तनाव मुक्त र आनन्दित जीवन बिताउनको लागि सात्विक आहार अपनाउँ …!

ओ३म्..

तनाव मुक्त र आनन्दित जीवन बिताउनको लागि सात्विक आहार अपनाउँ..

       दुःखको कुरो छ कि गलत संस्कार, यथार्थ ज्ञानको अभाव, तथा पाश्चात्य संस्कृतिको अन्ध-नक्कलले गर्दा आजभोली मांसाहारी भोजन गर्ने चलन बढ्दैछ । यति सम्म अज्ञानता छ कि कसैले त अण्डालाई पनि साकाहारी भोजनमा लिन थालेका छन्। यो भन्दा बिडम्बना अरु के होला र!?

मांसाहारले केवल जिब्रोको स्वाद मेटाउन बाहेक अर्को मानव स्वास्थ्यलाइ कुनै किसिमको पनि हित गर्दैन। कसैले समाजमा केवल आफ्नो धाक र बोक्रे सान देखाउनको लागि मात्र पनि निर्दोष पशु-पंक्षीहरु मार्ने गर्दछन। यसैको दुष्परिणाम हो आज हाम्रो समाजमा कहिल्यै नाम नै नसुनेका भयङ्कर रोगले वास गरेको छ, मानिसहरु रोग ग्रस्त भएका छन् जसको कारण आफ्नो अमुल्य समय अस्पतालको चक्कर काट्नमा बिताएका छन्, अथाह धन-सम्पत्ति औषधिमा नाश गरेका छन्, जिन्दगि पीडामय बनाएर आफ्नो जीवन असमयमै गुमाउनु परेको छ । यस्ता मानिसहरुलाई  आज यथार्थ धार्मिक ज्ञान र उचित मार्गदर्शनको खाँचो छ ।

हाम्रा सनातन वैदिक ग्रन्थ तथा हिन्दु शास्त्रहरुमा एकमतले सम्पूर्ण जीवलाई ईश्वरिय अंश मानिएकोछ । अहिंसा, दया, प्रेम, क्षमा आदि गुणहरुको अत्यंत महत्व दिइएकोछ ।  मांसाहारलाई बिल्कुल त्याज्य, दोषपूर्ण, आयु क्षीण गर्ने पदार्थ र पाप योनिमा लैजाने वाला भनिएको छ। महाभारत अनुशासन पर्वमा भीष्म पितामहले मासु खानेहरु, मासुको व्यापार गर्नेहरु र मासुको लागि जीव हत्या गर्नेहरु तीनैलाई दोषी भनेका छन्। उनले भनेका छन् कि जसले अर्काको मासुले आफ्नो मासु बढाउन चाहन्छ, त्यसले जहाँ जन्म लिए पनि सुख र आनन्द पुर्वक रहन सक्दैन। जसले अन्य प्राणिहरुको मासु खान्छन, उनलाई अर्को जन्ममा तिनै प्राणिहरुले भक्षण गर्ने छन्। जुन प्राणीलाई वध गरिन्छ, त्यसले यही भन्ने गर्दछ- “मांस भक्षयते यस्माद भक्षयिष्ये तमप्यहमू ” अर्थात्, आज उसले मलाई खान्छ भने मैले पनि कहिल्यै उसलाई खाउँला।

गीतामा भोजनको तीन श्रेणि दिइएको छ:

  • सात्त्विक भोजन:- जस्तै फल, तरकारी, अनाज, दाल,  दूध, दहि, घिउ इत्यादि जसले आयु, बुद्धि, बल बढाउँछन् र सुख, शान्ति, दयाभाव, अहिंसा भाव र एकरसता प्रदान गर्दछन तथा हर प्रकारका अशुद्धिहरुबाट शरीर, मन, मस्तिष्कलाई बचाउँछन् ।
  • राजसिक भोजन:- अति गरम, पिरो, तितो, अमिलो, मसला युक्त आदि जलन तथा उत्तेजना उत्पन्न गर्ने रूखो भोजन। यस प्रकारको भोजन उत्तेजक हुन्छ जसले मानसिक तनाव, दु:ख, रोग तथा चिन्ता उत्पन्न गर्दछन।
  • तामसिक भोजन: – जस्तै बासी, रसविहीन, आधा पाकेको, दुर्गन्ध युक्त, सडेको अपवित्र नशालु पदार्थमासु इत्यादि जसले मनुष्यलाई निर्दयता, दुराचार र कुसंस्कार तिर लैजान्छ, बुद्धि भ्रष्ट गर्दछ, भयङ्कर रोग तथा आलस्य प्रमाद इत्यादि दुर्गुण उत्पन्न गर्दछ।

वैदिक मत प्रारम्भ देखि नै अहिंसक र शाकाहारी थियो –
य आमं मांसमदन्ति पौरूषेयं च ये क्रवि: ।
गर्भान खादन्ति केशवास्तानितो नाशयामसि।। (अथर्ववेद: ८/६/२३)
अर्थात्, जसले काँचो मासु खान्छ, जसले मनुष्य द्वारा पकाएको मासु खान्छ, जसले गर्भ रूप अण्डाको सेवन गर्दछ, त्यसको यस दुष्ट व्यसनलाई नाश गर।
अघ्न्या यजमानस्य पशून्पाहि (यजुर्वेद: १/१/)
अर्थात्, हे मनुष्य ! पशु अघ्न्य हुन्, कहिल्यै मार्न नहुने, पशुहरुको रक्षा गर।

अहिंसा परमो धर्मः सर्वप्राणभृतां वरः। (महाभारत-आदिपर्व: ११/१३)
अर्थात्, कुनै पनि प्राणीलाई नमार्नु मै परमधर्म हो।
सुरां मत्स्यान्मधु मांसमासवकृसरौदनम् ।
धूर्तैः प्रवर्तितं ह्येतन्नैतद् वेदेषु कल्पितम् ॥ (महाभारत-शान्तिपर्व: २६५/९)
अर्थात्, सुरा, माछा, मद्य, मासु, आसव, कृसरा आदि भोजन धूर्त प्रवर्तित छन्, जसले यस्ता अखाद्यलाई वेदमा कल्पना गरे।

अनुमंता विशसिता निहन्ता क्रयविक्रयी ।
संस्कर्त्ता चोपहर्त्ता च खादकश्चेति घातका: ॥ (मनुस्मृति: ५/५१)
अर्थात्, प्राणीलाई मासुको लागि वध गर्ने अनुमति दिने, सहमति दिने, मार्ने, क्रय-विक्रय गर्ने, पकाउने, पस्कने, र खाने यी सबै घातकी अर्थात  हत्यारा हुन्।

सिख धर्ममा मांसाहारको निषेध:

“कबीर भांग मछली सूरा पान जो-जो प्राणी खाहिं
तीरथ नेम ब्रत सब जे कीते सभी रसातल जाहिं” (श्री गुरुग्रन्थ साहिब:अंग-१३७)
“जीव वधहु को धरम कर थापहु अधरम कहहु कत भाई
आपन को मुनिवर कह थापहु काको कहहु कसाई” (श्री गुरुग्रन्थ साहिब: अंग-११०३)
वेद कतेब कहो मत झूठे, झूठा जो न विचारे

जो सब में एक खुदा कहु तो क्यों मुरगी मारे” (श्री गुरुग्रन्थ साहिब: अंग-१३५०)

ईसाई समुदायमा मांस-मदिराको निषेध: (हुनत बाइबलमा मांस-मदिराको समर्थनमा पनि थुप्रै प्रमाण छन् तर यहाँ जो सत्य छ त्यहि लिनु उपयुक्त छ)

बाइबल-नया करारमा स्पष्ट शब्दमा मांस र मदिरा सेवन गर्न निषेध गरिएको। त्यहाँ भनिएको छ- किनकि यसको सेवन गर्ने वाला स्वयंले ठक्कर खान्छ र अरुलाई पनि सही धर्मबाट बिमुख गराउँछ।

भलो यसैमा छ कि तैले मासु नखानु र न दाख रस पिउनु, न अन्य कुनै यस्तो कर्म गर्नु जसबाट तेरो भाईले दुःख पाओस्। (रोमियो-१४/२१)

बौद्ध सम्प्रदायमा जीवहत्याको निषेध: (यसमा पनि बुद्धको मृत्यु पछी मांसाहारीले प्रक्षेपित गरेका छन्, यहाँ सत्य मात्र ग्रहण गरौँ)

कुनै पनि प्राणीलाई नमारेर मासु प्राप्त हुँदैन, त्यसैले भगवान बुद्धले हर प्रकारका जीवको हत्या गर्नुलाई पाप भनेका छन्। र यस्तो गर्नेहरुले कहिल्यै सुख-शांति प्राप्त गर्न सक्दैनन् भनेका छन्।
धम्मपदको गाथा ‘दण्ड्वग्गो’ मा भगवान बुद्धले भनेका छन :

सब्बे तसन्ति दण्डस्स, सब्बेसं जीवितं पियं।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥ (१३०)
अर्थात्, सबै दण्ड देखि डराउँछन्। सबैलाई मृत्यु देखि डर लाग्छ। अत: सबैलाई आँफू जस्तो सम्झेर न कसैको हत्या गर या हत्या गर्नको लागि प्रेरित गर।
सुखकामानि भूतानि, यो दण्डेन विहिंसति।
अत्तनो सुखमेसानो, पेच्‍च सो न लभते सुखं॥ (१३१)
अर्थात्, जुन सुखको चाहना गर्ने प्राणिहरुलाई जसले आफ्नो सुखको चाहनाले, दण्डले विहिंसित गर्दछ (कष्ट दिन्छया मार्छ) त्यसले मरेर पनि सुख पाउँदैन।
बौद्धका पंचशील (पाँच प्रतिज्ञा) मा प्रथम प्रतिज्ञा छ-
” पाणाति पाता वेरमणी सिक्खा पदम समादियामि”
अर्थात, मैले कुनै पनि प्राणीलाई नमार्ने प्रतिज्ञा गर्दछु।

जैन सम्प्रदायमा प्राणी हत्याको निषेध:

जैन समुदायमा सुक्ष्म तथा विशाल सबै प्रकारक जीव हत्याको घोर वर्जना गरिएको छ।
भगवान महावीरको भनाइमा-
“सव्वे  जीवा  इच्छन्ति जीवियुं न मररिस्सयुं तम्हा पाणि बहम घोरं निग्गन्ठा पब्बजन्ति च समण”। (सुत्तगाथा-३)
अर्थात, सबै जीव जिउन चाहन्छन्, मर्न कसैले चाहदैन, त्यसैले निर्ग्रन्थ (जैन) प्राणी वधलाई घोर वर्जना गर्दछन्।
अस्तु..

नमस्ते..!

-प्रेम आर्य

दोहा, कतार बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *