वैदिक ईश्वर

ओ३म्..

वैदिक ईश्वर

-प्रेम आर्य

दोहा, कतार बाट

“ ऊ तेजस्विहरुको तेज, बलवानहरुको बल, ज्ञानिहरुको ज्ञान, मुनिहरुको तप, कविहरुको रस, ऋषिहरुको गाम्भीर्य र बालकहरुको मुस्कुराहटमा विराजमान छ। ऋषिको मन्त्र गान र बालकको निष्कपट हाँसो उसलाई एक समान प्रिय छ। उसले शब्द हैन भाव पढ्छ, ओठ हैन, हृदय देख्छ, ऊ मन्दिरमा हैन, मस्जिदमा हैन, गिर्जा घरमा हैन, प्रेम गर्नेहरुको हृदयमा रहन्छ। बुद्धिमानहरुको बुद्धिको लागि ऊ एक रहश्य हो तर एक निष्कपट निरपराधलाई ऊ सदा उपलब्ध छ। ऊ केहि अलग छ। धन-पैसाले ऊ प्राप्त हुँदैन र प्रेम एवं दया राख्नेहरुलाई कहिल्यै छोड्दैन। आडम्वरी र डरपोकहरु उसलाई मन पर्दैनन्, प्रेम गर्नेहरु सदा उसको समिपमा रहन्छन्। ऊ सर्वेश्वर हो, सबभन्दा अलग तर सबमा रहन्छ।

यही नै सनातन वैदिक धर्म हो। यहि धर्ममा हामीलाई गर्व छ।”

टिपण्णी : यहाँ ‘ईश्वर’ को तात्पर्य “परम सत्ता” हो , ‘देवता’ हैन। ‘देवता’ एक अलग शब्द हो जसको अशुद्ध प्रयोग धेरैजसो ‘परमसत्ता’ को लागि गर्ने गरिन्छ। हुनत ईश्वर पनि एक ‘देवता’ नै हो। कुनै पनि पदार्थ – चाहे जड होस् या चेतन, जुन हाम्रा लागि उपयोगी या सहायक हुन्छ, त्यसलाई ‘देवता’ भनिन्छ। तर यसको अर्थ हरेक त्यस्तो सत्ता ईश्वर हो र यसको उपासना गरियोस् भन्ने कदापि हैन। यसमा कुनै किसिमको भ्रम सिर्जना नहोस् भनेर यस लेखमा ‘ईश्वर’ शब्दको प्रयोग गरिएको छ।

त्यो परम-पुरुष जुन निस्वार्थताको प्रतीक हो, जसले सारा संसारलाई नियंत्रणमा राख्दछ, ऊ हरेक कण-कणमा व्याप्त छ र सम्पूर्ण देवताहरुको पनि देवता हो, सबैलाई सुख प्रदान गर्ने एक मात्र त्यहि हो। जसले उसलाई जान्दैनन्, ति भयङ्कर दुःखमा डुबीरहन्छन् र जसले उसलाई अनुभव गर्दछन, तिनले मुक्ति सुख प्राप्त गर्दछन। यथाः

ऋचो अक्षरे परमे व्योमन्यस्मिन्देवा अधि विश्वे निषेदुः ।

यस्तन्न वेद किमृचा करिष्यति य इत्तद्विदुस्त इमे समासते ॥ऋ. १/१६४/३९॥

प्रश्न: वेदमा ईश्वर कति छन्? कसैले भन्दछन कि वेदमा अनेक ईश्वर छन्, सत्य के हो?

उत्तर: तपाइले गलत कुरो गलत व्यक्ति तथा स्थान बाट सुन्नु भएको हो। वेदमा स्पष्टसंग भनिएको छ कि केवल एक मात्र ईश्वर छ र जसको सर्व प्रिय निज नाम ‘ओ३म्’ हो। वेदमा अनेक ईश्वर छन् भन्ने अर्थ जनाउने एउटा पनि मन्त्र छैन। यति मात्र हैन, वेदले यस कुराको पनि खण्डन गर्दछ कि हामी र ईश्वरको बीचमा कुनै अभिकर्ता (मध्यस्थकर्ता) सरह काम गर्नको लागि कुनै पैगम्बर, मसीहा या अवतारको आवश्यकता पर्दछ।

सामान्यतया यदि समानता हेर्नेहो भने:

इस्लाममा शहादा (अश-शहादतन) को जुन पहिलो भाग छ, त्यसलाई हेर्नेहो भने “ला इलाहा इल्लल्लाह” (परमेश्वर वाहेक अर्को कुनै पनि परमेश्वर छैन) र दोस्रो भाग : “मुहम्मदुन रसूलुल्लाह” (मुहम्मद अल्लाहको पैगम्बर हो) लाई छोड्दिने हो भने यो वैदिक ईश्वर कै मान्यता समान छ।

इस्लाममा अल्लाह बाहेक अरु कसैको पनि पूजन गर्नु ‘शिर्क’ (सबभन्दा ठूलो पाप) मानिन्छ। यदि यसै मान्यतालाई अंझ अगाडी हेर्नेहो भने अल्लाह बाहेक अर्को कुनै मुहम्मद, ईशा-मुशा या जीब्रेइललाई मान्न छोड्दिनेहो भने सबै वेद अनुसार महापाप बाट बच्न सक्नेछन।

प्रश्न: वेदमा वर्णित विभिन्न देवताहरु या ईश्वरहरुको बारेमा तपाइँ के भन्नुहुन्छ? ३३ कोटी देवताहरुको बारेमा के भन्ने?

उत्तर:

  • पहिले नै भनियो कि जुन पदार्थ हाम्रा लागि उपयोगी हुन्छन तिनलाई देवता भनिन्छ। तर वेदमा यी सबको उपासना गर्ने भनेर कहीं भनिएको छैन। ईश्वर देवताहरुको पनि देवता हो त्यसैले ऊ महादेव भनिन्छ, केवल त्यसैको मात्र उपासना गर्नु पर्छ।
  • वेदमा ३३ कोटिको अर्थ ३३ करोड नभएर ३३ प्रकारका देवता भन्ने हुन्छ (संस्कृतमा कोटि शब्दको अर्थ प्रकार पनि हुन्छ)। र यी शतपथ ब्राह्मणमा निक्कै स्पष्ट संग यस प्रकारले वर्णित छन्:
    ८ वसु, ११ रुद्र, १२ आदित्य, १ इन्द्र (बिद्युत) र १ प्रजापति (यज्ञ)
  • ८ वसु: पृथ्वी, जल, अग्नि, वायु, आकाश, चन्द्रमा, सूर्य र तारा (नक्षत्र), यी आठ सबका निवास स्थान हुनाले वसु भनिन्छ| यी आठ वसुले समस्त प्राणिहरुलाई आश्रय दिने हुनाले देव हुन्|
  • ११ रुद्र: १ जीवात्मा, ५ प्राण र ५ उपप्राण, यी ११ रुद्रले शरीर छोड्नासाथ् शरीरले काम गर्न बन्द गर्दछ र सबैलाई रुवाउँछन्| त्यसैले यिनलाई रूद्र भनिन्छ| यी ११ शरीरको आधार हुनाले देव भनिन्छ|

पाँच प्राण: प्राण, उदान, समान, व्यान र अपान।

पाँच उपप्राण हैं: नाग, कूर्म, कृकल, देवदत्त र धनञ्जय।

  • १२ आदित्य: वर्षका १२ महिना चैत्र, वैशाख, ज्येष्ठ, आषाढ, श्रावण, भाद्र, आश्विन, कार्त्तिक, मार्गशीर्ष, पौष, माघ र फाल्गुन| यिनलाई आदित्य पनि भनिन्छ । यिनले प्राणिहरुलाई आयु प्रदान र क्षीण गर्दछन्|
  • १ इन्द्र (विद्युत्): विद्युत्लाई पनि देव मानिएको छ किनकि यो ऐश्वर्यको साधन हो | यसबाट गति, शक्ति, प्रकाश, समृद्धि र सुखका साधनहरु प्राप्त हुन्छन् । बृहदारण्यक उपनिषद: ३/१/६ कानुसार-

“कतम इन्द्रः? अशनिरिति । ” इन्द्रदेव अर्थात ऐश्वर्यका साधन को हुन्? विद्युत् नै इन्द्रदेव अर्थात ऐश्वर्यका साधन हुन् ।

  • १ प्रजापति: प्रजापतिलाई यज्ञ पनि भनिएको छ । किनकि यज्ञको कारणले जल-वायु सुद्ध भएर प्राणिहरुलाई सुख प्राप्त हुन्छ । गीता -३/१४ मा भनिएको छ-

“अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः।

यज्ञाद् भवति पर्जन्यो यज्ञः कर्म समुद् भवः ।। ”

अर्थात प्राणी अन्नबाट, अन्न बादल बाट र बादल यज्ञबाट उत्पन्न हुन्छन्| यस प्रकार यज्ञ प्राणिहरुको जीवन र सुखको आधार हो| यी समस्त ३३कोटि देवहरुलाई नियन्त्रण गर्ने ईश्वर हुन्, जसलाई हामि अनेकौं नामले जान्दछौं र पुकार्ने गर्दछौं ।

शतपथ ब्राहमणको १४औं काण्डका अनुसार यी ३३ प्रकारका देवताहरुका  स्वामी महादेव नै एकमात्र उपासनीय छन् । ३३ प्रकारका देवताहरुको विषय आँफैमा एक गहन शोधको विषय हो जसलाई बुझ्नको लागि सम्यक अध्ययनको आवश्यकता छ। तर पनि वैदिक शास्त्रहरुमा यो स्पष्ट रुपमा वर्णित छ कि यी देवता ईश्वर हैनन् त्यसैले यिनको उपासना गर्नु हुँदैन।

क्रमशः….

2 thoughts on “वैदिक ईश्वर”

  1. अति जान्न मन लागेको कुरा जानियो गुरु जी यहाँ लाई धन्यवाद ।

    1. ओ३म्..
      श्याम भाइ, नमस्ते..!
      लेख पढेर प्रतिक्रिया दिनु भएकोमा हार्दिक आभार छ है..

Leave a Reply

Your email address will not be published. Required fields are marked *