ओ३म्..
सदा जागा रहनेहरुलाई नै वेदले चाहन्छ..!
-प्रेम आर्य, दोहा-कतार
यो जागार तमृचः कामयन्ते यो जागार तमु सामानि यन्ति।
यो जागार तमयं सोम आह तवाहमस्मि सख्ये न्योकाः।। (ऋग्वेद:५/४४/१४)
अर्थ- (ऋचः) ऋग्वेदको मन्त्र (तम्) उसलाई (कामयन्ते) चाहन्छौं (यः) जुन (जागार) जागा रहन्छ (उ) र (तम्) त्यसैको समिप (सामानि) समावेदको मन्त्र (यन्ति) जान्छन् (यः) जुन (जागार) जागा रहन्छ (यः) जुन (जागार) जागीरहन्छ (तम्) त्यसैलाई (अयम्) यो (सोमः) शान्ति र आनन्दका धाम भगवान (आह) भन्दछ कि (अहम्) म (तव) तेरो (सख्ये) मित्रतामा (न्योकाः) नियत रूपले रहनेवाला (अस्मि) हुन्छु।
मन्त्रमा आएको ‘ऋचः’ र ‘सामानि’ पदको सामान्य अर्थ ऋग्वेदको मन्त्र र सामवेदको मन्त्र हुन्छ। यी पदबाट सूचित हुने ‘ऋग्वेद’ र ‘सामवेद’ यहाँ शेष दुवै वेद- यजुर्वेद र अथर्ववेदको पनि उपलक्षण हो। अर्थात्, ऋग्वेद र सामवेदको निर्देशले चारै वेदको नै निर्देश सम्झनु पर्दछ। वस्तुतः चारै वेदका मन्त्रहरुको रचना तीन प्रकारका छन्। जुन मन्त्र छन्दोवद्ध छन् र छन्दमा हुने पादव्यवस्थाले युक्त छन् तिनलाई ‘ऋच्’ या ‘ऋचा’ भनिन्छ यथाः- “यत्रार्थवशेन पादव्यवस्था सा ऋक्।” (जैमिनीयसूत्र: २/१/३५) ऋग्वेदमा यस्ता मन्त्रहरुको बाहुल्यता छ त्यसैले यसलाई ‘ऋग्वेद’ भनिएको हो।
जब ऋचाहरुलाई नै गीति रूपमा गाइन्छ तब तिनलाई ‘साम’ भनिन्छ यथाः- “गीतिषु सामाख्या” (जैमिनीयसूत्र: २/१/३६)। सामवेदमा जति मन्त्र छन् ति भक्तिरसमा भरेर गीतिरूपमा गाउने गरिन्छ, त्यसैले यसको नाम ‘सामवेद’ परेको हो।
जुन मन्त्र छन्दोबद्ध छैनन् र गीतिरूपमा गाउन सकिन्न अर्थात् जुन मन्त्र पद्यमा हैन गद्यमा छन्, तिनलाई ‘यजुः’ भनिन्छ यथाः- “शेषे यजुः शब्दः” (जैमिनीयसूत्र: २/१/३७)। यजुर्वेदमा यस्ता ‘यजुः’ मन्त्र अधिक छन् त्यसैले यसको नाम ‘यजुर्वेद’ भएको हो।
अथर्ववेदमा तिनै प्रकारमा मन्त्रहरु छन्। किनकि चारै वेदका मन्त्रहरुको रचना नै तीन प्रकारका छन्, त्यसैले चारै वेदलाई त्रयी या तीन वेद भनिने गरिन्छ। त्यसो त वेद चार नै छन्। केवल तीन प्रकारमा रचनाको कारणले तिनलाई तीन वेद पनि भनिन्छ। यी तीन प्रकारका रचनाहरुमा पनि प्राधान्य ऋग् मन्त्रहरु र साम मन्त्रहरुको नै छ, चारै वेदहरुको अधिकांश रचना यिनैमा छ। त्यसैले यस मन्त्रको ‘ऋचः’ र ‘सामानि’ यी पद त्यसै पनि चारै वेदको निर्देश गर्ने हुन्छन्।
मन्त्रले भन्छ कि ऋग्वेदले उसैको कामना गर्दछ र सामवेद उसैको समिप जान्छ, जो जागीरहन्छ। ऋग्वेद र सामवेदबाट उपलक्षित हुने चारै वेदको अध्ययन कसले गर्न सक्छ ? तिनको अध्ययन गरेर तिनलाई राम्रो संग कसले सम्झन सक्छ ? र तिनलाई राम्रो संग सम्झेर त्यसै अनुरुप आचरण गरेर क्रियात्मक जीवनमा तिनबाट लाभ कसले उठाउन सक्छ ? त्यसले जो जागीरहन्छ ।
जो जागिरहन्छ, जो स्फुर्तिवान र सजग रहन्छ, जो सावधान र सतर्क रहन्छ, जो सुतिरहन्न, जो अल्छी र प्रमादी बन्दैन, वेदले त्यसैको कामना गर्दछन्, त्यसैलाई नै चाहन्छन्, त्यसैको समिप जान्छन्। जो व्यक्ति आलस्य र प्रमादलाई पर फालेर, सतर्क र सावधान भएर वेद पढ्ने र त्यसको मर्म सम्झने भरपूर परिश्रम गर्दछ, वेद त्यसैको समिपमा जान्छन्। वेदको गूढ रहस्य पनि त्यसैको सम्झनामा आउँछन्। वेदको गूढ रहस्यलाई सम्झेर र त्यसै अनुसार आचरण गरेर त्यसको क्रियात्मक जीवनमा सब प्रकारको लाभ त्यहि जागरूक वृत्ति भएको व्यक्तिले नै उठाउन सक्छ। वेद सब प्रकारको वरदान र सब प्रकारको मंगलको खानि हो। तर वेदबाट प्राप्त हुने यी वरदान र मंगललाई त्यसैले मात्र प्राप्त गर्न सक्छ, जो जागिरहन्छ। सुतिरहनेहरुलाई वेदका यी वरदान र मंगल प्राप्त हुँदैनन्।
र जो व्यक्ति जागरूक रहेर वेदको अध्ययन गर्दछ, त्यसको मर्म सम्झन्छ र तद्नुसार आचरण गरेर स्वयंलाई पूर्ण पवित्र र ज्ञानवान् बनाउँछ, त्यहि जागिरहनेलाई नै भगवान्को पनि दर्शन हुन्छ। वेदको यस्तो जागरूक विद्यार्थीका अगाडी भगवानले स्वयं आफ्नो द्वार खोलेर भन्न थाल्छन् – “हे जागा रहेर वेदको स्वाध्याय गर्ने स्वाध्यायी! म सदा तेरो मित्रतामा रहनेछु, मेरो निवास सदा नियत रूपले तेरो हृदयाकाशमा रहनेछ ।” भगवान सोम हुन्। उनमा चन्द्रमा झैं शान्तिदायकता र आह्लादकता छ। उनि शान्ति र आनन्दका धाम हुन्। जब वेदको स्वाध्यायले हामीलाई परमात्माको यथार्थ स्वरूपको ज्ञान हुनेछ, जब वेदानुकूल शुभ आचरणले हाम्रो हृदय निर्मल हुनेछ र जब त्यसको परिणाम स्वरूप हाम्रो हृदयमा प्रभुको ज्योति झिल्मिलाउन लाग्नेछ, तब उस शान्ति र आनन्दका धामको हाम्रो हृदयमा निवासका कारण हामिले पनि अवर्णनीय शान्ति र अलौकिक आनन्दको समुद्रमा दुब्की लगाउन थाल्नेछौं। तब शान्ति र अपार आनन्दका धाम, रसका समुद्र, भगवानको यो दर्शन, यो साक्षात्कारले हामीलाई जीवनको चरम लक्ष्य, एकमात्र लक्ष्य प्राप्त हुनेछ।
वेदले पनि यस्तै सदा जागिरहनेलाइ नै चाहन्छ र प्राप्त हुन्छ।
हे आत्मा! तँ पनि जाग र वेदलाई प्राप्त गर् । हे आत्मा! तँ पनि जाग तथा ‘सोम’को, शान्ति र आनन्दका निधि वेदपति भगवानलाई प्राप्त गर्।
नमस्ते..!
-(हार्दिक आभार: आचार्य प्रियव्रत वेदवाचस्पति)