पुनर्जन्म वेद द्वारा प्रमाणित…

पुनर्जन्म वेद द्वारा प्रमाणित:

 

वैदिक संस्कृतिमा पुनर्जन्मलाई मान्यता दिइएको छ।

यजुर्वेद: ४/१५ जीवात्माको पुनर्जन्म विषयमा भन्छ –

पुनर्मनः पुनरायुर्मऽआगन् पुनः प्राणः पुनरात्मामऽआगन् पुनश्चक्षुः पुनः श्रोत्रं मेऽआगन्। वैश्वानरोऽअदब्धस्तनूपाऽअग्निर्नः पातु दुरिता- दवद्यात्।’’

भावार्थ: ‘‘हे ईश्वर, जब-जब हामि जन्म लिन्छौं, तब-तब हामीलाई शुद्ध मन, पूर्ण आयु, आरोग्यता, प्राण, कुशलतायुक्त आत्मा, उत्तम चक्षु र भोग प्राप्त होस्। विश्वमा विराजमान ईश्वर प्रत्येक जन्ममा हाम्रो शरीरको पालन गरोस्, त्यो अग्नि स्वरूप पाप द्वारा निन्दित कर्महरुबाट हामीलाई बचावस्।

 

गीता:२/२२ मा पनि त्यस्तै आशय छ-

वसांसि जीर्णानि यथा विहाय, नवानि ग्रहति नरोऽपराणि।

तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही।।

भावार्थ: जसरि मनुष्यले पुराना वस्त्रहरु त्यागेर नयाँ वस्त्र धारण गर्दछ, त्यसैगरी नै जीवात्मा पनि पुरानो शरीरलाई छोडेर नयाँ शरीर धारण गर्दछ।

 

अब प्रश्न उठ्न सक्छ कि पुनर्जन्मको आधार के हो ? कुनै जीवात्मा धनाढ्य परिवारमा आउँछ कुनै अत्यन्तै गरीबीमा, कुनै अत्यन्त पुरुषार्थ गर्दा पनि समुचित सम्पदा प्राप्त गर्न सक्दैन र कसैले साधारण परिश्रमबाट पनि भारी सम्पन्नता ग्रहण गर्न सक्षम हुन्छन् । कुनै आपांग, कुनै कुरूप, कुनै मेधा, बुद्धि सम्पन्न त कुनै विक्षिप्त मानसिकता लिएर पैदा हुन्छन्। यसको विस्तृत विवेचन महर्षि दयानन्दले आफ्नो ‘सत्यार्थ प्रकाश’ को नवौं समुल्लासमा गरेका छन्। यसको मुख्य कारण मनुष्यले जीवनमा गरेको कर्म, ज्ञान प्राप्ति आदि हो। महर्षिले स्पष्ट शब्दमा लेखेका छन् -‘‘सुख-दुःखमा कमि र बढ्ता देखेर पुनर्जन्मको अनुमान किन लगाउँदैनौं? यदि पुनर्जन्मको व्यवस्था नमान्ने हो भने ईश्वर पक्षपाती हुनुको दोष लाग्छ। पाप बिना दरिद्रता, दुःख र पुण्य बिना पुण्यको राज्य, धनाढ्य र बुद्धि किन पाइयोस्। जन्म देखि लिएर राज-धन, बुद्धि, विद्या, दरिद्रता, मूर्खता, निर्बुद्धि आदि देखेर पूर्वजन्मको ज्ञान किन हुन्न?’’

अब यस सिद्धान्तलाई सम्झनको लागि एक आख्यायिका प्रस्तुत छ-

एक पटक राजा जयद्रथ आफ्नो मंत्री बालादत्का साथ एक उद्यानमा घुम्दै थिए। पंक्षीहरुको चिरविर ध्वनी सुनेर  उनको मनमा प्रश्न उठ्यो – यी पंक्षी किन भए? म राजा किन भएँ? यो मन्त्री, यी साधारण जन किन छन्? यसको उत्तर उनले आफ्नो मंत्री संग जान्न खोजे। मन्त्रीले भने-‘‘मैले जान्न त जान्दैन तर यो अवश्य सत्य हो कि प्रत्येक जीवात्मा कर्मफल व्यवस्था संग जोडिएका छन्। यहाँ संयोग भन्ने कुरो केहि छैन। सबै विधिको न्याय व्यवस्था र उद्देश्यपूर्वक हुने गर्छ। तर पनि हजुरका यी प्रश्नहरुको उत्तर कुनै त्रिकालदर्शी योगीले नै दिन सक्छ”।

राज्यमा एक ‘सरपाह’ नामक योगी जंगलमा कुटि बनाएर रहने गर्दथ्यो। राजाको उत्कंठा यति तीव्र थीयो कि उसंग  भेट्न तत्काल निस्के। उस् योगीले भन्यो कि तिमीलाई आफ्ना प्रश्नका उत्तर यहाँबाट बीस-बीस कोसको दूरीमा बस्ने गरेका तीन व्यक्तिहरुबाट पाइनेछ। जब राजाले पहिलो व्यक्तिलाई भेटे, त्याहाँ देखे कि उस्ले ढुंगा-बालुवा खाँदै थियो र उसको मुखबाट रगत निस्कदै थियो, त्यस संग कुरा गरे पछी उनि अर्को व्यक्तिलाइ भेट्न पुगे जसले माटो खाएर आफ्नो क्षुधा तृप्त गर्दै थियो। त्यस संग पनि कुरो गरेर उनि मन्त्रिका साथ् तेस्रो व्यक्तिलाई भेट्न पुगे त्याहाँ उनले देखे ऊ भोकले ब्याकुल थियो तर केहि पनि खानमा समर्थ थिएन। राजालाई देखेर उसले एउटा कथा सुनायो-

‘‘राजन, पूर्व जन्ममा हामि पाँचजना मित्र व्यापार गर्नको लागि निस्केका थियौं। सबै संग दुई-दुई वटा रोटी थिए। एउटा पोखरीको किनारमा बसेर रोटि खाने योजना बनायौं र चटनी पिस्न लाग्यौं। एक मित्रले चटनीको प्रतीक्षा नगरेर आफ्नो रोटी खायो। त्यसै बेला एक साधु आए, जो भोका थिए। उनले रोटी मागे, हामि मध्ये एकले भन्यो कि ‘‘रोटी तिमिलाई दिएर के मैले ढुंगा-बालुवा खाने”। त्यो व्यक्ति त्यहि थियो जसले बालुवा-ढुंगा खाँदै थियो। हामि मध्ये अर्काले भन्यो -‘‘रोटी तिमिलाई दिएर के मैले माटो खाउँला र।’’ त्यो दोस्रो व्यक्ति त्यहि थियो जसलाई तिमीले माटो खाँदै गरेको देख्यौ। तेस्रो साथीले भन्यो -‘‘रोटी तिमिलाई दिएर म के भोकै बस्ने, यो भन्दा त बरु तिमि नै भोको बस।’’ चौथोले भन्यो –“महाराज मैले आफ्नै रोटि तिमीलाई दिन्थें तर मैले खाइ सकें”। पाँचौ मित्रले आफ्नो रोटि साधुलाई दियो। उनले हामि सबलाई हेरिरहे र भने -‘‘जसको जस्तो भावना छ, उसलाई अर्को जन्म त्यस्तै मिलोस्। त्यसपछी तिमीले हात जोडेर हाम्रो उद्धारको लागि प्रार्थना गर्यौ र ति तिम्रा साथ् जो मंत्री छन् उनले पनि हाम्रा लागि प्रायश्चित गर्ने प्रार्थना गरे। साधुले भने –“अब कुरो मुखबाट निस्की सक्यो, त्यसैले फल त अवश्य भोग्नु पर्छ, तर अर्को जन्ममा तिमीहरुलाई यो सब स्मरण रहनेछ जसबाट शुद्ध हृदय तथा सात्विक वृत्तिको बन्न सकियोस्। यिनीहरु संग भेट भयो भने तिमिहरुको मुक्ति हुनेछ। पुनः ति मित्रहरुलाई लिएर राजा उस् महायोगीलाई भेट्न गए। ति योगीले भने – राजन्, सबले आ-आफ्नो कर्म फल स्वयं नै भोग्नु पर्छ। यिनको वृत्ति त पवित्र थीयो तर कर्म गरेनन् त्यसैले यिनी मंत्री बने। यी तिनको वृत्ति अपवित्र थीयो त्यसैले आ-आफ्नो कर्मफल भोगे।राजाले सोधे –महाराज, तपाई यहाँ किन हाम्रो प्रतीक्षामा बस्नु भयो त? तब महायोगीले भने कि म पनि उस् विधाताको विधान कै अनुसार कर्मफल भोग गर्दै छु। आवेशमा आएर मैले साधु भएर पनि श्राप दिएँ। यसैबाट मुक्ति पाउनको लागि तिमीहरु सबैको प्रतीक्षा गरिरहेको छु।

यस आख्यायिकाको अभिप्राय यही हो कि मानवलाई यो कुरो ज्ञात होस् कि मनुष्य जन्म कर्म अनुसार पूर्व जन्मको कर्म फल भोग्न र पुनर्जन्म सुधार्नको लागि हुन्छ।

यसबाट यी चार तथ्य प्रस्ट हुन्छ-

  • जीवात्माको पुनर्जन्म हुन्छ।
  • उस् द्वारा गरिएको शुभासुभ कर्मको आधारमा नै जन्म हुन्छ।
  • जीवात्माको सूक्ष्म शरीरका साथ उसको धर्म, कर्म तथा ज्ञान साथ-साथ् रहन्छन्।
  • शरीर छोड्ने बेला मनमा जो अधूरो कामना रहन्छ त्यसैको पूर्तिको लागि अर्को जन्म हुन्छ।

प्रथम सिद्धान्त –जीवात्माको पुनर्जन्म हुन्छ। यस तथ्यलाई सिद्ध गर्नको लागि हामीलाई समाजमा अनेकौं प्रमाण पाइन्छन्। केहि सात्विक प्रवृत्तिका जीवात्माहरुलाई आफ्नो पूर्व जन्म बाल्यावस्था सम्म मात्र स्मरण रहन सक्छ। यस्ता अनेकौं घटनाहरु प्रकाशनमा आएका छन् र त्यसको अनुसंधान गर्दा सत्य नै पाइएको छ। एउटा यस्तै घटनाको यहाँ उल्लेख गर्न सान्दर्भिक होला। सन् २०११को जुन २१ मा भारतको एक टेलिविजन प्रसारण केन्द्रले एउटा सत्य घटना आफ्नो समाचार प्रसारणमा देखाएको थियो। त्यस अनुसार ‘‘सात वर्ष पूर्व राजस्थानको कुनै एक गाँउ हनुमानगढीमा एउटा बालकको जन्म भएको थियो, बोल्ने भएपछी उसले पन्जाबीमा कुरा गर्दथ्यो। त्यसले भन्ने गर्दथ्यो कि – “सात वर्ष पहिले मेरो हत्या भएको थियो। म पन्जाबको अबोहर जिल्लाको एक वर्कशपमा काम गर्दथें। मलाई नशालु पदार्थ खुवाएर रेलको पटरीमा फालिएको थियो। मलाई निक्कै यातना पनि दिइएको थियो। मेरो दिमागमा भयङ्कर डर थियो। अब मैले उस संग बदला लिनु छ।त्यस बालकले हत्याराको नाम र ठेगाना पनि भन्यो । त्यसैको आधारमा जब घटनाको अनिसन्धान गरियो र सबै घटना एकदम सत्य पाइयो। त्यस बालकले आफ्नो नाम पनि सुभाष भएको भन्यो। अबोहरको प्रहरी चौकीमा यस घटनाको जाहेरी पनि दर्ता थियो। तर हत्यारा पत्ता लागेको थिएन त्यसैले सजाय हुन सकेको थिएन। हत्याराको पुष्टि त त्यस बालकले उसको नाम भन्ना साथ् नै भैसकेको थियो तर घटना संग सम्बन्धित पर्याप्त प्रमाण नभेटिएको कारणले अदालतले बालकको साक्षी मानेन। यस्ता अनेकौं घटना हिन्दु समाजमा मात्र हैन, विदेश तिर अन्य सम्प्रदायमा पनि पाइएका छन्।

यस घटना संग जोडिएको तथ्य यो पनि विचारणीय छ कि जीवले एक शरीर छोड्ना साथ् तुरन्त अर्को शरीर धारण गर्दछ या केहि काल पश्चात्? यसको उत्तरमा अनेकौं घटनाहरुको विवेचन बाट यही निष्कर्ष निस्कन्छ कि जीवात्मा तुरन्त गर्भमा जाँदैन। यो समय पनि उसको कर्मको आधारमा नै निर्धारित हुन्छ। तर पनि उपनिषदमा भनिएको छ कि जीव जब अर्को शरीर प्राप्त गर्न या स्थितिमा हुन्छ तब मात्र पहिलो शरीर छोड्छ। यसको सत्यता पुष्टि गर्न एउटा सूंडी नामक बित्ते किराको उदाहरण दिएर सम्झाइएको छ। तर अनेकौं वेद मंत्र बाट पनि यही निष्कर्ष निस्कन्छ कि जीव केहि समय आफ्ना उतम कर्मको सुख भोग्न को लागि ईश्वरको व्यवस्थामा रहन्छ । अनि मात्र ईश्वरको व्यवस्थानुसार पुनः गर्भमा आउँछ ।

यजुर्वेदको ३९ औं अध्यायको छैठौं मन्त्रको भाव पनि यस्तै छ  –

‘‘सविता प्रथमोऽहन्नाग्नि, द्वितीये वायु स्तृतीय, आदित्यश्चतुर्थे, चन्द्रमाः पंचमऽऋतुः षष्ठे मरुतः सप्तम बृहस्पतिरष्टमे मित्रो नवमे वरुणो दशमऽइन्द्रऽ एकादशे विश्वेदेवा द्वादशे।’’

अर्थात्, जीवले शरीर छोडे पछी पहिलो दिन सूर्य, दोस्रो दिन अग्नि, तेस्रो दिन वायु,चौथो दिन आदित्य, पाँचौ दिन चन्द्रमा, छैठौं दिन ऋतु (हेमन्त, वसन्त आदि), सातौँ दिन मरुत अर्थात् मनुष्य आदि प्राणी समूह,  आठौँ दिन बृहस्पति अर्थात् विद्वान आत्माहरु मान्यजनको रक्षक सूत्रात्मा वायु, नवौं दिन प्राण उदान, दसौं दिन वरुण अर्थात् विद्युत, एघारौँ इन्द्र अर्थात् दिव्य गुण तथा बाह्रौं दिन विश्व देव-ईश्वरको व्यवस्थामा जान्छ।
यस मन्त्रका अनुसार जीवले शरीर छोडे पश्चात् (सविता) प्रकाश किरणका साथमा रहेर यी लोक-लोकान्तरहरुको भ्रमण गर्दछ तर यी लोक-लोकान्तरहरु के हुन्? कति छन् या के के व्यवस्था छ, यसको विवरण कसैलाई पनि स्पष्ट रूपले जानकारी छैन। फेरी आफ्नो पुण्य कर्मको आधारमा मोक्षको आनन्द ईश्वरको व्यवस्थानुसार व्यतीत गरेर पुनः पृथ्वीमा जन्म लिन्छ।

यस पश्चात् अर्को प्रश्न आउँछ जीवले आफ्नो कर्म अनुसार नै जन्म लिन्छ।

कर्म गर्नु जीवको प्राथमिक आवश्यकता हो। ईश्वरले मनुष्यलाई कर्म गर्नको लागि स्वतंत्र छोडेको छ तर त्यसको फल दिनु ईश्वरको हातमा छ। छान्दोग्य उपनिषदमा भनिएको छ, कर्म तीन प्रकारका हुन्छन् जुन मनुष्यले गर्दछ –

  • पहिलो:- निष्काम कर्म।
  • दोस्रो:- सकाम कर्म।
  • तेस्रो:- साधारण कर्म।

परमात्माले कर्म गर्नको लागि यस सृष्टिको रचना गरेको हो तर उसले स्वयं कर्म गर्दैन। जस्तै फलाम धातु दीइयो, अब त्यसबाट तलवार, भाला, मशीन, सुई आदि बनाउनु मानवको काम हो। हात कर्म गर्ने साधनका रूपमा दिइयो तर त्यसबाट कर्म गर्नु जीवको काम हो।

कर्मका आठ तत्व हुन्छन् –

  • काल तत्व : – अर्थात् जब भोक प्यास लाग्यो भने भोजन गरियो, नींद आयो भने सुतियो।
  • स्वभाव: – भोक लाग्यो भने भोजन बनाउनु यस्तै प्रकारका कार्य।
  • नियति: – जीवन चलाउनको लागि धनोपार्जन गर्नु ।
  • योनि: – मानव योनिमा बुद्धि, विवेकले कार्य गर्नु, पशु योनिमा निश्चित प्रकारका कर्म गर्नु।
  • इच्छा: – कुनै विशेष प्रकारका कर्म गर्नको लागि प्रेरित हुनु।
  • संयोग: – कुनै एक कार्य गर्दा गर्दै कुनै अर्को कार्य पनि गर्दिनु। समय र परिस्थिति अनुसार।
  • आत्मा या सार तत्व: – बुद्धि, आत्मबल या संकल्पका आधारमा अगाडी कर्म गर्नु ।
  • भूतकालमा गरिएका कर्मको आधारमा अगाडी कर्म गर्नु।

यस प्रकारका कर्म गर्नु जीवनको अभिन्न अंग हुन्। तर यिनलाई गरेको आधारमा नै अर्को जन्म पाइन्छ।
१- निष्काम कर्म:- जुन कर्म ज्ञानले परिपक्व भएर विवेकपूर्ण ढंगले कर्तव्य भावना सम्झेर गरिन्छन्, अधिक परिश्रम भए पनि प्रसन्नतापूर्वक गरिन्छन्। फलको इच्छा त्याग गरेर सुख-दुःख अनुभव रहित कल्याण तथा परोपकारको भावनाले गरिन्छन्। ति निष्काम कर्म हुन्। यस्ता जीवात्माहरुलाई योगी, तपस्वी या महापुरुषहरुको जन्म पाइन्छ।

२- सकाम कर्म:- जुन कर्म कल्याणको लागि त गरिन्छन् तर त्यसमा यश तथा स्वार्थको भावना रहती छ जस्तै जनकल्याणको लागि कुवा, पाटि, अस्पताल आदि बनाउनु। यस्ता जीवात्माहरुलाई अर्को जन्ममा भौतिक सुखले भरपूर जीवन पाइन्छ। धनाढ्य या प्रख्यात परिवारमा जन्म पाइन्छ।
३- साधारण कर्म:- जुन कर्म केहि शुभ तथा केहि अशुभ पनि हुन्छन्। साधारण जीवनमा गरिन्छ। केहि स्वार्थको लागि र केहि परोपकारको लागि। यस्ता जीवात्माहरुलाई कर्मको आधारमा कीट-पतंग, पशु-पक्षी, गरीब या साधारण परिवारमा जन्म पाइन्छ। किनकि ईश्वरको विधान छ कि जति पाप कर्म गरियो, जति पुण्य कर्म गरियो, त्यसै अनुसार नै अनेकौं प्रकारका शरीर प्राप्त हुन्छन् तथा अर्को जन्ममा त्यति नै दुःख र सुख पाइन्छ। कसैको निराकरण त यसै जन्ममा हुन्छ। यसै जन्ममा फल प्राप्त हुन्छ तर कसैको अर्को जन्ममा नै हुन्छ। केहि रोगहरुको कारण पनि पूर्व जन्म नै हुन्छ।
महर्षि दयानन्दले यी कर्महरुको आधारमा पाइने जन्महरुको पूरा बेहोरा सत्यार्थ प्रकाशको नवौं समुल्लासमा दिएका छन्। यजुर्वेदको ३९ औं अध्यायको छैठौं मन्त्रको आशय पनि केहि यस्तो छ –

उग्रश्च भीमश्च, ध्वान्तश्च धुनिश्च, सासध्वाँश्चाभियुग्वा,

न विक्षिपः स्वाहा।। (यजुर्वेद: ३९/६)

अर्थ: हे मनुष्यहरुहो, शरीरबाट निस्केर जीव आ-आफ्नो कर्मानुसार उग्र स्वभाव भएकाहरु-कठोर, धर्मात्माहरु-शान्त तथा सहृदय, भय दिनेहरु-पतित, चंचल वृत्तिभएकाहरु-अज्ञानी तथा विद्वान-ज्ञानी भएर विचरण गर्दछन्।

आफ्नो कर्मको आधारमा जीवात्मा पटक-पटक जन्म-मरणको चक्रमा परिरहन्छ। महर्षि दयानन्द कृत ‘ऋग्वेद भाष्य भूमिका’मा पुनर्जन्म प्रकरणमा अथर्ववेदको ५/१/१/२ द्वारा प्रमाणित हुन्छ –

‘‘आयो धर्माणि प्रथमः ससाद ततो वंपूशि कृणुषे पुरुणि।

धास्युर्योनिं प्रथम आविवेशा यो वाचमनुदितां चिकेत।।’’ (अथर्व: ५/१/१/२)

अर्थ: आयो धर्माणि – जुन मनुष्य पूर्व जन्ममा धर्माचरण गर्दछ, ततो वपूषिं कृणुषे पुरुणि – त्यस धर्माचरणको फलले  अनेकौं उत्तम शरीरहरु धारण गर्दछ र अधर्मात्मा मनुष्यले नीच शरीर प्राप्त गर्दछ। धास्युर्योनि-पूर्वजन्ममा गरिएका पाप, पुण्यको फल भोगे पश्चात् जीवात्मा शरीरलाई छोडेर वायुका साथमा रहन्छ। पुनः जल, औषधि, प्राण आदिमा प्रवेश गरेर वीर्यमा प्रवेश गर्दछ, तदन्तर गर्भमा प्रवेश गरेर जन्म लिन्छ। यो वाचमनुदितां – जुन जीवले अनुदित वाणी, सत्य भाषण आदि, त्यस्तै यथावत जानेर, आचिकेत- बोल्दछ। ससाद-यथावत स्थित रहन्छ। त्यो जीवात्मा मनुष्य योनिमा उत्तम शरीर धारण गरेर अनेकौं सुख भोग्दछ। जसले अधर्माचरण गर्दछ, त्यो अनेकौं नीच शरीर अर्थात् कीट-पतंग, पशु-पक्षी आदि शरीर धारण गरेर दुःख भोग्दछ।

यजुर्वेद कै एक अन्य मन्त्र (१९/४७) का अनुसार –

‘‘द्वे सृती अश्रवणं पितृणामहं देवाताभुत मत्र्यानाम्

ताभ्यामिदं विश्वमेजत्समेति यदन्तरा पितरं मातरम् च।।’’

अर्थ: यस संसारमा हामी दुई प्रकारक जन्म सुन्दछौं। एक मनुष्य शरीर र दोस्रो नीच गतिका कारण कीट पतंग आदि। मनुष्य शरीरका तीन भेद हुन्छन्। एक-पितृदेव अर्थात् ज्ञानी हुनु। दोस्रो-देव पुरुष अर्थात् विद्या द्वारा ज्ञान प्राप्त गर्नु। तेस्रो-(मत्र्य)-साधारण मनुष्य। यिनै भेदका कारण (ताभ्यांमिदं- विश्वमेजत्समेति) सबै जीवात्माहरुले आ-आफ्नो पाप तथा पुण्य, शुभ तथा अशुभ कर्मको फल भोग्ने गर्दछन्।

वैदिक मान्यता अनुसार जीवले आ-आफ्नो कर्म अनुसारको शरीर प्राप्त गर्दछन। यसको वैदिक प्रमाण यहाँ राखियो। यस प्रसंगलाई भन्नुको अभिप्राय यही हो कि मनुष्यले वर्तमान जीवनमा शुभ तथा परोपकारी कर्महरु गरुन जसबाट अर्को जन्ममा कम से कम मानवको चोला त मिलोस्। ईश्वरको बेआवाज लठ्ठी बाट डराउने गरौँ किनकि बिना भय मनुष्यले आफ्नो कर्म सुधार्दैन। प्रसंवस् मेरो बाल्य कालको एक घटना मलाई अहिले स्मरण भयो जसले आज पनि मलाई भयभीत गराउँछ। एक पटक भमके (भ्युंडहर सुनपुर)को विद्यालयमा कक्षा-४ मा पढ्दा म लगायत मेरा अन्य ३/४ जना साथीहरुले विद्यालय बाट घर फर्कदा धुर्कोटे बाजेको बारीमा पसेर केरा चोरेका थियौं। भोलि पल्ट यो कुरो विद्यालयका गुरुहरुलाई थाहा भएछ, कक्षामा आएर नेत्रमणि गुरुले हामीलाई सम्झाउनु भयो कि चोरी गर्नु पाप हो। यसको सजाय तिमीहरुलाई यमराजले उम्लेको तेलको कराईमा हालेर दिन्छन्। त्यो भय आज सम्म पनि स्मरण आइरहन्छ र कसैको कुनै वस्तु छुने सोंच पनि मनमा आउँदैन।

अब आउँछ तेस्रो प्रसंग- जीवात्माको साथमा वर्तमान जीवनमा आर्जित ज्ञान, धर्म र परोपकार नै जान्छ। धर्मको अर्थ कुनै स्थलहरुमा गएर सङ्ख फुक्नु, घण्टा बजाउनु, धूप-बत्ति जलाउनु, पूजा-अर्चना गर्नु तथा भेटि-फूल-अक्षेता चढाउनु हैन। धर्मको तात्पर्य हुन्छ-परोपकार गर्नु, दीन-दुःखि तथा असाहायलाई आवश्यक सहयोग गर्नु, सुपात्रलाई दान दिनु, ईश्वरलाई हमेशा आफ्नो साथी मान्नु। आफ्ना मान्यजनहरु तथा विद्वानहरुको सम्मान र सेवा गर्नु। सद्आचरण गर्नु अर्थात् गलत तरीकाले धन आर्जित नगर्नु, आफ्ना ऐषणाहरुलाई येन-केन प्रकारेण गलत तरीकाले प्राप्त नगर्नु। जीवको सबभन्दा ठूलो रहस्य हो- पहिले ज्ञान प्राप्त गर्नु अनि त्यस अनुसार आचरण गर्नु, धैर्य तथा क्षमाशील स्वभाव राख्नु। मनुष्यले वर्तमान जीवनमा जति अधिक ज्ञान प्राप्त गर्दछ, चाहे त्यो कुनै पनि क्षेत्रमा होस्; अर्को जन्ममा त्यहि नै साथमा जान्छ। यसको प्रमाण पनि अनेकौं उदाहरण बाट प्रष्ट हुन्छ।

सन् १९७०मा डेविस एस. विस्कोट नामक एक मनोवैज्ञानिकले एक महिलाको निरीक्षण गर्दा पाएको थियो कि ति महिलाले हरेक प्रकारका वाद्य यन्त्रहरुलाइ सजिलो र पूर्ण दक्षता संग बजाउने गर्दथिन। तर उनले कहीं पनि कहिल्यै कुनै प्रकारको प्रशिक्षण लिएकी थिइनन्।

केहि वर्ष पूर्व लगभग सन् २००३ मा गुरुकुल कांगड़ी विश्वविद्यालय, हरिद्वार, भारतमा एक पाँच वर्षीय ‘आकाश’ नाम गरेको बालक आएको थियो। उसलाई पूरा गीता कंठस्थ थीयो। जहाँबाट पनि श्लोक सोध्दा उसले अर्थ सहित भन्ने गर्दथ्यो। यजुर्वेद पनि कंठस्थ थियो। एक अर्को पाँच वर्षीय बालक तुलसी ले गणितको कठिन भन्दा कठिन प्रश्न हल गरेको थियो ९ वर्षको आयुमा मेट्रिक पास पनि गरेको थियो। यस्तै प्रकारका अनेकौं प्रसंग आजभोलि समाचार माध्यममा सुन्न तथा देख्न सकिन्छ। केहि वर्ष पूर्व समाचार पत्रमा चीनको एक पाँच वर्षीय बालकले विमान उडाएको समाचार छापिएको थियो। सन् १९९७ मा दिल्लीको कीर्ति निषाद भन्ने ३ वर्षको बालकले डेढ कि.मी.को यमुना नदी पार गरेको थियो।

 

तर वैज्ञानिकहरुले उनीहरुको त्यो कौशलता पूर्व जन्मको आर्जित ज्ञान हो भन्ने कुरो मान्दैनन्। उनीहरुको भनाइ छ कि मानव मस्तिष्कमा एक प्रकारको ‘प्रोटोजोया’ नामक रसायन हुन्छ जसमा मस्तिष्कको एक विशेष भाग सक्रिय हुन्छ र यस प्रकारक विलक्षणताहरु आउँछन् तर यसमा प्रश्नचिन्ह लाग्छ कि यत्रो शोध तथा अनुसन्धान हुँदा पनि चिकित्सा शास्त्रीहरुले किन चिर-फार गरेर त्यस रसायनलाई सक्रिय गर्दैनन् त? यदि यस्तो हुन्थ्यो भने यसबाट अनेकौं अपांग तथा मन्दबुद्धि बाल-बालिकाहरुलाई एक राहत प्राप्त हुन सक्थ्यो, तर यस्तो गर्न सम्भव नै छैन।

यहीं आएर विज्ञान असफल हुन्छ र वैदिक ज्ञान सुरु हुन्छ र  ईश्वरको अटूट सत्ता तथा पुनर्जन्ममा प्राप्त ज्ञानको विलक्षणतालाई मान्नै पर्ने हुन्छ। वर्तमान जीवनमा जुन जीवात्माले आफ्नो मस्तिष्कको जति अधिक उपयोग गर्दछ, उसको अर्को जन्म त्यति नै विलक्षणयुक्त हुन्छ। यदि साधारण तरिकाले पनि हेर्नेहो भने आज भन्दा ५०-६० वर्ष पूर्वको भन्दा आजभोलिका बाल-बालिकाहरुको बुद्धि तथा प्रतिभा अधिक विकसित छ।

यिनै प्रत्यक्ष प्रमाणहरु बाट वेदको सत्यताको आधारमा भन्न सकिन्छ कि जीवात्मा संग जोडिएको सूक्ष्म शरीरका साथ पुनर्जन्ममा ज्ञान, धर्म र परोपकार आउने गर्दछन्। यसैको आधारमा जीवात्मालाई वर्तमान जीवनमा सुख तथा सम्पन्नता प्राप्त हुन्छ।

अब आउँछ कि जीवात्माले जुन कामनामा आसक्त भएर शरीर छोड्छ, वर्तमान जन्ममा त्यसैलाई पूर्ण गर्दछ। मनुष्यमा तीन प्रकारमा एषणा हुन्छन्-

  • एक पुत्रेष्णा अर्थात् सन्तानको इच्छा
  • वित्तैष्णा अर्थात् अधिक भन्दा अधिक धनोपार्जन गर्नु र
  • लोकेषणा अर्थात् नाम र यशको इच्छा।

वर्तमान जन्ममा मनुष्यका केहि कमीका कारण यी एषणाहरु पूर्ण भएनन् भने एषणा अत्यधिक गहिरो हुन्छ, जस्तै धनको अभावमा आत्मीयजनको मृत्यु हुनु, उत्तम विद्या आर्जन गर्न नसक्नु, सन्तानको आकस्मिक या कुनै पनि परिस्थितिमा मृत्यु हुनु अथवा यश कामनाको पूर्ति नहुनु आदि। तब यिनको पूर्तिको लागि नै पुनर्जन्म हुन्छ।

वृहदारण्यक उपनिषदमा भनिएको छ कि केहि एषणाहरु वर्तमान जन्ममा पूर्ण हुन्छन् । तर केहि परिस्थितिवश पूर्ण हुन पाउँदैनन्। तब ती इच्छाहरु जीवात्मा संग अत्यन्त गहिरो संग जोडिन्छन् र आत्माले जुन रुप लिन्छ, ति पनि उसै संग जोडिएर कामनामय भएर जन्म लिन्छन। भनिएको छ -‘‘काममयं एवायं पुरुषः’’ जीवात्माले शरीर छोड्ने समयमा जस्ता कामना हुन्छन् अर्थात् तीव्र इच्छा हुन्छ, त्यसले वर्तमान जन्ममा त्यस्तै प्रयत्न गर्दछ तथा त्यस्तै कर्म गर्दछ। यसै उपनिषद्मा भनिएको छ कि जब अन्त समय आउने बेला हुन्छ तब जीवात्मा अन्तर्मुखी हुन थाल्दछ। आँखा खुलै भए पनि उसले केहि देख्दैन, कानले सुनेको भए पनि उसले केहि सुन्न सक्दैन। उसमा बेहोशीको जस्तो अवस्था आउन लाग्छ। त्यसै बेला जीवमा अन्तः ज्योति प्रकाशित हुन्छ । जसले हिता नामको नाडीमा समस्त प्राणलाई एकत्रित गर्दछ। तब उसको सारा जीवन केहि क्षण चलचित्र झैं चल्छ। जीवनमा गरिएका हरेक शुभ-अशुभ कर्म र अधुरै रहेका गहन कामनाहरु सबै सूक्ष्म शरीर संग जोडिन्छन्।

 

भनिन्छ, रोमको सबभन्दा अधिक क्रूर राजा जब मर्न लागेको थियो, अत्यन्त पिडाले छटपटाइ रहेको थियो तब उससंग पादरीले भन्यो कि तिमिले आफ्नो यो असैह्य पीडाको लागि शैतानलाई गाली देऊ। त्यति बेला उसले उत्तर दियो – हैन पादरी अब मैले शैतानलाई पनि गाली दिन सक्दैन किनकि अब मलाई आँफूले जीवनमा गरेका समस्त गल्तिहरुको महसुश भैसकेको छ।

आजका मनोविश्लेषणवादिहरुले पनि यस कुरालाई स्वीकार गर्न लागेका छन् कि मनुष्यको अंत समयमा जुन कामना अत्यन्त गहिराईमा लुकेका हुन्छन्, वर्तमान जन्ममा पूर्ण हुँदैनन्, ति कामनाहरु उसले पुनर्जन्ममा पूरा गर्दछ। ति कामनाहरु चाहे कसै संग बदला लिने होस् या धनको अभावमा अधुरा रहेका काम पूरा गर्ने होस् या कुनै विशेष कार्य गरेर यश प्राप्त गर्ने अभिलाषा होस्, त्यसले अर्को जन्ममा पूरा गर्दछ।

मनुष्यलाई भोग तथा कर्मयोनि पाइएको छ। बाँकी सब भोग योनी हुन्। ईश्वरले मनुष्यलाई बुद्धि, भावना, संवेग तथा पुरुषार्थ गर्ने क्षमता दीएको छ। जीवलाई कर्म गर्नको लागि स्वतंत्र छोडेको छ। त्यसैले सबै मत-पन्थ तथा सम्प्रदायमा एकै शिक्षा दिइन्छ कि शुभ गर, परोपकार तथा सेवा गर। आफ्ना वृद्ध मान्यजनहरुको सम्मान गर, धनोपार्जन खुबै गर तर सात्विक ढंगले,  ईमानदारी संग, घोटाला या अनैतिक तरीकाले हैन। किनकि उसले चाहे वर्तमान जीवनमा त्यसको जसरि पनि उपयोग गरोस् तर यदि यस जीवनमा फल प्राप्त भएन भने अर्को जन्ममा त अवश्य प्राप्त हुन्छ। हुनसक्छ अर्को जन्म व्याधि, दुःख या धनाभावको पाइयोस, अपंगताको पाइयोस्। किनकि यो ईश्वरको विधान हो। उसले मनुष्यलाई कर्म गर्नमा स्वतंत्र  छोडेको छ फल पाउनमा हैन।

भनिन्छ, शोध द्वारा पनि प्रमाणित भैसकेको छ कि शरीर बाट प्राण निस्के पछी पनि लगभग एक डेढ घण्टा सम्म मनुष्यको मस्तिष्क क्रियाशील भइरहन्छ, उसले बाहिरि वातावरणको सबै कुरा सुनेको हुन्छ तर प्रतिक्रिया केहि पनि गर्न सक्दैन। त्यसैले भनिन्छ कि मृत शरीरको नजिक गीताको १८ औं अध्याय, उपनिषद या वेद मंत्रको पाठ गर्नु पर्दछ जसबाट केहि शुभ विचार आत्मामा पर्न सकोस् तथा नया जन्म उत्तम संस्कारका साथ प्राप्त होस्।अस्तु..

नमस्ते..!

  • [आभार: आर्य समाज समुह]

4 thoughts on “पुनर्जन्म वेद द्वारा प्रमाणित…”

  1. ओ३म्

    धेरै धन्यवाद लेख अत्यन्तै आनन्दमय र सत्य छ तर अप्सन मा सेअर को अप्सन छैन।

    1. ओ३म्..
      Lila prasad ज्यू, नमस्ते..!
      प्रतिक्रियाको निम्ति धेरै आभार व्यक्त गर्दछु, आगामी दिनमा पनि यस्तै अपेक्षा छ,,
      सेयर गर्नको लागि पहिले आर्यमन्तव्यलाई सब्स्क्राइब् गर्नुस्, अनि लेखमा क्लिक गरेर पुरै खोल्नुस् र लेखको अन्तिममा हेर्नुहोला त्यहाँ छ अप्सन..
      धन्यवाद

        1. ओ३म्..
          पुनित जी, नमस्ते।।!
          पुनर्जन्म पर हिन्दीमें बहुत सारे लेख उपलब्ध है, आप जरूर देखें शायद इसी साइट पे मिल सकता है..आप सर्च करें।
          धन्यवाद।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *