दिपावलीको वैदिक महत्व

ओ३म्..

दिपावलीको वैदिक महत्व:

dipavali

दीपावलीलाई आदि सृष्टि (१,९६,०८,५३,११८ वर्ष) देखि चली आएको वैदिक धर्ममा “शारदीय नवसस्येष्टि पर्व” भनिन्छ।
अर्थात्, नव= नयाँ, सस्य= फसल या अन्न, ईष्ट= कामनाहरु पूर्ण गर्नको लागि यज्ञ [हवन], शारदीय= शरद ऋतुमा। वैदिक संस्कृतिका जनक सृष्टिनियन्ता सर्वव्यापक एवं निराकार परमात्माले मानव मात्र लाई धर्म, अर्थ, काम तथा मोक्ष प्राप्ति एवं प्रकृतिलाई पवित्र राख्नको लागि ऋतुहरु र पर्वहरुले बाँधेर राखेको छ। जसले यी नियमहरुको पालन गर्दछ उसलाई सुख, शांति तथा आनन्द तीनै प्राप्त हुन्छन्।

यो शरद ऋतु हो। समस्त मानवको लागि धान मुख्य फसल हो। यो फसल काट्ने  तथा रबी फसल रोप्ने (छर्ने) काम यहि समयमा नै हुन्छ तथा शरद् र हेमन्त ऋतुको सन्धिकाल  कार्तिक अमावस्यामा नयाँ फसलको अन्न द्वारा गरिने विशाल यज्ञ प्राचीन कालदेखि नै शारदीय नवसस्येष्टि नामले परिचित छ। यज्ञोपरान्त नवान्न ग्रहण गर्ने प्राचीन वैदिक परम्परा रहेको छ। अघि व्यापारी समुदायहरुको आफ्नो पुरानो हिसाब-किताब बन्द गर्ने र नयाँ वहि-खाता सुरु गर्ने प्रचलन पनि यहि समयमा हुने गर्दथ्यो, त्यसैले यस पर्वलाई वैश्य-पर्व पनि भनिन्छ।

कालान्तरमा यस दिन दीपमाला सजाउने परम्परा प्रचलित भयो। ऋतुहरुको सन्धिकालमा गरिने विशाल यज्ञ रोगनिवारणमा सहयोगी हुन्छ। कुनै अन्ध परम्परानुसार यस दिनलाई मर्यादा पुरुषोत्तम श्रीराम लंका विजय पश्चात् अयोध्या फर्केको प्रसंग संग पनि जोड्ने गरिन्छ, यो नितान्त भ्रामक छ। वाल्मीकि रामायण अनुसार श्रीरामको अयोध्या आगमन चैत्र शुक्ल पंचमीमा भएको थियो। यस पर्वको श्रीरामको इतिहास संग कुनै सम्बन्ध छैन। यो पर्वका साथ विस्तारै अनेकौं दुरितिहरु पनि जोडियो। जुवा खेल्नु, पटाका आदि द्वारा पर्यावरण नष्ट गर्नु र समाजको शान्ति भंग गर्नु भयङ्कर पाप हो, जुन हिन्दू समाज मिथ्या गौरवको गरुङ्गो भारि बोकेर थाकिसकेको छ। पर्यावरण शोधक यज्ञ गर्ने परम्पराको  स्थानमा पर्यावरण नाश गर्ने अभियान प्रचण्ड वेग संग चल्दैछ। ईश्वर संग प्रार्थना छ कि हिन्दुहरुको विवेक यसरि जागृत होस् कि ऊ आफ्नो हानिकारक अन्ध परम्पराहरुलाई त्यागेर समस्त जगतको लागि लाभदायक वैदिक परम्परालाई अपनाएर यस्ता खालका पर्वहरुको परिष्कार गरोस्। हाम्रो हृदयमा ज्ञान, सत्य, प्रेम, करुणा, देशभक्तिको प्रकाश भरियोस, यही ईश्वर संग प्रार्थना छ।

अत: प्रत्येक घरमा आँपको समिधा (दाउरा) तथा हवन सामग्रीहरुमा धानको भुजा, धानको च्युरा, गुड, गुग्गल, बेसार आदि मिलाएर हवन गर्नु पर्दछ जसबाट शरद ऋतुमा हुन सक्ने रोग-व्याधिहरु बाट व्यक्ति, परिवार, समाज एवं समस्त प्राणि जगतलाई बचाउन सकियोस्। तर हाम्रो अज्ञानता भनौं या दुर्भाग्य परमात्माको आदेश र ज्ञानको उपेक्षा गरेर पटाका जलाएर, मोमबत्ती तथा बिजुलीको दुरुपयोग गरेर आफ्नो तन, मन, धन नाश गर्दैछौं।
हामि संकल्प गरौँ कि बिदेशी पटाका, मोमबत्ती, बिजुलीको माला, र वर्क लगाएको मिठाई प्रयोग नगरौं। हवन गरेर घीउ, तिल, तोरीको तेल र माटाको पालाको दीपक जलाएर खीर, पूरी, हलुवाई खाएर आफ्नो देशलाई विश्वगुरु बनाउँ।

परदेशवासी तथा देशवासी समस्त बन्धु बान्धव तथा आफन्तजनलाई दीपावलीको हार्दिक शुभकामना।

नमस्ते..!

(तिहारमा दाजु-भाइ तथा दिदी-बहिनीहरुको टिका (भाइ टिका) को प्रसंग वैदिक हैन, यो नेपालि समाजमा पछी प्रचलित भएको हो। सायद मेरो अनुमान मा यो भाइ टिका लगाउने र दिदी बहिनीहरुको रक्षाको लागि अठोट गर्ने प्रचलन भारतमा मुस्लिम आक्रामण पछी प्रचलित भएको हो। किनकि मुस्लिमहरुले गैरमुस्लिमका चेली-बेटीहरुलाई अपहरण गरेर लग्थे, अस्मिता लुट्थे र दासी बनाउँथे, जबर्जस्ति धर्मान्तरण हुने गर्दथ्यो। त्यसैले उनको रक्षार्थ दाजु-भाइहरुले कसम खान्थे, प्रण गर्दथे र त्यहि सम्झना स्वरूप भारतमा राखी र नेपालमा भाइ-टिका प्रचलित भएको हुन सक्छ।)

-प्रेम आर्य

दोहा, कतार बाट

2 thoughts on “दिपावलीको वैदिक महत्व”

    1. ओ३म्..
      धिरज ज्यू, नमस्ते..!
      लेख पढेर प्रतिक्रिया दिएकोमा हार्दिक आभार व्यक्त गरें..
      आउनुहोस्, तपाइँ-हामि सबै मिलेर वैदिक-मान्यतालाई अघि बढाउँ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *