आर्य समाजका मान्यताहरु

ओ३म् 

विश्वानि देव सवितर्दुरितानि परासुव। यदभद्रं तन्न आ सुव॥

(यजुर्वेद: ३०/३; ऋग्वेद: ५/८२/५)

(हे उत्तम गुणकर्मस्वभावयुक्त परमेश्वर, हाम्रा समस्त दुष्टाचरण तथा दुःखहरु हटाएर कल्याण कारक, धर्मयुक्त आचरण तथा समस्त सुखहरु उत्पन्न गरि दिनुहोस् ।)

आर्य समाजका मान्यताहरु

आर्यको अर्थ हुन्छ श्रेष्ठ । आर्य समाजको अर्थ हुन्छ श्रेष्ठ व्यक्तिहरुको समाज या संगठन । दुष्कर्म छोडेर शुभकर्म ग्रहण गर्ने इच्छा भएका हरेक व्यक्ति यस संगठनको सदस्य बन्न सक्छ । श्रेष्ठ व्यक्तिहरुको समुदायलाई दृढ राख्नको लागि महर्षि दयानंद सरस्वतिले यसका दस नियम बनाउनु भएकोछ जसलाई आर्य समाजका स्वर्ण नियमको रूपमा चिनिन्छ । जसबाट आर्य समाजको उद्देश्य तथा यसका सदस्यहरुको कार्यक्रमको बोध हुन्छ ।

ईश्वरको सर्वोतम निज नाम ओ३म् हो । उसमा अनंत गुण भएका कारण उसका ब्रहमा, महेश, विष्णु, गणेश, देवी, अग्नि, शनि, यम आदि अनंत नाम छन् । यिनै अलग-अलग गुणवाचक नाम बाट विविध मूर्ति स्थापना गरेर पूजा सुरु गर्नु  ठीक हैन । आर्य समाजले वर्णव्यवस्था (अर्थात् ब्राहमण, क्षत्रिय, वैश्व र शूद्रलाई) कर्मनुसार मान्दछ, जन्मको आधारमा हैन। आर्य समाज स्वदेशी, स्वभाषा, स्वसंस्कृति र स्वधर्मको पोषक हो ।

आर्य समाजले वसुधैव कुटुंबकमको सिद्धान्तलाई मान्दछ । तर भूमंडलीकरणलाई देश, समाज र संस्कृतिको लागि घातक मान्दछ। आर्य समाज वैदिक समाजको निर्माण तथा आर्य चक्रवर्ती राज्य स्थापित गर्नको लागि प्रयासरत छ । यस समाजमा मांसहार, मद्यपान, धुम्रपान, जुवा लगायत समस्त व्यसन वर्जित छ ।

वेद आर्य समाजको सर्व मान्य मूल ग्रंथ हो । वेदानुकुल उपनिषद, छ:दर्शन, ब्राह्मण ग्रंथ, विशुद्ध रामायण, महाभारत र मनुस्मृति आदिलाई आर्य समाजले मान्दछ । आर्य समाजले ईश्वरलाई सर्वव्यापक एवम् निराकार मान्दछ।

आर्य समाजले सनातन वैदिक संस्कृति, संस्कार तथा नैतिकतालाई बढावा दिन्छ। आर्य समाजले हरेक समाजमा फैलिएका समस्त अंधविश्वास, कुरीति तथा पाखण्डलाई मान्दैन र यिनलाई जरै समेत नामेट पार्न कटिवद्ध छ। यो एक क्रान्तिकारी समाज सुधारक संगठन हो।

यसका १० स्वर्ण नियमहरु यसप्रकार छन्:-

१- सबै सत्यविद्या जो पदार्थविद्या को नाम ले चिनिन्छ, ति सब को आदिमूल ईश्वर हो।

२- ईश्वर सच्चिदानन्दस्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालु, अजन्मा, निर्विकार, अनन्त, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र तथा सृष्टिकर्ताहो. केवल उसैको मात्र उपासना गरौँ ।

३- वेद समस्त सत्यविद्याको भण्डार हो । वेद पढ्नु पढाउनु र सुन्नु सुनाउनु सब आर्यहरुको परम कर्तव्य हो ।

४- सत्य ग्रहण गर्न र असत्य त्याग्न सदा सर्वदा उद्यत रहौं।

५- सबै कार्य धर्मानुसार अर्थात् सत्यासत्यको विचार गरेर मात्र सुरु गरौँ ।

६- शारीरिक, आत्मिक र सामाजिक उन्नतिका साथै संसारको उपकार गर्नु यस समाजको मुख्य उद्देश्य हो ।

७- सबै संग प्रिती पूर्वक, धर्मानुसार, न्याय संगत, विवेकपूर्ण, यथायोग्य तथा आत्मवत् व्यवहार गरौँ ।

८- अविद्या नाश तथा विद्याको वृद्धि गरौँ ।

९- हरेकले आफ्नो उन्नतिमा मात्र सन्तुष्ट न रहेर सबैको उन्नतिमा नै आफ्नो उन्नति सम्झौं ।

१०- सबै मानिसहरु सामाजिक सर्वहितकारी नियम पालनमा परतन्त्र तथा स्वहितकारी नियम मा स्वतन्त्र रहौं ।

अस्तु..

नमस्ते..!

-प्रेम आर्य, दोहा-कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *