ओंकारको पाठ गरिएन भने दोष हुनेछ। (पूर्वं) मन्त्रोच्चारण भन्दा पहिले (अनोंकृतम्) यदि ओंकारको पाठ गरिएन भने (स्त्रवति) त्यसको फल विस्तारै नष्ट हुन्छ। (परस्तात्+च) र यदि मन्त्रको अन्तमा ओंकारको पाठ गरिएन भने (विशीर्यते) पाठकर्ताको पतन हुन्छ। अतः वेद-पाठको आरम्भ र अन्तमा पनि ’ओंकार’ शब्दको पाठ नितान्त आवश्यक छ।
महर्षि पाणिनिले भन्दछन्:-
ओमभ्यादाने (अष्टा॰ ८/२/७)
ओम् शब्दस्य प्लुतः स्यादारम्भे ।
ओ३म् अग्निमीले पुरोहितम् ।।
आरम्भमा ’ओ३म्’ शब्दको ’लुप्त’ उच्चारण छ अर्थात् जब ’ओ३म्’ शब्द कुनै मन्त्रको आरम्भमा पढिन्छ ’ओ३म्’को ओकार लुप्त हुन्छ। ’लुप्त’ तीन मात्राको हुन्छ। त्यसैले ओ३म् को ’ओ’ भन्दा अगाडी ३ को अंक लेखिन्छ। अब आँफै मनमा विचार गरौँ कि महर्षि मनु र पाणिनि कहिले भएका हुन् । त्यति बेला पनि यिनीहरुले पनि यसै नियमलाई गाउँदथे भने यसमा भ्रम सिर्जना कसरि हुनसक्छ। धर्म-शास्त्रमा कदाचित् सन्देह हुन सक्दछ कि कहिले कुनै सम्प्रदायीले यो श्लोक मिलाइदिएको हुन सक्छ। तर व्याकरणको विषयमा त यस्तो सन्देह हुन नै सक्दैन। यसबाट यहि सिद्ध हुन्छ कि वेदका जति मन्त्र छन्, तिनी भन्दा दुई गुणा बढी पटक ’ओम्’ शब्दको पाठ वेदमा छ।
पुनः पर्यालोचन र अन्वेषण गरौँ। सामवेद गानका पाँच विभाग हुन्छन्। जसलाई संस्कृतमा ’विभक्ति’ या ’भक्ति’ भनिन्छ। तिनका नाम यी हुन्:-
१. -हिंकार २ –प्रस्ताव ३ –उद्गीथ ४ –प्रतिहार ५ –निधन
उद्गीथ विभागमा प्रधानतया ओंकारको नै गान हुन्छ। यी पाँचै विभक्तिहरुको आज्ञा वेदमा पाइन्छ। यथा:-
तस्मा उद्यन्त्सूर्यो हिङ्कृणोति संगवः प्र स्तौति ।
मध्यन्दिन उद्गायत्यपराह्णःप्रति हरत्यस्तंयन् निधनम् ।।
(अथर्व॰ ९ । ६ । ४५)
अर्थ: (तस्मै) त्यो ब्रह्मको महान कीर्तिलाई विस्तृत गर्नको लागि मानौं (उदयन्) उदाउँदै गरेको (सूर्य) सूर्यले (हिं करोति) हिंकार सामगानको अनुष्ठान गर्दछ। (संगवः) प्रातः कालको उदित सूर्यले (प्रस्तौति) मानौं प्रस्ताव गर्दछ। (मध्यन्दिन) मध्याह्नको सूर्यले (उद्गायति) उद्गीथ विधिको गायन गर्दछ। (अपाह्नः) अपराह्नको सूर्यले (प्रतिहरति) प्रतिहार गर्दछ। (अस्तं+यन्) अस्ताउँदै गरेको सूर्यले मानौं (निधनम्) निधन विधिको अनुष्ठान गर्दछ।
यसबाट यहि सिद्ध हुन्छ कि अनादि काल देखि नै हिंकार, प्रस्ताव, उद्गीथ, प्रतिहार र निधनको क्रम चली आइरहेको छ । र उद्गीथमा मुख्यतया ’ओंकार’को नै गान हुन्छ, जुन ईश्वरको मुख्य नाम हो । अतः यो सिद्ध छ कि वेदका जति मन्त्र छन्, तिनको संख्या भन्दा दुईगुणा बढी संख्या वेदमा ’ओ३म’ शब्दको छ । अस्तु..
नमस्ते..!
-प्रेम आर्य, दोहा-कतार
-हार्दिक आभार:
(हार्दिक आभार: आर्य समाज शिवपुर, क्याउक तागा, बर्मा)