वेद पाठ: ऋग्वेद- १/३/१० (भाग-१)

ओ३म्..

पावका नः सरस्वती वाजेभिर्वाजिनीवती।

यज्ञं वष्टु धियावसुः ॥ (ऋग्वेद: १/३/१०)

शाब्दिक अर्थ:

अन्वय: सरस्वती नः पावका। वाजेभिर् वाजिनी-वती। धिया-वसुः यज्ञं वष्टु।

लौकिक अर्थ: देवी सरस्वतीले हामीलाई पवित्र गर्दछिन्। अन्न या बल द्वारा, अन्नमयी या बलमयी अथवा उषा द्वारा उषामयी हुन् उनि। कर्म द्वारा प्रज्ञा द्वारा वसुमती अर्थात् कर्म रुपी धन द्वारा कुशलिनी या बुद्धि रुपी धन द्वारा बुद्धिमती उनले हाम्रो यज्ञको अभिलाषा राखुन्।

प्रामाणिक अर्थ:

सरस्वती: देवी सरस्वती। सरस्वती ‘सरस्’ शब्द बाट ‘मतुप्’ प्रत्यय र ‘ङीप्’ प्रत्ययका साथ् निष्पादित् हुन्छ। यसका दुई अर्थ हुन्छन् – एक ‘वाणी’ र अर्को ‘ज्ञानकी अधिष्ठात्री देवी’। ‘वाणी’ अर्थमा यसको व्युत्पत्ति यस्तो हुन्छ- सरसः अर्थात् प्रशंसिताः ज्ञानादयो गुणाः विद्यन्ते यस्यां सा सर्वविद्या-प्रापिका वाक्। यसको अर्थ यस्तो हुन्छ- ज्ञान-विज्ञानादि प्रशंसित गुण जसमा विद्यमान रहन्छन्, तिनै सर्वविद्या प्रदान गर्ने वाणी नै ‘सरस्वती’ हुन्।

‘ज्ञानकी अधिष्ठात्री’ अर्थमा यसको अर्को व्युत्पत्ति यस्तो हुन्छ – सरन्ति अर्थात् प्राप्नुवन्ति सर्वाः विद्याः यया सा। यसको अर्थ यस्तो हुन्छ – जुन शक्ति द्वारा समस्त विद्याको प्राप्ति हुन्छ, त्यहि ब्राह्मी शक्ति नै ज्ञानकी अधिष्ठात्री देवी ‘सरस्वती’ हुन्।

सम्पूर्ण वैदिक वाङ्मयमा केवल एक परमात्मा नै प्रतिपाद्य बिषय हो। गीताको ब्रह्मार्पणं ब्रह्मा-हविः (गीता:४/२४) न्यायको दृष्टिले त्यहि उपास्य र त्यहि नै सर्वाधार हो। वाणीको रुपमा होस् या ज्ञानकी अधिष्ठात्री देवीको रुपमा होस्, त्यहि परमपिता यहाँ स्तुत्य छ। अब यसको अर्थ यहि निस्कन्छ कि चराचर जगतमा व्यक्त तथा अव्यक्त रुपमा विद्यमान एक मात्र परम शक्ति देवी सरस्वती हुन्। यस शक्तिलाई अगाडी अर्थ प्रधान शास्त्र-पुराण, इतिहास आदिमा ऐन्द्री, माहेश्वरि, चैन्द्रि, वैष्णवी आदि नामले नामित गरिएको छ।

नः पावका : हामीलाई पवित्र गर्दछिन्।‘हामीलाई, हाम्रा या हाम्रा लागि’ आदि वैदिक साहित्यको प्रयोग केवल ति व्यक्तिहरुको लागि हो जुन अध्यात्मिक साधनामा रत छन्, जसलाई उस् माहेश्वरी र ब्रह्मी शक्ति प्राप्त गर्नु छ। जो जन्म-मृत्युको चक्रलाई अतिक्रमण गरेर शाश्वत आनन्द चाहने साधक छन्। त्यस्तो शक्तिले हामीलाई पापबाट, मलिनताबाट, दुर्भावनाबाट र दुर्व्यसनबाट पवित्र गर्दछ। जन्म-मृत्यु, जरा-व्याधि र दुःख-दोष आदि मलिनताबाट हामीलाई निकालेर हमेशाको लागि शुद्ध, पूत, भव्य र दिव्य स्वरूप प्रदान गर्दछ। हामीले हेर्दा-हेर्दै अनेकौं साधकहरुलाई पवित्र गरिसकेकी उनै सरस्वतीले अब हामीलाई पनि पवित्र गरुन्। किनकि अनेकौं मलिनताबाट हिड्दा हिड्दै हामीले उस् आनन्दलाई ‘पवित्रता मै विद्यमान छ’ भनेर खोजि सक्यौं। त्यसैले पवित्रकी प्रतिमूर्ति देवी सरस्वतीलाई हामि निक्कै आतुर भएर पुकार्दै छौं कि हे देवी ! तिमिले हामीलाई आफ्नो उस् पवित्रताबाट पवित्र अन्तःकरण भएको बनाइदेऊ।

वाजेभिः वाजिनि-वती : अन्न या बल द्वारा अन्नमयी या बलमयी अथवा उषा द्वारा उषामयी हुन् उनि। उनि ऐन्द्री शक्ति पार्थिव अन्नको रुपमा प्रकट भैरहेकी छिन्। पार्थिव अन्न तीन किसिमका हुन्छन्, तिहुन  – १) फल पाकेपछि मर्ने औषधियुक्त अन्न जसमा धान, गहुँ, जौ, मकै, कोदो, माष, मुसुरो, मुगी.. आदि। २) अनवरत फल दिने र ऋतु अनुसार फल्ने वानस्पतिक अन्न जसमा आँप अम्बा, स्याउ, सुन्तला, आदि । ३) तरल पेय रुपक अन्न जसमा जल, रस, दुध, घिउ, र तेल आदिलाई ग्रहण गर्न सकिन्छ। यी त्रिविध अन्नहरुलाई पल्लवित गरेर यीनमा रस-रुप-गन्धको रुपमा व्यक्त हुने हाम्री ति चिर आकांक्षित देवी नै सरस्वती हुन्।

ति ऐन्द्री शक्ति समस्त बल, प्रकाश, ज्योति र सामर्थ्यले युक्त छिन्। उनि अरबौं सूर्यलाई चम्काउने र ति सूर्यमा उतप्त-वायु जस्ता पदार्थका रुपमा व्यक्त पनि हुन्छिन्।

अथवा देवी सरस्वती उषाकी प्रतिक-धर्मिणी हुन्। प्रतिदिन समस्त सौम्य, शान्त, मृदु, मधुर तथा सन्तोष गुण धारण गरेर हाम्री धरतीमा नवविवाहिता तरुणी सदृश देवी उषाको आगमन हुन्छ। अध्यात्म चिन्तनको लागि उषा-काललाई प्रशस्त मानिएको छ । अतः समस्त ज्ञान-विज्ञान-कर्म-उपासनाको वातावरण धारण गरेर अन्तर्मुखी साधकलाई अध्यात्म मार्ग तिर लैजाने देवी सरस्वती उषामयी छन् । अथवा मुक्ति जस्तै शाश्वत आनन्दको नाम उषा हो । यी सबबाट युक्त भएको कारणले शाश्वत आनन्दमयी, कल्याणमयी तथा शुभमयी ति देवी सरस्वती हाम्री उपास्या छिन् ।

धिया-वसु : उनि कर्म अथवा प्रज्ञा द्वारा वसुमती अर्थात्, कर्म रुपी धन द्वारा कर्म कुशलिनी या वुद्धि रुपी धन द्वारा बुद्धिमती हुन् । समस्त कर्म अर्थात् निर्माण, रचना, व्यवस्थापना र पर्यवेक्षण आदि असंख्य अति मानुष कार्य बाट ति देवी कार्य-कुशलिनी हुन् । यो धर्ति, यो आकाश, यो ध्युलोक, यो चन्द्रमा र नक्षत्र यी सबलाई उनले आफ्नो अनुपम कर्मनिपुणता बाट बनाएकी हुन् । यिनको कारिगरीको तुलना सृष्टिको कुनै पनि कुशल कारिगरी संग गर्न सकिन्न ।

ति देवी असंख्य प्राणिहरुको मस्तिष्कमा, बुद्धि-विवेकमा तथा चेतनाको रुपमा प्रकाशित भैरहेकी छिन् । हरेक प्राणीमा एक अलग चेतनामा व्यक्त भएको हुनाले यसको विविधता, बहुरुपता र नव-नवीनता सर्वत्र प्रसिद्धि प्राप्त भैरहेको छ ।

यज्ञं वष्टु : उनले हाम्रो यज्ञको अभिलाषा राखून् । विश्व एक यज्ञ हो । प्रकृतिको नैसर्गिक यज्ञ ऋत र सत्य रुपी साधनहरुले अनन्त अवधि देखि चली आइरहेको छ ।वेदले भन्दछ कि यी ज्ञान-विज्ञान, यी ग्रह-नक्षत्र, यी प्राणी समुदाय सबै यज्ञ बाट नै उत्पन्न भएर यज्ञ बाट नै प्राण धारण गरिरहेका छन् – यज्ञेन यज्ञम् अयजन्त देवास् तानि धर्माणि प्रथमानि आसन् (ऋ. १/१६४/५०): तस्माद् यज्ञात् सर्व-हुतः ऋचः सामानि यज्ञिरे (ऋ.१०/९०/८) यसको तात्पर्य- यज्ञको अर्थ हो एक प्रकारको सन्तुलन या शान्ति । जुन सन्तुलन या शान्तिको बलबाट आकाशमा असंख्य ग्रह-नक्षत्र विचरण गरिरहेका छन्, जसको बलमा सूर्य जस्ता अरबौं-खरबौं ग्रह-नक्षत्र अनन्त काल देखि प्रकाश, उष्मा, कण-विकिरण आदि क्रियाहरुको सृंखलाका साथ् सम्पादन गरिरहेका छन् । ठिक यस्तै प्रकारले हामी केहि साधक आफ्नो मन, वाणी र कर्मलाई एक गरेर मन, बुद्धि र चित्तलाई आयत्ताधीन गरेर तपाइको लागि कृतज्ञता, आभार तथा साधुवाद आदि व्यक्त गर्ने उद्देश्यले ‘कृतज्ञता-ज्ञापन रुपक यज्ञ’ अर्थात् क्रिया विशेषको अनुष्ठान गर्दै छौँ । कृपया हे देवी सरस्वती ! तपाईले हाम्रो यो तुच्छ निवेदनलाई, विनयलाई, आभार-प्रकटीकरणलाई या हाम्रा भावनाहरुलाई स्विकार गर्नुहोस् ।

लौकिक सृष्टिमा मातृशक्तिको निकट, ममता, प्रिती र करुणा आदि कैयौं मानवीय भावनाहरु विशेष रुपले देख्न सकिन्छ । अतः यहाँ जीव रुपी ऋषि मधुच्छन्दाले परमात्माको शक्तिको उपासना गरेर आफ्ना अभिव्यक्ति हरुलाई, आफ्ना मनोभाव हरुलाई परमात्म-शक्तिको चरणमा समर्पित गरेर स्वयंलाई सफल बनाउन चाहन्छन् ।  यस एकमात्र उद्देश्यले परमात्माको सरस्वती शक्तिको रुपमा यहाँ स्तुति गरिएको छ ।

‘ति देवीले हाम्रो यज्ञको अभिलाषा राखुन्’ मंत्रोक्त यस पंक्तिबाट यहि अर्थ व्यन्जित हुन्छ कि ति देवीले हाम्रो विन्ती तिर एक पटक आफ्नो कृपा दृष्टि राखुन्.. ।

क्रमशः…

3 thoughts on “वेद पाठ: ऋग्वेद- १/३/१० (भाग-१)”

  1. ओ३म्
    यो अत्यन्त सह्राहनीय कार्य भएको छ । यसबाट तमाम नेपालीहरुले वेदको सही ज्ञान प्राप्त गर्न सक्नेछन् ।

    1. ओ३म्..
      टिकाराम ज्यू, नमस्ते..!
      हार्दिक आभार छ प्रतिक्रियाको लागि..
      यसमा अब सबै मिलेर आ-आफ्नो योगदान दिनु पर्ने छ..
      आशा गर्दछु कि हजुर बाट सक्दो सहयोग पाइने छ
      धन्यवाद !

  2. वेदमा लेखिएका वैदिक ज्ञान सम्पुर्ण जान्न चाहान्छु,यस वेदपाठले केही राहत मिलेको छ धन्यबाद दिन चाहान्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *