ओ३म् को बिषयमा संका समाधान

ओ३म्..!

वेदमा ‘ओ३म्’ शब्द:

शंका: १- ’ओ३म्’को विषयमा यो शंका हुन्छ कि वेदमा ’ओ३म्’ शब्दको वर्णन कहाँ छ ? वेद पढ्दा विदित हुन्छ कि अग्नि, वायु, इन्द्र, सविता, यम, अर्यमा, मरुत् आदि ब्रह्मका नाम हुन्, ’ओंकार’ हैन, किनकि यसको पाठ चारै वेदमा कहीं पनि भेटिन्न। ऋग्वेद ’अग्नि’ शब्द बाट, यजुर्वेद ’इष्’ शब्द बाट, सामवेद ’अग्नि’ शब्द बाट र अथर्ववेद ’ये’ शब्द बाट प्रारम्भ भएको छ। यदि ब्रह्मको परमप्रिय नाम ’ओम्’ हुन्थ्यो भने त वेदमा पनि पहिले यहि आउनु पर्ने थियो र उचित पनि थियो। अतः यो ईश्वरको नाम हैन कि भन्ने प्रतीति हुन्छ।

शंका: २- यो पनि सुनिन्छ कि ऐतरेय्, शतपथ, ताण्ड्य, गोपथ, जुन क्रमशः चार वेदका चार ब्राह्मण हुन्, उनमा पनि ’ओंकार’ शब्दको विशेष वर्णन छैन।

शंका: ३- जसरि सामगानमा ’हाई’ ’हावू’ ’ओहोई’ ’आ’ ’ऊ’ प्रभृति शब्द केवल विश्रामको लागि आउँछन्, तिनको कहिँ अर्थ हुन्न, र जब कि ’साम-स्तोभ’ भनिन्छ, त्यस्तै यो ’ओंकार’ पनि पूर्व समयमा एक ’साम-स्तोभ  थियो। गीतमा विश्रामको लागि यसको उच्चारण गरिन्थ्यो, जसरि आजभोलि पनि ’हो’ ’ओ’ ’हरे’ आदि असम्बद्ध शब्द लगाएर भजन गाइन्छ। पछी मानिसले यसलाई नै पवित्र र ईश्वरको नाम माने र यस शब्दको असंख्य मनपरी अर्थ गरियो, यस्तो पनि कसैले भन्ने गर्दछन्।

समाधान:-

ओ३म् क्रतो स्मर क्लिबे स्मर। कृतं स्मर।। (यजु ४०-१५)

ओ३म् खं ब्रह्म (यजु ४० । १७)

यहां हेर्नु, यजुर्वेदको ४० औं अध्यायमा साक्षात् ’ओम्’ शब्दको पाठ आएको छ। पुनः कसरि भन्न सकिन्छ कि वेदमा ’ओंकार’ शब्दको पाठ छैन ?

शंका: ४- यजुर्वेदको ४० औं अध्यायलाई कतिपय विद्वान्हरुले उपनिषदमा मात्र गन्ति गर्दछन् । तिनीहरुले भन्ने गर्दछन् कि सम्पूर्ण यजुर्वेदका मन्त्रहरुको विनियोग सर्वत्र भनिएको छ; तर यस अध्यायको विनियोग कुनै पनि ग्रन्थमा छैन र जसको विनियोग छैन, त्यो वेद हैन, यस्तो मीमांसाको मत छ, यस हेतुले यसलाई हामि वेद भन्न सक्दैनौं । यस कारण यस अध्यायलाई छोडेर वेदको अन्य स्थान बाट ’ओ३म्’ शब्दको उदाहरण वर्णन गरौँ न ।

समाधान:- एवमस्तु । ध्यान दिनु:

ऋचो अक्षरे परमे व्योमन्यस्मिन्देवा अधि विश्वे निषेदुः ।

यस्तन्न वेद किमृचा करिष्यति य इत्तद्विदुस्त इमे समासते ॥ऋ. १/१६४/३९॥

यस मन्त्रको बारेमा यास्काचार्यले निरुक्तमा कैयौं अन्य आचार्यहरुको सिद्धान्त प्रकाशित गरेका छन्। यथाः—

कतमत् तदेतदक्षरम् ?

ओमित्येषा वागिति शाकपूणिः ।। (निरुक्त:१३।१०)

यस मन्त्रमा जो ’अक्षर’ शब्द आएकोछ, त्यसको अर्थ केहो? (तत्+एतद्) ऊ यो (कतमद्+अक्षरम्) कुन चाइ अक्षर हो? यत्रो शंका गरेर शाकपूणि आचार्यले भन्दछन् कि (ओ३म्+इति) ओ३म् (एषा+वाग्) यो वाणी हो। अर्थात्, मन्त्रमा जो अक्षर शब्द आएकोछ, त्यो ’ओ३म्´को नै वाचक हो।

यसबाट यहि सिद्ध हुन्छ कि यास्काचार्य भन्दा पहिले देखि नै यसको प्रचार थियो;  किनकि उनले शाकपूणि आचार्यको व्याख्यान आफ्नो ग्रन्थमा दिएका छन्। अतः शाकपूणि उनका दृष्टिमा प्राचीन हुन्।

मन्त्रमा गुप्त ओंकार- अब यसै मन्त्रमा गुप्त रूपले ओंकार शब्द विद्यमान छ, हेरौं। मन्त्रमा ’व्योमन्’ शब्द छ। यसमा ’वि+ओम्+अन्’ यी तीन पद छन्। ’वि’ र ’अन्’ शब्दको बीचमा ’ओ३म्’ शब्द छ। अब यो सम्पूर्ण मन्त्रको अर्थ हेरौं। मन्त्रको पद यी हुन्-

ऋचः । अक्षरे । परमे । व्योमन् । यस्मिन् देवाः । अधि ।

विश्वे । निषेदुः । यः । तद् । न । वेद । किम् । ऋचा । करिष्यति ।

ये । इत् । तद् । विदुः । ते । इमे । समासते ।।

अर्थ— (ऋचः) ऋग्वेदको सारभूत (यस्मिन्) जुन (अक्षरे) क्षर = नाश बाट रहित (परमे) परम = महान् (व्योमन् = वि+ओम्+अन्) वि = विशिष्ट = माया, प्रकृति । ओ३म् = परमेश्वर । अन् = जीवात्मा, यी तीनमा (विश्वा देवाः) सम्पूर्ण विश्व, विविध ब्रह्माण्ड, सूर्य, चन्द्र, ग्रह, नक्षत्रादि र प्राण सहित सकल इन्द्रिय (अधि निषेदुः) निविष्ट = व्यापक भएको छ (यः) जो पुरुष (तत्) उस (व्योमन्) वि+ओम्+अन् लाई (न वेद) जान्दैन, उसले (ऋचा) ऋग्वेद बाट (किं करिष्यति) के गर्ला? (ये) जो विद्वान् (तत्+इत्) यीनै तीनलाई (विदुः) जान्दछन्, (ते+इमे) ति विद्वान् (समासते) जगत्मा उत्तम स्थिति प्राप्त गर्दछन् र अन्तमा ब्रह्मलाई पनि प्राप्त गर्दछन्।

प्रकृति, जीव र ब्रह्म, यी तीनै अक्षर हुन्,  किनकि यिनको विनाश हुँदैन। यी तीनै अक्षर महान् छन् त्यसैले यिनलाई ’परम’ भनिएको हो। र ब्रह्ममा त यो सारा संसार नै छ। यी सब कार्य प्रकृतिका हुन्। तथा जीवात्माको आश्रयबाट नै सब इन्द्रियहरुले कार्य गर्ने गर्दछन्। अतः भनिएको छ कि यी तीनमा नै (विश्वे देवा अधि निषेदुः) सब सूर्यादि देव निवास गर्दछन्। वेदले यिनै तीनको वर्णन गर्दछन् । त्यसैले वेदका यिनै तीन यथार्थ सारभूत पदार्थ हुन्। जसले यी तीनलाई जान्दैन, उसले वास्तवमा वेदलाई पनि जान्दैन। केवल मन्त्रहरु कण्ठस्थ गर्नाले मात्र के लाभ छ र? जसरि परमपिता परमात्मा सबका मध्यमा गुप्तरीतिले विराजमान छ, त्यसरी नै यहां पनि ’वि’ र ’अन्’ शब्दको मध्यमा ईश्वर वाचक ’ओ३म्’ शब्द सुशोभित छ।

क्रमशः…

Leave a Reply

Your email address will not be published. Required fields are marked *