……योग र यसका अंग-५

ओ३म्..

…..योग र यसका अंग-५

(४) प्राणायामः
===========
प्राणायामको स्वरूपः
===========
“तस्मिन्सति श्वासप्रश्वासयोर्गतिविच्छेदः प्राणायामः ।।” (योगदर्शन:२/४९)

व्यास-भाष्य:- “सत्यासने-जये बाह्यस्य वायोराचमनं श्वासः, कौष्ठ्यस्यवायोर्निःसारणं प्रश्वासः तयोर्गतिविच्छेद उभयाभावः प्राणायामः।।”
सूत्रार्थः आसन सिद्ध भैसकेपछी श्वास र प्रश्वासमा अर्थात्, सास लिने र छोड्ने गति रोकिनु या रोक्नुलाई प्राणायाम भनिन्छ।
ऋग्वेदादि भाष्यदभूमिका: जुन वायु बाहिर बाट भित्र आउँछ, त्यसलाई श्वास र जुन भित्र बाट बाहिर जान्छ, त्यसलाई प्रश्वास भनिन्छ । यी दुई जाने र आउने क्रियालाई विचार पुर्वक रोक्नु, नाकलाई हातले कदापि नसमात्नु, तर ज्ञान द्वारा नै उसलाई रोक्नु यहि ‘प्राणायाम’ हो

भावार्थः प्राणायाम सफल हुनको लागि योगका पूर्वका तीनै अंगहरु (यम,नियम र आसन) को अनुष्ठान हुनु आवश्यक छ। तर पनि प्राणायामको लागि आसन सिद्ध हुनु अत्यावश्यक छ। यसको बिना प्राणायाम सम्भव हुन्न। यद्यपि श्वास-प्रश्वासको गति जीवन भरि चली रहन्छ, सुतेको समयमा पनि यसको गति अवरुद्ध हुँदैन, तर यस्तो स्वाभाविक रुपमा प्राण आउनु-जानु प्राणायाम हैन। प्राणायाम तब मात्र हुन्छ जब श्वास-प्रश्वासको स्वाभाविक गतिलाई केहि अवधिको लागि रोकिन्छ।

प्राणायामको भेदः
=================

“स तु बाह्याभ्यन्तरस्तम्भवृत्तिर्देशकालसंख्याभिः परिदृष्टो दीर्घसूक्ष्मः” (योगदर्शन:२/५०)

यहाँ प्राणायामको तीन भेद भनिएको छ: (१) बाह्य प्राणायाम (२) आभ्यन्तर प्राणायाम र  (३)  स्तम्भवृत्ति प्राणायाम

(१) बाह्य-प्राणायामः- यसमा पेटको वायुलाई बिस्तारै बाहिर निकालेकर बाहिर नै रोकिन्छ।
(२) आभ्यन्तर-प्राणायामः- यसमा बाहिरको वायुलाई बिस्तारै भित्र लिएर भित्रै रोकिन्छ।
(३) स्तम्भवृत्ति-प्राणायामः- यसमा श्वास र प्रश्वास दुवै गतिलाई रोक्नु पर्दछ। यो एकसाथ नै गरिन्छ।

 ऋग्वेदादि-भाष्य-भूमिकाः– यो प्राणायाम चार प्रकारले हुन्छ । अर्थात्, एक बाह्य विषय, दोस्रो आभ्यन्तर विषय, तेस्रो स्तम्भवृत्ति र चौथो बाहिर-भित्र रोक्नाले हुन्छ। यी चार प्राणायाम यस प्रकारले हुन्छन् कि जब भित्र बाट बाहिर श्वास निस्कन्छ तब त्यसलाई बाहिर नै रोकिदिने, यसलाई प्रथम प्राणायाम भनिन्छ। जब बाहिर बाट श्वास भित्र आउँछ तब त्यसलाई जति सकिन्छ त्यति मात्र भित्रै रोक्नु, यसलाई दोस्रो प्राणायाम भनिन्छ। तेस्रो स्तम्भवृत्ति हो यसमा प्राणलाई न बाहिर निस्कन दिनु र न बाहिर बाट भित्र आउन दिनु तर जति समय सुख पुर्वक रोक्न सकिन्छ रोक्नु, यसलाई जहाँको तहीँ  जस्ताको तस्तै एकदम रोक्नु। र चौथो यो कि जब श्वास भित्र बाट बाहिर जान्छ तब बाहिर नै केहि समय रोकिरहनु र जब बाहिर बाट भित्र आउँछ तब त्यसलाई पनि केहि समय भित्रै रोकिरहनु, यसलाई बाह्याभ्यन्तराक्षेपी भनिन्छ र यी चारैको अनुष्ठान यसकारणले हो कि यसबाट चित्त निर्मल भएर उपासनामा स्थिर रहोस्।

यी तीन प्राणायामका अन्य नाम पनि छन्:- रेचक (बाह्य), पूरक (आभ्यन्तर), र कुम्भक (स्तम्भवृत्ति)
(१) रेचकः- रेचक नाम यसकारणले भयो कि यसबाट प्राणको रेचन अर्थात् शरीर बाट बाहिर हुनाले पृथक् भाव हुन्छ।
(२) पूरकः- यसमा बाहिरको वायुलाई भित्र भर्नु पर्छ र यथाशक्ति भित्रै रोक्नु पर्छ।
(३) कुम्भकः- यसमा प्राणवायुलाई बाहिर-भित्र नगरेर जहाँको तहीँ रोक्नु पर्छ; त्यसैले यसलाई कुम्भक  भनिन्छ। जस्तै कुम्भ (घैटो) मा भरेको जल यता-उता नहल्लिएर एक स्थानमा निश्चल रहन्छ, त्यस्तै यस प्राणायाममा प्राणको स्थिति हुन्छ।

प्राणायामको विधिः
==================
प्राणायामको अभ्यास कुन प्राणायाम बाट गर्नु पर्दछ यसको संकेत पतञ्जलि मुनिले बाह्य शब्द पहिले नै पढेर दिएका छन्, अर्थात् योगाभ्यासीले सबभन्दा पहिले बाह्य (रेचक) प्राणायाम गर्नु पर्दछ। त्यस पछी दोस्रो प्राणायाम गर्नु पर्दछ ।

बाह्य प्राणायाम गर्ने विधि: वमन(उल्टी) गरे झैं तीव्र प्राण वायुलाई बाहिर फालेर बाहिर नै यथाशक्ति रोक्नु पर्छ र यसै दशामा प्रणव (ओ३म्) को जाप मानसिक रूपमा गर्नु पर्दछ या त महाव्याहृतिको जाप गर्नु पर्दछ; जो यस प्रकार छ:-

ओ३म् भूः। ओ३म् भुवः। ओ३म् स्वः। ओ३म् महः। ओ३म् जनः। ओ३म् तपः। ओ३म् सत्यम्।
यसको पटक-पटक जाप गर्नु पर्दछ। गायत्री मन्त्र भन्दा ठूलो महत्वको अन्य कुनै मन्त्र छैन त्यसैले यसको पनि जाप गर्न सकिन्छ; जो यस प्रकार छ:

ओ३म् भूर्भुवः स्वः। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो नः प्रचोदयात्।।

बाह्य प्राणायामको अभ्यास पछी दोस्रो प्राणायामको अभ्यास गर्नु पर्छ र त्यो पनि बिस्तारै। महर्षि दयानन्दले नयाँ साधकको लागि तीन प्राणायाम देखि २१ प्राणायाम सम्म गर्ने सल्लाह दिएका छन्। सूत्रकार पतञ्जलि मुनिले पनि देश, काल र संख्याको दृष्टिले नयाँ साधकले बिस्तारै-बिस्तारै प्राणायाम बढाउँदै जानु पर्ने सल्लाह दिएका छन्।

क्रमशः…..

2 thoughts on “……योग र यसका अंग-५”

Leave a Reply

Your email address will not be published. Required fields are marked *