अवतारवाद अर्थात् नपुंसकवाद:

ओ३म्

अवतारवाद अर्थात् नपुंसकवाद:

जब-जब अधर्मको वृद्धि हुन्छ र धर्मको ह्रास हुन्छ, तब-तब ईश्वरले अवतार धारण गर्दछ, ईश्वर यस धराधाममा अवतार लिन्छ। यसको पुष्टिमा बिशेष गरि मानिसहरुले गीताको निम्न श्लोक प्रमाण स्वरूप दिने गर्दछन :-

यदा यदा हि धर्मस्यग्लानिर्भवति भारत।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्‌ ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ (गीता ४/७-८)

यी उपरोक्त गीताका श्लोकहरुमा अवतारको प्रमुख कारण हामीले देख्यौं अब देवी भागवत पुराणमा अवतार लिनु पर्ने कारण हेर्नुस् के लेखेको छ –

शपामि त्वां दुराचारं किमन्यत् प्रकरोमिते।

विध्ुारोहं कृतः पाप त्वयाऽहं शापकारणात्।।

अवतारा मृत्युलोके सन्तु मच्छापसंभवाः।

प्रापो गर्भभवं दुःख भुक्ष्ंव पापाज्जनार्दन।।

यी देवी भागवतको श्लोकहरुमा अवतारको कारण धर्मको रक्षा वा अधर्मको विनाश गर्नको लागि नभएर भृगुको श्राप भोग्न भनिएको छ। अर्थात् महर्षि भृगुले विष्णुलाई उसको दुराचार कर्मको कारण श्राप दिए उनकै श्रापको प्रभावले विष्णुको मृत्यलोकमा अवतार भयो। गीताको र देवी भागवत पुराणमा अवतारको कारणहरुमा परस्पर विरोध छ।

अरु हेर्नुस्-

बौद्धरूपस्त्वयं जातः कलौ प्राप्ते भयानके।

वेदधर्मपरायन् विप्रान् मोहयामास वीर्यवान्।

निर्वेदा कर्मरहितास्त्रवर्णा तामासान्तरे ।।

यहाँ गीताको सर्वथा विपरीत अवतारको कारण भनिएको छ। गीताले धर्मको रक्षा कारण भन्छ र यहाँ त धर्मको नै नाश गर्नको लागि अतवार लिईयो,  अर्थात् भागवत पुराणले भन्छ कि – भगवानले बुद्ध अवतार लिए र सबलाई विरुद्ध उपदेश दिएर नास्तिक बनाए तथा वेद मार्गको नाश गरे। यहाँ यीनै अवतारवादिहरुको ग्रन्थ नै परस्पर विरुद्ध कथन गरिरहेका छन्।

यथार्थमा ईश्वरको कुनै पनि रुपमा जन्म धारण गर्ने कल्पना नै युक्ति तथा शास्त्र विरुद्ध छ। किनकि ईश्वरलाई कुनै पनि प्रकारको सहाराको आवश्यकता छैन, चाहे त्यो सहारा कुनै शरीरको होस् अथवा कुनै अन्य प्राणीको। परमेश्वर आफ्नो सब कार्य गर्नमा सक्षम तथा समर्थ छ, उसलाई कुनै अवतार लिनुपर्ने आवश्यकता छैन।

वेदमा ईश्वरलाई ‘‘अकायमव्रणमस्नाविरम्’’ भनिएको छ। त्यो परमात्मा सूक्ष्म र स्थूल शरीरको बन्धन रहित छ अर्थात् इश्वर यी सब बन्धनमा पर्दैन।

श्वेताश्वतर उपनिषद्मा ऋषिले भनेका छन्-

वेदाहमेतमजरं पुराणं सर्वात्मानं सर्वगतं विभुत्वात्।

जन्मनिरोधं प्रवदन्ति यस्य ब्रह्मवादिनो हिप्रवदन्ति नित्यम्।।४/२१।।

अर्थात् त्यो परमात्मा अजर छ, पुरातन (सनातन) छ, सर्वान्तर्यामी छ, विभू र नित्य छ। ब्रह्मवादीहरु सदा उसको बखान गर्ने गर्दछन् ऊ कहिल्यै जन्म लिदैन।

उपरोक्त सबै प्रमाणहरु बाट सिद्ध हुन्छ कि परमात्माले जीवहरुको आ-आफ्नो कर्मानुसार नै उनीहरुको  भोगको लागि शरीर, स्थान, समुदाय आदि दिने गर्दछ तर आफ्नो इच्छाले कसैको विनाश वा रक्षाको लागि कसैलाई पठाउँदैन र यसैगरी ऊ स्वयं पनि विविध अवतार लिने गर्दैन अर्थात् कसैको रक्षा वा विनाश गर्नको लागि उसलाई कुनै शरीर धारण गर्नु पर्दैन।

श्रीकृष्णले भनेका छन् कि जब-जब धर्मको हानि हुन्छ तथा अधर्म, अनाचार एवं अत्याचार बढ्दछ तब-तब म  शरीर धारण गर्दछु।

साधु पुरुषहरुको उद्धार गर्नको लागि, पाप कर्म गर्नेहरुको विनाश गर्नको लागि र धर्मको स्थापना गर्नको लागि म युग-युगमा प्रकट हुने गर्दछु।

यो विचारधारा वेद प्रतिकूल त छ छ, स्वयं गीता र श्रीकृष्णको सिद्धान्तको पनि प्रतिकूल छ। यति मात्र हैन, यी श्लोकहरुमा थोरै विचार गर्नाले नै यो कुरो स्पष्ट हुन्छ कि यी श्लोकहरु बाट अवतारवाद सिद्ध हुँदैन।

चारवटै वेदमा कहीं एउटा पनि मन्त्र यस्तो छैन जहाँ ईश्वरलाई शरीरधारी भनिएको होस्। वेदमा त ईश्वरलाई ‘…अकायमअब्रणंस्नाविरम्’ (यजु० ४०/८) शरीर रहित र नस-नाडीको बन्धन रहित भनिएको छ। अन्यत्र उसलाई ‘अजः’ (ऋग्० ७/३५/१३) कहिल्यै जन्म नलिने भनिएको छ। उपनिषदहरुमा पनि ईश्वरको यस्तै स्वरुप वर्णित छ।

श्रीकृष्ण अत्यन्त उद्योगी, पुरुषार्थी एवं परिश्रमी महापुरुष थिए। उनको उपदेश थियो:-

क्लैब्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते।

क्षुद्रं ह्रदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप।। (गीता २/३)

श्रीकृष्णले अर्जुनलाई उपदेश दिंदै भन्दछन:-

नपुंसक, कायर एवं भीरु नबन। यो तिम्रो योग्य छैन। हे शत्रुहरुलाई सन्ताप दिने वाला! ह्रदयको क्षुद्र दुर्बलता त्यागगरेर युद्धको लागि जीवन-संग्राममा संघर्षको लागि उठ।

श्रीकृष्णले गीताको जुन उपदेश दिये त्यो यति विस्तृत हुन सक्दैन। युद्धको अवसरमा जहाँ दुवै तिरका सेनाहरु युद्धको लागि तयार उभिएका छन् र युद्ध आरम्भ हुनै आँटेको छ, त्याहाँ यत्रो लामो पट्यार लाग्दो व्याख्यानको अवसर नै कहाँ हुनु? श्रीकृष्णले जुन उपदेश दिएकाथिए त्यो त गीताको दोस्रो अध्यायको ३८औं श्लोक सम्म प्रायः समाप्त हुन्छ। युद्धको अवसरमा श्रीकृष्णले अर्जुनलाई आत्माको अमरताको सन्देश दिएर उनलाई युद्धमा प्रवृत्त गराएका थिए। आत्माको अमरताको सन्देश नै गीताको सार र प्राण हो।

अज्ञानताका कारण जब समाजमा नाना थरि मत-पन्थहरु फैलिए, तब हाम्रा समस्त ग्रन्थहरुमा आ-आफ्ना स्वार्थका बिषय र प्रसंगहरु थपियो र हटाइयो। गीता पनि यस मिलावट बाट अछुतो रहन सकेन। प्रत्येक मतवादीले आफ्नो अभिप्राय र अनुकूलका श्लोकहरु रचना गरेर यसमा मिलाइदिए। यस प्रकार ७० श्लोकको गीता सात सय श्लोकको भयो।

योगेश्वर श्रीकृष्ण वेद र वेदांगहरुका मर्मज्ञ थिए। उनले वेदविरूद्ध हुने कुनै पनि उपदेश दिने काम गरेनन्, अतः यो निश्चितरुपले भन्न सकिन्छ कि उपर्युक्त श्लोकहरु अवतारवाद प्रचलित भए पछी मात्र गीतामा प्रक्षिप्त गरिएको हो।

माथि उदधृत द्वितीय श्लोकमा अवतार धारण गर्नको लागि तीन कारण दिइएको छ-

  • साधुहरुको रक्षा
  • दुष्टहरुको विनाश र
  • धर्मको स्थापना।

यदि यी तिनै हेतुहरुमा विचार गर्नेहो भने प्रतीत हुन्छ कि जति पनि अवतारहरु भएको भनिन्छ, ति मध्ये एउटा पनि अवतारले यी कार्यहरु पूरा गरेको छैन। किनकि विष्णुका जति पनि अवतारहरु भएको भनिन्छ, ति सबै छली र कपटी थिए। यस्तो प्रतीत हुन्छ कि उनको जन्म नै छल र कपट गर्न कै लागि भनेर भएको थियो अथवा ईश्वरले छल र कपटको विभाग विष्णुलाई सुम्पेको थियो सायद ।

  • मोहिनी अवतारले कुन साधुको रक्षा गरेको थियो? कुन चाई दुष्टलाई दण्ड दियो र कुन धर्मको स्थापना गर्यो? अँ, उसलाई देखेर शिवजीको वीर्यपात अवश्य भएको थियो।
  • वामन अवतार पनि विष्णु कै मानिन्छ। उनले बलीका साथ छल गर्नुको अतिरिक्त कुन चाइ उत्तम कर्म गरे र ?
  • परशुराम पनि पौराणिक कै अवतार हुन्। परशुरामले एक्काइस पल्ट क्षत्रियहरुको संहार गरेर पृथ्वीलाई क्षेत्रीय विहिन बनाएका थिए। के अवतार यसकै लागि हुने गर्दछ?
  • बुद्ध पनि पौराणिक अवतार मानिन्छ। उनले वेद र ईश्वरलाई नै मान्न अस्विकार गरे। यस्तै प्रकारका करतूतहरु उनका अन्य अवतारहरुको पनि छन्।

जब कसैले प्रश्न गर्दछ कि ईश्वरले अवतार किन लिने गर्छ? पौराणिकहरुको उत्तर हुने गर्दछ कि दुष्टहरुको संहार गर्नको लागि नै ईश्वरको अवतार हुने गर्दछ। यो उत्तर सुनेर अलिकति वुद्धि भएको व्यक्ति लाई हाँसो अवश्य लाग्छ। कुनै पनि वस्तु निर्माण गर्न कठिन हुन्छ र त्यसलाई बिगार्न या तोड-फोड गर्न सरल। जुन ईश्वरले शरीर धारण नगरेरै रावण, कंस, जरासन्ध, हिरण्यकश्यपु आदिलाई जन्म दिन सक्छ, यत्रो जटिल जगतलाई सृष्टि गरेर पालन-पोषण गर्न सक्छ भने के शरीर धारण नगरेर उसले यसको संहार गर्न सक्दैन र ?

भनिन्छ, प्रह्लादको रक्षाको लागि र हिरण्यकश्यपुको विनाशको लागि ईश्वर खम्भा फोडेर प्रकट भएका थिए..! एउटा प्रश्न सोध्न सकिन्छ कि ईश्वर प्रह्लादको भित्र थियो कि थिएन? ईश्वर हिरण्यकश्यपुको ह्रदयमा थियो कि थिएन? त्यस सभामा सर्वत्र थियो कि थिएन? जब ईश्वर सर्वव्यापक छ, अणु-अणु र कण-कणमा विद्यमान छ भने ऊ कुनै खम्बा बाट प्रकट हुनु कसरि संभव हुन सक्छ? प्रकट त त्यो हुन सक्छ जो परिछिन्न या एकदेशीय छ। जब ईश्वर हिरण्यकश्यपुको ह्रदयमा पनि थियो उसले भित्रै बाट उसको ह्रदयलाई विदीर्ण गर्न सक्दथ्यो, उसलाई अवतार लिन कीन आवश्यकता पर्यो?

एउटा अर्को विडम्बना हेरौं, सत्ययुगमा चार अवतार भए, त्रेतामा तीन, द्वापरमा दुई र कलियुगमा अहिलेसम्म एउटा पनि अवतार भएको छैन। पौराणिकहरुका अनुसार कलियुग सबभन्दा खराब हो, अतः कलियुगमा सबभन्दा अधिक अवतार हुनु पर्ने थियो र सत्ययुगमा जहाँ धर्म नै धर्म थियो, अधर्म नै थिएन भने त्यस समयमा कुनै अवतार नहुनु पर्ने।

एउटा अर्को गजबको कुरो हेरौं, राम र परशुराम दुवै अवतार एकै समयमा भए। दुवै आपसमा युद्ध गर्नको लागि तयार पनि भए , एक अवतारले अर्को अवतारलाई नचिन्नु कस्तो अचम्म है ?!! अर्को तिर श्रीकृष्ण, बलराम र व्यास तीन अवतार एकै समयमा भए। त्यस समयमा यतिका अवतारहरुको के आवश्यकता थीयो?

सत्य कुरो त यो हो कि अवतारवाद एक आडम्वर हो, पाखण्ड हो। अवतारवादका पोषक पुराणहरु खोलेर हेर्ने गरौँ, सत्ययुग, त्रेता र द्वापरमा जब अधर्म अत्यन्त न्यून थियो, पृथ्वीले अलिकति पुकार गरिन् की उसको भार उतार्नको लागि ईश्वर तुरन्त अवतरित भए। यदि हामि आजको अवस्था अवलोकन गर्यौं भने वर्तमान युगमा सूर्योदय पूर्व नै हजारौं-लाखौँ गौवंश र लाखौँ-करोडौं अन्य पशु-पंक्षीहरुको घाँटी रेटिन्छ। आज नारि अस्मिता भंग भएको घटनाहरुले समाचार-पत्रहरुको पृष्ठ रंगिएका हुन्छन्। प्रत्येक वस्तुमा मिलावट छ,चोरिबजारी, घुसखोरी र भ्रष्टाचारको बजार तातेको छ।

सज्जनहरु कष्टमा छन् र दुर्जनहरु मोज-मस्तीमा गुल्छर्रा उडाउदै छन्, अधर्मीहरु दिन-प्रतिदिन बढ्दै छन् तर अवतारी भगवान् क्षीरसागरमा लक्ष्मीका साथ् विहार गर्नमा मस्त छन्..!?। आजको परिस्थिति पहिलेको भन्दा अत्यन्तै भयङ्कर र भयावह छ। हामि सोध्न चाहन्छौं कि अहिले ईश्वरले अवतार किन लिन्न?

१५ अगस्त १९४७ मा भारत दुई खण्डमा विभाजित हुँदा जुन दानवताको ताण्डव भयो, त्यसलाई लेख्दा पनि हात काँप्छन् र बोल्दा जिब्रो लर्बरिन्छ। लाखौँ हिन्दुहरु हिन्दु भएकै कारणले काटिए..हजारौं नारीहरुको अस्मिता हिन्दु भएकै कारणले लुटियो….हजारौं बाल-बालिकाहरुले आफ्ना अविभावक गुमाए..साना-साना दुधे बालकलाई बेसनमा डुबाएर उम्लिएको तेलको कराहीमा हालियो, कसैलाई आकाशमा उफारेर भालाको चुच्चामा खसालियो..स्त्रिहरुको स्तन काटियो…माता-पिताका अगाडी उनकी पुत्रिहरुलाई बलात्कार गरियो…उनलाई निर्वस्त्र पारेर सडक र बजारमा जुलूस निकालियो..लाखौँलाई जबर्जस्ति हिन्दु धर्म छोड्न वाध्य पारियो..यस्तो दुर्दान्त अवस्थामा पनि ईश्वरले कुनै अवतार लिएन किन?

मैले अत्यन्त नम्रतापूर्वक सोध्न चाहन्छु कि जब यस्तो भीषण परिस्थितिमा पनि ईश्वरले अवतार लिएन भने फेरी उसको अवतार कहिले हुनेहो?

मेरा सम्मानका योग्य समस्त महानुभावहरुमा विनम्रता पुर्वक भन्न चाहन्छु कि यो अवतारवाद एक धोखा,पाखण्ड र दम्भ को। ईश्वरले कदापि अवतार लिन्न। अवतार बाट रक्षा हुने आशा र कामना गर्नु व्यर्थ छ, यो दुराशा मात्र हो। यदि हामि हाम्रो समाज र देश उन्नत बनोस भन्ने चाहन्छौं भने, यदि हामि आफ्नो पूर्व गौरव र वैभव पुनः प्राप्त गर्न चाहन्छौं भने, यदि हामि आफ्मो देश समृद्ध होस् भन्ने चाहन्छौं भने, यदि हामि देश बाट दुराचार र पाखण्ड समाप्त होस् भन्ने चाहन्छौं भने ईश्वरको अवतारवादी धारणा त्याग्नु पर्छ, अवतारको आशा छोड्नु पर्छ। हामि स्वयं आफ्नो जीवनमा आत्मविश्वासको ज्योति जागृत गर्नु पर्छ। आफ्नो बाहुबलको आश्रय लिएर उद्योगको लागि कम्मर कसेर उठ्नु पर्छ..पुरुषार्थ गर्न मुठी कस्नु पर्छ..।अस्तु..

नमस्ते..!

-हार्दिक आभार: ‘पाखण्ड खण्डिनी’

2 thoughts on “अवतारवाद अर्थात् नपुंसकवाद:”

  1. आफुलाई भगवनको अवतार हुँ भनेर सबै सामु पुजनिय बनेर आस मजा मस्ति गर्न पाइन्छ भनेर अवतार वादि पाखण्डी हरु ले भगवनको अवतार हुन्छ भनि भ्रम पैदा गरेर व्यपार चलाएका हुन जस्तो लाग्छ मलाई त ।

    1. ओ३म्..
      श्याम भाइ, नमस्ते..!
      प्रतिक्रियाको लागि हार्दिक आभार.
      तपाइले सत्य कुरो गर्नुभो..
      अवतारवाद मान्नाले नै आज समाजमा नपुंसक र पुरुषार्थ हीन व्यक्तिको जत्था बढ्दो छ..यसलाई तपाइँ हामि सब मिलेर खतम गर्नु पर्ने छ..र सबलाई वैदिक मार्गमा ल्याउनु पर्छ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *