All posts by प्रेम आर्य
मार्क्सवाद र धर्म
मार्क्सवाद र धर्म
ओ३म्
अर्थ: “धर्मलाई रोक्न सकिन्न। अन्तरात्मा या हृदयलाई दबाउन सकिन्न। धर्म त हृदयको वस्तु हो र हृदय स्वतन्त्र छ। त्यसैले पूजा र धर्म स्वतन्त्र छन्।” (स्टालिनको उत्तर)।
यही एक प्रमुख कारण हो जसले गर्दा मार्क्सवादमा धर्मको विरोध पाइन्छ। धर्मलाई मानवसमाजका लागि अफीम (Religion is the opium of the people) भन्नुको यही असली कारण हो।किनकि शोषित-पिडितहरु माथि तथाकथित धर्माचार्यहरुको जादूको छडी अति सिघ्र चल्छ र उनको उत्थानका लागि हुने सारा यत्न बेकार झैं हुन्छन्। यस्तो समस्या हुन्छ कि के भनौं र खै..!
हामी मान्छौं कि धर्मको सम्बन्धमा मार्क्सवादको एक निश्चित कुरो छ र परिपक्क मार्क्सवादीहरु यस बिषयमा आधारभूत रुपमा अलग हुने गर्दछन् र कुनै छुट दिन तयार नै हुँदैनन्। लेनिनले धर्म सम्बन्धि आफ्नो एक लेखमा भनेको छ कि “मार्क्सवाद त भौतिकवाद हो, त्यसै कारण उसले क्रुरताका साथ धर्मको विरोध गर्दछ|” (Marxism is materialism. As such it is ruthlessly hostile to religion) तर आत्तिनु पर्ने कुनै कुरो छैन। यदि अन्तर्मनले विचार गर्नेहो भने थाह हुन्छ कि यसको जरोमा अर्कै कुरो छ। सबै सिद्धांतको स्थापना र प्रतिपादनको मूलमा केहि खास वस्तुगत परिस्थितिहरु रहेका हुन्छन् र यदि हामीले तिनमा ध्यान दिएनौं भने त महाभूल गर्न सक्छौं।
• मार्क्सवादको मूल सिद्धांत द्वन्द्ववाद (Dialectics) हो र यदि यसको अबाध प्रयोग गरियो र अर्को कुरो नै भएन भने त श्रेणीविहीन समाज बने पछी पनि यो द्वन्द्ववाद त चली नै रहने छ। यसको परिणाम के होला; कल्ले भन्ने?
• यदि द्वन्द्ववाद बाट प्रगति हुन्छ भने यो मान्नै पर्ने हुन्छ कि वर्गविहीन समाजले समस्त प्रगतिका साधनहरुबाट पूर्ण रूपेण संपन्न हुने हुनाले अधिक उन्नति गर्ने छ, सबै प्रकारको उन्नति- शारीरिक, मानसिक, वैज्ञानिक आदि| जसको फलस्वरूप के-के अज्ञात तत्त्वहरु विदित हुने हुन्; यो कल्ले भन्ला?
• मार्क्सवाद त श्रेणीविहीन समाज सम्म नै रोकिन्छ। यथार्थ कुरो के हो भने ज्ञानको ठेकेदारी लिनु राम्रो हुँदैन; यो बुद्धिमानी मानिन्न।
• यदि उस समय ईश्वर या आत्माको कुरो अवगत भयो भने के केवल यसकारणले नकारिएला कि मार्क्सवादले यसलाई मान्दैन?
भविष्यको झमेलोमा कोहि नपरौं र उसको मार्ग पनि कसैका लागि बन्द नगरौं; बुद्धिमानी यसैमा छ | चाहे कोहि ईश्वरवादी बनोस् या अनीश्वरवादी नै रहोस्। अँ, आज-भोलि समाजमा प्रचलित तथाकथित् ईश्वरवाद भने प्रगतिको बाधक छ। किनकि जुन सृष्टिको समस्त सत्य विद्याको भण्डार वेदलाई नकारिदै छ, सनातन वैदिक संस्कृतिलाई नष्ट गर्ने चाल रचिदै छ, त्यसैले यस्तो खाले ईश्वरवाद या धर्म टिकिरहन असंभव छ र यसको बिरोध उचित पनि छ| अज्ञानता नै हाम्रो बाधक बनेको छ..! जसलाई ज्ञानस्वरूप भनिन्छ त्यहि नै ज्ञानप्रसारको विरोधी छ..! मानौं या नमानौं तर स्थिति केहि यस्तै नै अढंगको छ।त्यसैले प्रगति चाहनेहरुको सारा शक्ति लगाएर यसलाई क्रुरताका साथ विरोध गर्नु पर्दछ| यस्तो गरौँ कि कुनै पनि किसिमले ऊ हाम्रो मार्गको वाधा नबनोस्। अस्तु..
अहिंसाको दर्शन-वैदिक संस्कृति..२
ओ३म्….
हिन्दुहरुका पौराणिक ग्रन्थहरुमा पनि अहिंसालाई धर्म घोषित गरिएको छ। महाभारतमा अहिंसालाई कहीं परमधर्म त कहीं सकल धर्म भनिएको छ। शांतिपर्व (अध्याय-१६२) मा सत्यका तेह्र रुपहरुमा केवल अहिंसालाई मात्र गणना गरिएको छैन, सबै रूप अहिंसाका नै विविध अभिव्यक्तिहरु देखिन्छन्, जसको अर्थ हुन्छ सूक्ष्म स्तरमा अहिंसा र सत्य एक हुनु जस्तै-महात्मा गौतम बुद्धले मान्ने गर्दथे। महाभारतको अनुशासन पर्व (अध्याय:११५-१६) तथा मनुस्मृति मा पनि मांसाहारलाई निषेध गर्दै हत्याका लागि पशु-पंक्षी ल्याउने, मार्नका लागि अनुमति दिने, मार्ने, किन्ने, बेच्ने, पकाउने र खानेहरु सबै पापका समान भागीदार हुन् भनिएको छ।
वामन पुराण १४/१-२ मा निर्देशित दशांग-धर्ममा केवल अहिंसालाई मात्र सर्वप्रथम नराखेर अस्तेय, दान, क्षमा, दम, शम, अकृपणता आदि पनि अहिंसा कै अभिव्यक्तिहरु हुन्। मत्स्य पुराण (१४३/३०-३२) मा अक्रोध, अलोभ, शम, दम, भूतदया, सुकुमारता, क्षमा र धैर्यलाई सनातन धर्मको मूल भनिएको छ। विष्णु पुराण (प्रथम भाग, अध्याय ७) मा हिंसालाई अधर्मकी पत्नी भनिएको छ भने ब्रह्मांड पुराण (२/३१-३५) मा अहिंसालाई धर्मको द्वार भनिएको छ। त्यसैगरी ब्रह्म पुराण, शिव पुराण, कूर्म्म पुराण, पद्म पुराण, वायु पुराण आदिमा पनि अहिंसालाई सर्वोच्च धर्म र सुख भनिएको छ । अग्निपुराणमा अहिंसाको सन्दर्भमा विस्तृत व्याख्या गर्दै समस्त सद्गुणहरुलाई त्यसैको रूप भनिएको छ। पुराणहरुमा केवल निषेधात्मक अहिंसाको निर्देशन मात्र नभएर जनकल्याणका सबै कार्यहरु द्वारा अहिंसाका सकारात्मक रूपमा पनि आग्रह गरिएको छ। भागवत पुराणले (७/१४-१८) त यहांसम्म भन्छ कि मनुष्यहरुको स्वत्व केवल त्यहीं सम्म छ जतिले उसको पेट भरिन्छ, जुन व्यक्तिले त्यस भन्दा अधिकलाई आफ्नो भन्दछ त्यो चोर हो, त्यसैले दंडनीय छ।
वेदनिष्ठ अनुचिंतनात्मक दर्शन-संप्रदायहरुको नैतिकीमा पनि अहिंसालाई नै केंद्रीय हैसियत प्राप्त छ। न्याय-दर्शनमा पृथकत्वको बोध बाट मुक्तिलाई परम श्रेय मानिएको छ किनकि सबै पाप-कर्महरु आफ्नो पृथक् हुनाको बोधले नै उत्पन्न हुने गर्दछन्। श्रीधरको न्याय–कंदली मा अहिंसालाई सबै देशकालमा लागू हुनेवाला सनातन कर्तव्य बताइएको छ। वैशेषिक दर्शनमा पनि अहिंसा, सबैको हितचिंता तथा क्रोधवर्जनलाई अनिवार्य सनातन कर्तव्यमा शामेल गरिएको छ। सांख्य-दर्शनमा पनि जीव-हत्यालाई पापको जननी मानिएको छ। मोक्ष प्राप्त गर्ने मार्गमा सबभन्दा ठूलो बाधा अहम् भाव नै हो, त्यसैले ‘नास्मि’ (म केहि हैन), ‘न में’ (मेरो केहि हैन/छैन) र ‘नाहम्’ (अहंभावको लोप) को बोध मोक्ष-प्राप्तिका लागि आवश्यक छ। योग-दर्शनमा नैतिक साधनामा अत्यधिक बल दिँदै अहिंसा, सत्य, अस्तेय, जितेंद्रियता तथा अपरिग्रहको पालनमा निर्देशन दिइएको छ तथा अन्य सब गुणहरुलाई अहिंसामा नै बद्धमूल मानिएको छ। योगभाष्य का अनुसार अहिंसाको तात्पर्य हो- सबै प्रकारको द्वेषभाव देखि मुक्त हुनु। यहि वैर गर्ने तथा क्षति पुर्याउनेको अभाव हो। शंकराचार्यको अद्वैत वेदांतले अहिंसाको आग्रह गर्दै योगभाष्य मा यसलाई योगीको मूल व्रत भनेको छ। अध्यात्मपटल भाष्य मा शंकराचार्यले नैतिक गुणहरुलाई ज्ञानाभिव्यक्तिको हेतु भनेकाछन् तथा अक्रोध, अहर्ष, अरोष, अमोह, अदंभ, अद्रोह, त्याग, आर्जव(कुटिलाताको अभाव), मार्दव(मृदुता), शम(चित्तको स्थाई भाव), दम, अविरोध, अक्षुब्धता(उत्तेजनाहीन) र अनृशंसयताको गणना योगमा गर्दछन्। यी सबै अहिंसा कै गुणाभिव्यक्तिहरु हुन्। उनले अहिंसाको परिभाषा गर्दै उसलाई सर्वभूतहितको अविरोध भन्दछन्-“सर्वभूताविरोधलक्षणा हिंसा”। अस्तु…
नमस्ते..!
अहिंसाको दर्शन-वैदिक संस्कृति..
ओ३म्….
नेपाल आदिकाल देखि नै सत्य सनातन वैदिक धर्म-संस्कृति तथा दर्शनको आधारभूमि रहेको छ। यद्यपि यसको मुख्य धारा आस्तिकता अर्थात् वेदनिष्ठ दर्शनको नै रहेको छ तर नास्तिक या वेदेतर दर्शनको विकास र व्यापकताको दृष्टिकोण बाट पनि नेपालको भूमिका कम महत्त्वपूर्ण छैन। उल्लेखनीय यो छ कि वेदनिष्ठ तथा अवैदिक दुवै प्रकारको दर्शनको नीति-मीमांसामा केन्द्रस्थ नैतिक मूल्य अहिंसा नै हो।
मध्यकालमा वेद मन्त्रको अपव्याख्या बाट सुरु भएको वैदिक यज्ञहरुमा पशुबलि प्रथा कै कारणले सामान्यतः आजको हिन्दु सम्प्रदाय भ्रमित भएर धर्मको वैदिक स्वरूप अहिंसाको संदर्भलाई स्मरण गर्न चाहन्न यहि भएर होला सायद जैन एवं बौद्ध सम्प्रदाय यसकै विरोधमा विकसित भएको मानिन्छ। तर यो कुरालाई बेवास्ता गर्ने गरिन्छ कि मूल भेद यी दुवै परम्पराको तत्वमीमांसामा छ र आ-आफ्नो नीतिमीमांसामा यी दुवैले अहिंसाकै अनुकरण गर्ने आग्रह गर्दछन्। संसारका समस्त मत-पन्थ-सम्प्रदायका संस्कृतिमा केहि आचरणगत कमि-कमजोरीहरु देख्न सकिन्छ किनकि मनुष्य कहिल्यै पनि पूर्ण हुन सक्दैन। प्रत्येक संस्कृति मूल्य-साधनाको प्रक्रिया नै हो जसलाई उसको मूल्य-प्रेरणाको संदर्भमा नै बुझ्न सकिन्छ किनभने यस साधनामा उसका असफलताहरुलाई स्वीकार गर्नु पनि साधनाको वांछनीयतालाई नै संकेतित गर्दछ। यस दृष्टिले वैदिक धर्म-दर्शनको केन्द्रीय मूल्यको रूपमा अहिंसा नै स्थापित हुन्छ।
ऋग्वेद: १०/११७ मा दयालाई प्रमुख कर्तव्य मानिएको छ तथा ५/८५/७ मा कसैको पनि अनिष्ट गर्नुलाई पापकर्म भनिएको छ भने १०/१९१/२-४ मा संपूर्ण सहजीवनको जुन कल्पना गरिएको छ, त्यो पनि मानव-जातिको एकत्व बोधको संकेत हो।
सामवेद:१/२/९,२ मा स्पष्टतः हिंसा नगर्न, अथर्ववेद: १७/१-७ मा सबै प्रति मैत्रीभाव राख्न तथा ३६/१८ मा पशु-पंक्षीहरुको वध गर्न निषेध गर्दै तिनीहरुको सेवा गर्ने भनिएको छ।
ब्राह्मण ग्रंथहरुमा मनुष्य र मनुष्येतर प्राणियहरु प्रति कर्तव्य पालन गर्ने आग्रह गर्दै पंचऋणको अवधारणामा नृऋण तथा भूतऋणको पनि उल्लेख गरिएको छ।
उपनिषदीय दर्शन (छांदोग्य, ३/१७) मा त झनै स्पष्टतः सदाचार विश्लेषणमा अहिंसा र दानशीलतालाई अत्यन्तै महत्त्व दिइएको छ। तैत्तिरीय उपनिषद (१/११) मा श्रद्धापूर्वक दान गर्ने निर्देशन गरिएको छ।
क्रमशः……
जीवनको नियम हो- अहिंसा:
ओ३म्….
जीवनको नियम हो- अहिंसा:
अहिंसाको दर्शन र व्यवहार आजको चरम आवश्यकता हो।निश्चयनै आज यसको प्रासंगिकता पूर्वकाल भन्दा अधिक छ ।जति वैयक्तिक, पारिवारिक, सामाजिक, राष्ट्रीय तथा अन्तर्राष्ट्रीय सबै स्तरमा घृणा र कलह व्याप्त छ, त्यति समरसताको लागि र मानव सहित समस्त जीवनरुपहरुको अस्तित्वका लागि एक शान्तिदायक र शमनकारी दृष्टिकोणको अत्यन्त आवश्यकता छ।साथै यस ग्रहलाई लालच, शोषण र अतिरेकपूर्ण दोहन बाट बचाउनको लागि अहिंसाले एक वैकल्पिक तथा स्थायी आर्थिक प्रतिरुप प्रदान गर्दछ।अहिंसाको एक अर्को मुख्य भूमिका पर्यावरणलाई अरु अधिक विकृति र विनाश हुन बाट बचाउनु हो । अहिंसा बाट पल्लवित अंतर्वैयक्तिक सम्बन्ध र सम्प्रेषणले जीवनमा सौहार्द र गुणवत्ता बढाउँछन् ।यो पनि ध्यातव्य छ कि जसरि विगत केहि शताब्दिमा जुन विज्ञानले जीव-हत्याका नयाँ-नयाँ उपकरणहरु आविष्कृत गरेर वैयक्तिक देखि वैश्विक स्तरमा हिंसालाई बढाउँदै गएको थियो, त्यहि अब अहिंसाको सर्वाधिक सबल अवधारणात्मक समर्थक भएर जुर्मुराउँदै छ।
सृष्टिको उत्पत्ति र मानव अवधारणाहरुमा अनेकौं भिन्नता हुँदाहुँदै पनि मनुष्य बाट जुन आचरणको अपेक्षा गरिन्छ, त्यसमा कुनै भेद छैन र यस आचरणको कसौटी नै अहिंसा हो।जसलाई प्रेम, करुणा, आनृशंस्य, अनुकम्पा, दया आदि नामहरुले व्यन्जित गरिएको छ।अहिंसा पदलाई निषेधात्मक भनिन्छ, जुन त्यो हो पनि तर आफ्नो अर्थ-व्याप्तिमा ऊ पूर्णतया सकारात्मक छ।
अस्तु..
नमस्ते…!
योगेश्वर श्रीकृष्ण एक महान व्यक्तित्व
ओ३म्
योगेश्वर श्रीकृष्ण एक महान व्यक्तित्व
आउनुहोस्, हामी पनि योगिराज श्रीकृष्णको महान चरित्रलाई जानेर आफ्नो जीवनमा अपनाउने संकल्प गरौँ:
🌷श्रीकृष्ण एक महान व्यक्तित्व🌷
(आर्य विचार)
*(१) जुवा विरोधी:-*
उनि जुवाको घोर विरोधी थिए। जुवालाई एक अत्यन्तै घृणित व्यसन मान्दथे। जब उनले काम्यक वनमा युधिष्ठिर संग भेट गरे तब युधिष्ठिरलाई भनेका थिए:-
आगच्छेयमहं द्यूतमनाहूतोsपि कौरवैः ।
वारयेयमहं द्यूतं दोषान् प्रदर्शयन् ।।-(वनपर्व १३/१-२)
अर्थ:- हे राजन् ! यदि म पहिले द्वारिकामा या उसको निकट हुन्थें भने तपाईहरु यस भारी संकटमा पर्नुहुने थिएन। म कौरवहरुको अनुमति बिना नै उक्त द्यूत-सभामा जाने थिएँ र जुवाको अनेकौं दोष देखाएर त्यसलाई रोक्ने पूरा चेष्टा गर्ने थिएँ।
*(२) मदिरा विरोधी:-*
उनि मदिरापानका घोर विरोधी थिए। उनले यादवहरुलाई मदिरापान गर्न प्रतिबन्ध लगाएका थिए र त्यसको सेवन गर्नेलाई मृत्युदण्डको व्यवस्था गरेका थिए।
अद्यप्रभृति सर्वेषु वृष्ण्यन्धककुलेष्विह ।
सुरासवो न कर्त्तव्यः सर्वैर्नगरवासिभिः ।।
यश्च नोsविदितं कुर्यात्पेयं कश्चिन्नरः क्वचित् ।
जीवन् स कालमारोहेत् स्वयं कृत्वा सबान्धवः ।।-(मुसलपर्व १/२९,३०,३१)
अर्थ:- आज देखि समस्त वृष्णि र अन्धकवंशी क्षत्रियहरुका यहाँ तथा कुनै पनि नगरवासीले सुरा र आसव तयार नगरुन्।
यदि कसैले लुकी-छिपी कहीं पनि मादक पेय तयार गर्दछ भने त्यो अपराधी आफ्ना बन्धु-बान्धवहरु सहित जिउंदै सूलीमा चढाइने छ।
*(३) गोभक्ति:-*
उनि गोभक्त थिए। ग्वालाहरुको उत्सवमा हलो र जुवाको पूजा हुने गर्दथ्यो। श्रीकृष्णले ग्वालाहरुलाई सम्झाएर भने कि अब तिमीहरु यसको स्थानमा गोपूजन गर। हाम्रा देवता त गौ हुन्, गोवर्धन पर्वत हैन। गोवर्धनमा घाँस हुन्छ। जसलाई खाएर गौ दुध दिन्छिन्। यसबाट हाम्रो गुजारा चल्छ। आऊ, गोवर्धन र गौको यज्ञ गरौँ। गोवर्धन यज्ञ यो हो कि उत्सवका दिन सारा बस्तीका मानिसहरु त्यहीं जाउँ। त्याहाँ होम गरौँ। ब्राह्मणहरुलाई भोजन दिउँ। स्वयं खाउँ र अरुलाई पनि खुवाउँ। यसबाट थाहा हुन्छ कि उनि परम गोभक्त थिए।
(४) *ब्रह्मचर्य पालक तथा एक पत्नि व्रत:-*
महाभारतको युद्ध हुनु भन्दा पहिले श्रीकृष्णले अश्वत्थामालाई भनेका थिए-
ब्रह्मचर्यं महद् घोरं तीर्त्त्वा द्वादशवार्षिकम् ।
हिमवत्पार्श्वमास्थाय यो मया तपसार्जितः ।।
समानव्रतचारिण्यां रुक्मिण्यां योsन्वजायत ।
सनत्कुमारस्तेजस्वी प्रद्युम्नो नाम में सुतः ।।-(सौप्तिकपर्व १२/३०,३१)
अर्थ:- * मैले १२ वर्ष सम्म रुक्मिणीका साथमा हिमालयमा बसेर घोर ब्रह्मचर्य पालन गर्दै सनत्कुमार समान तेजस्वी प्रद्युम्न नामक पुत्र प्राप्त गरें। विवाह पश्चात् १२ वर्ष सम्म घोर ब्रह्मचर्य धारण गर्नु उनको संयमताको एक महान् उदाहरण हो।*
यस्ता संयमी र जितेन्द्रिय पुरुषलाई कुत्सित मनोविकारी पुराणका रचनाकारहरुले कति बीभत्स र घृणास्पद बनाइदिए।
*(५) राधा को थीई?:-*
वृषभानोश्च वैश्यस्य सा च कन्या बभूव ह ।
सार्द्धं रायणवैश्येन तत्सम्बन्धं चकार सः ।।
कृष्णमातुर्यशोदाया रायणस्तत्सहोदरः ।
गोकोले गोपकृष्णांश सम्बन्धात्कृष्णमातुलः ।।-
(ब्रह्मवैवर्त पुराण प्रकृति खण्ड-४९/३२,३७,४०)
अर्थ:- राधा वृषभानु वैश्यकी कन्या थीइन्। रायण वैश्यका साथ उसको विबाह-सम्बन्ध गरिएको थियो। रायण यशोदामा सहोदर भ्राता थिए र कृष्णका मामा। राधा उसकी पत्नि थीई। अनि साइनोमा त राधा कृष्णकी माइजु पो ठहरीन्।
अब कुत्सित मनोविकार भएकाहरुले माइजु र भान्जा संगको प्रेम-व्यापार देखाउनु कहाँ सम्म उचित हो?
पुराणकारहरुले श्रीकृष्णको स्वरुपलाई बिगारेका छन्। बिडम्बना नै भनौं, उनीहरुले त्यस्तो पवित्र व्यक्तित्वलाई घृणित र बीभत्स बनाइदिए..?!
सदा सत्यलाई अपनाउने र असत्यलाई त्याग गर्ने साहस गरेर योगेश्वर श्री कृष्णको जन्मदिवसको पावन पर्व ‘जन्माष्टमी’ मनाऔं।
मेरा समस्त इष्ट-मित्र तथा बन्धु-बान्धवहरुलाई जन्माष्टमीको हार्दिक शुभकामना छ..!
वेदको सुखदायी तथा मोक्षमार्ग तिर लागौं..! अस्तु..
सबको मनमा अभय – वैदिक धर्मको जय..!
योगेश्वर महाराज श्री कृष्णको जय..!
धन्यवाद
नमस्ते।
योगेश्वर श्री कृष्ण र १६ कला तथा जन्माष्टमी
ओ३म्
योगेश्वर श्री कृष्ण र १६ कला तथा जन्माष्टमी:
इतिहासमा अनेकौं मनुष्यहरु उत्पन्न भए र गए पनि तर स्मरणमा भने केवल केहि विशिष्ठ गुण सम्पन्न मानिसहरु मात्र रहन्छन्। इतिहासमा केवल तिनीहरुको लागि नै स्थान हुन्छ जसले केहि अनौठो गर्दछन्। कसैले भने आँफै द्वारा गरिएको दुष्कार्यको परिणाम स्वरूप आफ्नो नाम इतिहासको कालो अध्यायमा दर्ता गर्दछन् भने कसैले आफ्ना सद्गुण, सुलक्षण तथा महान कर्तव्यले आफ्नो नाम इतिहासको सुनौलो पानामा अंकित गर्दछन्। त्यस्तै आज राम, कृष्ण र हनुमान जस्ता वीर तथा सुलक्षण नाम आफ्ना पुत्रको त जसले पनि राख्न चाहन्छ तर रावण, कंस आदि जस्ता दुराचारी र दुर्गुणिहरुको नाम भने आफ्ना पुत्रको लागि कसैले पनि राख्न चाहदैन। त्यसै कारणले राम, कृष्ण तथा हनुमान अमर छन् भने रावण तथा कंस आदि मृत छन्।
आर्यावर्तमा उत्पन्न भएका अनेकौं ऐतिहासिक महापुरषहरु मध्ये एक वीर महापुरुष, महाज्ञानी, वेदवेत्ता योगेश्वर श्री कृष्णको जन्म आजकै दिन भएको थियो। यो दिन जन्माष्टमीको नामले प्रसिद्ध छ। किनकि आज भाद्रपदको अष्टमी तिथि हो।
हामी मध्ये कै केहिले आफ्नो अज्ञानताको कारणले श्री कृष्णलाई पूर्ण अवतारी पुरुष मान्ने गर्दछन्। यहाँ हामी अवतारको अर्थ संक्षेपमा भन्न चाहन्छौं, “अवतार” को शाब्दिक अर्थ हुन्छ- “माथिबाट तल अवतरण गरेको या झरेको” र “पूर्ण” यस हेतुले भन्छन् कि जुन अधुरो नभएको र “पुरुष” शब्दको दुई अर्थ छन्:
- पुरुष सामान्य अर्थमा अल्पज्ञ र अल्पशक्तिमान जीवात्मालाई पनि भनिन्छ। र
- पुरुष शब्दको प्रयोग प्रसंग अनुसार सर्वज्ञ तथा सर्वशक्तिमान परमात्माको लागि पनि गरिन्छ जसले यो सम्पूर्ण ब्रह्माण्डको रचना, धारण र प्रलय आदि पुरषार्थ गर्ने गर्दछ।
हामी जस्ता सबै जीवात्माहरु जो यस धरतीमा र अन्य लोकलोकान्तरमा विचरण गर्दैछन् ति सब अवतारी हुन्। किनकि हामी सबै माथिबाट तल आएका हौँ। शरीर छोडेपछी आत्मा यमलोक- यम वायुको नाम हो अतः ईश्वरको सहायताले आत्मा वायुलोक अर्थात् अंतरिक्षमा जान्छ र त्यहाँबाट तल अवतरण गर्दछ। हामी मध्ये जो जो आत्माको उद्देश्य पूर्ण हुँदैन अर्थात मोक्ष ग्रहण गर्न योग्य गुणलाई धारण गर्न सक्दैनौं त्यसैले हामी आवागमन अर्थात् जन्म-मृत्युको चक्रमा फसिरहन्छौँ। अतः यहि कारण हो कि हामी अवतार हुँदा हुँदै पनि मृतप्रायः रहन्छौं अमर अर्थात् मोक्षत्व प्राप्त गर्न सक्दैनौं।
अब कुरो गर्दछौं श्री कृष्णलाई १६ कलाहरुले युक्त पूर्ण अवतारी पुरुष किन भनिन्छ भन्ने बारे। हाम्रा पौराणिक दाजु-भाइहरुले सर्वप्रथम यो तथ्यलाई राम्रो संग सम्झनु पर्दछ कि परमपिता परमात्मा जो पुरुष हो, त्यो अनेकौं कलाहरु र विद्याहरुले पूर्ण छ। तर जीवात्मा पुरुष अल्पज्ञ हुनाले केहि कलाहरुमा मात्र निपुण छ। यही एउटा सबभन्दा ठूलो कारण हो कि जीव कदापि कुनै पनि हालतमा ईश्वर हुन सक्दैन र त्यस्तो मान्नु पनि हुँदैन। किनकि ईश्वरका समस्त गुणहरुलाई आत्मसात गर्नु जीवको प्रमुख दायित्व हो त्यसैले योगिराज श्री कृष्णले योग र ध्यानको माध्यमले ईश्वरका यिनै १६ गुणहरु (कला) लाई प्राप्त गरेका हुनाले उनलाई १६ कलायुक्त पूर्ण अवतारी पुरुष भनिन्छ।
यी १६ कलाहरु यस प्रकार छन्:
इच्छा, प्राण, श्रद्धा, पृथ्वी, जल, अग्नि, वायु, आकाश, दश इन्द्रिय, मन, अन्न, वीर्य, तप, मन्त्र, लोक र नाम यी १६का स्वामीलाई प्रजापति भनिन्छ।
यी प्रश्नोपनिषदमा प्रतिपादित छन्।
योगेश्वर श्री कृष्णले योग र विद्याको माध्यमबाट यी १६ कलालाई आत्मसात गरेर धर्म र राष्ट्रको रक्षा गरेर आर्यवर्तका निवासिहरुका लागि उनि आदर्श महापुरष बने। ठीक त्यसै गरि जसरि उनि भन्दा पहिलेका अनेकौं महापुरषहरुले राष्ट्र, धर्म र मनुष्य जातिको रक्षा गरेका थिए। श्री कृष्णले आफ्ना उत्तम कर्म र योगको माध्यमले यी समस्त १६ गुणहरुलाई आत्मसात गरेर आत्माको उद्देश्य पूर्ण गरे त्यसैले उनलाई पूर्ण अवतारी पुरुषको संज्ञा अनेकौं विद्वानहरुले दिए तर कालांतरमा पौरणिकहरुले यिनलाई ईश्वरको नै संज्ञा दिएर उनीमाथि अन्याय तथा ईश्वरको अपमान गरिदिए जुन अत्यन्त खेदजनक छ।
ईश्वर र जीव अलग अलग कसरि हुन् भन्ने कुरो यहाँ सिद्ध गरिन्छ हेर्नुहोस्:
यस्मान्न जातः परोअन्योास्ति याविवेश भुवनानि विश्वा।
प्रजापति प्रजया संरराणस्त्रिणी ज्योतींषि सचते स षोडशी।
(यजुर्वेद अध्याय ८ मन्त्र ३६)
अर्थ : गृहाश्रमको इच्छा भएका पुरुषहरुले सदा जो सर्वत्र व्याप्त, सब लोकलोकान्तरको रचना र धारण गर्ने वाला, दाता, न्यायकारी, सनातन अर्थात सदा यस्तै बनिरहने, सत, अविनाशी, चैतन्य र आनंदमय, नित्य शुद्ध बुद्ध मुक्तस्वभाव र सब पदार्थहरुबाट अलग रहने वाला, सूक्ष्म भन्दा अतिसूक्ष्म र विशाल भन्दा अत्यन्त विशाल, सर्वशक्तिमान परमात्मा जसका समक्ष तथा जसको सामान कुनै पनि पदार्थ उत्तम छैनन्, त्यसैको उपासना गर्ने गर्नु।
यहाँ मन्त्रमा “सचते स षोडशी” पुरुषका लागि आएको छ, पुरुष जीव र परमात्मा दुवैलाई नै सम्बोधन छ र दुवैमा नै १६ गुण धारण गर्ने शक्ति छ तर ईश्वरमा यी १६ गुणका साथ अनेकौं विद्याहरु यथा: (त्रीणि) तीन (ज्योतिषी) ज्योति अर्थात सूर्य, बिजुली र अग्निलाई (सचते) सब पदार्थहरुमा स्थापित गर्दछ। यो काम जीव पुरुषको कदापि हुन सक्दैन। न त जीव पुरुषले गर्न नै सक्छ किनकि जीव अल्पज्ञ र परिछिन्न छ भने ईश्वर सर्वज्ञ र सर्वव्यापी छ। यहि हेतुले जीव पुरुष जो गृहाश्रमको इच्छा गर्ने वालालाई ईश्वरले १६ कलाले आत्मसात गरेर मोक्ष प्राप्तिका लागि वेद ज्ञान द्वारा प्रेरणा दिएको छ ताकि यो जीव पुरुषले उस परम पुरुषको उपासना गरिरहोस्।
ठीक त्यस्तै १६ कला पूर्ण अवतारी पुरुष योगेश्वर श्री कृष्णले उस सत, अविनाशी, चैतन्य र आनंदमय, नित्य शुद्ध बुद्ध मुक्तस्वभाव र सब पदार्थहरु बाट अलग रहने वाला, सूक्ष्म भन्दा अतिसूक्ष्म र विशाल भन्दा अत्यन्त विशाल, सर्वशक्तिमान, परम पुरुष परमात्माको उपासना गर्ने गर्दथे।
अब स्वयं सोचौं र विचार गरौँ त, जो पुरुष (जीव)ले यी १६ कला (गुण) लाई योग माध्यम द्वारा प्राप्त गर्न सफल भयो, के उसले ‘रास लिला’ गर्न सक्ला? के कुनै गोपिनीहरुका साथ अश्लील कार्य गर्न सक्ला? के कुनै कुब्जाका साथ समागम गर्न सक्ला? के आफ्नी पत्नी (रुक्मिणी) का अतिरिक्त कुनै अन्य स्त्री (राधा) का साथ सम्बन्ध बनाउन सक्ला? के कुनै अश्लीलता पूर्ण कार्य गर्न सक्ला? अहँ, कदापि गर्दैन किनकि जसले यी कला (गुण) हरुलाई आत्मसाथ गर्दछ तब मात्र ऊ पूर्ण मानिन्छ र जसले यी १६ कलाहरु अपनाए पछी पनि यस्ता लज्जाजनक कार्य गर्दछ भने त्यसलाई कामी तथा निर्लज्ज पुरुष नै भनिन्छ; पूर्ण अवतारी पुरुष हैन।
त्यसैले श्री कृष्णको सच्चा स्वरुप अपनाएर आफ्ना बालबालिकाहरुलाई पनि श्री कृष्ण जस्तो वैदिक धर्मी बनाउने प्रण गरौँ।
योगेश्वर महाराज श्री कृष्णको जय..!
धन्यवाद
आउनुहोस्, हामी पनि यी गुणहरुलाई अपनाएर श्री कृष्ण समान स्वयंलाई अमर गरौँ। हामीले कथंकदाचित १६ कला अपनाउन नसके पनि वेद पाठी भएर केहि उन्नति अवस्य गर्न सकौं।
सदा सत्यलाई अपनाउने र असत्यलाई त्याग गर्ने साहस गरेर योगेश्वर श्री कृष्णको जन्मदिवसको पावन पर्व ‘जन्माष्टमी’ मनाऔं।
मेरा समस्त इष्ट-मित्र तथा बन्धु-बान्धवहरुलाई जन्माष्टमीको हार्दिक शुभकामना छ..!
वेदको सुखदायी तथा मोक्षमार्ग तिर लागौं..! अस्तु..
सबको मनमा अभय – वैदिक धर्मको जय..!
नमस्ते।
निर्दोष पशु-पंक्षीहरुको रक्षा गरौँ
पशु-पंक्षीहरुको लाश खानेहरुलाई त के भनौं र खै..! तर
यदि हामी दया र करुणाका पूजारी हौँ भने अथवा हामी स्वयंलाई
सच्चा शाकाहारी या निरामिष भोजी सम्झन्छौं भने
एक पटक यो पढ्नुस् र मनन गर्नुस् ….!
ति निर्दोष तथा मूक पशु-पंक्षीहरुको विभत्स तरिकाले हत्या गरेर बनाइन्छ सयौं वस्तु जो हामीले सोंच्नै सक्दैनौं तर अन्जान मै ति वस्तु प्रयोग पनि गरेकै छौं..!
अधिक जानकारीका लागि राजीव दीक्षितको भिडियो हेर्न यो लिंकलाई खोल्नुहोला:
मांसाहारी राक्षसहरुको क्षुधा तृप्तिका लागि नै संसारमा दैनिक करोडौं पशु-पंक्षीहरुको विभत्स तरिकाले हत्या गर्ने गरिन्छ। जसमा गाई, गोरु भैंसी, उँट, राँगा, सुँगुर, बंगुर, भेडा, च्यांग्रा, बाख्रा, खसी-बोका आदि प्रमुख हुन्। कुखुरा, हाँस लगायत अन्य पंक्षीहरु तथा समुद्री जीव कति काटिन्छ, मारिन्छ त्यसको कुनै अनुमान गर्न सकिन्न !
यिनको निर्ममता पूर्वक हत्या गरेपछी सर्वप्रथम मासुको व्यापार हुन्छ जुन ति हत्याराहरुलाई प्रश्रय दिने काम मांसाहारी दानवहरुले गर्दछन्। मासु वाहेक अर्को वस्तुको व्यापार हुने गर्दछ, त्यो हो- तेल (बोसो) जसलाई टेलो (tallow) भनिन्छ। गाईको बोसोबाट निस्कने तेल लाई बीफ टेलो (beef tallow) र सुँगुर तथा बंगुरको बोसोबाट निस्कने तेललाई पोर्क टेलो (pork tallow) भन्ने गरिन्छ।
यो तेल ति क्रीम बनाउने कंपनिहरु द्वारा खरीद गरिन्छ र यहि तेलको सबभन्दा अधिक उपयोग अनुहारमा लगाउने तथाकथित् शौन्दर्य क्रीम बनाउनमा हुन्छ जस्तै- फेयर एण्ड लव्ली (Fair & Lovely) फेयर एण्ड हेण्डसम (fair and handsome), पोन्ड्स (Ponds), ईमामी (Emami) इत्यादि। एक पटक स्व. राजिव दीक्षित ज्यूले भारतको मद्रास उच्च न्यायालयबाट उक्त विदेशी कंपनी fair and lovely का विरुद्ध मुद्दा जित्नु भएको थियो जसमा कंपनीले स्वयं स्वीकार गरेको थियो कि यस fair and lovely क्रिममा सुँगुर तथा बंगुरको बोसो बाट बनाइएको तेल मिलाइन्छ।
मासु र बोसो (तेल) पछी अर्को वस्तुको व्यापार हुन्छ, त्यो हो- रगत। ति वधशालामा कसाईहरुले गाई लगायत अन्य पशुहरुलाई पहिले पछाडिका खुट्टामा रसिले बाँधेर उल्टो मुखी झुन्ड्याउँछन् अनि फेरी तेज धार भएको छुरीले उनको घाँटी रेट्छन् र एक दम संग रगतको भल्को बग्न थाल्छ, तल राखिएको ड्रममा उक्त रगत जम्मा गरिन्छ र बेचिन्छ।
यहि रगतको सबभन्दा धेरै प्रयोग गर्ने गरिन्छ अँग्रेजी (एलोपेथि) औषधि बनाउनमा, त्यसपछि लिपिस्टिक तथा नङ पालिश बनाउनमा र अनि चिया बनाउनमा पनि प्रयोग गरिन्छ। गाई, गोरु, बहर, साना बाच्छा-बाच्छी र माछा आदिको शरीरबाट निस्केको रगतबाट एउटा औषधि बनाइन्छ त्यसको नाम हो- डेक्सो रेन्ज (Dexorange)। अत्यन्तै प्रसिद्ध औषधि हो यो डाक्टरहरुले यसलाई रगतको कमि भएका महिलाहरुको लागि दिने गर्दछन्। खासगरेर जब महिलाहरु गर्भावस्थामा हुन्छन्। किनकि त्यसबेका उनीहरुको शरीरमा रगतको कमी हुन्छ र डाक्टरहरुले तिनीहरुका लागि त्यहि जनावरहरुको रगतबाट बनेको औषधि (सिरप) नै लेख्ने गर्दछन्, कारण डाक्टरलाई ति औषधि कंपनिहरु बाट ठूलो धनराशी कमीशनको रुपमा प्राप्त हुने गर्दछ।
उक्त रगतको अर्को उपयोग केहि कम्पनिहरुले लिपिस्टिक र नङ पालिश बनाउनमा पनि गर्दछन्। त्यस पछी रगतको अर्को उपयोग चिया बनाउनमा निक्कै कंपनिहरुले गर्दछन्। चिया एक वनस्पति बाट प्राप्त हुने उत्पादन हो। र चियाको बुटो त्यति ठूलो पनि हुँदैन। यसका कलिला पात र मुन्टाहरु नै वास्तवमा चिया बनाउन प्रयोग गरिन्छ। पात र मुन्टा टिपेर सुकाएर डिब्बामा भरेर बेचिन्छ। यो भयो चियाको सुद्ध रुप..!
चियाको बुटो बाट ति कलिला पात र मुन्टा बाहेक छिप्पिएका र भुइँमा खसेका पात पनि हुन्छन्। यी चिया हैनन्। चिया त त्यहि माथिको कलिला पात र मुन्टाबाट मिर्मित मात्र हो। तर चिया कम्पनिहरुले मुनाफा कमाउनको लागि ति छिप्पिएका र भुइँमा खसेका पातलाई पनि बटुलेर चिया जस्तै बनाएर बेच्ने गर्दछन्। यदि ति पातहरुलाई सुकाएर धुलो पारी पानीमा पकाउने हो भने चिया जस्तो रङ आउँदैन। तर ब्रूक बोन्ड (Brookbond) र लिप्टन (Lipton) जस्ता बिदेशी कम्पनि हरुले जनावरहरुको रगत यसमा मिलाएर बेच्ने गर्दछन्। जसलाई धुलो चिया (tea dust) भनिन्छ।
मासु, बोसो, र रगतको व्यापार पछी अर्को ठूलो व्यापार हुन्छ- हड्डीको। वधशालामा पशुहरुको हत्या गरेर मासु निकाली सकेपछी हड्डी जम्मा गरिन्छ। त्यसलाई सुकाइन्छ र बोन क्रेसर मशीनमा हालेर यसलाई धुलो बनाइन्छ। यो धुलो दन्त मन्जन बनाउनका लागि कल्गेट (colgate) क्लोजअप (close up), पेप्सोडेन्ट (pepsodent) सिबाका (cibaca) आदि कम्पनिहरुले खरिद गर्दछन्। शेभिंग क्रिम बनाउने अधिकांश कंपनिहरुले पनि यसको प्रयोग गर्दछन्। आजभोलि यहि हड्डिको धुलो टेल्कम पाउडर बनाउनमा पनि प्रयोग गरिन्छ। मानिसहरुले नुहाई सकेपछी यसको प्रयोग गर्ने गर्दछन्। त्यसो त टेल्कम पाउडर पत्थरको धुलो बाट बन्छ तर हड्डीको धुलो सस्तो पर्ने भएको हुनाले पथरको प्रयोग कमै मात्रामा हुने गर्दछ। पत्थरको धुलो १००-१५० रुपैया प्रति किलो पर्दछ भने हड्डीको धुलो ४०-५० रुपैयाँ प्रति किलोमा पाइन्छ। त्यसैले सबै कम्पनिहरुले हड्डीको धुलो नै प्रयोग गर्दछन्।
मासु, बोसो, रगत र हड्डीको व्यापार पछी अर्को सबभन्दा ठूलो व्यापार हुन्छ छालाको। छालाको प्रयोग धेरै जसो क्रिकेटको बल बनाउन गरिन्छ। यो प्रायः रातो रङको हुन्छ तर आजभोली सेती रङको पनि आउन थालेको छ। यो सब गाईको छालाबाट नै बनाइन्छ। यसमा सबभन्दा बढी साना बाच्छा-बाच्छीको छाला प्रयोग गरिन्छ। क्रिकेट त सानो हुन्छ, तर त्यो भन्दा ठूलो हुन्छ फूटबल, यसमामा पनि गाईको छाला प्रयोग गरिन्छ। यस बाहेक बढी मात्रामा छालाको प्रयोग जुत्ता-चप्पल, पेटी, कमर-बन्द, मनिब्याग (पर्स), झोला, टोपी, ज्याकेट, पन्जा आदि बनाउनमा हुने गर्दछ। यी मध्ये सबभन्दा नरम वस्तु यदि कुनै छ भने त्यो १००% गाई र त्यसको बाच्छा-बाच्छीको छालाबाट बनेको हो। यदि कुनै कडा छ भने त्यो उँटको छाला बाट बनेको हुन्छ। यसमा बाख्रा-भेडाका साना-साना पाठा-पाठी र कुकुरको छाला पनि प्रयोग गरिन्छ।
हाम्रो सनातन वैदिक संस्कृतिमा गौपालन गर्ने र तिनबाट प्राप्त पाँच वस्तुहरु- दुध, दहि, घिउ, गोबर र मूत्र जसलाई पन्चगव्य भनिन्छ, यसैको सेवन तथा प्रयोग गरेर स्वस्थ तथा सम्वृद्ध संसारको परिकल्पना गरिएको थियो। तर विडम्बना नै भन्नुपर्छ कि आज यसरि गाई तथा अन्य समस्त उपयोगी जनावरहरुको जीवन समाप्त गरेर पाइने पाँच वस्तुहरुको अधिक प्रयोग भैरहेको छ, यो मानव सभ्यताको कलंक नै भनौं। ति पाँच वस्तु यसप्रकार छन्:
१- मासु: जुन मांसाहारी राक्षसहरुले आफ्नो क्षुधा पूर्ति गरेर शरीर रोगि, मन तथा वुद्धि भ्रष्ट गर्दछन् !
२- बोसो: यसको तेल निकालेर विविश शौन्दर्य प्रसाधनका वस्तु निर्माण गर्न प्रयोग गर्ने गर्दछन् !
३- रगत: अनेकौं अँग्रेजी (एलोपेथी) औषधि बनाउन, चिया बनाउन, नङ पालिश र लिपिस्टिक आदि बनाउन प्रयोग गर्दछन्।
४- हड्डी: यसको धुलो बनाएर दन्त मन्जन, शेभिंग क्रिम, र टेलकम पाउडर बनाउन प्रयोग गर्दछन्।
५- छाला: यसको प्रयोग क्रिकेटबल, फूटबल, जुत्ता-चप्पल, पेटी, कमर-बन्द, मनिब्याग (पर्स), झोला, टोपी, ज्याकेट, पन्जा आदि बनाउनमा प्रयोग गर्दछन्।
यी बाहेक गाईको शरीर भित्रका केहि भाग छन् जसको निक्कै प्रयोग हुन्छ, जस्तै- ठूलो आन्द्रा, गाईलाई काटेर यसको ठूलो आन्द्रा अलग निकालिन्छ र यसलाई कुटेर जिलेटिन बनाइन्छ। यसको अधिक प्रयोग आइसक्रीम, चकलेट, मेगी, पिजा, बर्गर, हटडग, चाउमिनलाई स्वादिष्ट बनाउन हालिने एक वस्तु (base material) आदि बनाउनमा अत्यधिक प्रयोग हुन्छ। आजभोली मिठाइ मा चाँदी तथा स्वर्णको वर्क लगाइन्छ, त्यो पनि यहि गाईको आँतबाट तयार पारिन्छ, त्यहि वर्क लगाइएको मिठाई हिन्दु देवी-देवताहरुका मन्दिरमा चढाइन्छ र पण्डित-पूजारी लगायत सबैले भगवानको प्रसाद मानेर खुब संग खाने गरिन्छ, छैन त आश्चर्य…! र एउटा जेली पाइन्छ बजारमा रातो सुन्तले रङको त्यसमा जिलेटिनको निक्कै प्रयोग हुन्छ। एलोपेथि औषधि जुन केप्सुल मा पाइन्छ, त्यो केप्सुल पनि जिलेटिनबाट नै बन्छ, आजभोली जिलेटिनको उपयोग साबूदानामा पनि हुन थालेको छ जुन सनातन धर्मी हिन्दुहरुले उपवासको समयमा खाने गर्दछन्, यस्ता वस्तु सेवन गरेर हामी स्वर्गको कामना गर्न सक्छौं?
बजारमा पाइने पनिर पनि अछुतो छैन, हामीले जुन पनीर बजार बाट किनेर खाने गर्दछौं, त्यो त्यति विश्वसनीय र भर पर्दो हुँदैन। किनकि दुध फटाएर पनीर बनाउने जुन सबभन्दा सजिलो र सफल रसायन छ, जसको प्रयोग अधिकांश व्यवशायिक मानिसहरुले गर्ने गर्दछन् त्यो वास्तवमा कुनै रसायन न भएर गाईको नवजात शिशुको पाचन तन्त्र हो। यदि हामीले पनीर बनाउनको लागि दुधमा अमिलो रस, टाटरी या साइट्रिक अम्लको प्रयोग गर्यौं भने दुध त्यति सजिलो संग फाट्दैन जति सजिलै संग त्यस अन्जान रसायन (बाच्छाको आँत) बाट फाट्छ। फेरी घरेलू पनीर अलि अमिलो पनि हुन्छ। बजारको पनिरको तुलनामा सिघ्र अमिलो या खराब पनि हुन्छ। यस रसायनको परिचय यहि हो कि पनीर सिघ्र खराब या अमिलो हुँदैन। र हाम्रो सबभन्दा ठूलो समस्या यहि हो कि कुनै पनि प्रयोगशालाको परिक्षण बाट पनि पत्ता लगाउन सकिन्न कि यो पनीर बनाउनको लागि गाईको शिशुको आँत प्रयोग गरिएको हो। किनकि गाईको शिशुको आँत दुध फाटे पछी पनीर देखि अलग भएर पानीमा मिसिएर जान्छ। यसको निक्कै अल्प अंश मात्र पनीरमा बच्छ। त्यो पानी जुन दुध फाटे पछी निस्कन्छ, त्यसलाई बिदेशमा मोहीको रुपमा विविध नामले बेच्दछन्, जस्तै अरब देशहरुमा ‘लेबन’ तथा अन्य देशमा ‘Whey’। प्रवासी भाई-बन्धुहरु, कृपाया यो विदेशी मोही भयङ्कर दुषित तथा असुद्ध छ यसलाई गलतिले पनि कदापी खाने नगरौं। त्यसैले बजारमा पाइने पनीर बाट पनि सावधान रहौं। दुध, क्रीम, मक्खन, दही तथा दही झैं दुध बाट बनेका (अमिला) उत्पादनहरुका अतिरिक्त विदेशमा बिक्रि भैरहेका लगभग सम्पूर्ण अन्य दुग्ध-उत्पादनहरु मांसाहारी छन्। धेरैजसो मरगारीन (Margarine) पनि मांसाहारी नै छन्। यी जति पनि वस्तुहरु छन् ति सब जनावरहरुको निर्मम तथा विभत्स हत्या गरेर बनाइन्छ। र हामीहरुले अज्ञानवश यी समस्त वस्तुहरु मध्ये केहि न केहिको प्रयोग आफ्नो जीवनमा गरिरहेका छौं। र हामीहरु मध्ये केहि जसले स्वयंलाई सनातन वैदिक धर्मी तथा १००% हिन्दु भन्न गर्व गर्दछौं भने कसैले आँफूलाई शाकाहारी तथा निरामिष भोजी भनेर सन्तोष गर्दछौं, तर हामीहरुले कहीं न कहीं यस्ता खाले वस्तुहरुको प्रयोग गरेर आफ्नो धर्म भ्रष्ट गर्दै छौं।
त्यसैले यस्ता वस्तुहरुको प्रयोग गर्न छोडौं र हाम्रो स्वभाव दया तथा करुणाको परिचय दिएर मानव सभ्यताको रक्षा गरौँ..! यदि कुनै पशुको कालगतिले मृत्यु भएको छ र त्यसको छालाबाट कुनै वस्तु गाउँ-घर मै निर्माण गरिन्छ भने त यसमा कुनै दोष आउँदैन, नत्र ईश्वरीय दण्डको भागि बन्नेछौं..!
आफ्नो धर्म भ्रष्ट हुनबाट बचौं र अरुलाई पनि बचाउँ। जीवनमा एउटा कुरा सदा स्मरण गर्नुहोला संचार माध्यममा देखाइने झुटा तथा अर्धसत्य विज्ञापन हेरेर आफ्नो घरमा कुनै पनि वस्तु किनेर नल्याउँ र व्यक्तिगत रुपमा पनि त्यस्ता वस्तुको प्रयोग गर्न छोडौं। यो विज्ञापनमा सबभन्दा ठूलो धोका छ। जस्तै- चकलेटको विज्ञापन आउँछ केडबरी, नेस्ले आदि, कोक पेप्सीको आउँछ, फेयर अन्ड लव्ली आदि क्रिमहरु। कल्गेट, क्लोजअप, पेप्सोडेन्ट आदि।
तपाइँहरु सब आफ्नो दिमागले काम गर्नुस्, यी सब वस्तुबाट बच्नुस र आफ्नो परिवारलाई पनि बचाउनुहोस। किनकि विज्ञापन तिनै वस्तुहरुको देखाइन्छ जसको कुनै गुणस्तर नै हुँदैन। गाईको सुद्ध घिउ, सुद्ध मह बिना विज्ञापन नै बिक्छ, नीमको दतिउन बिना विज्ञापन बिक्छ, उखुको रस, गुड बिना विज्ञापन बिक्छ।
विज्ञापनको एउटा सिद्धान्त छ, त्यो हो टाउको खुइलेको व्यक्तिलाई पनि काईयो बेच्ने। एउटा कुरालाई पटक-पटक, पटक-पटक लगातार देखाएर तपाइको दिमागलाई नियन्त्रण गर्नु। ताकि तपाइँले त्यो हेरी-हेरी, सुनी-सुनी एक दिन न एक दिन त त्यसलाई आफ्नो घरमा उठाएर ल्याउनु हुनेछ।
धन्यवाद !
नमस्ते….!
-(प्रेरणा स्रोत: स्व. राजिव दीक्षित ज्यू)
आत्मा के हो ?
ओ३म्..
अध्यात्मवाद
आत्मा के हो र परमात्मा के हो?
यी दुवैको आपसमा सबन्ध के छ?
आत्मा के हो, परमात्मा के हो र यी दुवैको आपसमा सबन्ध के छ? यहि विषयको नाम अध्यात्मवाद हो। आत्मा र परमात्मा दुवै भौतिक पदार्थ हैनन्। यिनलाई आँखले देख्न सकिदैन, कानले सुन्न सकिन्न, नाकले सुँघ्न सकिन्न, जिब्राले चाख्न सकिन्न र छालाले छुन पनि सकिन्न।
परमात्मा केवल एक छ, ऊ अनेक छैन । ईश्वरका गुण-कर्म-स्वभाव अनुसार अनेकौं नाम छन्। ब्रह्मा, विष्णु, महेश आदि पनि त्यसैका गुणवाचक नाम हुन्। (“एकं सद्विप्रा बहुधा वदन्ति” ऋग्वेद: १/१६४/४६) अर्थात्, एक परमात्मा शक्तिलाई नै विद्वानहरुले अनेकौं नामले पुकार्ने गर्दछन्। संसारमा जीवधारी प्राणीहरु अनन्त छन्, त्यसैले आत्मा पनि अनन्त नै छन्। न्यायदर्शन: १/१/१० अनुसार: “इच्छाद्वेषप्रयत्न-सुखदुःखज्ञानान्यात्मनो लिङ्गम्” ज्ञान, प्रयत्न, इच्छा, द्वेष, सुख, दुःख यी आत्माका लिङ्ग (लक्षण या गुण) हुन्, यी लक्षण या गुण जसमा हुन्छन्, त्यसमा आत्मा छ। ज्ञान र प्रयत्न आत्माका स्वाभाविक गुण हुन्, बाँकी चार गुण यसमा शरीरको मेलबाट आउने गर्दछन्। आत्माको उपस्थितिका कारणले नै यो शरीर प्रकाशित छ, नत्र मुर्दा अप्रकाशित र अपवित्र छ। यो संसार पनि परमात्माको विद्यमानताको कारणले नै प्रकाशित छ।
आत्मा र परमात्मा दुवै अजन्मा तथा अनन्त छन्। यिनको कहिल्यै जन्म हुँदैन र कदापि मृत्यु पनि हुँदैन, यी सदा रहन्छन्। यिनलाई बनाउनेवाला कोहि छैन। आत्मा परमात्माको अंश पनि हैन। प्रत्येक आत्माको एक अलग र स्वतन्त्र सत्ता छ।
आत्मा अणु हो, अत्यन्त शूक्ष्म तथा परिछिन्न। परमात्मा आकाश सरह सर्व व्यापक (विभु) छ। आत्माको ज्ञान सीमित छ, परिमित छ। परमात्मा सर्वज्ञ छ, उसले सबथोक जान्दछ उसको ज्ञान अपरिमित छ। जे भइसक्यो, जे हुँदैछ र जे हुनेछ सबै उसको संज्ञानमा छ। अन्तर्यामी हुनाले उसले सबैको मनमा के छ भन्ने पनि जान्दछ। आत्माको शक्ति अल्प सामर्थ्य छ, तर परमात्मा सर्वशक्तिमान छ। सृष्टिलाई बनाउनु (रच्नु), चलाउनु (पालन गर्नु) र प्रलय (नाश) गर्नु आदि आफ्ना समस्त काम गर्नमा परमात्मा समर्थ छ। सन्देश वाहक, कटुवाल, अवतार आदि नामले कुनै अभिकर्ता या प्रतिनिधि तथा दलाल ईश्वरले राखेको छैन उसलाई यसको आवश्यकता पर्दैन। ईश्वरले यस्ता समस्त काम स्वयं भित्रैबाट गर्दछ किनकि उस भन्दा बाहिर केहि पनि छैन। ईश्वरले जे गर्दछ त्यो हात-खुट्टा कर्मेन्द्रियको सहायताले गर्दैन किनकि उसका यी अङ्गहरु नै छैनन्। उसले सबै इच्छा मात्रले गर्दछ।
ईश्वर आनन्द स्वरूप छ। ऊ सदा एकरस आनन्दमा रहन्छ। उसले कसै संग राग-द्वेष गर्दैन। ऊ काम, क्रोध, लोभ, मोह, अहंकार देखि पर छ। ईश्वरको उपासना गर्नाले अर्थात् उसको समीप जानाले आनन्द प्राप्त हुन्छ, जस्तै जाडोमा अग्निको समिपमा जाँदा सुख प्राप्त हुन्छ। ईश्वर निराकार छ। उसलाई शुद्ध मनले जान्न सकिन्छ, जस्तै- हामीले सुख-दुःख आदि मनमा अनुभव गर्दछौं।
आत्माले ईश्वर र प्रकृतिको सहायता बिना केहि गर्न सक्दैन, यो सदा मूर्छित अवस्थामा रहन्छ, आत्मा जब मनुष्य शरीरमा हुन्छ, तब मात्र कार्य गर्नमा स्वतन्त्र र सक्षम रहन्छ। यहि शरीरमा रहेको समयमा गरिएका कार्यहरुका अनुसार नै उसलाई परमात्माले सुख, दुःख तथा पुनर्जन्म दिन्छ। अन्य योनिहरु या त कुनै अरुको आदेशमा चल्छन् या स्वभावले काम गर्दछन्। उनमा विचार शक्ति हुँदैन, त्यसैले ति योनिहरुमा गरिएका शुभाशुभ कर्मको फल प्राप्त हुँदैन। ति केवल भोग योनि हुन् जुन पूर्वजन्ममा गरिएका कर्मको फल भोग्दैछन्। मनुष्य योनिमा कर्म र भोग दुवैको मिश्रण छ। मनुष्यले स्वतन्त्र रूपमा कर्म पनि गर्दछ र कर्मफल पनि भोग्दछ।
म निराकार, निर्विकार आत्मा हुँ, शरीर हैन। शरीर मेरो संसारमा व्यवहार गर्ने साधन हो। कर्ता र भोक्ता म नै हुँ, सुख-दुःखको अनुभव मलाई नै हुन्छ।
जीवात्मा न स्त्रीलिङ्गी हो, न पुलिङ्गी हो र न नपुंसक हो। यसले जस्तो शरीर पाउँछ, त्यसै अनुसार चिनिन्छ।
नैव स्त्री न पुमानेष न चैवायं नपुंसकः।
यद्यच्छरीरमादत्ते तेने तेने स युज्यते॥ (श्वेताश्वतर उपनिषद्:५/१०)
ईश्वरको पूजा मनुष्यहरुको पूजा अर्थात सेवा सत्कार गरे सरह गरिन्न । ईश्वरको आज्ञा पालन अर्थात सत्य र न्यायको आचरण गर्नु नै ईश्वरको पूजा हो।
कठोपनिषदमा मनुष्य-शरीरको तुलना रथ संग गरिएको छ:
आत्मानं रथिनं विद्धि शरीरं रथमेव तु।
बुद्धिं तु सारथिं विद्धि मन: प्रग्रहमेव च।।
इन्द्रियाणि हयानाहुर्विषयांस्तेषु गोचरान्।
आत्मेन्द्रियमनोयुक्तं भोक्तेत्याहुर्मनीषिणः।।
(कठोपनिषद: १/३/३-४)
शरीर रथ हो, आत्मा रथको स्वामी अथवा रथी हो, बुद्धि सारथि हो र मन लगाम हो। श्रोत्रादि इन्द्रियहरु घोडा हुन्। शब्द स्पर्शादि विषय नै यिनी दौड्ने मैदान हो र शरीर, इन्द्रिय तथा मनले युक्त आत्मालाई भोक्ता भनिन्छ।
घोडाले रथ चल्छ तर त्यस रथलाई चाहे अनुसार जता पनि लैजाने काम हातमा लगाम समातेको बुद्धिमान सारथीको हो। इन्द्रिय रूपी बलवान र प्रमथनकारी घोडा विषयरूपी मैदानमा मनपरी दौड्न चाहन्छन्, तर यदि बुद्धि रूपी सारथीले मनरूपी लगामलाई खिचेर उनलाई आफ्नो वशमा राख्छ भने घोडाको त्यति ताकत छैन कि ति मनरूपी लगामको सहारा बिना नै मनपरी दौड्न सकुन्। यदि मन उनको साथमा छ भने मात्र इन्द्रियहरुले वास्तवमा विषय रसलाई ग्रहण गर्न सक्छन्। घोडा त्यतै तिर दौड्छन् जता तिर लगामको सहारा हुन्छ, तर यो लगामलाई ठीक राख्नु बुद्धिमान सारथीको बल, बुद्धि र मार्गको ज्ञानमा निर्भर गर्दछ।
यदि बुद्धि रुपी सारथी विवेकपूर्ण स्वामीको आज्ञाकारी, लक्ष्यमा सदा स्थिर, बलवान र इन्द्रिय रूपी अश्व संचालन क्रियामा निपुण छैन भने इन्द्रियरूपी दुष्ट घोडाहरु उनको वशमा नरहेर लगामलाई आफ्नो वशमा गर्दछन् र रथ, रथी र सारथी सहितलाई ठूलो खाडलमा खसाल्दिन्छन्। तर विवेकी र बुद्धिमान, तथा जसको मन एकाग्र र समाहित हुन्छ, उसका इन्द्रियहरु उत्तम घोडा सरह सारथीको वशमा रहन्छन् । मनुष्य शरीरमा आत्मा रथी हो। जब आत्मा यसबाट निस्केर जान्छ तब शरीर अरथी मात्र रहन्छ।
परमात्मा हामी सबको माता, पिता, गुरु तथा मित्र हो। उसले हामी सब प्राणिहरुको भलो चाहन्छ। जब हामीले कुनै शुभ कर्म गर्न थाल्छौं तब हामीलाई जुन आनन्द, उत्साह र निर्भयता महसूस हुन्छ, त्यो परमात्माको तर्फबाट हुन्छ, र जब कुनै अशुभ कर्म गर्न थाल्छौं तब हामीलाई भय, शंका, लज्जा महसूस हुन्छ, त्यो पनि परमात्माको तर्फबाट नै हुन्छ। अस्तु…!
नमस्ते…!
विश्वशान्ति केवल वेद द्वारा मात्र सम्भव छ
ओ३म्
विश्वशान्ति केवल वेद द्वारा मात्र सम्भव छ:
लेखक: विवेक आर्य
अनुवाद: प्रेम आर्य
आउनुहोस्, वेदका केहि मन्त्रहरुको अवलोकन गरौँ, यसमा कस्ता कस्ता दिव्य भावनाहरु छन्:-
अज्येष्ठासो अकनिष्ठास एते सं भ्रातरो वावृधुः सौभगाय ।
॥ऋग्वेद ५/६०/५॥
अर्थ:- ईश्वरको आदेश छ कि हे मनुष्यहरुहो! तिमीहरुमा कुनै ठूलो-सानो तथा उंच-निचको भेदभाव छैन, तिमीहरु सब भाइ-भाइ हौ। सौभाग्य प्राप्तिका लागि परस्पर मिलेर प्रयत्न गर्दै अघि बढ।
ईश्वरले यस मन्त्रमा समस्त मनुष्यको लागि समानताको उपदेश दिएको छ। यसका साथै साम्यवादको पनि स्थापन गर्दैछ।
वेदको आधारमा व्यक्ति, पारिवार, समाज, राष्ट्र तथा अखिल विश्वको उत्थान कसरि गर्न सकिन्छ?
अथर्ववेदको तेस्रो काण्डको तीसौं सूक्तमा विश्वमा शान्ति स्थापनाको लागि जुन उपदेश दिइएको छ त्यो निक्कै अद्भूत छ। यी यस्ता उपदेश हुन् जुन उपदेश विश्वका अन्य कुनै मत-पन्थ-सम्प्रदायका साहित्यमा छैनन्।
(अथर्व वेद: ३/३०/१-६)
सहृदयं सांमनस्यमविद्वेषम् कृणोमि वः।
अन्यो अन्यमभि हर्यत वत्सम जातमिवाघ्न्या:।।१।।
अणुव्रत: पितुः पुत्रोमात्रा भवतु सम्मना।
जाया पत्ये मधुमतीं वाचं वदतु शान्तिवान्।।२।।
मा भ्राता भ्रातरं द्विक्षन्मा स्वसारमुत स्वसा।
सम्यंच सव्रता भूत्वा वाचं वदत भद्रया।।३।।
येन देवा न वियन्ति नो च विद्विषते मिथः।
तत्कृण्मो ब्रह्म वो गृहे संज्ञानं पुरुषेभ्यः॥४॥
ज्यायस्वन्तश्चित्तिनो मा वि यौष्ट संराधयन्तः सधुराश्चरन्तः ।
अन्यो अन्यस्मै वल्गु वदन्त एत सध्रीचीनान्वः संमनसस्कृणोमि ।।५।।
समानि प्रपा सह वोSन्नभागः समाने योक्त्रे सह वो युनज्मि।
सम्यंचोSग्निं सपर्यतारा नाभिमिवाभित:।।६।।
अर्थात, ईश्वरले उपदेश दिन्छ कि हे मनुष्य हो ! तिमीहरुलाई मैले एक समान हृदय र एक जस्तो मन भएको बनाएको छु। त्यसैले तिमीहरु आपसमा ईर्ष्या, द्वेष आदि खराबीहरुलाई छोड र वेदको पथिक भएर एकापसमा यस प्रकारले प्रेम तथा सद्व्यवहार गर जसरि रक्षा गर्न योग्य गौ ले आफ्नो बच्चा संग गर्दछ, उसले आफ्नो नवजात बाच्छाको शरीरको मयललाई जिब्राले चाटेर सफा गर्दछ र दुग्धपान गराएर पुष्ट गर्दछ। यसरि नै समाजको हर प्रकारले उन्नति हुनेछ।
कुलको उन्नति गर्ने र माता-पिता तथा देश-धर्मको रक्षक, दुःख सागर देखि पार लगाउने, संसारमा उनको नाम उज्ज्वल गर्ने, उत्तमाचरणवान, माता-पिताको अनुकूल, आज्ञाकारी, सेवाव्रतीले युक्त, समान मन भएको बन र पत्नीले पति संग सदा मधुर, प्रिय, कोमल, हितकर, शान्तिदायक वाणी बोल्ने गर्नु । हे गृहस्थहरु हो ! जुन व्यवहारले विद्वान्हरुमा परस्पर पृथक् भाव हुँदैन, र परस्पर द्वेष कदापि गर्दैनन्, त्यहि कर्म तिम्रो घरमा पनि निश्चित गर्दछु। पुरुषहरुलाई उत्तम प्रकारले सचेत गर्दछु कि तिमीहरु परस्पर प्रीति पूर्वक व्यवहार गरेर धनैश्वर्य प्राप्त गर। मान्यजनको मान राख्ने, उत्तम चित्त भएका, समृद्धि गर्दै र एक धुरी भएर हिँड, तिमीहरु अलग-अलग नहुनु, र एकार्का संग मनोहर वाणी बोल्दै जाऊ। तिमीहरुलाई साथ-साथ गतिवान र एक मन भएको मैले गराउँछु।
यस मन्त्रमा पनि आपसमा लडाई-झगडा नगर्ने र परस्पर मिलेर अघि बढ्ने, संवाद गर्ने तथा मिलेर ज्ञान प्राप्त गर्ने कुरो भनिएको छ।
सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् ।
देवां भागं यथापूर्वे संजानाना उपासते ।।-(ऋ० १०/१९१/२)
अर्थात्, आपसमा हातेमालो गर्दै परस्पर मिलेर प्रेम पूर्वक अघि बढौं, हाम्रो गति परस्पर विरुद्ध नहोस्, चित्त एकसमान होस्, जसरि हाम्रा विद्वान पूर्वज तथा ज्ञानीजन हरुले ईश्वरलाई जानेर उपासना गर्दथे, त्यसरी नै हामी पनि गर्ने गरौँ, ‘येन देवा न वियन्ति’ (देवहरुको परस्पर विरुद्ध गति हुँदैन)। हामीहरुमा परस्पर संवाद बनिरहोस्, विवाद त केवल मूर्खहरूले मात्र गर्ने गर्दछन्।
यस मन्त्रमा पनि वैचारिक र मानसिक एकताको कुरो गर्दै वेदले सन्देश दिएको छ कि-
समानी व आकूतिः समाना ह्रदयानि वः ।
समानमस्तु वो मनो यथा वः सुसहासति ।।-(ऋ. १०/१९१/४)
अर्थ:- हाम्रो संकल्प समान होस्, हाम्रो ह्रदय परस्पर मिलेको होस्, हाम्रो मन एक समान होस् हामीहरु आपसमा परस्पर मिलेर रहने गरौँ।
एकता तब मात्र हुन सक्छ जब हाम्रो सोंच र मन एक हुन्छ। वेदमन्त्रको माध्यमबाट यहि मानसिक एकतामा बल दिइएको छ। संगठन र एकताको यो दिव्य सन्देश केवल एक परिवार, समाज या एक देशका लागि मात्र नभएर यस धर्तीका समस्त वासिन्दाहरुका लागि दिइएको हो। यदि संसारका मानिसहरुले वेदको यो उपदेशलाई आफ्नो व्यवहारमा अपनाएर सबैले आ-आफ्नो आचरण देवानुकुल गर्ने हो भने जुन कारणले मनुष्यलाई मनुष्य देखि पृथक राखेको छ, त्यो सब दूर भएर यो संसार स्वर्ग झैं सुन्दर बन्न सक्छ।
वेद मार्फत नै विश्व शान्ति संभव छ। संसारका कुनै अन्य तथाकथित मत-पन्थ-सम्प्रदायका साहित्यले वेदको तुल्यता गर्न सक्दैनन्। वेदको सन्देश संकीर्णता, संकुचितता, पक्षपात, घृणा,जातीयता, प्रान्तीयता र साम्प्रदायिकता देखि कति उच्च छ..! त्यसैले आउनुहोस्, हामि सबै हातेमालो गर्दै सत्य सनातन वैदिक मार्गमा अघि बढौं..! अस्तु..
नमस्ते..
सत्य सनातन वैदिक धर्मको जय..!
कृण्वन्तो विश्वमार्यम्..!