ओ३म्..
शालिग्राम पत्थरको वैज्ञानिक रहस्य
आज हिन्दु समाज वैदिक मार्गबाट विचलित हुँदै मुख्यत: मूर्ति पूजक समाजको रुपमा स्थापित भइसकेको छ। साना-साना पत्थरहरुलाई ईश्वर समान मानेर पूज्ने देखि लिएर मन्दिरहरुमा अनेकौं स्वर्ण-मोती जडित ठूला-ठूला मूर्ति र त्यसको आधुनिक स्वरुप मुसलमानहरुको चिहान समेत पूज्य बनिसकेको छ।
कसैले मूर्तिलाई ईश्वरमा ध्यान केन्द्रित गर्ने साधन मान्दछ भने कसैले तर्क दिन्छ की प्राणप्रतिष्ठा गरे पश्चात ईश्वर स्वयं मूर्तिमा विराजमान हुन्छ। मेरो मनमा एउटा सानो शंका सदा रहन्छ की हिन्दुहरु माथि यत्रो अत्याचार हुँदा पनि मूर्तिमा विराजमान ईश्वर किन टुलु-टुलु हेरेर मात्र बसिरहन्छ? किन विधर्मीहरुको आक्रमण हुँदा आफ्नो समेत रक्षा गर्न सक्दैन? कि त पशुपतिनाथ र स्वयम्भूनाथ समसुद्दिन जस्ताको आक्रमणमा परेर ढल्छन्, या त सोमनाथ झैं विध्वंशको शिकार हुन्छन् अथवा काशी विश्वनाथ झैं कुवामा लुकाइन्छन् ..!
हिन्दु समाजमा त्यस्तै एउटा अवैदिक पूजा निकै प्रचलित छ; त्यो हो- शालिग्राम-शिला (नारायण-शिला)को पूजा।यो विष्णु या नारायणको प्रतिकको पूजा हो। हिन्दुहरुको कुनै पनि पूजा या धार्मिक अनुष्ठानमा यो शिलाको पूजा आवश्यक मानिन्छ। एउटा गोलाकार कालो पत्थर रुपी नारायण र उनको शरीरलाई आलिङ्गन गरेकी तुलसी अर्थात् लक्ष्मीको पूजा।यहि पत्थर र त्यसमा टाँसिएको तुलसीको एउटा पातको पूजालाई प्रतिष्ठित गर्नका लागि धूर्त तथा स्वार्थी पण्डा-पुरोहितहरुले यसको जन्मको बारेमा सयौं काल्पनिक कहानी बनाएर यसमा जोडिदिए।
यो एउटा वेद बिरोधि अनार्य पूजा हो, वैदिक साहित्यमा नारायणको नाम कहीं पनि भेटिदैन।वेद बिरोधिहरुले आर्य संस्कृतिलाई बद्नाम गर्नको लागि त्यस्ता अशोभनीय कर्मलाई शोभनीय बनाउन स्वार्थि तथा अज्ञानी पण्डा-पुरोहितहरुलाई प्रलोभन दिएर नयाँ-नयाँ कथा रच्न लगाइन्थ्यो र हाम्रा पुराण तथा ऐतिहासिक ग्रन्थहरुमा घुसाइन्थ्यो र महान आर्य वीर वीरांगनाहरुका जीवनगाथाहरु संग ति मनगढन्ते कहानीहरु जोडेर दुषित बनाइन्थ्यो।त्यसैको परिणाम स्वरूप सुरु भएको हो यो नारायण-तुलसीको प्रेम कहानी। यस्ता असंख्य कल्पित कहानीहरुले भरिएका छन् हाम्रा प्राचिन ग्रन्थहरु।यो सानो लेखमा त्यस्तै मिथ्या कहानी- शालिग्राम-शिला या नारायण-शिलाको वैज्ञानिक सत्यता र पुराणका साथ त्यसको संगतिको पनि जाँच गर्ने प्रयास गरिनेछ।
पुराण अनुसार शालिग्राम-शिलाको पूजा गर्ने अधिकार गैर-ब्राह्मण, स्त्री र ब्राह्मणकी कन्यालाई समेत अघिकार छैन।धातु, काठ या माटो बाट यो शिला बनाउन सकिन्न। यो शिला स्वयं पैदा भएको हुनु पर्छ। हिमालयको हिमशृंखला बाट उत्पत्ति भएको गण्डकी नदि (पुराणमा यसलाई सदानिरा भनिन्छ) अथवा शालिग्रामीमा नै शालिग्राम शिला पाइन्छ। सामान्यतः यो शिला गोलो आकारको हुन्छ र तल-माथि केहि थेप्चो। कुनै-कुनै अण्डाकार, त्रिभुजाकार या शंकुकार पनि हुन्छ।रङ प्रायः कालो हुन्छ।तर कुनै हल्का लालिमा युक्त, पहेलो या खैरो पनि हुन्छ।केवल यत्तिले मात्र यो शिला पूजनीय हुँदैन, केहि अतिरिक्त लक्षण हुनु पनि आवश्यक छ। प्रत्येक शालिग्राम शिलाको बिचमा एउटा खाडल हुन्छ जसलाई विष्णु या नारायणको नाभि-मूल भनिन्छ।यहि नाभिमूल बाट ब्रह्माको जन्म भएको मानिन्छ।त्यसो त यो शिला चिल्लो हुन्छ तर नाभिमूलको ओरिपरी भित्र सम्म गोल चक्रको चिन्ह पाइन्छन्। भनिन्छ, कुनै शिलामा सुनको आभूषण पनि रहन्छ (यस्तो अत्यन्त बिरलै पाइन्छ)। जसमा यस्तो आभूषण हुन्छ, त्यो शिलाको प्रतिष्ठा अधिक हुन्छ।
यसको बारेमा भू-वैज्ञानिकहरुको भनाइ छ कि नेपालको सप्तगण्डकी नदि नारायणी हुँदै भारतको पटनाको नजिक गएर गङ्गा नदीमा विलय हुन्छ। पूर्वमा त्रिशुली र पश्चिममा कालिगण्डकीका बिचमा अरु पाँच नदीहरु- बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी र मर्स्याङ्दी मध्ये कालीगण्डकीमा मात्र शालिग्राम शिला पाइन्छ। यसलाई शालिग्रामी गण्डकी पनि भनिन्छ। क्रमशः…