ओ३म्..
(पूर्वभाग बाट क्रमशः)
यहाँ सम्म शालिग्राम शिला र एमोनाइटका जिवाश्मको लक्षणको समानताको बारेमा केहि कुरा भयो। प्राचिन कालमा मानिसहरुले कुनै दुर्लभ जीवजन्तुहरुको स्वरुपको रहस्यलाई देव-कल्पनाका साथ् जोड्ने गर्दथे; आज पनि केहिले यस्तै गर्ने गर्दछन्। केवल हिन्दु मात्र हैन, गैर हिन्दुले पनि यस्तो गर्ने गर्दछन् छन्। एमोनाइट नाम मिश्रका देवता “एमोन” बाट बनेको हो कि जस्तो छ। एमोन देवताको सिरको मुकुटमा भेडाको गोलो सिङ संग मेल खाने नदीमा पाइने एमोनाइटको जिवाश्मलाई पनि एमोन देवता संग जोडियो। प्राचिन कालमा शालिग्राम शिलाको पूजाको प्रचलन पनि केहि यस्तै मनोविज्ञानले काम गरेको हुन सक्छ। हुन त यसमा कुनै ठोश प्रमाण छैन किनकि यो अन्धविश्वास त लोकमतको विकासको साथ-साथ आएको हो; जसको कुनै ऐतिहासिक प्रमाण या दस्तावेजहरु भेटिन्नन् तर भेटिन्छन् त केवल धन देखेर राल टप्काउने पाखण्डी पण्डा-पुरोहितहरुका मिथ्या तथा अश्लिल कहानी मात्र।
नारायण शिलामा तुलसीको पात नै राखेर पूजा गर्ने जुन विधान बनाइयो, त्यो किन ? हुन त आयुर्वेदानुसार तुलसीमा असंख्य गुणहरु विद्यमान छन्। तुलसीको पात पकाएर खाँदा रुघा-खोकी-सर्दी भाग्छ, तुलसीको बिजबाट मुत्र सम्बन्धि तथा जननांग सम्बन्धि रोगको सफल उपचार हुन्छ, तुलसीमा किटाणु नाशक र बिष नाशक शक्ति विद्यमान छ। प्राचिन ऋषिमुनिहरुले तुलसीको अद्भुत गुण जानेर नै यसलाई एउटा सुरक्षा चक्रको रुपमा हरेक घरमा स्थापित गरेका थिए। त्यसैकारण हाल सम्म पनि सबैले यसको लाभ उठाउनका लागि भनेर आ-आफ्नो घरको अगाडी आँगनमा तुलसी लगाउने चलन जिवितै छ। तुलसीको यहि मङ्गलकारी गुणकै कारण सबैको मनमा तुलसी प्रति पूजनीय भाव आएको हुन सक्छ।
चाहे जेहोस्, एउटा शिला-खण्ड र तुलसी-पत्रको पूजालाई समाजमा प्रतिष्ठित गराउनका लागि तिनै धूर्त पण्डाहरुले “नारायण-तुलसी” कथाको रचना गरेर प्राचिन ऋषिमुनिहरुका मान्यता प्राप्त ग्रन्थहरुमा जबर्जस्ति कोचिदिए।
ब्रह्मवैवर्त पुरणबाट त्यस्तै एउटा प्रसिद्ध कथाको प्रसंग यहाँ दिएर लेखलाई विराम दिइनेछ: दैत्यराज शंखचुड एउटा अत्यन्त बलशाली योद्धा थियो। समस्त तथाकथित देवताहरु उसको डरले थरथरी काम्ने गर्दथे। देवताहरुको शंखचुडलाई मार्ने अनेकौं प्रयास असफल भएपछी नारायणले आफ्नो छल-बलको सहाराले उसलाई मारेर समुद्रमा फालिदिए। शंखचुडकी पत्नी तुलसी अत्यन्तै सुन्दर थिइन्। नारायण उनको रुपमा आसक्त थिए।
तर तुलसी जति सुन्दर थिइन्, त्यति नै पतिव्रता पनि थिइन्।जुन दिन उनको पतिलाई नारायणले छल गरेर मारे, त्यसै दिन तुलसीले आफ्नो पति फर्कने बाटो हेरेर बसिरहेकी थिइन्। शंखचुडलाई मारिसके पछी नारायणको मनमा पाप जाग्यो र उनले शंखचुडको जस्तै हुबहु रुप बनाइ तुलसीलाई भेट्न गए। सरल स्वभाव तथा निश्चल मन भएकी तुलसीले त्यो पापी तथा कपटी नारायणलाई नै आफ्नो पति मानेर आँफूलाई समर्पित गरिदिइन्। केहीबेर पछि देवताहरु संग भएको युद्धको वर्णन सुनाउने अनुरोध गरिन्। धुर्त नारायणले पनि झट्पट कुनै मनगढन्त कहानी सुनाए। जे कामका लागि नारायणले यो सारा छल-कपट गरेका थिए, त्यो पूर्ण सफल भयो। तुलसीका साथ छलपूर्वक रमण गरिसके पछी मात्र तुलसीलाई थाहा भयो कि यो आफ्नो पति नभएर कपटी नारायण हो। तुलसी नारायण प्रति अत्यन्त आक्रोशित भईन। आफ्नो छलको रहस्य खुले पछी नारायणले पनि सबै कुरो भन्न कर लाग्यो। दुःख र आक्रोशको पिडामा तुलसीले नारायणलाई पत्थर बन्ने श्राप दिइन्। नारायणले धृष्टताका साथ भने कि – देवी, तिम्रो श्राप-मोचनका लागि नै मैले यो सब गरेको हुँ। पूर्व जन्ममा तिमि गोलोककि लक्ष्मी र वृन्दावनकी राधा थियौ। सुदामाको अभिसापका कारण तिमिले यस मृत्युलोकमा जन्म लियौ; आज पुनः हाम्रो मिलन भयो। तिमीले मलाई पत्थर बन्ने श्राप दियौ तर फेरी पनि तिम्रो र मेरो साथ बनि नै रहने छ त्यसैले म पनि तिमीलाई यो अभिसाप दिन्छु कि तिमि एउटा वनस्पति बन्नेछौ र तिम्रो पात मेरो शरीरमा टाँसीनेछ। तब देखि आज सम्म नारायण शिला (शालिग्राम) मा तुलसीको पात राखिन्छ।
यो सबै किसिमको पाखण्ड छोडौं र वेदमार्गमा लागौं; यसैमा सबैको कल्याण छ। वेदमा सच्चिदानन्दस्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालु, अजन्मा, निर्विकार, अनन्त, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र तथा सृष्टिकर्ता ईश्वरको मात्र उपासना गर्ने विधान छ र यहि नै मान्न योग्य पनि छ। अस्तु..
नमस्ते..!
सत्य सनातन वैदिक धर्मको जय..!