विकासवाद विज्ञान या परिकल्पना..?
ओ३म्
विकासवादको वैदिक सिद्धान्त अपनाउँदै डार्विनको तथाकथित् विकासवादलाई हाम्रा समस्त पाठ्यक्रम बाट बाहिर निकालेर मिल्काउने र पाठ्यक्रमको समयानुकुल सुधार गरि नेपालको नव-निर्माणमा अंतत: विद्वानहरुले नै जमर्को गर्नु पर्ने बेला आएको छ। यसका लागि विकासवादमा यदि एक स्वस्थ बहस चल्छ भने वैज्ञानिकहरुलाई कुनै पनि किसिमको आपत्ति हुनुहुँदैन।
यदि देशलाई समुन्नतीको मार्गमा लग्नु छ भने अहिले देशमा विकासवादको बारेमा पनि चर्चा-परिचर्चा किन नहुने..? संसारमा विकासवाद बारे बहस चल्दैछ। असंख्य विज्ञानी छन् जसले यस किसिमको खुट्टा माथि उठाएर टाउकाले टेकेर हिड्ने विकासवादलाई मान्दैनन र यसको खण्डन गर्दछन्। तर्क, अनुभव र प्रयोगशालाहरुमा विकासवाद प्रमाणित पनि हुन सक्दैन भने फेरी यस्तो विवादित परिकल्पनालाई एक निश्चित सिद्धांतको रूपमा विद्यार्थीहरुलाई रटाउनुको औचित्य के छ..? यदि देशका विज्ञानिहरु तथा बुद्धिजीविहरुले विगतमा यस बारे चर्चा गरेका हुन्थ्ये भने संभवत: आज समाजको मान्यता अर्कै हुन्थ्यो र यस्ता लेख लेख्नु पर्ने आवश्यकता पनि हुने थिएन।
हामीले ध्यान राख्नु पर्दछ कि समस्त संसारमा डार्विनको तथाकथित विकासवादको कठोर आलोचना भैरहेको छ। अगासीज जस्ता अनेकौं जीवविज्ञानिहरुले यो विकासवादलाई एक मिथ्या सिद्धांत साबित गरेका छन्। चार्ल्स हैपगुडले आफ्नो पुस्तक “म्याप्स अफ एनशिएंट सीकिंग्स” मा विकासवादमा आधारित पाषाणयुग, काँस्ययुग, लौहयुग आदिको अवधारणालाई जगैबाट खारेज गरेका छन्। स्वयं चार्ल्स डार्विनका पुत्र जर्ज डार्विनले पनि अमेरिकी नेशनल साईन्स कांग्रेसमा आफ्ना पिताको परिकल्पनालाई एक दिवास्वप्न भनेका थिए। केवल अल्पवुद्धि तथा चाटुकारहरुले भरिएको हाम्रो जस्तै देशमा मात्र यस विषयमा प्रश्न उठाउनेलाई अवैज्ञानिक र कूपमंडूकता मानिन्छ। के यो एक प्रकारको कठमुल्लापन हैन र..?
विकासवादलाई वैज्ञानिक सिद्धांत भन्ने र मान्नेहरु संग सोध्नु पर्दछ कि यो सिद्धांत दिनु भन्दा पहिले चार्ल्स डार्विनले कुन चाहिं प्रयोग गरेका थिए..? यो कुरो जानेर कसैलाई आश्चर्य हुन सक्छ कि चार्ल्स डार्विनले कुनै प्रयोग गरेका थिएनन्। उनले अफ्रीकामा घुम्ने बेला नयाँ-नयाँ जनावरहरुलाई देखे, जङ्गलमा बस्ने जङ्गली मानिसलाई देखे र हतारो संग यो निष्कर्षमा पुगे कि जानवरहरुमा एक प्रकारको सूत्रबद्धता छ र यो यसैबाट आएको हुन सक्छ कि एक प्रजाति अर्कोबाट विकसित भएको होस्। यसलाई उनले मनुष्यमा पनि लागू गरे, किनकि उनलाई यो पनि साबित गर्नु थियो कि सेता-खैरा यूरोपीयहरु यी जङ्गली आदिवासीहरु भन्दा अधिक विकसित र सभ्य छन्; वास्तवमा उनि थिएनन्।
पछिका विज्ञानिहरुले डार्विनको यो थोत्रो कल्पनालाई साकार गर्नका लागि निक्कै मेहनत गरे। समस्या उनिहरुलाई चेतन तत्वका साथ आउँथ्यो। जति हात-खुट्टा पच्छारेर टाउको ढुङ्गामा ठोके पछी पनि तिनीहरुले चेतन तत्वको रहस्यलाई सम्झन सकेनन। तिनीहरुले यो कुरो बुझ्न सकेका थिएनन् र आज सम्म पनि बुझ्न सकेका छैनन् कि अमीनो एसिड आदि सबै बिल्डिंग ब्लक हरुलाई बनाइ सके पछी पनि तिनीहरुले चेतन तत्व किन बनाउन सकिरहेका छैनन्..? स्वयं डार्विनलाई पनि आफ्नो सिद्धांतमा सम्पूर्ण रुपमा भरोसा हुन सकेको थिएन। उनले यो कुरालाई स्वीकार गरेका छन् कि आँखा जस्तो जटिल संरचनाहरु त्यतिकै विकसित हुन सक्दैनन्। यस्ता संरचनाहरुको निर्माण त केवल एक बुद्धिमत्तापूर्ण चेतन द्वारा मात्र गरिन संभव छ।
यति मात्र हैन, उत्तर यो कुराको पनि छैन कि जब प्रजातिहरु म्यूटेट भइरहेका थिए, तब पुरा प्रजाति म्यूटेट किन भएनन्? आखिर केहि बाँदर त मनुष्यमा बदलिए तर बाँकी त्यस्तै रहे किन ? बाख्राका केहि नस्ल त जिराफ बने तर बाँकी बाख्रा नै रहे किन? तिनीहरुले यो पनि भन्न सकेका छैनन् कि प्रारंभिक जीव त अहिले पनि उपलब्ध छन्, तिनीबाट विकसित भएका जीव पनि आज उपलब्ध छन् भने उनीहरुको बीचको कडि मात्र किन गायब छन्? जब वातावरण बदलियो र प्रलय जस्तो अवस्था भयो तर ति प्रारंभका अविकसित प्रजातिहरु किन नष्ट भएनन्, बीचका जुन प्रजातिहरुका यी कथित विज्ञानीहरुले कल्पना गर्दछन्, ति किन नष्ट भए..? कहीं यस्तो त हैन कि यी बीचका कडिहरु केवल कल्पना मात्र हुन् र तिनको कुनै वास्तविक अस्तित्व कहिल्यै रहेको थिएन..? प्रश्न अनेक छन्, जसको कुनै विज्ञानी नै विचार गर्न सक्छ।
वर्तमान स्थिति यस्तो छ कि आधुनिक विज्ञानले आफ्नो चरम प्रगति गरे पछी पनि विकासवादलाई सत्यापित गर्न सकेको छैन। यसको विपरीत वैदिक अवधारणा (जसलाई पाश्चात्य विज्ञानका अंधानुगामी हाम्रा विज्ञानीहरुले विचारणीय सम्म मान्दैनन्) क्रमश: सही साबित हुँदैछ। उदाहरणको लागि वेद र पछी सांख्य दर्शनले स्पष्ट रूपले अंतरिक्ष बाट जीवन पृथिवीमा आउने कुरा गर्दछन्। आजको विज्ञानले पनि यसलाई स्वीकार गर्न थालेको छ। उनीहरुले यो मान्न थालेका छ कि आरएनए (राइबोज न्यूक्लिक अम्ल) अंतरिक्ष बाट नै पृथिवीमा आएका हुन्।
पंडित रघुनंदन शर्मा, वैद्य गुरुदत्त जस्ता अनेक भारतीय विद्वानहरुले विकासवादको गहन समालोचना गरेका छन्। “वैदिक संपत्ति” नामक पुस्तकमा पंडित रघुनंदन शर्माले लुप्त जंतुशास्त्र, तुलनात्मक शरीर रचना शास्त्र जस्ता कैयौं विभागहरुको आधारमा विकासवाद बारे जुन प्रश्न वर्ष १९३२मा छोडेका थिए, आजको विज्ञान अहिले सम्म पनि निरुत्तर नै छ।
मानव सभ्यताको इतिहासले पनि विकासवादलाई गलत साबित गर्दछ। आज भन्दा तीन सय वर्ष पहिले सम्म तथाकथित् बाइबलको साँघुरो सीमामा बाँधिएका यूरोपीय विद्वत् वर्ग संसारको आयु केवल ६,००० वर्षको मात्र मान्दथ्यो। जब उनिहरुलाई पृथिवीको आयु यो भन्दा अधिक छ भन्ने अवगत भयो तब उनीहरुले मानव सभ्यताको इतिहास ६-७ हजार वर्षमा मात्र समेटी दिए। यसमा विकासवाद काम आयो, किनकि विकासवाद अनुसार १०-१२ हजार वर्ष पहिले सम्म मानव विकसित स्वरूपमा नै थिएन। तर वैदिक परंपरा अनुसार मानव सभ्यताको इतिहास करोडौं वर्षको मानिन्छ र यहि प्रमाणित पनि हुन्छ। यस्तो स्थितिमा हाम्रो वैदिक परंपराको इतिहास अनुसार विकासवाद एक अशुद्ध परिकल्पना मात्र साबित हुन्छ।
त्यसैले पाश्चात्य विद्वानहरुले सर्वप्रथम वैदिक इतिहासलाई नै मिथ्या साबित गर्ने पूरा कोशिश गरे। यद्यपि आधुनिक प्रगतिले बाइबलमा आधारित समयसीमालाई मिथ्या साबित गरिसकेको छ, तर यूरोपीय विद्वानहरु अहिले सम्म पनि मानव सभ्यताको इतिहासलाई १०-१२ हजार वर्षमा बाँध्ने असफल प्रयासमा निरन्तर जुटेका छन्। यसमा उनको अंतिम सहारा शीर्षासनमा बसेको विकासवाद नै हो। यो कुरो मिथ्या साबित हुनासाथ वैदिक परंपराको सत्यता स्थापित हुनेछ। त्यसैले आज यो आवश्यकता छ कि हामी सबैको प्रयासमा कुनै सेमीनारको आयोजन गरियोस्, जसमा डार्विनको कोरा कल्पनामा आधारित तथाकथित विकासवाद बारे गहन चर्चा होस्।अस्तु..
नमस्ते..!
सत्य सनातन वैदिक धर्मको जय..!
(हार्दिक आभार: रवि शंकर, कार्यकारी संपादक, भारतीय धरोहर)