ओ३म्
अवतारवाद अर्थात् नपुंसकवाद:
जब-जब अधर्मको वृद्धि हुन्छ र धर्मको ह्रास हुन्छ, तब-तब ईश्वरले अवतार धारण गर्दछ, ईश्वर यस धराधाममा अवतार लिन्छ। यसको पुष्टिमा बिशेष गरि मानिसहरुले गीताको निम्न श्लोक प्रमाण स्वरूप दिने गर्दछन :-
यदा यदा हि धर्मस्यग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ (गीता ४/७-८)
यी उपरोक्त गीताका श्लोकहरुमा अवतारको प्रमुख कारण हामीले देख्यौं अब देवी भागवत पुराणमा अवतार लिनु पर्ने कारण हेर्नुस् के लेखेको छ –
शपामि त्वां दुराचारं किमन्यत् प्रकरोमिते।
विध्ुारोहं कृतः पाप त्वयाऽहं शापकारणात्।।
अवतारा मृत्युलोके सन्तु मच्छापसंभवाः।
प्रापो गर्भभवं दुःख भुक्ष्ंव पापाज्जनार्दन।।
यी देवी भागवतको श्लोकहरुमा अवतारको कारण धर्मको रक्षा वा अधर्मको विनाश गर्नको लागि नभएर भृगुको श्राप भोग्न भनिएको छ। अर्थात् महर्षि भृगुले विष्णुलाई उसको दुराचार कर्मको कारण श्राप दिए उनकै श्रापको प्रभावले विष्णुको मृत्यलोकमा अवतार भयो। गीताको र देवी भागवत पुराणमा अवतारको कारणहरुमा परस्पर विरोध छ।
अरु हेर्नुस्-
बौद्धरूपस्त्वयं जातः कलौ प्राप्ते भयानके।
वेदधर्मपरायन् विप्रान् मोहयामास वीर्यवान्।
निर्वेदा कर्मरहितास्त्रवर्णा तामासान्तरे ।।
यहाँ गीताको सर्वथा विपरीत अवतारको कारण भनिएको छ। गीताले धर्मको रक्षा कारण भन्छ र यहाँ त धर्मको नै नाश गर्नको लागि अतवार लिईयो, अर्थात् भागवत पुराणले भन्छ कि – भगवानले बुद्ध अवतार लिए र सबलाई विरुद्ध उपदेश दिएर नास्तिक बनाए तथा वेद मार्गको नाश गरे। यहाँ यीनै अवतारवादिहरुको ग्रन्थ नै परस्पर विरुद्ध कथन गरिरहेका छन्।
यथार्थमा ईश्वरको कुनै पनि रुपमा जन्म धारण गर्ने कल्पना नै युक्ति तथा शास्त्र विरुद्ध छ। किनकि ईश्वरलाई कुनै पनि प्रकारको सहाराको आवश्यकता छैन, चाहे त्यो सहारा कुनै शरीरको होस् अथवा कुनै अन्य प्राणीको। परमेश्वर आफ्नो सब कार्य गर्नमा सक्षम तथा समर्थ छ, उसलाई कुनै अवतार लिनुपर्ने आवश्यकता छैन।
वेदमा ईश्वरलाई ‘‘अकायमव्रणमस्नाविरम्’’ भनिएको छ। त्यो परमात्मा सूक्ष्म र स्थूल शरीरको बन्धन रहित छ अर्थात् इश्वर यी सब बन्धनमा पर्दैन।
श्वेताश्वतर उपनिषद्मा ऋषिले भनेका छन्-
वेदाहमेतमजरं पुराणं सर्वात्मानं सर्वगतं विभुत्वात्।
जन्मनिरोधं प्रवदन्ति यस्य ब्रह्मवादिनो हिप्रवदन्ति नित्यम्।।४/२१।।
अर्थात् त्यो परमात्मा अजर छ, पुरातन (सनातन) छ, सर्वान्तर्यामी छ, विभू र नित्य छ। ब्रह्मवादीहरु सदा उसको बखान गर्ने गर्दछन् ऊ कहिल्यै जन्म लिदैन।
उपरोक्त सबै प्रमाणहरु बाट सिद्ध हुन्छ कि परमात्माले जीवहरुको आ-आफ्नो कर्मानुसार नै उनीहरुको भोगको लागि शरीर, स्थान, समुदाय आदि दिने गर्दछ तर आफ्नो इच्छाले कसैको विनाश वा रक्षाको लागि कसैलाई पठाउँदैन र यसैगरी ऊ स्वयं पनि विविध अवतार लिने गर्दैन अर्थात् कसैको रक्षा वा विनाश गर्नको लागि उसलाई कुनै शरीर धारण गर्नु पर्दैन।
श्रीकृष्णले भनेका छन् कि जब-जब धर्मको हानि हुन्छ तथा अधर्म, अनाचार एवं अत्याचार बढ्दछ तब-तब म शरीर धारण गर्दछु।
साधु पुरुषहरुको उद्धार गर्नको लागि, पाप कर्म गर्नेहरुको विनाश गर्नको लागि र धर्मको स्थापना गर्नको लागि म युग-युगमा प्रकट हुने गर्दछु।
यो विचारधारा वेद प्रतिकूल त छ छ, स्वयं गीता र श्रीकृष्णको सिद्धान्तको पनि प्रतिकूल छ। यति मात्र हैन, यी श्लोकहरुमा थोरै विचार गर्नाले नै यो कुरो स्पष्ट हुन्छ कि यी श्लोकहरु बाट अवतारवाद सिद्ध हुँदैन।
चारवटै वेदमा कहीं एउटा पनि मन्त्र यस्तो छैन जहाँ ईश्वरलाई शरीरधारी भनिएको होस्। वेदमा त ईश्वरलाई ‘…अकायमअब्रणंस्नाविरम्’ (यजु० ४०/८) शरीर रहित र नस-नाडीको बन्धन रहित भनिएको छ। अन्यत्र उसलाई ‘अजः’ (ऋग्० ७/३५/१३) कहिल्यै जन्म नलिने भनिएको छ। उपनिषदहरुमा पनि ईश्वरको यस्तै स्वरुप वर्णित छ।
श्रीकृष्ण अत्यन्त उद्योगी, पुरुषार्थी एवं परिश्रमी महापुरुष थिए। उनको उपदेश थियो:-
क्लैब्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते।
क्षुद्रं ह्रदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप।। (गीता २/३)
श्रीकृष्णले अर्जुनलाई उपदेश दिंदै भन्दछन:-
नपुंसक, कायर एवं भीरु नबन। यो तिम्रो योग्य छैन। हे शत्रुहरुलाई सन्ताप दिने वाला! ह्रदयको क्षुद्र दुर्बलता त्यागगरेर युद्धको लागि जीवन-संग्राममा संघर्षको लागि उठ।
श्रीकृष्णले गीताको जुन उपदेश दिये त्यो यति विस्तृत हुन सक्दैन। युद्धको अवसरमा जहाँ दुवै तिरका सेनाहरु युद्धको लागि तयार उभिएका छन् र युद्ध आरम्भ हुनै आँटेको छ, त्याहाँ यत्रो लामो पट्यार लाग्दो व्याख्यानको अवसर नै कहाँ हुनु? श्रीकृष्णले जुन उपदेश दिएकाथिए त्यो त गीताको दोस्रो अध्यायको ३८औं श्लोक सम्म प्रायः समाप्त हुन्छ। युद्धको अवसरमा श्रीकृष्णले अर्जुनलाई आत्माको अमरताको सन्देश दिएर उनलाई युद्धमा प्रवृत्त गराएका थिए। आत्माको अमरताको सन्देश नै गीताको सार र प्राण हो।
अज्ञानताका कारण जब समाजमा नाना थरि मत-पन्थहरु फैलिए, तब हाम्रा समस्त ग्रन्थहरुमा आ-आफ्ना स्वार्थका बिषय र प्रसंगहरु थपियो र हटाइयो। गीता पनि यस मिलावट बाट अछुतो रहन सकेन। प्रत्येक मतवादीले आफ्नो अभिप्राय र अनुकूलका श्लोकहरु रचना गरेर यसमा मिलाइदिए। यस प्रकार ७० श्लोकको गीता सात सय श्लोकको भयो।
योगेश्वर श्रीकृष्ण वेद र वेदांगहरुका मर्मज्ञ थिए। उनले वेदविरूद्ध हुने कुनै पनि उपदेश दिने काम गरेनन्, अतः यो निश्चितरुपले भन्न सकिन्छ कि उपर्युक्त श्लोकहरु अवतारवाद प्रचलित भए पछी मात्र गीतामा प्रक्षिप्त गरिएको हो।
माथि उदधृत द्वितीय श्लोकमा अवतार धारण गर्नको लागि तीन कारण दिइएको छ-
- साधुहरुको रक्षा
- दुष्टहरुको विनाश र
- धर्मको स्थापना।
यदि यी तिनै हेतुहरुमा विचार गर्नेहो भने प्रतीत हुन्छ कि जति पनि अवतारहरु भएको भनिन्छ, ति मध्ये एउटा पनि अवतारले यी कार्यहरु पूरा गरेको छैन। किनकि विष्णुका जति पनि अवतारहरु भएको भनिन्छ, ति सबै छली र कपटी थिए। यस्तो प्रतीत हुन्छ कि उनको जन्म नै छल र कपट गर्न कै लागि भनेर भएको थियो अथवा ईश्वरले छल र कपटको विभाग विष्णुलाई सुम्पेको थियो सायद ।
- मोहिनी अवतारले कुन साधुको रक्षा गरेको थियो? कुन चाई दुष्टलाई दण्ड दियो र कुन धर्मको स्थापना गर्यो? अँ, उसलाई देखेर शिवजीको वीर्यपात अवश्य भएको थियो।
- वामन अवतार पनि विष्णु कै मानिन्छ। उनले बलीका साथ छल गर्नुको अतिरिक्त कुन चाइ उत्तम कर्म गरे र ?
- परशुराम पनि पौराणिक कै अवतार हुन्। परशुरामले एक्काइस पल्ट क्षत्रियहरुको संहार गरेर पृथ्वीलाई क्षेत्रीय विहिन बनाएका थिए। के अवतार यसकै लागि हुने गर्दछ?
- बुद्ध पनि पौराणिक अवतार मानिन्छ। उनले वेद र ईश्वरलाई नै मान्न अस्विकार गरे। यस्तै प्रकारका करतूतहरु उनका अन्य अवतारहरुको पनि छन्।
जब कसैले प्रश्न गर्दछ कि ईश्वरले अवतार किन लिने गर्छ? पौराणिकहरुको उत्तर हुने गर्दछ कि दुष्टहरुको संहार गर्नको लागि नै ईश्वरको अवतार हुने गर्दछ। यो उत्तर सुनेर अलिकति वुद्धि भएको व्यक्ति लाई हाँसो अवश्य लाग्छ। कुनै पनि वस्तु निर्माण गर्न कठिन हुन्छ र त्यसलाई बिगार्न या तोड-फोड गर्न सरल। जुन ईश्वरले शरीर धारण नगरेरै रावण, कंस, जरासन्ध, हिरण्यकश्यपु आदिलाई जन्म दिन सक्छ, यत्रो जटिल जगतलाई सृष्टि गरेर पालन-पोषण गर्न सक्छ भने के शरीर धारण नगरेर उसले यसको संहार गर्न सक्दैन र ?
भनिन्छ, प्रह्लादको रक्षाको लागि र हिरण्यकश्यपुको विनाशको लागि ईश्वर खम्भा फोडेर प्रकट भएका थिए..! एउटा प्रश्न सोध्न सकिन्छ कि ईश्वर प्रह्लादको भित्र थियो कि थिएन? ईश्वर हिरण्यकश्यपुको ह्रदयमा थियो कि थिएन? त्यस सभामा सर्वत्र थियो कि थिएन? जब ईश्वर सर्वव्यापक छ, अणु-अणु र कण-कणमा विद्यमान छ भने ऊ कुनै खम्बा बाट प्रकट हुनु कसरि संभव हुन सक्छ? प्रकट त त्यो हुन सक्छ जो परिछिन्न या एकदेशीय छ। जब ईश्वर हिरण्यकश्यपुको ह्रदयमा पनि थियो उसले भित्रै बाट उसको ह्रदयलाई विदीर्ण गर्न सक्दथ्यो, उसलाई अवतार लिन कीन आवश्यकता पर्यो?
एउटा अर्को विडम्बना हेरौं, सत्ययुगमा चार अवतार भए, त्रेतामा तीन, द्वापरमा दुई र कलियुगमा अहिलेसम्म एउटा पनि अवतार भएको छैन। पौराणिकहरुका अनुसार कलियुग सबभन्दा खराब हो, अतः कलियुगमा सबभन्दा अधिक अवतार हुनु पर्ने थियो र सत्ययुगमा जहाँ धर्म नै धर्म थियो, अधर्म नै थिएन भने त्यस समयमा कुनै अवतार नहुनु पर्ने।
एउटा अर्को गजबको कुरो हेरौं, राम र परशुराम दुवै अवतार एकै समयमा भए। दुवै आपसमा युद्ध गर्नको लागि तयार पनि भए , एक अवतारले अर्को अवतारलाई नचिन्नु कस्तो अचम्म है ?!! अर्को तिर श्रीकृष्ण, बलराम र व्यास तीन अवतार एकै समयमा भए। त्यस समयमा यतिका अवतारहरुको के आवश्यकता थीयो?
सत्य कुरो त यो हो कि अवतारवाद एक आडम्वर हो, पाखण्ड हो। अवतारवादका पोषक पुराणहरु खोलेर हेर्ने गरौँ, सत्ययुग, त्रेता र द्वापरमा जब अधर्म अत्यन्त न्यून थियो, पृथ्वीले अलिकति पुकार गरिन् की उसको भार उतार्नको लागि ईश्वर तुरन्त अवतरित भए। यदि हामि आजको अवस्था अवलोकन गर्यौं भने वर्तमान युगमा सूर्योदय पूर्व नै हजारौं-लाखौँ गौवंश र लाखौँ-करोडौं अन्य पशु-पंक्षीहरुको घाँटी रेटिन्छ। आज नारि अस्मिता भंग भएको घटनाहरुले समाचार-पत्रहरुको पृष्ठ रंगिएका हुन्छन्। प्रत्येक वस्तुमा मिलावट छ,चोरिबजारी, घुसखोरी र भ्रष्टाचारको बजार तातेको छ।
सज्जनहरु कष्टमा छन् र दुर्जनहरु मोज-मस्तीमा गुल्छर्रा उडाउदै छन्, अधर्मीहरु दिन-प्रतिदिन बढ्दै छन् तर अवतारी भगवान् क्षीरसागरमा लक्ष्मीका साथ् विहार गर्नमा मस्त छन्..!?। आजको परिस्थिति पहिलेको भन्दा अत्यन्तै भयङ्कर र भयावह छ। हामि सोध्न चाहन्छौं कि अहिले ईश्वरले अवतार किन लिन्न?
१५ अगस्त १९४७ मा भारत दुई खण्डमा विभाजित हुँदा जुन दानवताको ताण्डव भयो, त्यसलाई लेख्दा पनि हात काँप्छन् र बोल्दा जिब्रो लर्बरिन्छ। लाखौँ हिन्दुहरु हिन्दु भएकै कारणले काटिए..हजारौं नारीहरुको अस्मिता हिन्दु भएकै कारणले लुटियो….हजारौं बाल-बालिकाहरुले आफ्ना अविभावक गुमाए..साना-साना दुधे बालकलाई बेसनमा डुबाएर उम्लिएको तेलको कराहीमा हालियो, कसैलाई आकाशमा उफारेर भालाको चुच्चामा खसालियो..स्त्रिहरुको स्तन काटियो…माता-पिताका अगाडी उनकी पुत्रिहरुलाई बलात्कार गरियो…उनलाई निर्वस्त्र पारेर सडक र बजारमा जुलूस निकालियो..लाखौँलाई जबर्जस्ति हिन्दु धर्म छोड्न वाध्य पारियो..यस्तो दुर्दान्त अवस्थामा पनि ईश्वरले कुनै अवतार लिएन किन?
मैले अत्यन्त नम्रतापूर्वक सोध्न चाहन्छु कि जब यस्तो भीषण परिस्थितिमा पनि ईश्वरले अवतार लिएन भने फेरी उसको अवतार कहिले हुनेहो?
मेरा सम्मानका योग्य समस्त महानुभावहरुमा विनम्रता पुर्वक भन्न चाहन्छु कि यो अवतारवाद एक धोखा,पाखण्ड र दम्भ को। ईश्वरले कदापि अवतार लिन्न। अवतार बाट रक्षा हुने आशा र कामना गर्नु व्यर्थ छ, यो दुराशा मात्र हो। यदि हामि हाम्रो समाज र देश उन्नत बनोस भन्ने चाहन्छौं भने, यदि हामि आफ्नो पूर्व गौरव र वैभव पुनः प्राप्त गर्न चाहन्छौं भने, यदि हामि आफ्मो देश समृद्ध होस् भन्ने चाहन्छौं भने, यदि हामि देश बाट दुराचार र पाखण्ड समाप्त होस् भन्ने चाहन्छौं भने ईश्वरको अवतारवादी धारणा त्याग्नु पर्छ, अवतारको आशा छोड्नु पर्छ। हामि स्वयं आफ्नो जीवनमा आत्मविश्वासको ज्योति जागृत गर्नु पर्छ। आफ्नो बाहुबलको आश्रय लिएर उद्योगको लागि कम्मर कसेर उठ्नु पर्छ..पुरुषार्थ गर्न मुठी कस्नु पर्छ..।अस्तु..
नमस्ते..!
-हार्दिक आभार: ‘पाखण्ड खण्डिनी’
आफुलाई भगवनको अवतार हुँ भनेर सबै सामु पुजनिय बनेर आस मजा मस्ति गर्न पाइन्छ भनेर अवतार वादि पाखण्डी हरु ले भगवनको अवतार हुन्छ भनि भ्रम पैदा गरेर व्यपार चलाएका हुन जस्तो लाग्छ मलाई त ।
ओ३म्..
श्याम भाइ, नमस्ते..!
प्रतिक्रियाको लागि हार्दिक आभार.
तपाइले सत्य कुरो गर्नुभो..
अवतारवाद मान्नाले नै आज समाजमा नपुंसक र पुरुषार्थ हीन व्यक्तिको जत्था बढ्दो छ..यसलाई तपाइँ हामि सब मिलेर खतम गर्नु पर्ने छ..र सबलाई वैदिक मार्गमा ल्याउनु पर्छ..
प्रजपतिश्चरती गर्भे अंतरजायमानो बहुधा वि जायते !
तस्य योनिं परि पश्यन्ति धीरास्तास्मिन ह तस्थुभुवनानि विश्वाः!!
(यजुर्वेद ३१ -१९ )
अर्थ : प्रजाहरुका पति भगवान् गर्भ भित्र विचरण गर्दछन ! ती
जन्म रहित मानिएता पनि अनेक किसिमले जन्म लिन्छन !
ज्ञानी ,विद्वान ,विवेकी व्यक्तिले ईश्वर प्रकट हुने
अवस्था ,ठाउँ थाहापाउन सक्तछ उसले जिज्ञाशुहरुलाई त्यस सम्बन्धमा
आवश्यक ज्ञान दिन सक्तछ र ईश्वर जतिखेर प्रकट हुन्छन त्यतिखेर यो
सम्पूर्ण ब्रह्माण्ड त्यसैको आधारमा चलायमान औ स्थीर रहन
पुग्दछ भन्नेकुरो दृष्टान्त सहित बताउन सक्तछ ! त्यतिखेर ईश्वरको स्वरुप
नेता भएर मान्छेलाई क्रियाशील बनाउने हुन्छ ! माथि उल्लेख गरिएको
यजुर्वेदीय मन्त्रमा अवातारवादको उल्लेख प्रष्ट छ ! यो मन्त्रको
अक्षर संयोजनबाट बनेको शब्दबाट निस्केको अर्थ नै यसको मूल अर्थ हो र
त्यसरी मन्त्र शब्दबाट निस्केको अर्थ नै सनातनी
हिन्दुहरुको प्रमाण हो ! वेद हामी सनातनीहरुको त्यस्तो
बैज्ञानिक निधि हो जँहा थोरै अक्षरको संयोजनले धेरै अर्थ निस्किन्छ ! यस
मन्त्रले धेरै सोच्न नलाइकन सरल तरिकाले अवतारवादको पुष्टि गरिदिएको छ !
ओ३म्..
आत्रेय ज्यू, नमस्ते..
खुशी लाग्यो कि लेख पढिदिनुभो तर ध्यान संग पढ्नु भएन जस्तो लाग्यो,
“प्रजापतिश् चरति गर्भै ऽ अन्तर् अजायमानो बहुधा वि जायते ।
तस्य योनिं परि पश्यन्ति धीरास् तस्मिन् ह तस्थुर् भुवनानि विश्वा ॥”(येजुर्वेद:३१/१९)
यसमा के भन्न खोजिएको छ, त्यो म पछी सविस्तार संग व्याख्या गरेर दिउँला..
तर मैले यस लेखमा दिएका सम्पूर्ण प्रमाणहरुलाई गलत साबित गर्नु पर्यो
या त अर्कै व्याख्या छ भने पनि निरुक्त अनुसार प्रमाण दिनुस्,
केवल संस्कृत शब्दको अर्थमात्र लाउँदैमा वेदको रसस्वादन गर्न सकिन्न जस्तो लाग्छ मलाइ..
त्यसको प्रकरण अनुसारको अर्थ पनि लगाउनु पर्ला र ईश्वरको यथार्थ स्वरूपको बारेमा पनि जान्नु पर्ला..
“स पर्यगाच्छुक्रमकायमव्रणमस्नाविरंशुद्ध्मपापविद्धम।
कविर्मनीषी परिभूः स्वयव्हह्रभूर्याथातथ्यतोअर्थान व्यदधाच्छाश्वतीभ्यः समाभ्यः॥”(यजु.४०।८)
तपाइको विचारमा यसको के अर्थ लगाउनु हुन्छ?
त्यो लेख पुनः पढेर त्यसको हरेक पक्षको सप्रमाण खण्डन गर्नुस्..
यसरि अर्थको अनर्थ गर्नु र भ्रम फैलाउनु एउटा विद्वानलाई शोभा दिन्नकि जस्तो लाग्छ मलाई
हार्दिक आभार सहित..
नमस्ते..!
ओ३म्..
आत्रेय ज्यू, नमस्ते..
तपाइको यो प्रमाण त खण्डित हुन्छ, अन्य प्रमाण छ भने प्रस्तुत गर्नुहोला..
यस मन्त्र का-
ऋषि: उत्तरनारायण: ।। देवता: आदित्यः।। छन्द: भुरिक्त्रिष्टुप् ।। स्वर: धैवतः।।
प्रजापतिश् चरति गर्भै ऽ अन्तर् अजायमानो बहुधा वि जायते ।
तस्य योनिं परि पश्यन्ति धीरास् तस्मिन् ह तस्थुर् भुवनानि विश्वा ॥
(येजुर्वेद:३१/१९)
यस मन्त्रमा ईश्वरको सर्वव्यापकता र जीव तथा ईश्वर बिचको व्याप्य-व्यापक सिद्धान्त पुष्टि गरिएको छ। अवतार्वादको पुष्टि हैन.. । यथाः
महर्षि दयानन्द सरस्वति को येजुर्वेद भाष्य बाट:
प्रजापतिरिति प्रजाSपतिः । चरति । गर्भे । अन्तः । अजायमानः । बहुधा । वि । जायते ।। तस्य । योनिम् ।परि । पश्यन्ति । धीराः । तस्मिन् । ह । तस्थुः । भुवनानि । विश्वा ।।
पदार्थ:- (प्रजापतिः) प्रजापालको जगदिश्वरः(चरति) (गर्भे) गर्भस्थे जिवात्मनि (अन्तः) हृदि (अजायमानः) स्वस्वरुपेणानुत्पन्नः सन् (बहुधा) बहुप्रकारैः (वि) विशेषेण (जायते) प्रकटो भवति (तस्य) प्रजापतेः (योनिम्) स्वरुपम् (परि) सर्वतः (पश्यन्ति) प्रेक्षेन्ते (धीराः) ध्यानवन्तः (तस्मिन्) जगदिश्वरे (ह) प्रसिद्धम् (तस्थुः) तिष्ठन्ति (भुवनानि) भवन्ति येषु तानि लोकजातानि (विश्वा) सर्वाणि ।।
अन्वय: – हे मनुष्याः! योSजायमानःप्राजपतिर्गर्भेSन्तश्चरति बहुधा विजायते तस्य यं योनिं धीराः परिपश्यन्ति तस्मिन् ह विश्वा भुवनानि तस्थुः ।।
भावार्थ: -योSयं सर्वरक्षक ईश्वरः स्वयमनुत्पन्नः सन् स्वसामर्थ्याज्जगदुत्पाद्य तत्रान्तः प्रविश्य सर्वत्र विचरति यमनेकप्रकारेण प्रसिद्धं विद्वांस एव जानन्ति तं जगदधिकरणं सर्वव्यापकं परमात्मानं विज्ञाय मनुष्यैरानन्दितव्यम् ।।
पदार्थ: हे मनुष्य हो! जो (अजायमानः) आफ्नो स्वरुपले उत्पन्न हुँदैन (प्रजापतिः) प्रजाको रक्षक जगदिश्वर (गर्भे) गर्भस्थ जीवात्मा र (अन्तः) सबैको हृदयमा (चरति) विचरण गर्दछ र (बहुधा) विविध प्रकारले (वि, जायते) विशेष गरि प्रकट हुन्छ (तस्य) उस् प्रजापतिको जुन (योनिम्) स्वरूपलाई (धीराः) ध्यानशील विद्वानहरुले (परि, पश्यन्ति) सबैतिर बाट देख्दछन् (तस्मिन्) उसमा (ह) प्रसिद्ध (विश्वा) सम्पूर्ण (भुवनानि) लोक-लोकान्तर (तस्थुः) स्थित् छन् ।।
भावार्थ: यो जुन सर्वरक्षक ईश्वर आँफू कुनै स्वरुपमा उत्पन्न नभएर नै आफ्नो सामर्थ्यले समस्त जगतलाई उत्पन्न गरेर स्वयं त्यसमा प्रविस्ट भएर सर्वत्र विचरण गर्दछ, यसप्रकारको प्रसिद्ध ईश्वरलाई विद्वानहरुले नै जान्दछन्, जगतको आधार स्वरूप उस सर्वव्यापक परमात्मालाई जानेर मनुष्यहरुले आनन्द भोग्नु पर्दछ ।।
पं. जयदेव शर्माको येजुर्वेद भाष्य बाट :
(प्रजापतिः) त्यो समस्त प्रजाको पालक (गर्भे, अन्तः) गर्भ, गर्भस्थ जीवात्मामा पनि अथवा हिरण्यगर्भको भित्र व्यापक भएर (चरति) विचरण गर्दछ, विद्यमान छ। ऊ (अजायमानः) स्वयं कहिल्यै उत्पन्न नभएर पनि (बहुधा) अनेक प्रकारले (विजायते) विविध रुपमा प्रकट हुन्छ (तस्य) उसको (योनिम्) परम कारणस्वरुपलाई (धीराः) धीर, ध्याननिष्ठ योगीहरूले नै (परिपश्यन्ति) राम्रो संग देख्दछन्, साक्षात् गर्दछन् (तस्मिन् ह) त्यो सबको मूलकारण परमेश्वरमा नै (विश्वा भुवनानि) समस्त भुवन, नाना ब्रह्माण्ड एवं सूर्यादी लोक (तस्थुः) स्थित् छन्। यी सबै उसैको आश्रयमा स्थित् छन्।।
पं. हरिशरण सिद्धान्तालंकारको येजुर्वेद भाष्य बाट:
पूर्व मन्त्रमा भनिएको थियो कि ‘मैले उस् महान पुरुषलाई जान्दछु’ प्रस्तुत मन्त्रमा भनिएको छ कि ‘कुन रुपमा?’ (क) प्रजापतिः = ति प्रभु प्राजाका पति हुन्। सबका रक्षक हुन्। मेरो पनि तिनै प्रभुले रक्षा गरिरहेका छन्। (ख) अजायमानः= (जनी प्रादुर्भाव) सबैका भित्र हुँदा-हुँदै पनि उनि अप्रादुर्भुत=अव्यक्त नै छन्। उनि प्रभु कहिल्यै व्यक्त हुँदैनन्। उनले त शरीर धारण नै गर्दैनन्, उनि शरीरमा अवतिर्ण हुँदैनन्। (ग) बहुधा विजायते= शरीर धारण नगरेर पनि ति प्रभु नाना रुपमा विशेष रुपमा प्रादुर्भुत हुन्छन्। हिउँले ढाकिएका गगन-चुम्बी हिमालमा, पहाड-पर्वतमा, अनन्त विस्तार भएको विशाल समुद्रमा, अनन्त भार वहन गर्न सक्ने यो पृथ्वीमा, अनन्त आकाशलाई आवृत्त गर्ने नक्षत्रहरुमा उनै प्रभुको महिमा देखिइरहेको हुन्छ। शरीरको अंग-प्रत्यंगहरुको रचनामा उनै रचयिताको रचना कौशल देखाई दिइरहेको छ, हरेक फल एवं फूलले उनै रचयिताको गित गाइरहेको प्रतित हुन्छ। एवं कण-कणमा उनै प्रभु प्रकट भैरहेका छन्। अजायमान ति प्रभु विजायमान बनिरहेका छन्, अव्यक्त हुँदाहुँदै पनि व्यक्त हुँदै छन्। (घ) तस्य= उनै अव्यक्त हुँदाहुँदै पनि व्यक्त प्रभुको (ङ) योनिम्= घर वा आधारलाई (च) धीराः= विचारशिलहरुले नै (छ) परिपश्यन्ति= सर्वत्र देख्दछन्। (ज) तस्मिन्= उस् आधारमा (झ) ह=निश्चयले (ञ) विश्वा भुवनानि= सम्पूर्ण लोकहरु (ट) तस्थुः= स्थित् छन्।
उस् प्रभुरुप आधारमा यो सारा ब्रह्माण्ड स्थित् छ, पादोSस्य विश्वा भूतानि= उस् आधारमा के आधारको पनि एक देशमा नै यो सारा ब्रह्माण्ड रचिएको छ। कति व्यापक छ त्यो आधार!
भावार्थ: प्रभु प्रजापति हुन्, नाना रुपहरुलाई उनले जन्म दिइरहेका छन् र उनले नै समस्त लोकहरुलाई धारण गरिरहेका छन्।।
यी सबै भाष्यमा अवतारवादको कहीं कतै गन्ध या संकेत पनि छैन। यदि ईश्वरको अवतार हुने सत्य भएको भए वेदका ति असंख्य मन्त्रहरूमा कहीं न कहीं संकेत अवश्य हुन्थ्यो। अवतारको कुरो युक्ति र तर्कले पनि सिद्ध हुँदैन। जसले वेद मन्त्रमा अवतारवाद र मूर्ति-पूजाको व्यवस्था छ भन्ने ढिपी गर्दछ, त्यसले आफ्नो आँखामा लगाइएको अवतार्वादको पट्टि या चस्मा उतारेरे पुनः एकपटक ईश्वरको यथार्थ स्वरुपलाई शान्त मनले स्मरण गरेर पढ्ने गरौँ या कुनै उत्तम गुरुको शरणमा जाउँ। अनिमात्र सत्य ज्ञान प्राप्त होला। नत्र येजुर्वेद्को ४०औं अध्यायको प्रथम मन्त्र (ईशावास्यमिदं सर्वं…) देखेर ईसाईहरुले “हाम्रो ईशाको नाउपनि वेदमा छ” भने जस्तै र अर्को ८औं मन्त्रको ‘…कविर्मनीषी…’ देखेर कवीर-पन्थिहरुले पनि “हाम्रो कबिर साहेबको नाम वेदमा उल्लेख छ ” भने जस्तै हुन्छ। आ-आफ्नो मत-सम्प्रदायको स्वार्थी चस्माले कुनै वेद मन्त्रको व्याख्या गर्ने अपराध नगरौं..!
अस्तु..
नमस्ते..!